बाढी प्रभावितको अधिकार सुनिश्चित गर्न मानवअधिकार एलाइन्सको अपिल

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको जीवन, सुरक्षा, आवास, स्वास्थ्य तथा जीविकोपार्जनको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल (मानवअधिकार एलाइन्स) ले सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

बाढी आएको १३ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्य जारी रहेको, नागरिकहरू बेपत्ता तथा विस्थापित भएको र धेरै परिवार आफन्तको खोजीमा रहेको भन्दै एलाइन्सले अवस्था संवेदनशील रहेको जनाएको छ ।

एलाइन्सले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई उच्च प्राथमिकता दिन, मृतकको पहिचान तथा शवको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्न तथा पीडित परिवारलाई आवश्यक सूचना, सहभागिता, अन्त्येष्टि र सहयोग पाउने अधिकार सुनिश्चित गर्न उसले आग्रह गरेको छ ।

विपद् प्रभावित नागरिकलाई सुरक्षित आश्रय, खाद्यान्न, स्वच्छ खानेपानी, औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री विभेदरहित रूपमा उपलब्ध गराउनुपर्ने एलाइन्सको भनाइ छ । साथै, बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समुदायको विशेष संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

बाढीपछि पानीजन्य तथा संक्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यान दिँदै प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी, स्वच्छ खानेपानी, सरसफाइ, फोहोर व्यवस्थापन तथा आवश्यक औषधिको पर्याप्त व्यवस्था तत्काल गर्न पनि एलाइन्सले माग गरेको छ । प्रभावित नागरिकका लागि मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने उसको भनाइ छ ।

एलाइन्सले पछिल्लो समय बढ्दै गएको विपद् जोखिमलाई जलवायु परिवर्तन र जलवायु न्यायसँग जोडेर हेर्नुपर्ने बताएको छ । जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि नेपाली नागरिक, विशेषगरी विपन्न तथा जोखिममा रहेका समुदायले ठूलो मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै नेपालले भोगिरहेको क्षतिको विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिएको छ ।

जलवायु अनुकूलनका लागि पर्याप्त सहयोग, जलवायु वित्त तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि विकसित तथा उच्च कार्बन उत्सर्जन गर्ने मुलुकहरूले आफ्नो ऐतिहासिक दायित्वअनुसार सहयोग तथा क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने एलाइन्सको माग छ ।

विपद्का बेला उद्धार, खोजी, राहत तथा उपचारमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय, नागरिक समाज, गैरसरकारी तथा मानवीय संस्थाप्रति एलाइन्सले सम्मान व्यक्त गरेको छ । आफ्ना सदस्य संस्थाहरूलाई पनि स्थानीय आवश्यकता र क्षमताअनुसार उद्धार, राहत, स्वास्थ्य, संरक्षण तथा पुनःस्थापनाका कार्यमा सक्रिय रहन आह्वान गरेको छ ।

एलाइन्सले शीघ्र उद्धार, राहतको न्यायोचित वितरण, बेपत्ता नागरिकको निरन्तर खोजी तथा सबै प्रभावित नागरिकको संरक्षण सुनिश्चित गर्न सरकार तथा सरोकारवालालाई आग्रह गर्दै विपद् प्रतिकार्यमा एकजुट हुन अपिल गरेको छ ।

Share News