भोटेकोशीको बाढीलाई लिएर भिडियो बनाइ खुसी मनाउने मडै पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत सामाजिक सहिष्णुतामा आघात पुर्याउने तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने एक युवक पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार शनिवार बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परेका हुन् ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयलाई लिएर उनले जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने किसिमको भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकको रिल्समार्फत गरेका थिए ।

ब्यूरोबाट गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा भिडियो सामग्री प्रसारण गर्ने व्यक्तिको पहिचान खुलेपछि ब्यूरोबाट खटिएको टोलीले मडैलाई २०८३ भदौ २० गते पक्राउ गरेको हो।

पक्राउ परेका मडैविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

Share News