काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी अकालमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।
राष्ट्रिय शोकका अवसरमा आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ ।
प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार साँझसम्म भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ । यस्तै, बाढीमा परी ३ हजार ९९२ जना अझै सम्पर्कविहीन छन् ।
फेला परेका शवमध्ये ५३० पुरुष, ३२८ महिला र ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ८२७ पुरुष र ५६७ महिला छन् । यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला सम्पर्कविहीन छन् ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनको कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेका छन् । फेला परेका शवमध्ये एक हजार ४४ वटा सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
बाढीपछि हालसम्म ९ हजार १५९ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ । हालसम्म मृतक एक हजार १८१ जना र मृतकका आफन्त एक हजार १९५ जना गरी दुई हजार ३७६ जनाको डीएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।