काठमाडौं । प्रतिनिधिसभाको बुधबार (भाद्र १०) बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।
कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई विभिन्न दलका ११ सांसदले सरकारको कामकारबाही, समसामयिक विषय तथा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा प्रश्न गर्ने भएका हुन् ।
संसद् सचिवालयका सहप्रवक्ता अनन्तप्रसाद कोइरालाका अनुसार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङ प्रश्नकर्ताका रूपमा चयन भएका छन् ।
त्यस्तै, नेकपा एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्नाले प्रश्न सोध्ने कोइरालाले जानकारी दिए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट वर्षमान पुन र रमेशकुमार हमालले प्रधानमन्त्रीसँग प्रश्न गर्नेछन् ।
श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली पनि प्रश्न गर्ने सांसदको सूचीमा रहेका कोइरालाले जानकारी दिए ।
प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले आफूले उठाउन चाहेको विषय र प्रश्नको लिखित विवरण संसद् सचिवालयमा दर्ता गराइसकेको कोइरालाले बताए ।
यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सञ्चालन गर्ने समय निर्धारण गरेका थिए ।
प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा छुट्याउने व्यवस्था छ ।
नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा सांसदले प्रश्न गर्न पाउने कोइरालाले बताए ।
यसपटक सभामुखले बढीमा १५ जना सांसदलाई प्रधानमन्त्रीसँग प्रश्न गर्ने अवसर दिने गरी व्यवस्था मिलाएका थिए।
दलहरूको प्रतिनिधित्व र संसदमा रहेको दलीय उपस्थितिका आधारमा प्रश्नकर्ताको संख्या निर्धारण गरिएको थियो ।
सोअनुसार रास्वपाबाट मात्रै सात सांसदले प्रश्न गर्न पाउने अवस्था भए पनि तीन जनाले मात्र प्रश्न दर्ता गरेका छन् ।
अन्य दलबाट भने तोकिएको प्रतिनिधित्वअनुसार सांसदहरूले प्रश्न दर्ता गराएका हुन् ।
नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहने सांसदले बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि सभामुखलाई प्रश्नको विषयबारे लिखित जानकारी दिनुपर्छ ।
सोही व्यवस्थाअनुसार सभामुखले भदौ ५ गतेसम्म प्रश्न दर्ता गर्न समय दिएका थिए ।
प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्राप्त प्रश्न स्वीकार गर्ने वा नगर्ने अन्तिम निर्णय सभामुखले गर्ने व्यवस्था छ । प्रश्नको विषय, प्रकृति र प्रक्रियासम्बन्धी अन्य व्यवस्था पनि सभामुखले निर्धारण गर्न सक्नेछन् ।
प्रतिनिधिसभा नियमावलीले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था पनि गरेको छ ।
तर प्रश्नोत्तर सकिएपछि प्रधानमन्त्रीले दिएका जवाफमाथि प्रतिनिधिसभामा छुट्टै छलफल भने नहुने व्यवस्था छ ।
कोइरालाका अनुसार नियमावलीको नियम ६० अनुसार सोधिएका प्रश्नको जवाफका सम्बन्धमा सदनमा कुनै छलफल गरिने छैन ।