सिटिजन्स बैंकले बाढीपीडितका लागि २ करोड २२ लाख रुपैयाँ सहयोग गर्यो
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीपीडितको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो । भदौ १० गते बागमती प्रदेशको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि बैंकले रकम प्रदान गरेको जनाएको छ । अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको पनि उपस्थिति थियो । बैंकले बाढीमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको जनाएको छ । बाढीका कारण सिटिजन्स बैंकको नुवाकोटस्थित देवीघाट शाखा कार्यालयसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बैंकले प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन विदुर नगरपालिका–५, देवीघाटमा खाद्यान्न सामग्री पनि वितरण गरेको छ । बैंकले चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु र चाउचाउलगायतका सामग्री सहयोग गरेको जनाएको छ । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, सामुदायिक विद्यालय, वृद्धाश्रम र अनाथालयलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक सेवा तथा राहतका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । सिटिजन्स बैंकले देशका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको छ । बैंकका अनुसार करिब २० लाख ६० हजार ग्राहकले बैंकिङ सेवा लिइरहेका छन् ।
रवि लामिछानेलाई अमेरिकी विदेशमन्त्री रुबियोको फोन, नेपाललाई थप सहयोग गर्न अमेरिका तयार
काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई टेलिफोन गरी भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । टेलिफोन संवादका क्रममा विदेशमन्त्री रुबियोले बाढीबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा नेपालका जनता र सरकारप्रति अमेरिकी ऐक्यबद्धता रहेको बताएको लामिछानेको सचिवालयले जनाएको छ । टेलिफोन वार्ताका क्रममा लामिछानेले भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका लागि अमेरिकी सरकारले उपलब्ध सम्पूर्ण स्रोत–साधन परिचालन गरिरहेको जानकारी गराएका थिए । उनले नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार उत्तिकै प्रतिबद्ध रहेको भन्दै विदेशमन्त्री रुबियोलाई आश्वस्त पारेको सचिवालयले जानकारी दिएको छ । लामिछानेले विपद्को समयमा अमेरिकी सरकारबाट प्राप्त सहयोगप्रति धन्यवादसमेत व्यक्त गरेका थिए । जवाफमा विदेशमन्त्री रुबियोले नेपाललाई आवश्यक थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन् । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपालले खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको छ । बाढी प्रभावित क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकको उद्धार र राहत व्यवस्थापनका लागि विभिन्न निकाय परिचालित छन् ।
इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६ सम्पन्न, विभिन्न क्षेत्रका ७० व्यक्ति सम्मानित
काठमाडौं । राजधानीको राष्ट्रिय नाचघरमा इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६ तथा नेपाल एण्ड इन्टरनेशनल समिट २०२६ सम्पन्न भएको छ । पूर्वउपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि यादवले समाज रूपान्तरण र राष्ट्रिय एकतामा कलाकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले भने, ‘राजनीति र कला एकअर्काका पूरक हुन् । जहाँ राजनीतिज्ञहरू पछाडि पर्छन्, त्यहाँ कलाकारहरूले आफ्नो कलाको माध्यमबाट समाजलाई चेतना दिने र अगाडि बढाउने काम गर्छन् । ’ नेपाल जस्तो विविधतापूर्ण मुलुकलाई कला र संस्कृतिले नै भावनात्मक रूपमा एकताबद्ध बनाउने उनको तर्क थियो । कार्यक्रममा आयोजक करणबहादुर चन्द र अनमोल भगतले नेपाल र भारतबीचको सांस्कृतिक र ऐतिहासिक सम्बन्धबारे चर्चा गरे । उनले त्रेतायुगदेखिको राम-सीताको सम्बन्धलाई स्मरण गर्दै कला र प्रतिभाको माध्यमबाट दुई देशको मित्रतालाई अझ प्रगाढ बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल, भारत र बंगलादेशका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । अवार्ड समारोहमा विभिन्न क्षेत्रमा योगदान पुरÞ्याउने ७० जनालाई सम्मानित गरिएको थियो । यसैगरी, कार्यक्रममा रसुवा बाढीमा ज्यान गुमाउनेहरूप्रति १ मिनेट मौनधारण समेत गरिएको थियो ।
ग्यासका लागि घण्टौँ लाइन, सिलिण्डरमै बसेर कुर्दै नागरिक (फोटो फिचर)
काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्र परिसरमा सोमवार मध्याह्न पुग्दा जो–कोहीको पनि मन अमिलो हुन्थ्यो । चर्को गर्मी र तातो घामले सडकको कालोपत्रे तातेर राप उडिरहेको थियो, तर त्यही सडकमा सयौँ मिटर लामो लाममा उभिएका थिए– हातमा रित्तो रातो सिलिण्डर बोकेका आम नागरिकहरू । न अनुहारमा छाँटकाँट थियो, न शरीरमा आराम । थियो त केवल एउटै चिन्ता– ‘आज साँझ घरको चुल्हो बल्छ कि बल्दैन ?’ बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार अगाडि आन्तरिक राजस्व कार्यालय र बैंकका एटीएम बुथहरू रहेको साँघुरो सडक सोमवार मानिस र ग्यास सिलिण्डरको विशाल संगम बनेको थियो । लामबद्ध उभिएका मानिसहरूको हातमा नेपाल ग्यास, एसटीीलगायत कम्पनीका रित्तो रातो सिलिण्डरहरू थिए । घाम चर्किंदै जाँदा उभिन नसकेर थकित नागरिकहरू आफ्नै रित्तो सिलिण्डरमाथि नै बसेर पालो कुरिरहेका देखिन्थे । कतिपयले नीलो, कालो र बुट्टेदार छाता ओढेर चर्को घामको राप छल्ने निष्फल प्रयास गरिरहेका थिए भने कतिपय रूखको थोरै छहारी वा पर्खालको ओझेलमा पसिना पुछ्दै पर्खिरहेका थिए । लाइनमा उभिएका एक युवाले गहभरि आँसु पार्दै भने, ‘बिहानै आएर बसेको हुँ । अफिसमा बिदा लिएँ, तलब काटिन्छ । तर घरमा तीन दिनदेखि ग्यास सकिएर चाउचाउ र बिस्कुटको भरमा छौँ । यस्तो चर्को घाममा भोकै–तिर्खै लाइन बस्नुबाहेक हामी गरिब जनतासँग अर्को के विकल्प छ र ?’ तातो सडकमा घण्टौँ कुर्नु नागरिकको रहर होइन, भोकले सुकेको चुल्हो बाल्ने एकमात्र विवशता हो । ग्यास वितरण केन्द्रमा भीड यति अनियन्त्रित थियो कि सुरक्षाकर्मीहरू लाम मिलाउन र गेट बन्द गरेर व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको थियो । मानिसहरू टोकन र रसिद देखाउन गेटमा झुम्मिएका थिए । जहाँ सयौँ एलपी ग्यासका सिलिण्डरहरू चर्को घाममा एकै ठाउँमा थुप्रिएका थिए । कम्पनीका प्रतिनिधिहरू कापी र कलम लिएर नाम दर्ता गर्दै टोकन बाँड्दै थिए । तर ग्यास बोकेको ट्रकको क्षमता सीमित थियो र पालो पर्खनेहरूको लाम अनन्तजस्तै देखिन्थ्यो । ‘ट्रकको ग्यास सकिएला कि’ भन्ने डरले नागरिकहरूको अनुहारमा बेचैनी प्रस्ट झल्कन्थ्यो । घण्टौँको मानसिक र शारीरिक सास्तीपछि जब कसैको हातमा भरिएको नयाँ सिलिण्डर पर्दथ्यो, त्यो दृश्य हेर्नलायक हुन्थ्यो । त्यो केवल १४.२ किलो ग्यास र १५ किलो फलामको सिलिण्डर मात्र थिएन, त्यो त आफ्ना भोका सन्तानलाई तातो भात खुवाउन पाउने खुसी थियो । संघीय राजधानीकै सडकमा एक सिलिण्डर ग्यासका लागि नागरिकले दिनभर पसिना बगाउनुपर्ने यो दृश्यले राज्य सञ्चालकहरूको संवेदनहीनतालाई नङ्ग्याइदिएको छ । बालाजुको सडकमा देखिएको यो कारुणिक दृश्य कुनै नौलो भने होइन । जब–जब आपूर्ति प्रणालीमा गडबडी हुन्छ वा कालोबजारी मौलाउँछ, त्यसको प्रत्यक्ष मारमा यस्तै निर्दोष, श्रमजीवी र आम नागरिक पर्ने गर्छन् । नागरिकले कर तिरेका छन्, सिलिण्डरको पूरा मूल्य तिरेका छन् । तर बदलामा उनीहरूले पाइरहेका छन्, चर्को घामको राप, सुरक्षाकर्मीको लाठीको त्रास, र सडकमा अपमानित भएर घण्टौँ बस्नुपर्ने विवशता । सम्बन्धित निकाय र नेपाल आयल निगमले तुरुन्तै ग्यास आपूर्तिलाई पारदर्शी र टोल–टोलमा सहज बनाउनुपर्छ । नागरिकको चुल्हो बल्नबाट रोक्ने यो चरम लापरवाहीको जवाफदेहिता कसले लिने ?
बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारको तरलता व्यवस्थापन गर्न ३५ अर्ब रुपैयाँ दुई महिनाका लागि निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सोमबार सूचना जारी गर्दै ६० दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत रकम उठाउन बोलकबोल आह्वान गरेको हो । सूचनाअनुसार बोलकबोल भदौ २२ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ । निक्षेप संकलनको निष्कासन पनि सोही दिन हुनेछ भने साँवा र ब्याज कात्तिक २० गते भुक्तानी गरिनेछ । बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोडले भाग जाने रकमका लागि आवेदन दिन सक्नेछन् । ब्याजदर भने बोलकबोलबाट निर्धारण हुनेछ । राष्ट्र बैंकका अनुसार यो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । राष्ट्र बैंकले कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिएर रकम बाँडफाँट गर्ने जनाएको छ। आवश्यक परे आह्वान गरिएको रकमको सम्पूर्ण वा आंशिक बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार पनि राष्ट्र बैंकसँग रहनेछ । यो निक्षेप संकलन उपकरणको रकम बीचमै फिर्ता नहुने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । उनले विपदबाट प्रभावित नागरिकको अवस्था, उद्धार तथा राहतका कामबारे जानकारी लिँदै प्रभावित क्षेत्रको अवस्थाबारे प्रत्यक्ष अवलोकन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नुवाकोट पुगेका राष्ट्रपति पौडेलले बाढीका कारण भएको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका खोज, उद्धार र राहतसम्बन्धी गतिविधिबारे सम्बन्धित अधिकारीसँग जानकारी लिएका छन् । राष्ट्रपतिले विपदमा परेका नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने, उद्धार कार्यलाई प्रभावकारी बनाउने तथा राहत व्यवस्थापनमा देखिएका समस्याबारे समेत जानकारी लिएको उनको सचिवालयले जनाएको छ । स्थलगत निरीक्षणका क्रममा पौडेलले बाढी प्रभावित नागरिकलाई अस्थायी रूपमा राखिएको होल्डिङ सेन्टरको पनि अवलोकन गरेका छन् । उनले त्यहाँको व्यवस्थापन, प्रभावित नागरिकको अवस्था र उपलब्ध सेवासुविधाबारे जानकारी लिएका छन् । राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रको पुनःस्थापना तथा आगामी दिनमा प्रभावित नागरिकको व्यवस्थापनका विषयमा पनि चासो राखेका छन् । विपद्पछिको पुनःस्थापना र नागरिकलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने कामलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था रहेको छ । बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण र अस्थायी व्यवस्थापनका काम भइरहेका बेला राष्ट्रपतिको स्थलगत निरीक्षणलाई विपद्पछिको अवस्थाको प्रत्यक्ष जानकारी लिने प्रयासका रूपमा हेरिएको छ ।
१.५२ अर्बमा नयाँ कारखाना खोल्दै चण्डिका डिस्टिलरी, आम्दानी साढे ३८ करोड रुपैयाँ
काठमाडौं । चण्डिका डिस्टिलरी प्रालिले गत आर्थिक वर्ष २०८२/८३ मा ३८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६३.४० प्रतिशत अर्थात् १४ करोड ९० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी २९ करोड २० लाख रुपैयाँ, आव २०७९/८० मा २० करोड ९० लाख रुपैयाँ, आव २०७८/७९ मा १८ करोड १० लाख रुपैयाँ र आव २०७७/७८ मा ३३ करोड रुपैयाँ रहेको थियो । सन् १९९९ को डिसेम्बरमा स्थापना भएको चण्डिका डिस्टिलरी विभिन्न क्षमताका मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनी हो । कम्पनीले ४० युपी, ५० युपी र ७० युपी क्षमताका मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीका प्रमुख उत्पादनमा पासपोर्ट ह्विस्की, ब्ल्याक ज्याक ह्विस्की, पास पास भोड्का तथा पास पासअन्तर्गतका विभिन्न ब्रान्ड रहेका छन् । कम्पनीको संयुक्त बोतल भर्ने वार्षिक क्षमता करिब १ करोड ८४ लाख लिटर रहेको छ । यद्यपि, निर्माणाधीन नयाँ कारखाना सञ्चालनमा आएपछि कम्पनीको वार्षिक उत्पादन क्षमता बढेर २ करोड ७४ लाख लिटर पुग्ने अपेक्षा गरिएको छ । २०२६ को जुलाई मध्यसम्म चण्डिका डिस्टिलरीको स्वामित्व चार जनामा बाँडिएको छ । रवि केसीको करिब ४० प्रतिशत, अभिषेक श्रेष्ठको करिब २५ प्रतिशत, श्रद्धा केसीको करिब १९ प्रतिशत र अवन्तिका केसीको करिब १६ प्रतिशत हिस्सा रहेको छ । कम्पनीको अध्यक्षमा रवि केसी रहेका छन् । चण्डिका डिस्टिलरीका मुख्य प्रवर्द्धकहरू यती डिस्टिलरी प्रालि र याक ब्रुइङ कम्पनी प्रालिमा समेत संलग्न छन् । यती डिस्टिलरीसँगको सञ्चालनगत तथा रणनीतिक सम्बन्धले पनि चण्डिका डिस्टिलरीलाई सहयोग पुग्ने कम्पनीले जनाएको छ । पछिल्लो पाँच वर्षमा यती डिस्टिलरीबाट प्रवर्द्धकहरूले औसत वार्षिक करिब ६८ करोड ८० लाख रुपैयाँ लाभांश लिएका छन् । उक्त लाभांशलाई चण्डिका डिस्टिलरीको नयाँ परियोजना सञ्चालनमा आएपछिको प्रारम्भिक चरणमा तरलता व्यवस्थापनका लागि सम्भावित स्रोतका रूपमा समेत हेरिएको कम्पनीले जनाएको छ । ६ वर्षका लागि सम्झौता चण्डिका डिस्टिलरीले यती डिस्टिलरीलाई अतिरिक्त तटस्थ मदिरा आपूर्ति गर्ने गरी हालै ६ वर्षको सम्झौता गरेको छ । सम्झौताअनुसार निश्चित परिमाणमा अतिरिक्त तटस्थ मदिरा आपूर्ति गरिने भएकाले निर्माणाधीन नयाँ परियोजनाबाट हुने आम्दानीको सुनिश्चितता बढ्ने अपेक्षा कम्पनीको छ । कम्पनीका प्रवर्द्धकहरूले ब्याजरहित प्रवर्द्धक ऋणमार्फत समेत रकम उपलब्ध गराएका छन् । यसमध्ये सेयरका लागि अग्रिमस्वरूप करिब २६ करोड रुपैयाँ उपलब्ध गराइएको छ । चण्डिका डिस्टिलरीको सेयर स्वामित्वलाई यती डिस्टिलरीको स्वामित्व संरचनासँग पूर्ण रूपमा मिलाउने प्रस्तावसमेत रहेको जनाएको छ । चण्डिका डिस्टिलरीको उत्पादनमा तुलनात्मक रूपमा कम मूल्यका ७० युपी ब्ल्याक ज्याक तथा अन्नमा आधारित मदिराको हिस्सा बढी रहेको छ । यी दुई समूहका उत्पादनले कम्पनीको कुल आम्दानीमा करिब ५७ प्रतिशत योगदान गरेका छन् । कम मूल्यका उत्पादनमा बढी निर्भरता रहेकाले कम्पनीको सञ्चालन नाफामा दबाब परेको जनाएको छ । नयाँ कारखानामा १.५२ अर्ब लगानी चण्डिका डिस्टिलरीले करिब १ अर्ब ५२ करोड ५० लाख रुपैयाँ लागतमा नयाँ कारखाना निर्माण गरिरहेको जनाएको छ । नयाँ कारखाना सञ्चालनमा आएपछि कम्पनीको वार्षिक उत्पादन क्षमता करिब ४९ प्रतिशतले बढेर २ करोड ७४ लाख लिटर पुग्नेछ । उक्त क्षमता वर्षमा ३०० दिन कारखाना सञ्चालन हुने आधारमा गणना गरिएको हो । २०२६ को जुलाईसम्म परियोजनाको वित्तीय प्रगति करिब ७५ प्रतिशत पुगेको छ । तर, परियोजना प्रारम्भिक रूपमा तोकिएको २०२६ को जनवरी मध्यसम्ममा सम्पन्न हुन सकेन । अहिले यसको संशोधित सम्पन्न गर्ने लक्ष्य २०२७ को जनवरीसम्म राखिएको जनाएको छ । परियोजनाको कुल लागतको करिब ७० प्रतिशत हिस्सा ऋणबाट व्यवस्थापन गरिने भएकाले नयाँ कारखाना सञ्चालनमा आएपछि प्रारम्भिक चरणमा उत्पादन स्थिरीकरणसम्बन्धी जोखिम रहने जनाएको छ । नयाँ उत्पादन क्षमता पूर्ण रूपमा उपयोग गर्न समय लाग्न सक्ने भएकाले सुरुवाती अवधिमा नाफा तथा ऋण तिर्ने क्षमतामा दबाब पर्न सक्ने कम्पनीको भनाइ छ । चण्डिका डिस्टिलरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल २ अर्ब १ करोड रुपैयाँ ऋण लिएको छ । यसमध्ये १ अर्ब रुपैयाँ दीर्घकालीन र १ अर्ब १ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । नेपालमा मदिरा उद्योग उच्च कर लाग्ने तथा कडा नियमनमा रहेको क्षेत्र हो । मदिरामा लाग्ने कर तथा भन्सार महसुल वृद्धि भएमा उत्पादन लागत बढ्न सक्ने जनाएको छ । तर, बढेको लागत उपभोक्तासम्म मूल्य वृद्धिमार्फत सार्न कम्पनी कति सक्षम हुन्छ भन्ने निश्चित छैन । त्यस्तै, कुनै निश्चित क्षेत्र वा स्थानमा मदिरा बिक्रीमा थप प्रतिबन्ध लगाइएमा कम्पनीका उत्पादनको मागमा समेत असर पर्न सक्छ । कर, भन्सार, बिक्रीसम्बन्धी प्रतिबन्ध तथा अन्य नियामकीय व्यवस्थामा हुने प्रतिकूल परिवर्तनले कम्पनीको बिक्री तथा नाफामा दबाब पार्न सक्ने जनाएको छ । विदेशबाट आयात हुने तयारी मदिरामा उच्च भन्सार महसुल लाग्ने भएकाले स्वदेशी उत्पादकले आयातित उत्पादनको तुलनामा केही हदसम्म संरक्षण पाउँदै आएका छन् । चण्डिका डिस्टिलरीको प्रमुख आम्दानी क्षेत्रमध्ये रहेको ७० युपी तयारी मदिराको आयातमा प्रतिलिटर करिब २ हजार रुपैयाँ भन्सार महसुल लाग्ने व्यवस्था छ । त्यस्तै, मदिरा मिश्रणमा प्रयोग हुने विदेशबाट आयातित मदिरामा प्रतिलिटर करिब १ हजार ५ सय रुपैयाँ भन्सार महसुल लाग्छ । यसले स्वदेशी मदिरा उत्पादकलाई आयातित तयारी मदिरा तथा कच्चा पदार्थसँग प्रतिस्पर्धा गर्न केही हदसम्म सहज बनाएको कम्पनीले जनाएको छ । कम्पनीले युरोप तथा अन्य विदेशी आपूर्तिकर्ताबाट उपकरण र कच्चा पदार्थ आयात गर्दै आएको छ । यस्ता कारोबारको भुक्तानी मुख्यतः युरो र अमेरिकी डलरमा हुने गरेको छ । गत वर्ष कम्पनीले विदेशी विनिमय दरमा भएको परिवर्तनबाट करिब ८ प्रतिशत विदेशी विनिमय घाटा बेहोरेको दाबी गरेको छ ।
रसुवा बाढीको १३ औँ दिन, गुल्मीका सात जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका गुल्मीका सात जना आज १३ औँ दिनसम्म पनि सम्पर्कविहीन छन् । बाढीमा परेका गुल्मीका यादव भण्डारीको भने मृत्यु पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय गुल्मीको विवरणअनुसार रसुवा बाढीपछि रुरुक्षेत्र गाउँपालिका–५ की अनिता पुरी, रुरुक्षेत्र–६ का यमबहादुर दर्लामी, मालिका–७ का दिनेश घिमिरे, छत्रकोट–४ का गणेश ज्ञवाली, सत्यवती–८ का धनबहादुर गलामी, रुरुक्षेत्र–३ का कपिलमणि ज्ञवाली र कालीगण्डकी–१ का शिव न्यौपाने अझै सम्पर्कमा आएका छैनन् । सम्पर्कविहीनमध्ये पुरी रसुवा भन्सार कार्यालयमा नायब सुब्बाका रूपमा कार्यरत थिइन् । यमबहादुर दर्लामी रसुवा हाइड्रोपावरमा प्राविधिकका रूपमा कार्यरत थिए भने दिनेश घिमिरे पनि रसुवा भन्सारमा कार्यरत थिए । ज्ञवाली जलविद्युत् आयोजनामा र धनबहादुर गलामी आयोजनाकै सुरक्षागार्डका रूपमा कार्यरत रहेको प्रजिअ गैह्रेले जानकारी दिए । गैह्रेका अनुसार कपिलमणि ज्ञवाली जलविद्युत् आयोजनासँग सम्बन्धित काममा र शिव न्यौपाने पनि रसुवामै कार्यरत रहेका थिए । बाढी आएको लामो समय बितिसक्दा पनि उनीहरूबारे कुनै ठोस जानकारी नआएपछि परिवारजन चिन्तित रहेको पुरीको परिवारलाई भेट्न पुगेका नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । ज्ञवालीका अनुसार परिवारले आफन्त जीवितै उद्धार हुने आशा अझै नछाडेको बताएका छन् । खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । गुल्मीको सत्यवती गाउँपालिका–६, जुहाङ घर भएका यादव भण्डारीको भने बाढीमा परी मृत्यु पुष्टि भएको छ । रसुवागढीस्थित अध्यागमन कार्यालयमा अधिकृतका रूपमा कार्यरत भण्डारी बाढीपछि सम्पर्कविहीन भएका थिए । उनको शव फेला परी पहिचानसमेत भइसकेको विवरण आधिकारिक विपद् अभिलेखमा उल्लेख छ ।