विकासन्युज

पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्के खोला र मलेखुको बीचमा पर्ने परेवा भीरमा अवरुद्ध सडक पुनः सञ्चालनका लागि मर्मत कार्यलाई तीब्रता दिइएको छ । गत भदौ १० गते र त्यसपछिको त्रिशूली नदीको बाढीका कारण सडकको एक हिस्सा भासिएपछि उक्त खण्डमा यातायात सेवा प्रभावित हुँदै आएको थियो ।  सडक विभागका अनुसार हाल उक्त स्थानमा सडकको ग्रेड मिलाउने तथा सतह सम्याउने कार्य प्राविधिक टोलीद्वारा भइरहेको छ ।  नदीको कटान र सडक भासिएका कारण जोखिमपूर्ण बनेको यस खण्डलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण र मर्मतलाई प्राथमिकतामा राखिएको छ ।  मौसम अनुकूल रहेमा आज साँझसम्म सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने विभागको तयारी छ । देशको मुख्य जीवनरेखा मानिने पृथ्वी राजमार्गको यो खण्ड अवरुद्ध हुँदा यात्रुहरूले निकै सास्ती खेप्नु परिरहेको छ ।  सडक मर्मत सम्पन्न भई यातायात पुनः सुरु भएमा यस क्षेत्रको सवारी चाप कम हुने र आवागमन सहज हुने विश्वास लिइएको छ । –न्युज एजेन्सी नेपाल

कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमा, केही समयमै यातायात सुचारु हुने

काठमाडौं । कान्ति राजमार्गमा खसेको पहिरो पन्छाएर अवरुद्ध सडक पुनः सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । पहिरोका कारण ठप्प बनेको सवारी आवागमन सुचारु गराउन अहिले कार्यस्थलमा तीव्र रूपमा काम भइरहेको छ ।  राजमार्गमा थुप्रिएको पहिरो हटाउनका लागि भारी उपकरण तथा एक्स्काभेटरहरूको प्रयोग गरिएको छ । पहिरो पन्छाउने क्रममा सडक छेउमा रहेका विद्युतीय पोलहरूलाई सुरक्षित राख्दै विशेष सावधानीका साथ कार्य अघि बढाइएको छ ।  विद्युतीय पूर्वाधारमा क्षति नपुगोस् भन्ने उद्देश्यले प्राविधिक टोलीले सतर्कता अपनाउँदै पहिरो हटाउने कामलाई प्राथमिकता दिएको हो ।  संवद्ध अधिकारीहरूका अनुसार हाल सडकको ट्र्याक खोल्ने कार्य लगभग सम्पन्न भइसकेको छ । यदि प्राकृतिक रूपमा थप पहिरो नखसेको खण्डमा केही समयभित्रै सवारी आवागमन पूर्ण रूपमा सुचारु हुने बताइएको छ ।  सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधन र यात्रुहरू सडक खुल्ने प्रतीक्षामा रहेका छन् । –न्युज एजेन्सी नेपाल

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

काठमाडौं । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन् । मन्त्रीको निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

मृतकको संख्या  १ हजार ३ सय ४९ पुग्यो, ५ हजार बढी बेपत्ता

  काठमाडौ । भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनासकारी बाढीपछि हालसम्म १ हजार ३३१ जनाको शव फेलापरेको छ भने पाँच हजार जना अझै सम्पर्कविहीन रहेका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ १९ गते बिहान ११ बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढीपहिरोमा परी रसुवामा १६३, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२० र चितवनमा ३६२ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । यस्तै, विभिन्न जिल्लाबाट करिब ४ हजार १९६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । रसुवा र नुवाकोटमा मात्रै ठूलो संख्यामा नेपाली नागरिक सम्पर्कविहीन रहेको तथा विदेशी नागरिक र सुरक्षाकर्मीरकर्मचारीसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । विपद्मा परेका नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । हालसम्म १३ हजार ९०४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । उद्धार गरिएकामध्ये नेपाली सेनाले ४ हजार १६२, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरी बलले ४ हजार ६७४ जनाको उद्धार गरेका छन् । उद्धारका क्रममा नेपाली सेनाले हेलिकप्टरमार्फत १७३ पटक उडान गरेको छ भने काठमाडौंका विभिन्न क्षेत्रबाट निजी क्षेत्रमार्फत पनि १२९ वटा उडान भएको विवरणमा उल्लेख छ । उद्धार गरिएका विदेशी नागरिकको संख्या ३०४ रहेको छ । बाढीपहिरोबाट घाइते भएका ६ हजार ७५ जनाको उपचार गरिएको छ। विभिन्न अस्पतालमा ३१६ जना, नेपाली सेनामार्फत ३ हजार २९७ जना तथा सशस्त्र प्रहरीबाट २ हजार ४६२ जनाले स्वास्थ्य उपचार पाएका छन् । प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टरमा ३ हजार ६५२ जना राखिएको प्राधिकरणले जनाएको छ। सुरक्षातर्फ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले रसुवा र नुवाकोटमा एक–एक करोड रुपैयाँ, धादिङमा ५० लाख रुपैयाँ तथा प्रभावित १५ पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । त्यस्तै, काठमाडौंस्थित विभिन्न स्थानबाट ५३ ट्रक र ३८ बोलेरोमार्फत प्रभावित क्षेत्रमा खाद्यान्न तथा गैरखाद्य सामग्री पठाइएको छ । हेलिकप्टरमार्फत पनि राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा इन्धन आपूर्तिलाई समेत प्राथमिकता दिइएको छ ।  हाल डिजेल ४७ हजार लिटर, पेट्रोल १८ हजार लिटर र हवाई इन्धन १८ हजार लिटर मौज्दात रहेको विवरणमा उल्लेख छ ।

सांग्रिला विकास बैंकको सीइओमा सिजापति नियुक्त

काठमाडौ। सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रबिन सिजापति नियुक्त भएका छन् । उनलाई शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले बैंकको सीइओ नियुक्त गरेको हो । यसअघिका सीइओ सुयोग श्रेष्ठको कार्यकाल भदौ १८ गते बिहीबारदेखि समाप्त भएपछि बैंकले नयाँ सीइओको रुपमा उनलाई नियुक्त गरेको होद । उनलाई ४ वर्षका लागि सीइओ नियुक्त गरीएको हो । उनी यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बरिष्ठ नायब महाप्रबन्धक थिए ।    

रसुवाको बाढीमा घाइते ७२ जनाको अझै उपचार हुँदै, कुन अस्पतालमा कति घाइते ?

काठमाडौं । भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा परी घाइते भएका ७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (एचइओसी) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार बाढीमा परी कुल ३१६ जना घाइते भई विभिन्न अस्पतालहरूमा उपचारका लागि पुगेका थिए । जसमध्ये २१० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ७२ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। उपचारका क्रममा विभिन्न अस्पतालमा ४ जनाको मृत्यु भएको छ भने ३० जनालाई अन्यत्र रिफर गरिएको छ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा रोग निगरानीलाई तीव्र बनाइएको छ। विभिन्न १५ वटा होल्डिङ सेन्टरहरूमार्फत कुल २,६८९ जना प्रभावितहरूले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । नुवाकोटको बकुलहर रत्ननगर अस्पताल, सशस्त्र प्रहरी बल र आयुर्वेद टोली सम्मिलित केन्द्रबाट १ हजार २९ जना तथा चौतारा अस्पताल र सीएमसी नेपालको टोलीबाट ४५३ जनाले सेवा पाएका छन् । कुन अस्पतालमा कति घाइते ? हाल विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २९ जना, रसुवा अस्पताल गोसाईकुण्ड, धुन्चेमा २७ जना र राष्ट्रिय ट्रमा सेन्टर, महाबौद्धमा १२ जना रहेका छन् । त्यस्तै, श्री वीरेन्द्र अस्पताल, छाउनीमा ३ जना तथा त्रिशूली अस्पताल, नुवाकोट, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, नेपाल एपीएफ अस्पताल, बलम्बु, ग्रिनसिटी अस्पताल, टोखा, चिरायु राष्ट्रिय अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बी एण्ड बी अस्पताल, ग्वार्को र आदमघाट अस्पतालमा १–१ जना उपचाररत छन् । १३ आकस्मिक चिकित्सकीय टोली परिचालन प्रभावित क्षेत्रमा १३ वटा सक्रिय आकस्मिक चिकित्सकीय टोलीका १७० जना सदस्य परिचालन गरिएका छन् । ती टोलीले हालसम्म ४ हजार २४१ भन्दा बढी बिरामीको उपचार गरिसकेका छन् । बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन तथा पहिचान हुन नसकेका व्यक्तिहरूको पहिचानमा सहयोग पुर्‍याउन रसुवामा डीएनए नमुना संकलनका लागि टेन्ट स्थापना गरी तयारी पूरा गरिएको छ। रोग निगरानीमा ज्वरो, खोकी र झाडापखालाका केस रोग निगरानी प्रणालीमार्फत पछिल्लो २४ घण्टामा ९ वटा ज्वरो तथा खोकी, ३ वटा झाडापखाला र ९ वटा साधारण ज्वरोका केसहरू दर्ता भएका छन् । बाढीपछि दूषित पानी र फोहोरका कारण विभिन्न सरुवा रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानीलाई प्राथमिकता दिइएको छ । ६ हजारभन्दा बढीमा मनोसामाजिक परामर्शको पहुँच बाढी प्रभावित क्षेत्रमा हालसम्म ६ हजार २६८ जनासम्म मनोसामाजिक परामर्शको पहुँच पुगेको छ। जसमध्ये ३ हजार ८१३ जनाले प्रत्यक्ष सेवा पाएका छन्। यस कार्यमा २ मनोचिकित्सक, २ साइकोलोजिस्ट र १२१ परामर्शदातासहित १२५ जनाको जनशक्ति खटाइएको छ । स्वास्थ्य सेवा विभाग र वान हर्ट वर्ल्डवाइडको सहयोगमा २२ हजारभन्दा बढी ट्याब्लेट क्याप्सुल, ३ हजारभन्दा बढी ट्रमा तथा ड्रेसिङ सेट, र २ हजार २ सयभन्दा बढी ओआरएस तथा फ्लुइड बोतल प्रभावित जिल्लाहरूमा पठाइएको छ। ५ स्वास्थ्य संस्था पूर्णरुपमा क्षति बाढीका कारण स्याफ्रुबेशी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क रसुवागढी र मैलूङ्ग सामुदायिक स्वास्थ्य इकाई पूर्ण रूपमा क्षति भएका छन् । त्यस्तै, धादिङ र त्रिशुली अस्पतालमा पहुँच अवरुद्ध भएको छ भने बैरेनी अस्पताल र चरौदी आ।स्वा।के। मा आंशिक क्षति पुगेको छ ।  मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा दूषित पानी र फोहोरका कारण झाडापखाला, हैजा, डेङ्गु तथा मलेरिया जस्ता रोगको जोखिम बढेकाले उमालेको पानी पिउन र सरसफाइमा ध्यान दिन अपिल गरेको छ। स्वास्थ्य सम्बन्धी जानकारी वा आपतकालीन सेवाका लागि निःशुल्क हटलाइन १११५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकलक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । काठमाडौं–भोटेकोशी बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिकलाई लक्षित गरी नुवाकोटको विदुर नगरपालिका–३, सिर्खलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । २०८३ भदौ २० गते सञ्चालन गरिएको शिविरबाट २०० जनाले स्वास्थ्य सेवा लिएका छन् । सेवा लिनेमा १०१ जना ज्येष्ठ नागरिक थिए, जसमा ४८ महिला र ५३ पुरुष रहेका छन् । बाढीका कारण प्रभावित ज्येष्ठ नागरिकको सुगर, प्रेसरलगायत नसर्ने तथा दीर्घरोगको नियमित औषधि बगाएपछि शिविरमार्फत स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकीय परामर्श र आवश्यक औषधिसम्बन्धी सेवा उपलब्ध गराइएको हो । शिविरमा ज्येष्ठ नागरिक रोग विशेषज्ञ, अर्थोपेडिक्स, मुटु रोग, दन्त तथा अर्थोपेडिकसम्बन्धी सेवा प्रदान गरिएको थियो । बाढीपछि मानसिक तनावमा रहेका प्रभावित परिवारलाई लक्षित गरी २५ जना ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारका सदस्यलाई तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श समेत दिइएको छ ।  बाढी प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनमा खटिएका नेपाली सेना र सशस्त्र प्रहरी बलका बेसलाई समेत आवश्यक केही महत्त्वपूर्ण औषधि उपलब्ध गराइएको थियो

गुल्मेली रोटीको स्वाद अब काठमाडौंमै

काठमाडाै‌। गाउँको आँगन, चुल्होको तातो र चाडपर्वको सम्झना दिलाउने गुल्मीका मौलिक रोटी अब काठमाडौंमै खान पाइने भएको छ । गुल्मीमा पुस्तौँदेखि बनाइँदै आएका फिनी, अनरसा, अर्सा, झिनिया र सेल रोटी अब चन्द्रागिरिको धौलागिरी आवास क्षेत्रमा दिदीबहिनी रोटी उद्योग मार्फत उपलब्ध हुन थालेको उध्योगका सन्चालक इन्दीरा भण्डारीले जानकारी दिइन् । गुल्मीको परम्परागत स्वादलाई काठमाडौंसम्म पुर्‍याउनेउद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक भण्डारी बताउँछिन् । उनका अनुसार बजारमा रोटीका अनेक स्वाद पाइए पनि गुल्मीको मौलिक स्वाद र स्थानीय कच्चा पदार्थ प्रयोग गरेर तयार हुने रोटीको छुट्टै पहिचान छ । रोटीको स्वादमा गुल्मीको मौलिकता कायम राख्न उद्योगले छल्दीको हँसराज चामल र थोर्गाको खुदो प्रयोग गर्ने भएको छ । परम्परागत स्वादलाई प्राथमिकता दिँदै रोटी शुद्ध घिउमा तयार गरिने भण्डारीले बताइन् । गुल्मीमा बनाइने रोटीको स्वाद काठमाडौंमा पनि उस्तै महसुस गराउन चाहेका छौँ, उनले भनिन् । विशेषगरी गुल्मीका गाउँघरमा चाडपर्व, विवाह, पूजाआजा तथा पारिवारिक जमघटका अवसरमा बनाइने यी रोटी पछिल्लो समय शहरमा समेत लोकप्रिय हुँदै गएका छन् । रोजगारी, अध्ययन तथा व्यवसायका कारण काठमाडौंमा बस्दै आएका गुल्मेलीका लागि भने यी रोटी गाउँको स्वाद र सम्झनासँग जोडिने परिकार पनि हुन् । दिदीबहिनी रोटी उद्योगले परम्परागत परिकारलाई व्यावसायिक उत्पादनसँग जोड्दै स्थानीय कृषि उत्पादनको बजार विस्तार गर्ने लक्ष्यसमेत राखेको छ । स्थानीय चामल, खुदो र अन्य कच्चा पदार्थको प्रयोग बढाउँदा त्यसको लाभ किसानसम्म पुग्ने र परम्परागत खानाको संरक्षणमा समेत योगदान पुग्ने उद्योगको विश्वास छ । भण्डारीका अनुसार उपभोक्ताको माग र रुचिलाई ध्यानमा राख्दै आगामी दिनमा गुल्मीमा प्रचलित अन्य मौलिक परिकारसमेत उत्पादन गर्ने योजना छ । उनका लागि यो केवल रोटी बेच्ने व्यवसाय होइन, गुल्मीको स्वाद, संस्कृति र परम्परालाई काठमाडौंको बजारसम्म पुयाउने प्रयास पनि हो । गुल्मीका गाउँघरमा चाडपर्व र विशेष अवसरमा पाक्ने रोटी अब काठमाडौंमा समेत सहजै उपलब्ध हुने भएपछि उपभोक्ता पनि उत्साहीत देखिएका छन् ।  स्थानीय उपभोक्ता घना भुसाल गाउँको स्वाद खोजिरहेका गुल्मेलीलाई मात्र होइन, मौलिक नेपाली परिकारको स्वाद लिन चाहने काठमाडौंवासीका लागि पनि दिदीबहिनी रोटी उद्योग गुल्मीको स्वाद चाख्ने नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको बताइन् ।