विकासन्युज

उद्धारदेखि राहत वितरणमा एमालेका एक हजार नेता कार्यकर्ता परिचालित

काठमाडौं । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि नेकपा एमालेले आफ्ना नेता तथा कार्यकर्ता र जनवर्गीय संगठनका स्वयंसेवकलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ । एमालेले बाढीपीडितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि छुट्टै सहयोग समिति गठन गरी रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा स्वयंसेवक परिचालन गरेको जनाएको छ ।  एमाले वागमती प्रदेश इन्चार्ज महेश बस्नेतका अनुसार पार्टीले पहिलो चरणमा तत्काल उद्धार, राहत र दीर्घकालीन पुनस्र्थापनाका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणासमेत गरेको छ ।  एमालेका अनुसार पार्टी सचिव समेत रहेका बस्नेतको संयोजकत्वमा गठित सहयोग समितिले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार राहत तथा मानवीय सहयोग परिचालन गरिरहेको छ । बस्नेतका अनुसार पार्टीले नेता कार्यकर्तालाई प्रभावित जिल्लामै खटाएर उद्धार तथा राहतको काम अघि बढाइरहेको छ । बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं प्रभावित जिल्लाहरुमा पुगेका थिए । उनले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै स्थानीयसँग भेटेर तत्काल आवश्यक सहयोगबारे जानकारी लिएका थिए । भग्नावशेष हटाउनेदेखि राहत वितरणसम्म एमाले नेता तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार पार्टीबाट परिचालित टोलीले प्रभावित क्षेत्रमा भग्नावशेष हटाउने, हिलो सफा गर्ने तथा राहत सामग्री संकलन र वितरणको काम गरिरहेको छ । श्रेष्ठका अनुसार अखिल स्कुलहरूमा केन्द्रित छ । धादिङको काम सकेर अब रसुवा जाँदैछ,श्रेष्ठले भने । जिफन्टले प्रभावित क्षेत्रको सरसफाई र प्रभावितहरुलाई पुर्नस्थापनाको काम गरीरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रेष्ठ नेतृत्वको टोली रसुवा र धादिङमा केन्द्रित छ । टोलीले भग्नावशेष हटाउने तथा बाढीबाट प्रभावित निजी घर सफा गर्ने काम गरिरहेको छ । श्रेष्ठले अव त्रिशुली तरेर पारी तिरको भग्नावशेष हटाउन सोमवारवाट ३० जनाको नयाँ शक्ती समेत थपेको छ । त्यस्तै युवा संघ नेपाल रसुवामा केन्द्रित भएर उद्धार तथा राहत वितरणमा खटिएको छ । नुवाकोटमा रुपनारायण श्रेष्ठको संयोजनमा भूतपूर्व सैनिक संगठन, खेलकुद महासंघ र भोलेन्टियर्स फोर्स परिचालित छन् । एमाले पवक्ता निरज आचार्यका अनुसार धादिङमा रमेश आचार्यको नेतृत्वमा रिटर्नी फेडेरेसन, अखिल नेपाल महिला संघ र सम्पर्क मञ्चका टोली राहत तथा उद्धारमा केन्द्रित रहेका छन् । आचार्यका अनुसार पार्टीको करिब १ हजार जनशक्ति प्रभावित क्षेत्रमा परिचालित भएको छ । प्रारम्भिक चरणमा म्याट्रेस, त्रिपाल, कम्बल तथा खाद्यान्नलगायत सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको प्रवक्ता आचार्यले बताए । फिल्डमा भएको आवश्यकता पहिचान गर्दै पहिलो चरणमा म्याट्रेस, त्रिपाल, कम्बल र खाद्यान्न पुयाइसकेको एमाले नुवाकोट अध्यक्ष वद्री मैनालीले जानकारी दिए ।  दोस्रो चरणमा पीडितको आवश्यकताअनुसार थप राहत सामग्री पठाउँछौँ, उनले भने ।

बाढीले १ हजार ८०६ हेक्टर खेतीयोग्य जमिन बगर बनायो

काठमाडौं । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले कृषि क्षेत्रमा ठूलो क्षति पु‍र्याएको छ ।  संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक आँकलनअनुसार बाढीका कारण १ हजार ८०६ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।  क्षतिग्रस्त जमिनमध्ये १ हजार ६६९ हेक्टर धानखेत र १३७ हेक्टर तरकारी खेती रहेको छ । बाढीका कारण कृषि उत्पादनमा मात्रै करिब ७ हजार ६८६ मेट्रिक टन क्षति पुगेको प्रारम्भिक अनुमान छ । यस्तै, ४ हजार ७५० भन्दा बढी पशुचौपाया र ५४ हजार कुखुरा मरेका छन् भने करिब एक सय माछापोखरीमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

भोटेकोशी बाढी प्रभावितको धुलिखेल अस्पतलले एक वर्षसम्म नि:शुल्क उपचार गर्ने

काठमाडौं । काठमाडौं-धुलिखेल अस्पतालले भोटेकोशी बाढी तथा विपद्बाट प्रभावित परीवारलाई एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै विपद्का कारण प्रभावित परिवार तथा समुदायमा स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले आवश्यक स्वास्थ्य सेवा, परामर्श तथा उपचारलाई प्राथमिकताका साथ निरन्तरता दिने उल्लेख गरिएको छ। विपद्को समयमा प्रभावित नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न अस्पतालका स्वास्थ्यकर्मी तथा सम्बन्धित पक्षबीच आवश्यक समन्वय र सहकार्य गरिने अस्पतालले जनाएको छ। विशेषगरी विपद्बाट प्रभावित तथा जोखिममा रहेका समुदायलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। अस्पतालले विपद्का कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा समेत आवश्यक सहयोग र सहकार्य गर्ने जनाएको छ । प्रभावित नागरिकलाई स्वास्थ्यसम्बन्धी समस्या देखिएमा समयमै उपचार तथा परामर्श लिन अस्पतालले आग्रह गरेको छ ।

इरानमा इन्धन ट्यांकरमा आगलागी, ११ जनाको मृत्यु

काठमाडौं । इरानको सनन्दज–हमदान राजमार्गमा इन्धन ट्यांकरमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । घटनापछि कुर्दिस्तान प्रान्तका गभर्नरले पूरै प्रान्तमा दुई दिन सार्वजनिक शोकको घोषणा गरेका छन् । समाचार एजेन्सी आईआरएनएले कुर्दिस्तान न्याय विभागको जनसम्पर्क कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार घटना शनिबार साँझ करिब ५ः३० बजे सनन्दज सहरको प्रवेशद्वारनजिक भएको हो । २० हजार लिटर पेट्रोल बोकेको इन्धन ट्यांकरले पछाडिबाट एउटा मिनीबसलाई ठक्कर दिएपछि विस्फोट भएको थियो । दुर्घटनामा दुवै सवारीसाधनका चालकको मृत्यु भएको जनाइएको छ । कुर्दिस्तानका मुख्य न्यायाधीश मोहम्मद जब्बारीले घटनाको कारणबारे अनुसन्धान गर्न मुद्दा दर्ता गरिएको बताएका छन् । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा इन्धन ट्यांकरको ब्रेकमा आएको प्राविधिक खराबीका कारण दुर्घटना भएको देखिएको छ ।

३ दिनमा काठमाडौं भित्रियो ८७ हजारभन्दा सिलिण्डर, ग्यास अभाव कायमै

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिण्डर ग्यास काठमाडौं भित्र्याइएको छ । नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट ‘रिफिलिङ’ (पुनः भर्ने) गरेर ८७ हजार ८७७ वटा सिलिण्डर काठमाडौं ल्याइएको हो । यही भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा सिलिण्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ ।  यही भदौ १४ गते त्रिशूलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटैमा रोकिएका थिए। त्यसलगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर काठमाडौं भित्र्याउने व्यवस्था गरेको हो। निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा पनि ‘रिफिलिङ’ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिइएको छ ।  अहिले पनि ग्यास अभाव भने कायमै छ । सहजै ग्यास नपाएको उपभोक्ताले गुनासो गरेका छन् । 

‘विपदमा १५–१६ हेलिकोप्टर निरन्तर परिचालन, थप २० वटा स्ट्यान्डबाईमा छन्’

भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीले १ हजार ३ सय बढीको मृत्यु भइसकेको छ भने ५ हजारभन्दा बढी मानिस सम्पर्कविहीन छन् । बाढीपहिरोले सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुँदा उद्धार र राहतमा चुनौती थपिएको छ । यस्तो अवस्थामा उद्धार, राहत तथा आवतजावतका लागि हेलिकप्टरको भूमिका महत्त्वपूर्ण बनेको छ । विपद्को समयमा हेलिकप्टरले कसरी सेवा दिइरहेका छन् भन्ने विषयमा वायुसेवा सञ्चालक संघका महासचिव मुरलीधर जोशीसँग विकासन्युजकर्मी बविता तामाङले गरेको कुराकानीको संक्षिप्त अंश : विपद्को समयमा निजी वायुसेवा तथा हेलिकोप्टर कम्पनीहरू उद्धार र राहतमा कत्तिको सक्रिय छन् ? अहिले हामीले रेस्क्यु कोअर्डिनेसन सेन्टरलाई हेलिकोप्टर उपलब्ध गराइरहेका छौं । दैनिक रूपमा उहाँहरूको माग आउँछ र सोहीअनुसार हेलिकप्टरको व्यवस्था गरिरहेका छौं । अहिले विशेषगरी शव व्यवस्थापन, उद्धार र राहतका लागि हेलिकप्टर प्रयोग भइरहेको छ । टनेल क्षेत्रमा पनि उद्धारका लागि हेलिकोप्टर परिचालन भइरहेको छ । अहिले कति संख्यामा हेलिकप्टर सक्रिय छन् ? अहिले निजी क्षेत्रका करिब ११ वटा हेलिकप्टर सक्रिय रूपमा प्रयोग भइरहेका छन् । अन्य हेलिकप्टर पनि तयारी अवस्थामा छन् । प्रभावित क्षेत्रमा अझै हवाई उद्धारको आवश्यकता कति छ ? हेलिकप्टर पर्याप्त मात्रामा छन् त ?  अहिले उद्धार तथा राहतका लागि रेस्क्यु कोअर्डिनेसन सेन्टरमार्फत काम भइरहेको छ । नेपाल सरकारको विपद् प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर सेन्टरले आवश्यकताका आधारमा हेलिकप्टर परिचालन गरिरहेको छ ।  विभिन्न माध्यमबाट आएका उद्धारका अनुरोधलाई मूल्याङ्कन गरेर दोहोरो नपर्ने गरी पालैपालो हेलिकप्टर उडाउने व्यवस्था गरिएको छ । प्रत्येक कम्पनीको कम्तीमा एउटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । हामीले ‘डेडिकेटेड वे’ मार्फत हरेक बिहान मागअनुसार ११–१२ वटा हेलिकोप्टर कम्पनीबाट एक–एकवटा हेलिकप्टर छुट्याएर उपलब्ध गराउँदै आएका छौं । माग बढेको अवस्थामा थप हेलिकप्टर उपलब्ध गराउन अन्य हेलिकप्टर पनि स्ट्यान्डबाइमा राखेका छौं ।  हेलिकप्टरको अभाव नहुनुपर्ने हो । किनभने अहिले निजी क्षेत्रमा ३६ वटा हेलिकोप्टर छन्, जसमध्ये दुई–तीनवटा मर्मतमा होलान् । करिब ३२ वटा हेलिकोप्टर सञ्चालनमा छन् । समस्या हेलिकप्टर नपुगेर भन्दा पनि उद्धारको आवश्यकता र सूचना सम्बन्धित निकायसम्म समयमै नपुग्दा हुन सक्छ । सञ्चार सञ्जाल पनि राम्रो नभएकाले माग आएर मात्रै स्वतः हेलिकप्टर पुग्ने अवस्था हुँदैन । हामीले १५/१६ वटा हेलिकप्टर अनवरत रूपमा परिचालन गरिरहेका छौं । बाँकी २० वटा हेलिकप्टर पनि हामीले माग आउँदा परिचालन गर्ने भनेर यही काठमाडौमा स्ट्यान्डबाइमा राखेका छौं । अझ अहिले चार्टर फ्लाइट पनि खुला गरेका छैनौं । विपद् प्रभावित क्षेत्रबाहेक अन्य ठाउँबाट उद्धारको माग आएमा पनि पहिले रेस्क्यु कोअर्डिनेसन सेन्टरलाई जानकारी गराउँछाैं । उनीहरूको स्वीकृतिपछि मात्रै उडान गर्ने गरेका छौं । त्यसैले अहिले हेलिकप्टरको अभाव छ जस्तो मलाई लाग्दैन । अहिले उद्धार तथा राहतमा खटिएका निजी हेलिकप्टरले छुट्टै शुल्क लिने व्यवस्था छ ? अहिले आरसीसीबाट आएका साइटहरूमा हुने सबै उडान सरकारले नै व्यवस्थापन गरिरहेको छ । भुक्तानीको पक्ष पनि सरकारकै हो । त्यसबाहेक राहतका लागि कसैले आफ्नै हिसाबले उडान गर्नुपरेमा पनि हामीले सरकारलाई जानकारी गराएर गर्ने गरेका छौं । तर प्रभावित क्षेत्र भूगोल र एरिया स्पेसका हिसाबले सानो भएकाले धेरै उडान गर्दा उद्धार कार्यमै समस्या हुन सक्छ । त्यसैले त्यस्ता उडानहरू कमै गरिरहेका छौं । अन्य व्यक्तिले भुक्तानी गर्ने सर्तमा पनि हामीले खासै त्यतातिर उडान गरेका छैनौं ।  हाम्रो पहिलो प्राथमिकता सरकारको आरसीसीअन्तर्गत रेस्क्यु कोअर्डिनेसनकै कामलाई दिइरहेका छौं । कुनै कुनै फाटफुट रूपमा एक–दुईवटा हेलिकप्टर कम्पनीले त्यस्तो काम गरिरहेका छन् । नेपाल सरकारको प्राथमिकताभन्दा छुट्टै, कसैले आफ्नै इच्छाले प्रभावित क्षेत्रमा गएर अवस्था बुझ्ने वा खोजी गर्ने काम पनि हुन सक्छ । उद्धार अपरिहार्य नभए पनि कसैको मन शान्तिका लागि एकपटक गएर हेर्ने क्रममा खोजी कार्यमा सहयोग पुग्न सक्छ । त्यो काममा पनि हेलिकप्टर प्रयोग भइरहेको छ । अर्को राहत वितरणसम्बन्धी काममा । व्यक्तिगत रूपमा लगिएको राहतले मात्रै पर्याप्त हुँदैन । तर व्यक्तिगत पहलमा राहत पुर्‍याउन चाहनेहरू पनि हुन्छन् । त्यस्तो अवस्थामा उनीहरूले खर्च आफै बेहोर्ने गरी अनुरोध गरेमा हामीले आरसीसीसँग समन्वय गर्छौं । त्यहाँको फ्लाइट मुभमेन्टमा असर नपर्ने र उद्धार तथा राहतको काम प्रभावित नहुने अवस्था भए आरसीसीले अनुमति दिन्छ । त्यसपछि हामी त्यस्ता उडान पनि सञ्चालन गर्छौं । विपद्को समयमा उद्धार समन्वयमा कुनै प्रशासनिक समस्या वा चुनौती भोग्नुपरेको छ ? जटिलता धेरै छ । प्राविधिक चुनौती पनि छन् । सानो एयर स्पेसमा धेरै हेलिकप्टर उडाउनुपरेकाले पाइलटहरूलाई पनि केही तनाव हुन्छ । उद्धारको काम आफैमा संवेदनशील हुने भएकाले थप सावधानी अपनाउनुपर्छ ।  एयर ट्राफिक पनि बढी छ । त्यसमाथि अहिले बाढी प्रभावित क्षेत्रमा शवहरू कुहिन थालेकाले त्यसले पनि चुनौती थपेको छ। हामीलाई सबैभन्दा चिन्ता प्रभावित क्षेत्रमा खटिएका साथीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्छ कि भन्ने हो । उहाँहरूले त्यस्तो कठिन अवस्था सामना गर्दै पनि निरन्तर काम गरिरहनुभएको छ । त्यसका लागि धन्यवाद दिनुपर्छ । त्यहाँ खानेकुरा र सरसफाइको अवस्था पनि निकै कठिन छ । दुर्गन्धित वातावरणका कारण खाना खानसमेत समस्या भइरहेको छ । बिहान प्रभावित क्षेत्रमा गएका कर्मचारीहरू बेलुकासम्म आइपुग्दा निकै थकित र कमजोर भएर फर्किने अवस्था छ । विशेषगरी स्यानिटेसनको अवस्था झनै चुनौतीपूर्ण छ । तर पनि यो विपत्तिको बेलामा सबैले आ–आफ्नो ठाउँबाट सक्दो काम गरिरहेका छन् । अहिले भौगोलिक अवस्था नै परिवर्तन भएको छ । बाढीग्रस्त क्षेत्रमा ल्याण्ड गर्दाअहिले धेरै जसो बाढी ग्रस्त क्षेत्र भएकाले त्यो पनि अन्दाज गर्दै उडान गर्नुपरेको छ । ग्राउन्डमा खटिएका साथीहरूलाई झनै गाह्रो छ । विपद्ग्रस्त क्षेत्र, मानिसको मृत्यु भएको ठाउँ र त्यहाँको अवस्था देख्दा नै विक्षिप्त बनाउने खालको छ । यस्तो अवस्थामा बिहानदेखि बेलुकासम्म निरन्तर खटिनुपर्दा उहाँहरूलाई निकै कठिन भइरहेको छ । लगातार उद्धार उडान गर्दा हेलिकोप्टर कम्पनीहरूलाई आर्थिक भार कत्तिको पर्छ ? अहिलेको यो विपद्को घडीमा हामीले आर्थिक पक्षलाई हेरेका छैनौं । आर्थिक भार त पर्छ नै । हामीले पनि तत्कालै नगद प्रवाह व्यवस्थापन गर्नुपर्ने हुन्छ । इन्धनकै पैसा १५–१५ दिनमा तिर्नुपर्छ । त्यो बिल हामीले भुक्तानी गर्न सकेनौं भने भोलिपल्टदेखि इन्धन नै नपाउने अवस्था हुन्छ। प्रत्येक उडानसँगै जहाजका केही कम्पोनेन्ट बिग्रने र पार्टपुर्जा रिप्लेस गर्नुपर्ने हुन्छ । पार्टपुर्जाले यो विपद्को समय हो भनेर बुझ्दैन, समयमै रिप्लेस गर्नैपर्छ । त्यसले गर्दा आर्थिक दबाब त पर्छ नै । अहिले पाँच–सात दिनदेखि लगातार उडान भइरहेकाले सबैको मर्मतसम्भारको साइकल पनि आइरहेको छ । तर अहिले हामी आर्थिक दवावभन्दा माथि उठेर काम गरिरहेका छौं ।  अहिलेको विपद्को समयमा संघको धारणा के छ ? अहिलेको समय देशकै लागि चुनौतीपूर्ण अवस्था हो । सबै मिलेर विपदमा परेका नागरिकको कसरी उद्धार गर्न सकिन्छ र आ–आफ्नो ठाउँबाट कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ ।  टिमुरे, स्याफ्रुबेँसीलगायतका ठाउँमा हामीले नियमित रूपमा काम गर्दै आएका छौं । त्यहाँका साथीभाइ नै पीडित हुँदा हामीलाई पनि दुःख लाग्छ । त्यसैले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौं । सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं भन्ने मेरो अनुरोध पनि छ ।

गुल्मेली रोटीको स्वाद अब काठमाडौंमै

काठमाडौं । गाउँको आँगन, चुल्होको तातो र चाडपर्वको सम्झना दिलाउने गुल्मीका मौलिक रोटी अब काठमाडौंमै खान पाइने भएको छ ।  गुल्मीमा पुस्तौंदेखि बनाइँदै आएका फिनी, अनरसा, अर्सा, झिनिया र सेल रोटी अब चन्द्रागिरिको धौलागिरी आवास क्षेत्रमा दिदीबहिनी रोटी उद्योग मार्फत उपलब्ध हुन थालेको उद्योगका सञ्चालक इन्दिरा भण्डारीले जानकारी दिइन् । गुल्मीको परम्परागत स्वादलाई काठमाडौंसम्म पुर्‍याउने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक भण्डारी बताउँछिन् ।  उनका अनुसार बजारमा रोटीका अनेक स्वाद पाइए पनि गुल्मीको मौलिक स्वाद र स्थानीय कच्चा पदार्थ प्रयोग गरेर तयार हुने रोटीको छुट्टै पहिचान छ । रोटीको स्वादमा गुल्मीको मौलिकता कायम राख्न उद्योगले छल्दीको हंसराज चामल र थोर्गाको खुदो प्रयोग गर्ने भएको छ । परम्परागत स्वादलाई प्राथमिकता दिँदै रोटी शुद्ध घिउमा तयार गरिने भण्डारीले बताइन् । ‘गुल्मीमा बनाइने रोटीको स्वाद काठमाडौंमा पनि उस्तै महसुस गराउन चाहेका छौं,’ उनले भनिन् । विशेषगरी गुल्मीका गाउँघरमा चाडपर्व, विवाह, पूजाआजा तथा पारिवारिक जमघटका अवसरमा बनाइने यी रोटी पछिल्लो समय सहरमा समेत लोकप्रिय हुँदै गएका छन् । रोजगारी, अध्ययन तथा व्यवसायका कारण काठमाडौंमा बस्दै आएका गुल्मेलीका लागि भने यी रोटी गाउँको स्वाद र सम्झनासँग जोडिने परिकार पनि हुन् । दिदीबहिनी रोटी उद्योगले परम्परागत परिकारलाई व्यावसायिक उत्पादनसँग जोड्दै स्थानीय कृषि उत्पादनको बजार विस्तार गर्ने लक्ष्यसमेत राखेको छ । स्थानीय चामल, खुदो र अन्य कच्चा पदार्थको प्रयोग बढाउँदा त्यसको लाभ किसानसम्म पुग्ने र परम्परागत खानाको संरक्षणमा समेत योगदान पुग्ने उद्योगको विश्वास छ । भण्डारीका अनुसार उपभोक्ताको माग र रुचिलाई ध्यानमा राख्दै आगामी दिनमा गुल्मीमा प्रचलित अन्य मौलिक परिकारसमेत उत्पादन गर्ने योजना छ । उनका लागि यो केवल रोटी बेच्ने व्यवसायमात्र नभई गुल्मीको स्वाद, संस्कृति र परम्परालाई काठमाडौंको बजारसम्म पुर्‍याउने प्रयास पनि हो । गुल्मीका गाउँघरमा चाडपर्व र विशेष अवसरमा पाक्ने रोटी अब काठमाडौंमा समेत सहजै उपलब्ध हुने भएपछि उपभोक्ता पनि उत्साहित देखिएका छन् ।   स्थानीय उपभोक्ता घना भुसालले गाउँको स्वाद खोजिरहेका गुल्मेलीलाई मात्र होइन, मौलिक नेपाली परिकारको स्वाद लिन चाहने काठमाडौंवासीका लागि पनि दिदीबहिनी रोटी उद्योग गुल्मीको स्वाद चाख्ने नयाँ गन्तव्य बन्नसक्ने बताइन् ।

गगन र शेखरबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र सभापति गगनकुमार थापाबीच  आइतबार (आज) भेटवार्ता भएको छ । दुई नेताबीच आज अपरान्ह १२ः३० बजे सुरु भएको भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान र पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । भेटका क्रममा नेता कोइरालाले मुलुक, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेको भन्दै यस्तो अवस्थामा कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । कांग्रेसभित्रको एकताका लागि आफू आफ्नो तर्फबाट आवश्यक त्याग गर्न तयार रहेको कोइरालाले स्पष्ट पारेको थपलियाले बताए । उनले पार्टीभित्रका मतभेद र असमझदारीलाई संवादमार्फत समाधान गर्दै कांग्रेसलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए । जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएको थपलियाले जानकारी दिए ।उनका अनुसार पार्टीभित्र देखिएका समस्या समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा दुवै नेता सकारात्मक देखिएका छन् । यसैगरी, भेटमा यही भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा पर्ने रसुवामा आएको विनाशकारी बाढीपछि उत्पन्न परिस्थितिबारे पनि छलफल भएको थियो । दुई नेताबीच रसुवासहित नुवाकोट र धादिङको पछिल्लो अवस्था, बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाका विषयमा समेत कुराकानी भएको थियो । कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवादका बीच भएको शेखर–गगन भेटवार्तालाई पार्टीभित्रको असमझदारी कम गर्दै एकताको वातावरण निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ ।