विकासन्युज

भोटेकोशी बाढीका मृतकको स्मरणमा आज देशभर राष्ट्रिय शोक

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूको स्मरणमा आज देशभर राष्ट्रिय शोक व्यक्त गरिँदैछ । सरकारले सोमबार (आज) बाढीमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक व्यक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आज देशभरका सरकारी कार्यालय, प्रशासनिक केन्द्र सिंहदरबार तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ । गत भदौ १० गते बुधबार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म १ हजार ३ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बाढीमा परी ५ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन् । सोही दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति सम्मान र शोक प्रकट गर्न सरकारले यो कदम चालेको हो ।

सरकारले रसुवा लगायतका ३ जिल्लामा पठायो १६ करोड

काठमाडौं । सरकारले बाढी प्रभावित जिल्ला र स्थानीय तहमा १६ करोड रुपैयाँ निकासी गरेको छ । रसुवामा १ करोड, नुकाकोटमा १ करोड, धादिङमा ५० लाख र प्रभावित १५ स्थानीय तहमा १३ करोड ५० लाख पठाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले जनाएको छ । गत भेदौँ १० मा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका ठूलो धनजनको क्षति गरेको छ ।  रसुवाको बाढीले बगाएर हालसम्म १ हजार ३५६ जनाको शव फेला परेको छ ।  नेपाल प्रहरीका अनुसार विभिन्न स्थानबाट बाढी बगाएर ल्याएको अवस्थामा १ हजार ३५६ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार ५३० पुरुष, महिला ३२९ महिला, आशिंक अंग ४९७ र १ हजार ३४८ जनाको शव मुचुल्का भइसकेको छ । ९८ शव मृतकका आफन्तलाई हस्तान्तरण गरिसकिएको छ । त्यसैगरी, १ हजार २८० शवको डिएन परीक्षण गरिएको र १ हजार २९० मृतकका आफन्तको शवको डिएनए संकलन गरिएको छ ।

बाढी प्रभावितको अधिकार सुनिश्चित गर्न मानवअधिकार एलाइन्सको अपिल

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको जीवन, सुरक्षा, आवास, स्वास्थ्य तथा जीविकोपार्जनको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल (मानवअधिकार एलाइन्स) ले सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ । बाढी आएको १३ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्य जारी रहेको, नागरिकहरू बेपत्ता तथा विस्थापित भएको र धेरै परिवार आफन्तको खोजीमा रहेको भन्दै एलाइन्सले अवस्था संवेदनशील रहेको जनाएको छ । एलाइन्सले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई उच्च प्राथमिकता दिन, मृतकको पहिचान तथा शवको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्न तथा पीडित परिवारलाई आवश्यक सूचना, सहभागिता, अन्त्येष्टि र सहयोग पाउने अधिकार सुनिश्चित गर्न उसले आग्रह गरेको छ । विपद् प्रभावित नागरिकलाई सुरक्षित आश्रय, खाद्यान्न, स्वच्छ खानेपानी, औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री विभेदरहित रूपमा उपलब्ध गराउनुपर्ने एलाइन्सको भनाइ छ । साथै, बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समुदायको विशेष संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । बाढीपछि पानीजन्य तथा संक्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यान दिँदै प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी, स्वच्छ खानेपानी, सरसफाइ, फोहोर व्यवस्थापन तथा आवश्यक औषधिको पर्याप्त व्यवस्था तत्काल गर्न पनि एलाइन्सले माग गरेको छ । प्रभावित नागरिकका लागि मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने उसको भनाइ छ । एलाइन्सले पछिल्लो समय बढ्दै गएको विपद् जोखिमलाई जलवायु परिवर्तन र जलवायु न्यायसँग जोडेर हेर्नुपर्ने बताएको छ । जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि नेपाली नागरिक, विशेषगरी विपन्न तथा जोखिममा रहेका समुदायले ठूलो मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै नेपालले भोगिरहेको क्षतिको विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिएको छ । जलवायु अनुकूलनका लागि पर्याप्त सहयोग, जलवायु वित्त तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि विकसित तथा उच्च कार्बन उत्सर्जन गर्ने मुलुकहरूले आफ्नो ऐतिहासिक दायित्वअनुसार सहयोग तथा क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने एलाइन्सको माग छ । विपद्का बेला उद्धार, खोजी, राहत तथा उपचारमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय, नागरिक समाज, गैरसरकारी तथा मानवीय संस्थाप्रति एलाइन्सले सम्मान व्यक्त गरेको छ । आफ्ना सदस्य संस्थाहरूलाई पनि स्थानीय आवश्यकता र क्षमताअनुसार उद्धार, राहत, स्वास्थ्य, संरक्षण तथा पुनःस्थापनाका कार्यमा सक्रिय रहन आह्वान गरेको छ । एलाइन्सले शीघ्र उद्धार, राहतको न्यायोचित वितरण, बेपत्ता नागरिकको निरन्तर खोजी तथा सबै प्रभावित नागरिकको संरक्षण सुनिश्चित गर्न सरकार तथा सरोकारवालालाई आग्रह गर्दै विपद् प्रतिकार्यमा एकजुट हुन अपिल गरेको छ ।

पाल्पामा दुई महिनामा २५५ जनामा डेंगी सङ्क्रमण पुष्टि

पाल्पा । पछिल्लो दुई महिनामा पाल्पामा २५५ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ ।  चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा मात्रै यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएसँगै जिल्लामा डेंगीको जोखिम उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार यसअघिका आर्थिक वर्षहरूमा पनि डेंगी सङ्क्रमणको स्थिति उतारचढावपूर्ण रहेको थियो । विगतका वर्षहरूको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०८२/०८३ मा ४३२, २०८१/०८२ मा ५१०, २०८०/०८१ मा ६८६, २०७९/०८० मा २५० र २०७८/०७९ मा २४ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको थियो। पछिल्लो समय परीक्षणको दायरा फराकिलो बन्दै गएको र जलवायु परिवर्तनका कारण वातावरणीय अनुकूलता मिल्दा सङ्क्रमण बढी देखिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । पाल्पास्थित युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीहरूमा डेंगी सङ्क्रमण देखिएको छ । यसबाहेक विभिन्न निजी मेडिकल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूमा समेत डेंगी परीक्षण हुँदै आएको छ । वर्षायाममा घर वरिपरि पानी जम्ने स्थानहरू बढ्ने र त्यसले डेंगी सार्ने एडिज जातको लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण तयार गर्ने भएकाले जोखिम झन् बढेको छ । यस्ता लामखुट्टेले घरआँगनमा रहेका पुराना टायर, गमला, टिनका डब्बा तथा पानी जम्न सक्ने अन्य भाँडाकुँडामा फुल पार्ने गर्दछन् । सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्य कार्यालय पाल्पाले सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ । कार्यालयले सरोकारवालाहरूसँग डेंगी रोकथाम तथा नियन्त्रणसम्बन्धी पैरवी तथा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको छ । लामखुट्टे नियन्त्रणका लागि घरआँगनदेखि सार्वजनिक स्थानसम्म सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले लार्भा नष्ट गर्न र लामखुट्टेको टोकाइबाट बच्न सबैलाई आग्रह गरेका छन् । घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन तथा खाल्डाखुल्डी पुर्न, गमलाको प्लेट, फुलदानी र कुलरको पानी कम्तीमा हप्तामा एक पटक फेर्न तथा खानेपानी वा ढल चुहिएको भए तत्काल मर्मत गर्न उनले अनुरोध गरेका छन् ।  साथै, लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, सधैँ झुलभित्र सुत्ने र झ्यालढोकामा जाली हाल्न पनि सुझाव दिइएको छ ।

ग्यासको लाममा पाँच कक्षामा पढ्ने मनिष भन्छन्– नेता फेरिए, हाम्रो पालो फेरिएन

काठमाडौं । एकातिर कक्षाकोठाको कालोपाटी, अर्कोतिर सडकको लाम । शनिबारदेखि खाली सिलिन्डर कुर्दैछन् कक्षा ५ का मनिष बस्नेत । काठमाडौंको एउटा साँघुरो गल्लीमा बिहानै उनी ग्यास पाइने आशमा लाइनमा छन् । सडकको पेटीभरि सयौँ राता एलपीजी सिलिन्डरहरू फलामे सिक्री र ताल्चाले एकअर्कामा बाँधिएका छन् । मानौँ कुनै कैदीको लस्कर उभिएको होस् । त्यही लस्करको बीचमा एउटा बालक बसेको छ । मनिष बस्नेत । उनी कक्षा ५ का विद्यार्थी हुन् । सामान्य दिन हुन्थ्यो भने यतिबेला मनिष विद्यालयको पोसाकमा सजिएर कक्षाकोठाको बेन्चमा साथीहरूसँग गणितका हिसाब जोड्दै वा नेपालीका कविता वाचन गर्दै हुन्थे । तर आज उनको दैनिकी कालोपाटीको अगाडि होइन, सडकमा लामबद्ध ग्यास सिलिन्डरको अगाडि सुरु भएको छ । कारण एउटै छ– घरको चुलो निभेको छ, र त्यो चुलो बाल्ने एउटा सिलिन्डर पाउन मनिष शनिबारदेखि सडकको यो अनन्त लाममा बस्न बाध्य छन् । ‘ग्यास छैन । ग्यास पाएन । ग्यास छैन भनेकाले स्कुल नि जान पाएन । १ दिनको छुट्टी लिएर यहाँ आएको छु । अब ग्यास आएन भने फेरि मेरो ग्यासको पछाडिको मान्छेले आफ्नो अगाडि लान्छन् । ग्यासको नि अभाव छ । यो जुन नेता आए नि यो ग्यासको चाहिँ लाइन बस्नुपर्ने कहिले हट्दैन । शनिबारदेखि बसिरहेको । आएको छैन । अब मंगलबारसम्म आउँछ, बसिराख्नु भनेको छ । म पाँच कक्षामा पढ्छु’ मनिषका यी शब्दहरू केवल एउटा बालकको गुनासो मात्र होइनन् । यो देशको सिंगो राज्य संयन्त्र र नागरिकका आधारभूत आवश्यकता पूरा गर्न नसक्ने नेतृत्वमाथिको तीतो र निष्कपट झापड हो । अहिले बालबालिकाले भविष्यका सपना देख्नुपर्ने हो, नयाँ ज्ञान सिक्नुपर्ने हो । तर मनिषले सानै उमेरमा सिकिसकेका छन्– ‘यदि आफ्नो सिलिन्डर नहेरी एकछिन अन्तै गइयो भने पछाडिको मान्छेले आफ्नो सिलिन्डर अगाडि तानिदिन्छ ।’ अभाव र असुरक्षाले एउटा कलिलो मनलाई पनि स्वार्थ र प्रतिस्पर्धाको कठोर नियम बुझ्न बाध्य बनाइदिएको छ । शनिबारदेखि सुरु भएको यो पर्खाइ सोमबारसम्म आइपुग्दा मनिषको सहनशीलताको परीक्षा लिइरहेको छ । आइतबार साँझसम्म पनि डिपोको सटर खुलेन । ‘भोलि बिहानै गाडी आउँछ’ भनिएपछि मनिषले आइतबार राति आफ्ना आमाबुबासँग सल्लाह गरे । घरमा आमाबुबा ज्यालामजदुरी र काममा जानैपर्ने बाध्यता । यदि कोही लाइनमा नबस्ने हो भने चार दिनको पर्खाइ बालुवामा पानी बन्ने खतरा छ । अन्ततः मनिषले विद्यालयमा ‘एक दिनको बिदा’ लेखाउने निधो गरे । तर त्यो ‘एक दिनको बिदा’ अहिले अनिश्चित बनेको छ । एक दिनको बिदा अब चार दिनको गैरहाजिरीमा बदलिँदै छ । मनिषको कापीमा शिक्षकले दिएका प्रश्नहरू अनुत्तरित छन्, जस्तै अनुत्तरित छन् ती सरकारी मन्त्री र आयल निगमका हाकिमहरू, जसले सिंहदरबारको वातानुकूलित कोठाबाट माइक फुक्दै भन्छन्– ‘बजारमा ग्यासको कुनै अभाव छैन, एक हप्तामा सबै सामान्य हुन्छ, कोही लाइन बस्नु पर्दैन ।’ ‘बजारमा ग्यासको अभाव छैन, उपभोक्ता आत्तिनु पर्दैन’– शनिबारदेखि सोमबारसम्म लाइन बस्दा पनि सिलिन्डर हात परेको छैन । सयौँ मिटरसम्म सिलिन्डरलाई सिक्री–ताल्चाले बाँधेर बालबालिका समेत पहरा दिन विवश छन् । ग्यास नपाउँदा विद्यालय जाने बालबालिकाको पढाइ छुटिरहेको छ । मंगलबारसम्म ग्यास आउला वा नआउला, त्यो त समयले बताउला । तर केही थान ग्यासका सिलिन्डर आए पनि मनिषको यो खोसिएको सोमबार कहिल्यै फर्किने छैन । उनको मस्तिष्कमा कोरिएको यो अविश्वासको घाउ कुनै सरकारी वक्तव्यले पुछ्न सक्नेछैन । जब देशको भविष्य मानिएका बालबालिकालाई कक्षाकोठाबाट तानेर ग्यासको लाममा उभ्याइन्छ, तब कुनै पनि देश ‘समृद्ध’ हुन सक्दैन ।

बाढी गएको १३ औं दिनमा १३ सय बढीको शव फेला

काठमाडौं । रसुवाको बाढीले बगाएर हालसम्म १ हजार ३५६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार विभिन्न स्थानबाट बाढी बगाएर ल्याएको अवस्थामा १ हजार ३५६ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार ५३० पुरुष, महिला ३२९ महिला, आशिंक अंग ४९७ र १ हजार ३४८ जनाको शव मुचुल्का भइसकेको छ । ९८ शव मृतकका आफन्तलाई हस्तान्तरण गरिसकिएको छ । १ हजार २८० शवको डिएन परीक्षण गरिएको र १ हजार २९० मृतकका आफन्तको शवको डिएनए संकलन गरिएको छ । कुल २ हजार ५७० को डिएनए परीक्षण गरिएको छ । १ हजार ४४ जनाको शव जमिनमुनी राखिएको प्रहरीले जनाएको छ ।

सुन तोलामा २ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुन प्रतितोला २ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केही दिनदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दो क्रममा रहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि सोमबार घटेको छ । चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन् ।

भोटेकोशीको बाढीलाई लिएर भिडियो बनाइ खुसी मनाउने मडै पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने एक युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार शनिवार बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परेका हुन् । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयलाई लिएर उनले जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने किसिमको भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकको रिल्समार्फत गरेका थिए । ब्यूरोबाट गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा भिडियो सामग्री प्रसारण गर्ने व्यक्तिको पहिचान खुलेपछि ब्यूरोबाट खटिएको टोलीले मडैलाई २०८३ भदौ २० गते पक्राउ गरेको हो। पक्राउ परेका मडैविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।