भारत जाँदै चिनियाँ राष्ट्रपति सी जिनपिङ
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ भारत जाने भएका छन् । उनी सेप्टेम्बरमा नयाँदिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनसक्ने समाचार एजेन्सी रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार तीनवटा स्रोतले चिनफिङ ठूलो प्रतिनिधिमण्डलसहित भारत आउन सक्ने जानकारी दिएका छन् । यो सात वर्षपछि जिनपिङको पहिलो भारत भ्रमण हुनेछ । यसलाई भारत र चीनबीचको सम्बन्ध सुधार हुँदै गएको अर्को संकेतका रूपमा हेरिएको छ । भारतले आगामी सेप्टेम्बर १२ र १३ मा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्दैछ । रोयटर्सका अनुसार सम्मेलनमा जिनपिङको सहभागितालाई ब्रिक्सको एजेन्डाभन्दा पनि सन् २०२० को घातक सीमा संघर्षपछि भारत र चीनबीचको सम्बन्ध सामान्य बनाउने प्रयासबारे दिने संकेतका रूपमा बढी चासोका साथ हेरिनेछ । एक भारतीय स्रोतले रोयटर्सलाई भनेका छन्, ‘चिनियाँ अधिकारीहरू होटल र सुरक्षा व्यवस्थासम्बन्धी तयारीलाई अन्तिम रूप दिन जुटिरहेका छन् ।’ अन्य दुई भारतीय स्रोतका अनुसार जिनपिङसँग करिब ४०० अधिकारीको प्रतिनिधिमण्डल भारत आउने सम्भावना छ । सन् २०१९ मा उनको पछिल्लो भारत भ्रमणका क्रममा भने २०० भन्दा कम अधिकारी उनीसँगै आएका थिए ।
३ लाख ९९ हजारमा रिभोल्ट आरभीएक्स, नाडा अटो शोमा सार्वजनिक
काठमाडौं । नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले नाडा अटो शो २०२६ मा नयाँ विद्युतीय मोटरसाइकल आरभीएक्स सार्वजनिक गरेको छ । कम्पनीले यसलाई रिभोल्टको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली र प्रविधियुक्त विद्युतीय बाइक भएको दाबी गरेको छ । कम्पनीका अनुसार नेपालमा विद्युतीय गतिशीलतालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ ल्याइएको आरभीएक्सको सुरुवाती मूल्य ३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । नाडा अटो शोस्थित रिभोल्ट पेभिलियन र काठमाडौंको पानीपोखरीस्थित फ्ल्यागसिप शोरुमबाट बाइकको बुकिङ र टेस्ट राइड सुरु भइसकेको छ । आरभीएक्समा ४ किलोवाट क्षमताको मिड–ड्राइभ पीएमएसएम मोटर जडान गरिएको छ, जसले ५.३ किलोवाट पिक पावर र २३० एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार बाइकले ३.९ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघण्टा गति लिन सक्छ भने ‘बुस्ट मोड’मा ९० किलोमिटर प्रतिघण्टासम्म दौडिन सक्षम छ । यसमा ३.२४ किलोवाट–आवर क्षमताको निकाल्न मिल्ने एनएमसी ब्याट्री जडान गरिएको छ । फास्ट चार्जरबाट ८० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने यो बाइकले एकपटकको पूर्ण चार्जमा १६० किलोमिटरसम्मको आईडीसी रेन्ज दिने कम्पनीले जनाएको छ । आरभीएक्समा ३.५ इन्चको पीएमभीए डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टेलिम्याटिक्स, जियो–फेन्सिङ, हिल होल्ड असिस्ट, रिभर्स मोड र वाक असिस्टजस्ता स्मार्ट फिचर समावेश गरिएको छ । यो बाइक पर्ल ब्ल्याक, इलेक्ट्रिक ब्लु र इक्लिप्स रेड गरी तीन रङमा उपलब्ध हुनेछ । बाइक सार्वजनिकसँगै एमभी दुगड ग्रुप र रिभोल्ट मोटर्सले ‘नेपाल गर्छ रिभोल्ट’ नामक नयाँ ब्रान्ड अभियान पनि सुरु गरेका छन् । कम्पनीका अनुसार यो अभियान नयाँ पुस्ताका नेपाली राइडरको आत्मविश्वास, पहिचान र दिगो यात्राको सन्देशसँग जोडिएको छ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले बढ्दो इन्धन मूल्य र वातावरणीय चेतनाका बीच आरभीएक्सले शैली र कार्यक्षमतामा कुनै सम्झौता नगरी किफायती तथा दिगो विकल्प दिने बताए । रतनइन्डिया इन्टरप्राइजेजकी अध्यक्ष अञ्जली रतनले नेपाल रिभोल्टका लागि महत्त्वपूर्ण रणनीतिक बजार भएको उल्लेख गर्दै आरभीएक्सले पर्फर्मेन्स विद्युतीय बाइकको नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरिन् । कम्पनीका अनुसार काठमाडौं, पोखरा, विराटनगर, बुटवल, वीरगन्ज, जनकपुर, नेपालगन्ज र धनगढीलगायत प्रमुख सहरमा रहेका एमभी दुगड ग्रुपका शोरुमबाट बाइकको बिक्री, डेलिभरी र सर्भिस सुविधा उपलब्ध हुनेछ ।
भेस्पा र एप्रिलियाको नाडा अफर, स्कुटर खरिदमा २८ हजार ५ सयसम्म लाभ
काठमाडौं । भेस्पा र एप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ‘द सेभिङ एक्स्ट्राभागान्जा’ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत अटो शो अवधिभर स्कुटर खरिद वा बुकिङ गर्ने ग्राहकले २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ पाउने भएका छन् । भृकुटीमण्डपस्थित टिडब्लुई–११ नम्बर स्टलमा सञ्चालन भइरहेको यो अफर नगद, फाइनान्स र एक्सचेन्ज तीनै माध्यमबाट स्कुटर खरिद गर्ने ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ । साथै स्कुटर खरिदकर्तालाई भेस्पा र एप्रिलियाको आकर्षक ल्यापटप ब्याग पनि उपहारस्वरूप प्रदान गरिनेछ । यस वर्ष डेल्टा अटोकर्पले आफ्नो स्टललाई इटालियन कफे थिममा सजाएको छ । कम्पनीका अनुसार स्टलमार्फत आगन्तुकलाई प्रिमियम इटालियन जीवनशैली र ब्रान्डको फरक अनुभव दिने प्रयास गरिएको छ । नाडा अटो शोमा कम्पनीले एप्रिलिया एसआर १७५ एचपीई पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटरमा आधुनिक प्रविधि र उच्च कार्यसम्पादनको संयोजन गरिएको छ । यससँगै भेस्पा १२५ लाई नयाँ लाइल्याक रङमा र भेस्पा एस १२५ लाई ओरो रङमा सार्वजनिक गरिएको छ । प्रदर्शनीमा एप्रिलियाको स्टर्म १२५, एसआर १६० तथा भेस्पाको जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ का विभिन्न भेरियन्ट पनि प्रदर्शनमा राखिएका छन् । डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले नाडा अटो शोमार्फत नयाँ मोडल र विशेष अफर नेपाली ग्राहकसामु ल्याउन पाउँदा उत्साहित रहेको बताए । उनले कफे थिमको स्टल र आकर्षक अफरले आगन्तुकको अटो शो अनुभवलाई थप स्मरणीय बनाउने विश्वास व्यक्त गरे ।
नयाँ ब्रेजासँगै सुजुकीको योजना, स्क्र्याच गर्दा २ लाखसम्म नगद छुट
काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्प ले चाडपर्वलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ । नाडा अटो शो २०२६ को अवसरमा ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले स्क्र्याच एन्ड विन अफरमार्फत २ लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसर पाउनेछन् । कम्पनीका अनुसार योजना केही दिनअघि नै सुरु भइसकेको छ । चाडपर्वको समयमा सुजुकी गाडी खरिदलाई थप सहज र लाभदायी बनाउने उद्देश्यले नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क आवधिक मर्मतसम्भार (पीएमएस) पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बीमालगायत सुविधा उपलब्ध गराइएको छ । सुजुकी पर्वोत्सवअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट र १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । साथै मोडेलअनुसार निःशुल्क एक्सेसरिज, पीएमएस पार्ट्स र एक वर्षको निःशुल्क अटो प्लस बीमा पनि उपलब्ध हुनेछ । यो योजना साउन २७ गतेदेखि मंसिर १५ गतेसम्म देशभरका सबै आधिकारिक सुजुकी शोरुममा लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, फ्रोन्क्स, ग्रान्ड भिटारा र ईभिटारासहित सुजुकीका अधिकांश मोडेल यो योजनामा समेटिएका छन् । विद्युतीय एसयूभी ईभिटारा का ग्राहकका लागि ‘फर्स्ट १०० युनिट प्रमोशनल स्किम’ छुट्टै सञ्चालनमा रहनेछ । कम्पनीले पहिलो १०० युनिटका ग्राहकलाई सवारीसँगै उपलब्ध हुने ३ किलोवाट स्ट्यान्डर्ड चार्जरका अतिरिक्त ७ किलोवाट होम चार्जर निःशुल्क उपलब्ध गराउने जनाएको छ । होम चार्जर जडान भने ग्राहकको घरमा प्राविधिक सम्भाव्यता अनुसार गरिनेछ । सुजुकीले नाडा अटो शो २०२६ मार्फत नयाँ ब्रेजा नेपाली बजारमा पहिलोपटक सार्वजनिक प्रदर्शनमा राखेको छ । कम्पनीका अनुसार अद्यावधिक फिचर, नयाँ पावरट्रेन र सुरक्षा प्रणालीसहित आएको ब्रेजाले भारत एनक्यापको पाँच-तारे सुरक्षा रेटिङ प्राप्त गरेको मोडेल हो । नाडा अटो शो अवधिभर आगन्तुकले नयाँ ब्रेजासहित सुजुकीका सम्पूर्ण मोडेल अवलोकन, अनुभव तथा बुकिङ गर्न सक्नेछन् । प्रदर्शनीका क्रममा सुजुकी प्याभिलियनमा छनोट गरिएका मोडेल बुकिङ गर्ने ग्राहकका लागि २ लाख रुपैयाँसम्मको पुरस्कार रहेको स्क्र्याच एन्ड विन अफर पनि उपलब्ध हुनेछ । सीजी मोटोकर्पका महाप्रबन्धक सिरज पन्तले नाडा अटो शोमा आएर मोडेलअनुसार उपलब्ध सुविधा र सीमित अवधिको अफरको लाभ लिन ग्राहकलाई आग्रह गरेका छन् ।
शशिधर शर्मा २ करोड धरौटीमा रिहा
काठमाडौं । कर्जा दुरुपयोग आरोपमा एसियन भिलेज रिसोर्टका अध्यक्ष शशीधर शर्मा धरौटीमा रिहा भएका छन् । मंगलबार उच्च अदालत पाटनले संयुक्त वाणिज्य इजलासका न्यायाधीश अर्जुन कोइराला र न्यायाधीश स्वीकृति पराजुलीको इजलासले २ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो । गत असार ३० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कर्जा दुरुपयोग गरेको आरोपमा एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शर्मालाई पक्राउ गरेको थियो । नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो। प्रतिवेदनअनुसार एसियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंक लिमिटेडबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो। रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ निवासी हुन्। उनी एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्षसमेत हुन्।
नेपाल टेलिकमको नयाँ सुविधा : हजारौँ नम्बरमा एकैपटक भ्वाइस म्यासेज पठाउन मिल्ने
काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई रेकर्ड गरिएको भ्वाइस म्यासेज पठाउन सकिने ‘आउटबाउन्ड आईभिएर’ सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले केही समयदेखि आन्तरिक परीक्षणका रूपमा सञ्चालन गर्दै आएको यो सेवालाई अब व्यावसायिक रूपमा ग्राहकका लागि उपलब्ध गराएको जनाएको छ । नेपाल टेलिकमका अनुसार यस सेवामार्फत अधिकतम एक मिनेटसम्मको रेकर्ड गरिएको सूचनामूलक वा प्रवर्द्धनात्मक भ्वाइस सन्देश एकैपटक ठूलो संख्यामा पठाउन सकिनेछ । टेलिकमका अनुसार आउटबाउन्ड आईभिएर सामूहिक सूचना प्रवाहका लागि उपयोगी सेवा हो । विभिन्न संघ–संस्था, व्यवसाय, शैक्षिक संस्था वा सेवा प्रदायकले सूचना, परीक्षाको नतिजा, कार्यक्रमको जानकारी वा प्रचार–प्रसारसम्बन्धी सन्देश हजारौँ व्यक्तिसम्म एकैपटक पुर्याउन सक्नेछन् । यो सेवा लिन इच्छुक कार्यालय, संस्था वा व्यवसायीले फोन गर्नुपर्ने नम्बरहरूको सूची र पठाउनुपर्ने भ्वाइस फाइल नेपाल टेलिकममा उपलब्ध गराई तोकिएको प्रक्रिया पूरा गर्नुपर्नेछ । यस सेवामार्फत कल जाँदा प्राप्तकर्ताको मोबाइल वा टेलिफोनमा सन्देश पठाउने संस्था वा सेवा प्रदायकको नाममा दर्ता भएको नम्बर नै कलर आईडी का रूपमा देखिने नेपाल टेलिकमले जनाएको छ । हालका लागि सेवा लिन इच्छुक ग्राहकले दूरसञ्चार कार्यालय, सुन्धारा पुगेर तोकिएको फाराम भरी सेवा लिन सक्नेछन् । नेपाल टेलिकमले स्वचालित रूपमा ठूलो संख्यामा कलमार्फत सूचना पठाउने सेवाको माग आगामी दिनमा बढ्दै जाने अपेक्षा गरेको छ ।
स्रोत नखुलेको रकमसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं । प्रहरीले लागुऔषधको कारोबारी खोज्न जाँदा स्रोत नखुलेको रकमसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौं महानगरपालिका १५ स्थित चमतीबाट ५२ वर्षीय मा यागुबीलाई ३१ लाख नगदसहित पक्राउ गरेको हो । यागुबी चौमतीमा घर भाडामा लिएर बस्दै आएका थिए । घर खानतलासी गर्दा कोठा भित्रबाट लागु औषध नभेटिएको तर स्रोत नखुलेको रकम भेटिएको प्रहरीले जनाएको छ । लागुऔषध ब्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार उनी हालसम्म ६ पटक नेपाल आएर फर्केको देखिन्छ । पछिल्लो पटक जुलाई २३, २०२६ मा आएको अध्यागमनको रेकर्डबाट देखिन्छ । उनलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ। यागुबीकाे साथबाट प्रहरीले नेपाली नगद ३१ लाख, पासपोर्ट थान १, सुन काट्न प्रयोग गरिने कैची थान १, ह्याम्मर थान १, डिजिटल तराजु थान १, क्यालकुलेटर थान १, विभिन्न कम्पनीका मोबाइल थान ४, एनआइएमबी बैँकको चेकबुक थान २ र एनआइसी बैंकको चेकबुक थान १ बरामद गरेकाे छ ।
गाडी किन्नेलाई एनआईएमबीको अफर, ५.१३ प्रतिशत ब्याजदरमै अटो लोन
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले सीमित अवधिका लागि वार्षिक ५.१३ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध गराउने जनाएको हो । मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार सवारी कर्जा प्रक्रियालाई सहज, छिटो र सर्वसुलभ बनाउने उद्देश्यले यो योजना ल्याइएको हो। बैंकले यस योजनाअन्तर्गत प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्रै कायम गरेको जनाएको छ । बैंकका अनुसार आवश्यक सम्पूर्ण कागजात बुझाएपछि तीन कार्यदिनभित्रै कर्जा स्वीकृत र प्रवाह गरिनेछ। यो सुविधा बैंकका देशभर रहेका सबै शाखामार्फत उपलब्ध हुनेछ । प्रतिस्पर्धी ब्याजदर, न्यून सेवा शुल्क र द्रुत कर्जा स्वीकृतिका कारण नयाँ गाडी खरिद गर्ने योजनामा रहेका ग्राहकलाई यो योजना लाभदायी हुने बैंकको विश्वास छ । बैंकले यो विशेष अटो लोन योजना सीमित अवधिका लागि मात्रै लागू हुने जनाएको छ ।