सिटिजन्स बैंकले बाढीपीडितका लागि २ करोड २२ लाख रुपैयाँ सहयोग गर्‍यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीपीडितको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो । भदौ १० गते बागमती प्रदेशको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि बैंकले रकम प्रदान गरेको जनाएको छ ।

अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको पनि उपस्थिति थियो ।

बैंकले बाढीमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको जनाएको छ ।

बाढीका कारण सिटिजन्स बैंकको नुवाकोटस्थित देवीघाट शाखा कार्यालयसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बैंकले प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन विदुर नगरपालिका–५, देवीघाटमा खाद्यान्न सामग्री पनि वितरण गरेको छ ।

बैंकले चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु र चाउचाउलगायतका सामग्री सहयोग गरेको जनाएको छ ।

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, सामुदायिक विद्यालय, वृद्धाश्रम र अनाथालयलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक सेवा तथा राहतका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

सिटिजन्स बैंकले देशका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको छ । बैंकका अनुसार करिब २० लाख ६० हजार ग्राहकले बैंकिङ सेवा लिइरहेका छन् ।

Share News