विकासन्युज

नारायणगढ-मुग्लिन सडक आज आंशिक बन्द हुँदै, कुन-कुन समयमा पाइन्छ ?

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहानदेखि आंशिक रूपमा बन्द हुने भएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको चितवन प्रशासनले जनाएको छ । प्रशासनले जारी गरेको सूचनामा कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गर्दै नारायणगढ-मुग्लिन सडकको तुइन खोला परियोजनाअन्तर्गत माटो कटानको काम गरिने उल्लेख छ । धादिङको कृष्णभीरमा सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालनमा नआएसम्म तुइन खोलामा माटो कटानको काम जारी रहने सूचनामा जनाइएको छ । तुइन खोलामा समय–समयमा पहिरो जाने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्दै पहिरोको माथिल्लो भागमा झर्न सक्ने माटो हटाउन लागिएको हो । प्रशासनका अनुसार नारायणगढ-मुग्लिन सडक बिहान ८ बजेदेखि ८:३० बजेसम्म, १०:३० बजेदेखि ११ बजेसम्म, दिउँसो १ बजेदेखि १:३० बजेसम्म, ३ः५० बजेदेखि ४ बजेसम्म र साँझ ६ बजेपछि सञ्चालनमा रहनेछ । तोकिएका समयबाहेक सडकको उक्त स्थानमा सवारी साधन रोकेर माटो कटान तथा पहिरो रोकथामको काम गरिने सूचनामा उल्लेख छ ।

आज राष्ट्रिय शोक, राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी अकालमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । राष्ट्रिय शोकका अवसरमा आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार साँझसम्म भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ । यस्तै, बाढीमा परी ३ हजार ९९२ जना अझै सम्पर्कविहीन छन् । फेला परेका शवमध्ये ५३० पुरुष, ३२८ महिला र ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ८२७ पुरुष र ५६७ महिला छन् । यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनको कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेका छन् । फेला परेका शवमध्ये एक हजार ४४ वटा सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । बाढीपछि हालसम्म ९ हजार १५९ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए । बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ । हालसम्म मृतक एक हजार १८१ जना र मृतकका आफन्त एक हजार १९५ जना गरी दुई हजार ३७६ जनाको डीएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

एनआईसी एशियाले असोज ७ गतेदेखि इक्विटी अपोर्चुनिटी फण्ड बिक्री खुला गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले असोज ७ गतेदेखि ‘एनआईसी एशिया इक्विटी अपोर्चुनिटी फण्ड’को इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल ८ करोड इकाई निष्काशन गर्न लागेको हो । कुल निष्काशित इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्काशन अवधि असोज २१ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ । इकाई खरिदका लागि धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । यस योजनाको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

नबिल बैंकको १५.८० प्रतिशत लाभांश घोषणा, नगद मात्रै २.९२ अर्ब रुपैयाँ

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  प्रस्तावित बोनस सेयरको कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार रुपैयाँ र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ । उक्त रकममा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ । त्यसैगरी, बैठकले बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार रुपैयाँ नगद लाभांश (आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँडको मितिबाट समानुपातिक रूपमा २१३ दिन) (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको अग्राधिकार सेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने साधारण सेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ । 

रात्रिकालीन बस थप्दै काठमाडौं महानगर, उपत्यकाका ८ पालिका जोडिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाको रात्रिकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र विस्तार गर्न हाल सञ्चालनमा रहेका ७ वटा बसलाई बढाएर २८ पुर्‍याउने प्रस्ताव गरेको छ । रात्रिकालीन यातायातको प्रभाव अध्ययनका लागि गठित कार्यदलले ६ वटा नयाँ रुट थप्न सिफारिस गरेको हो । हाल नागढुंगा-विमानस्थल र लगनखेल-बुढानीलकण्ठ गरी दुईवटा रुटमा मात्र यो सेवा उपलब्ध रहेकोमा अब गोदावरी-बुढानीलकण्ठ, चक्रपथमा दोहोरो सेवा, जगाती-ठमेल र कीर्तिपुर-नेपाल वायु सेवासम्मका नयाँ रुटहरू थपिने भएका छन्। यी प्रस्तावित रुटहरूले उपत्यकाका प्रमुख अस्पताल, व्यापारिक केन्द्र र मुख्य नाकाहरूलाई आपसमा जोड्ने बताइएको छ । रात्रिकालीन यातायात सेवाको प्रारम्भिक तथ्याङ्क अनुसार वैशाखदेखि असारसम्म ६ हजार ९५२ यात्रुले यो सेवा प्रयोग गरेका थिए । अध्ययन अनुसार एउटा बसले दैनिक औसत १४२ यात्रु बोक्दा ३ हजार १३४ रुपैयाँ आम्दानी गर्ने गरे पनि यसको सञ्चालन खर्च ४ हजार ८१४ रुपैयाँ लाग्ने हुनाले प्रतिबस दैनिक १ हजार ६९० रुपैयाँ घाटा भइरहेको प्रतिवेदनमा उल्लेख छ ।  यात्रा गर्ने समय तालिका अनुसार राति ८ बजेदेखि ९ बजेसम्म सबैभन्दा बढी यात्रुको चाप रहने गरेको छ भने यात्रुहरूमध्ये छोटो दूरीका ४७ प्रतिशत, मध्यम दूरीका ३२ प्रतिशत र लामो दूरीका २१ प्रतिशत रहेका छन् ।  सेवालाई थप सुरक्षित र प्रविधियुक्त बनाउन महिला, ज्येष्ठ नागरिक तथा पर्यटकहरूको सुरक्षालाई ध्यानमा राख्दै बसहरूमा निगरानी क्यामेरा (सीसीटीभी), स्थान पहिचान प्रणाली (जीपीएस) र व्यवस्थित बस बिसौनी निर्माण गर्न सिफारिस गरिएको छ ।  यो सेवालाई दिगो बनाउन काठमाडौं महानगरपालिकासहित ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको संयुक्त सहभागितामा सेवा विस्तार गर्न सुझाव दिइएको छ ।  काठमाडौं महानगरपालिकाले उपत्यकाका सबै स्थानीय तहहरूलाई समेटेर एकीकृत र दिगो रात्रिकालीन यातायात सञ्जाल विकास गर्ने तयारी अघि बढाएको छ ।

सुरक्षाकर्मीको साहसलाई बालेनको प्रशंसा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विनाशकारी बाढीका बेला सुरक्षाकर्मीहरूले देखाएको अदम्य साहस, धैर्य र समर्पणको उच्च प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले सुरक्षाकर्मीहरूको मुक्तकण्ठले प्रशंसा गरेका हुन् । उनले कठिन परिस्थितिमा पनि राष्ट्रसेवक सुरक्षाकर्मीहरूले लाखौं नागरिकको ज्यान रक्षा गर्न खेलेको भूमिकाको कदर गरेका हुन् ।  साथै प्रधानमन्त्री बालेनले कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहका अनुसार बाढीका बेला नुवाकोटको विदुर नगरपालिका–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा सुरक्षाकर्मीहरूले असाधारण कर्तव्यनिष्ठा प्रस्तुत गरेका थिए ।  भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढी तटीय क्षेत्रतर्फ बढेपछि त्यहाँ तैनाथ ५२ जना सुरक्षाकर्मी (नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कमान्डरसहित) ले दुईवटा भवनमा रहेका ९२३ जना कैदीबन्दीलाई सुरक्षित रूपमा माथिल्लो भवनमा सारेका थिए । लगत्तै त्रिशूलीको बाढीले कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोस्ट र पर्खाल ढाल्दै कैदीबन्दी राखिएका भवनहरूको पहिलो तलासम्म लेदो भरिदिएको थियो । त्यस विपद्को मौका छोपेर पर्खाल र गेट तोडी १०० मिटरसम्म भागिसकेका ५० जना कैदीबन्दीलाई सुरक्षाकर्मीहरूले पुनः नियन्त्रणमा लिन सफल भएका थिए। सो क्रममा भाग्न नपाएका कैदीबन्दीको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते समेत भएका थिए । आफ्ना ब्यारेक र कार्यालय लेदोले पुरिएको, पहुँचमार्ग र खानेपानी संरचना ध्वस्त भएको अवस्थामा पनि खेतको आलीलाई बाटो बनाउँदै, टाढाबाट पानी बोकेर कैदीबन्दीलाई खुवाउने र स्थानीय बासिन्दाको समेत ज्यान जोगाउने काम सुरक्षाकर्मीहरूले गरेका थिए । बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा हालसम्म १३ हजार ३ सय ९१ जना मानिसहरूको सकुशल उद्धार गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन् । प्रधानमन्त्री शाहले आफ्ना सुरक्षाकर्मीहरूलाई सुरक्षित रूपमा कार्यक्षेत्रमा परिचालन गर्न मुख्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमान्ड पोस्टबाट समन्वय भइरहेको पनि बताएका छन् । संकटको यस घडीमा सुरक्षाकर्मीहरूलाई काममा खटिन प्रेरित गर्ने तिनका घरपरिवार, साथै नेपाल र विदेशबाट सहयोगमा खटिएका विज्ञहरूप्रति पनि उनले कृतज्ञतासमेत व्यक्त गरेका छन् ।  

बाढी प्रभावित जिल्लाहरूमा राहत तीव्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय

काठमाडौं । अन्तर्राष्ट्रिय गैसस संघले सरकारसँगको समन्वयमा बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र  धादिङमा राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र बनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको आपत्कालीन छलफलपछि महासंघ अन्तर्गतका संस्थाहरू प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कार्यमा सक्रिय भएका हुन् ।  अहिले महासंघभित्र आवद्ध ३० वटा संस्थाहरू विभिन्न मानवीय सहायतामा प्रभावित क्षेत्रमा सक्रिय भएर काम गरिरहेको प्राधिकरणले जनाएको छ ।  नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको सञ्जाल (एआईएन) का अध्यक्ष सञ्जय कार्कीका अनुसार बाढीपीडित समुदायका लागि खाद्यान्न, आश्रय, कम्बल, हाइजिन किट र महिलाहरूका लागि आवश्यक डिग्निटी किट जस्ता अत्यावश्यक सामग्री घटना भएको दोस्रो दिनदेखि नै वितरण भइरहेको छ । एआईएनको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागकी संयोजक डाक्टर सम्झना विष्टले प्रारम्भिक चरणको आपत्कालीन राहतपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्श लगायत अन्य पुनस्थापनाका कामहरु शुरु गरिने जानकारी दिइन् । विभागिय मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय सरकारसँगको निरन्तरको छलफल र परामर्श पछि सरकारको प्राथमिकता भित्र रहेर दीर्घकालीन आर्थिक पुनर्निर्माणका काम अघि बढाउने गरि अध्ययन भइरहेको उनले जानकारी दिइन् । सरकारले अल्पकालीन राहतका साथै दीर्घकालीन पुनस्थापनका क्षेत्रमा सहयोग गर्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूलाई आह्वान गर्दै आएको छ । विपद् व्यवस्थापनका निम्ति गठन गरेका सबै उपसमितिहरूमा एआइएनलाई सदस्यको रूपमा राखिएको छ ।  विगत ३० वर्षदेखि नेपालमा विभिन्न क्षेत्रमा काम गर्दै आएको एआइएनमा हाल एक सय एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू आवद्ध छन् । –न्युज एजेन्सी नेपाल

नुवाकोटको विदुरमा भदौ २४ देखि विद्यालय खुल्ने

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका क्षेत्रका विद्यालयहरू भदौ २४ गतेदेखि सञ्चालनमा आउने भएका छन् । आइतबार (आज) बसेको नगर कार्यपालिका बैठकले होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका तथा पूर्णरूपमा क्षति भएका विद्यालयबाहेक अन्य विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालन गर्न अनुरोधसमेत गरेको छ । बाढीका कारण विद्यालयहरू बन्द रहेका बेला नगरपालिकाले प्रभावित क्षेत्रका विद्यार्थीलाई आफूलाई पायक पर्ने जुनसुकै विद्यालयमा अध्ययन गर्न सक्ने व्यवस्था गरेको जनाएको छ । बाढीबाट क्षतिग्रस्त तथा होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका विद्यालय भने तत्काल सञ्चालनमा नआउने नगरपालिकाले स्पष्ट पारेको छ ।