विकासन्युज

एनएमबि बैंकमा पनि पीटूपी रेमिट्यान्सको सुरुवात

काठमाडौं । एनएमबि बैंकले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ‘इन्डो–नेपाल पीटूपी रेमिट्यान्स’ सेवा सुरु गरेको छ ।  नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुने बैंकले जनाएको छ । यस नयाँ प्रविधिसँगै ग्राहकहरूले परम्परागत झन्झट र ढिलाइबाट पूर्ण मुक्ति पाउनेछन् ।  बैंकका अनुसार अब भारतबाट पैसा पठाउँदा धेरै दिन पर्खिनु पर्दैन, उताबाट पठाउनेबित्तिकै एनएमबि बैंकमा रहेको खातामा तुरुन्तै पैसा आइपुग्छ ।  पैसा मगाउनका लागि र पठाउन अब आफ्नो लामो बैंक खाता नम्बर अरूलाई सेयर गरिरहनु पर्ने झन्झटसमेत हुनेछैन । बैंकले ग्राहकहरूको सुरक्षाका लागि एउटा सजिलो र छुट्टै भर्चुअल ठेगाना (भीपीए) बनाइदिनेछ र यही ठेगाना मार्फत सजिलै पैसा मगाउन तथा पठाउन सकिनेछ । यो सेवालाई सबैको पहुँचमा पु¥याउन बैंकले अत्यन्तै सरल बनाएको छ ।  ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप वा बैंकको वेबसाइटबाट आफै यो सेवा प्रयोग गर्न सक्छन् भने जुनसुकै शाखामा गएर कर्मचारीहरूको मद्दतबाट पनि यो सेवा सजिलै सुरु गर्न सक्नेछन् ।  घरखर्च वा व्यक्तिगत कामका लागि भारतबाट पैसा मगाउँदा आवश्यकताअनुसार रकम प्राप्त गर्न थप सहज हुनेछ ।  एनएमबि बैंकले हाल देशभरि १९८ शाखाहरू, १७६ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।

भट्ट, अग्रवाल र गोल्छाको मुद्दा ४ सरकारी वकिलले अध्ययन गर्दै

काठमाडौं । दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्धको अभियोगपत्र सरकारी वकिल कार्यालयमा अभियोजन क्रममा रहेको छ ।  उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरेकाले अभियोगपत्र पेश हुन बाँकी रहेको हो । विभागले बुधबार तीन व्यवसायीविरुद्ध मुद्दाको अनुसन्धान प्रतिवेदन विशेष सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । त्यसैगरी, सीआईबी ले पनि धितोपत्र सम्बन्धी कसुरमा प्रतिवेदन बुझाइसकेको छ ।  अभियोजनका लागि पेस भएको उक्त अनुसन्धान प्रतिवेदन अहिले अध्ययन क्रममा रहेको विशेष सरकारी वकिलको कार्यालयका सूचना अधिकारी पूर्णेन्द्र पाण्डेयले जानकारी दिए ।  ‘यो मुद्दा अभियोजनकै क्रममा छ। हामी प्रतिवेदन अध्ययन गर्दैछौं । अभियोजन सकेर मुद्दा अदालत लैजान्छौं,’ उनले भने, ‘सम्पत्ति शुद्धीकरण कसुर मात्र होइन, यससँग विविध मुद्दाहरू जोडिएका छन् ।’ कार्यालयका चार जना कर्मचारीले मुद्दा अध्ययन गरिरहेका छन् । चारजनामध्ये दुई उपन्यायाधिवक्ता र दुई सहायक न्यायाधीवक्ता रहेका छन् । एक साताभित्रमा अब अदालतमा अभियोग पत्र पेश गरिसक्ने गरेर अध्ययन भइरहेको पाण्डेयको भनाइ छ । उनका अनुसार सम्पत्ति शुद्धीकरण, बीमा ऐन र धितोपत्र बोर्डको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान गरिएको छ । एउटै कसुरमा मात्र अनुसन्धान गर्नु पर्ने भएमा यति लामो समयसम्म नलाग्ने उनले बताए । ‘धितोपत्र बोर्ड कसुरमा सेयर किनबेचमा कहीँ पनि फेयर तरिकाले काम भएको देखिएको छैन,’ उनले भने, ‘फेक सेयर कारोबार गरिएको देखिएको छ । कारोबारमा प्रस्ट प्रमाण खुल्ने गरेर कहीँ पनि कसैले काम गरेको देखिँदैन ।’ सबैभन्दा बढी हिमालयन रि–इन्स्योरिन्यस प्रकरणमा अनुसन्धान गर्दा गलत गरिएको देखिएको कार्यालयका एक कर्मचारीले बताए । उनका अनुसार बीमा ऐन, २०७९ अनुसारको कसुरमा भट्ट, अग्रवाल र गोल्छासहित ४० जनालाई प्रतिवादी कायम गरिएको छ । कार्यालयमा विभाग र प्रहरीले कसुरमा प्रहरीले साढे ४ अर्ब रूपैयाँभन्दा बढीको बिगो कायम गरेको छ । त्यस्तै, धितोपत्रसम्बन्धी कसुरमा एक अर्ब रूपैयाँभन्दा बढी बिगो कायम गरिएको छ। यसमा उनीहरू तीनै जनासहित ७५ जना प्रतिवादी कायम छन् । बैंकिङ कसुरमा भने ५४ करोड रूपैयाँभन्दा बढी बिगो कायम गरी तीन जनाभन्दा बढीलाई प्रतिवादी कायम गरिएको छ । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धानका लागि दीपक भट्टलाई विभागले चैत १९ गते पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि चैत २२ गते अग्रवाललाई पक्राउ गरिएको थियो। शेखर गोल्छालाई वैशाख १० गते पक्राउ गरिएको थियो । उनलाई सर्वोच्च अदालतले हिरासतमुक्त गर्न आदेश दिएको थियो ।

बीएमडब्ल्यू आईएक्स १ को मूल्य १ करोड ३ लाखले वृद्धि

काठमाडौं । नेपालमा बीएमडब्ल्यू गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक लक्स्मी प्रिमियम मोटर्स‍ले सरकारले लागू गरेको नयाँ विद्युतीय सवारीसाधन (ईभी) कर नीतिपछि बीएमडब्ल्यूका विद्युतीय गाडीहरूको मूल्य संशोधन गरेको जनाएको छ ।  यसअन्तर्गत बीएमडब्ल्यू आईएक्स १ ईड्राइभ २० को मूल्य रु १ करोड ९९ लाख ९६ हजारबाट बढेर ३ करोड २ लाख ९६ हजार पुगेको छ । अर्थात् यस मोडेलको मूल्यमा १ करोड ३  लाखको वृद्धि भएको हो । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ईभीमा लाग्ने करको व्यवस्था परिवर्तन गरेपछि बीएमडब्ल्यूका विद्युतीय गाडीहरूको मूल्य बढेको हो ।  नयाँ व्यवस्थाअनुसार अब ईभीमा लाग्ने कर मोटरको क्षमताभन्दा पनि गाडीको आयात मूल्यका आधारमा निर्धारण गरिनेछ । यसले विशेषगरी उच्च मूल्यका विद्युतीय गाडीहरूमा बढी प्रभाव परेको छ । आईएक्स १ मात्र नभई बीएमडब्ल्यूका अन्य विद्युतीय मोडेलहरूको मूल्यमा पनि वृद्धि भएको लक्स्मी प्रिमियम मोटर्सले जनाएको छ । नयाँ कर संरचनाका कारण विभिन्न मोडेलमा फरक–फरक दरले मूल्य समायोजन गरिएको छ । अटोमोबाइल क्षेत्रका जानकारहरूका अनुसार नयाँ नीति लागू भएपछि प्रिमियम तथा लक्जरी ईभी ब्रान्डहरू सबैभन्दा बढी प्रभावित भएका छन् । यसले नेपालमा विद्युतीय सवारीसाधनको मूल्य संरचनामा ठूलो परिवर्तन ल्याएको छ ।

अब गण्डकी अस्पतालमा पनि ‘सिभिल अस्पताल’को सुविधा पाइने

काठमाडौं । अब निजामती कर्मचारीहरूले प्रदेशस्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौं) को स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो । मन्त्रालयका अनुसार निजामती कर्मचारी, अवकाशप्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले प्रदेश अस्पतालहरूसँग सम्झौता सुरु भएको छ । यसैक्रममा सोमबार गण्डकी अस्पताल, पोखरासँग पनि सम्झौता भएको छ ।  सम्झौतासँगै गण्डकी प्रदेशका निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा आश्रित परिवारले निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा पाउने भएका छन् । सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाशप्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचयपत्र साथमा हुनुपर्नेछ । मधेस प्रदेशका लागि नारायणी अस्पताल, वीरगञ्ज (पर्सा) र बागमती प्रदेशका लागि भरतपुर अस्पताल, चितवनसँग यसअघि नै सम्झौता भएको छ । उक्त दुवै अस्पतालबाट आजदेखि निजामती कर्मचारी स्वास्थ्य सेवा सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ । मधेस, बागमती र गण्डकी प्रदेशपछि अन्य प्रदेशमा समेत सेवा विस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय गरी सेवा प्रदायक अस्पतालहरूको सूचीकरण भइसकेको छ । आवश्यक तयारी पूरा भएपछि सबै प्रदेशबाट निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट, सहुलियतसहितको स्वास्थ्य उपचार सेवा प्रदान गरिने मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र आश्रित परिवारहरूको सहजताका लागि प्रदेशमै स्वास्थ्य सेवा पुर्‍याउन लागिएको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको भनाइ छ ।

रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात

रसुवा । नेपाल र चीनबीच व्यापारिक सम्बन्धको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा ४० अर्ब रुपैयाँभन्दा बढी मूल्यको सामान आयात भएको छ ।      रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म यस नाकाबाट ४० अर्ब १० करोड रुपैयाँ बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएका छन् ।  यस नाकाबाट खासगरी सामग्रीमा तयारी पोसाक, जुत्ता–चप्पल, रोलकपडा, विद्युतीय सामग्री, ओखर, स्याउ, लसुन, अदुवा, थर्मस, हाइड्रोपावरका उपकरण तथा विद्युतीय सवारीसाधनलगायत वस्तु आयात हुँदै आएको उनले जानकारी दिए ।      रसुवागढी नाका प्राचीनकालदेखि नै नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक मार्गका रूपमा परिचित रहँदै आएको छ । लिच्छवी तथा मल्लकालदेखि नै व्यापारीले यही मार्ग प्रयोग गरी नुन, ऊन, जडीबुटी तथा अन्य सामग्रीको कारोबार गर्ने गरेको इतिहास छ । आधुनिक सडक सञ्जाल विस्तारसँगै रसुवागढी नाका अन्तरराष्ट्रिय व्यापारको महत्वपूर्ण केन्द्र बनेको हो ।      भन्सार कार्यालयका अनुसार यस अवधिमा नेपालबाट भने करिब ९० करोड रुपैयाँ मूल्य बराबरका वस्तु निर्यात भएको छ ।       उक्त  नाकाबाट हुने आयात तथा निर्यातबाट चालु आर्थिक वर्षको हालसम्म १० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको निमित्त प्रमुख विकले जानकारी दिए ।                  यसैबीच पछिल्लो समय विद्युतीय सवारीसाधनको जाँच पासका सम्बन्धमा उठेका प्रश्नबारे निमित्त प्रमुख विक भन्छन्, 'प्रचलित भन्सार ऐन तथा नियमावलीले पैठारीकर्तालाई अग्रिम रूपमा राजस्व बुझाउने सुविधा दिएको छ ।'      उनले तोकिएको प्रक्रियाअनुसार राजस्व सङ्कलन भएकाले राज्यलाई कुनै आर्थिक हानि–नोक्सानी नभएको स्पष्ट पारे । रसुवागढी  नाकाले मुलुकको राजस्व वृद्धि, व्यापार विस्तार तथा आर्थिक गतिविधि प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । रासस    

बीमा प्राधिकरणका अध्यक्ष पौडेलको उपराष्ट्रपति कार्यालयमा सरुवा

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अस्थायी रूपमा अध्यक्षको जिम्मेवारी पाएका चन्द्रकला पौडेलको सरुवा भएको छ । सरकारले प्राधिकरणका अध्यक्ष पौडेललाई संघीय मामिलाबाट उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पौडेल सचिवको भूमिकामा थिइन् ।

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री विजयी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री विजयी भएका छन् ।  संघको सोमबार (आज) सम्पन्न निर्वाचनमा मेघनाथ भुर्तेल र हरिबहादुर पाण्डेलाई पराजित गर्दे उनी विजयी भएका हुन् । अध्यक्ष पदमा खत्रीले ३४७, भुर्तेलले १९२ र पाण्डेले १७० मत प्राप्त गरेका छन् ।  प्रथम उपाध्यक्षमा महेश बस्नेत (२४१ मत), द्वितीय उपाध्यक्षमा अनिल बोगटी (३१५ मत), तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल (२५९ मत), महासचिवमा हरि डाँगी (२७३ मत), सचिवमा केदारनाथ अधिकारी (२९४ मत) र कोषाध्यक्षमा धनमायाँ सिन्जाली (३२३ मत) प्राप्त गरी विजयी भएका छन् ।  सात पदाधिकारीसहित १७ पदमा भएको निर्वाचनमा खत्री समूहले सात  पदाधिकारी र आठ सदस्यमा विजयी हासिल गरेको छ ।   

बोनससहित टेलिकमको विश्वकप अफर, ग्राहकलाई निःशुल्क प्याकेज

काठमाडौं । नेपाल टेलिकमले आगामी फिफा वल्ड कप २०२६ लाई लक्षित गर्दै ‘फिफा वल्ड कप २०२६ टीभी प्याकेज’ सार्वजनिक गरेको छ । कम्पनीले आईपीटीभी ग्राहकलाई लक्षित गर्दै उक्त प्याकेज उपलब्ध गराउन लागेको हो । टेलिकमका अनुसार आईपीटीभी ग्राहकहरूले ९९९ रुपैयाँमा उक्त प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । एनटीटीभी ग्राहकहरूले टेलिभिजनमार्फत हिमालय स्पोर्ट्स च्यानल चयन गर्दा छुट्टै इन्ट्री स्क्रिन प्राप्त हुनेछ । त्यसमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गरेपछि प्राप्त हुने ओटीपी राखेपछि मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई सेवा तुरुन्त सक्रिय हुनेछ । यस्तै, ग्राहकहरूले नजिकको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सक्नेछन् । टेलिकमले जेठ २६ देखि साउन ३ सम्म विशेष बोनस अफर पनि ल्याएको छ । यस अवधिमा वार्षिक १०० एमबीपीएस वा सोभन्दा बढी गतिको इन्टरनेटसहित प्रिमियम आईपीटीभी प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा अपग्रेड गर्ने ग्राहकहरूले फिफा वल्ड कप २०२६ टीभी प्याकेज निःशुल्क प्राप्त गर्नेछन् । उक्त बोनस प्याकेज लिनका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट *१४१५३# डायल गर्न सक्नेछन् । टेलिकमले उच्च गुणस्तरीय प्रविधिसँगै खेलकुद मनोरञ्जन प्रदान गर्ने लक्ष्यका साथ यस्तो अफर ल्याएको जनाएको छ । थप जानकारीका लागि कम्पनीका ग्राहक सेवा केन्द्र, आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत जानकारी लिन सकिनेछ ।