विपत्तिको सामना गर्न एकजुट बनौं : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिको अवस्थामा सबैलाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन् । सोमबार (आज) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सबैलाई एकताबद्ध भई उभिन आह्वान गरेका हुन् । आजै राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा गएका थिए । भ्रमणपश्चात उनले राष्ट्रका नामा सम्बोधन गरेका हुन् । उनले सबै राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय र आम नागरिकलाई एकताबद्ध भएर विपत्तिको सामना गर्न आह्वान गरे । राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत तथा पुनस्र्थापनाका लागि राज्यका सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । विपत्तिबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउँदै पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिँदै उनले संकटको समयमा सबैको साझा प्रयासबाट मात्रै ठूलो क्षति न्यूनीकरण गर्न सकिने बताए ।
सामाजिक सञ्जालका १७३ पोष्टलाई कारबाही
काठमाडौं । नेपाल प्रहरीले भोटेकोशीको बाढीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा १ सय ७३ वटा भ्रामक सूचना तथा अफवाह फैलाउने कारबाहीका गरेको छ । समाजलाई त्रासमा राख्ने र विभाजित गर्ने तथा उत्तेजक खालका विचार लेख्ने पोष्टलाई प्रहरीले कारबाही गरेको हो । फेसबुकको १६८, टिकटक ४ र इन्स्टाग्रामको एउटा भ्रामक सूचना फैलाउने पोष्टलाई कारबाही गर्नका लागि पहिचान गरिएको प्रहरीले जनाएको छ । फेसबुकका विभिन्न ७९ वटा पोष्ट हटाइएको प्रहरीले जनाएको छ । त्यसैगरी टिकटकबाट ४ वटा सामग्रीसमेत हटाइएको प्रहरीले उल्लेख गरेको छ । गत भदौँ १० गतेको आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति गरेको छ । केही दिनयता सामाकजिक सञ्जालमा भ्रामक सूचनासमेत फैलिएको छ । प्रहरीले समाज र व्यक्तिलाई उत्तेजित पुर्याउने व्यक्तिलाई कारबाही गर्दै आएको छ । सामाजिक सञ्जालमा आएका पोष्टलाई हटाउने समेत गरेको छ ।
बाढी प्रभावित ३ जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र सीमा हटाइयो
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका बीमितहरूका लागि स्वास्थ्य बीमा सेवामा लाग्ने सहभुक्तानी (बीमितले बुझाउनुपर्ने निश्चित रकम) र सेवाको माथिल्लो सीमा (क्यापिङ) हटाउने निर्णय गरेको छ । बोर्डको सोमबार (आज) को निर्णयअनुसार यो सुविधा लागू गरिएको हो । भाद्र १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलामा आएको अप्रत्याशित बाढीका कारण अति प्रभावित भएका यी तीन जिल्लालाई नेपाल सरकारले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । सोही सन्दर्भमा नागरिकहरूलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले तोकिएको समयावधिसम्मका लागि यो व्यवस्था गरिएको बोर्डले जनाएको छ । साथै बाढीका कारण स्वास्थ्य बीमा परिचयपत्र नभएका वा हराएका बीमितहरूले पनि चिन्ता लिनु नपर्ने भएको छ । सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई उपलब्ध गराइएको एकीकृत व्यवस्थापन सूचना प्रणालीका प्रयोगकर्ता (आइएमआईएस युजर) प्रणालीमार्फत बीमितको स्वास्थ्य बीमा नम्बर यकिन गरी बीमा सेवा निरन्तर उपलब्ध गराइने व्यवस्था मिलाइएको बोर्डका प्रवक्ता डा. पवन कुमार शाहले जानकारी दिए ।
५० हजार घुस मागेको आरोपमा नापी कार्यालय कलंकीका दुई कर्मचारीविरुद्ध मुद्दा
काठमाडौं । नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्धे र सर्भेक्षक अमित कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध ५० हजार रुपैयाँ घुस मागेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार चन्द्रागिरी नगरपालिका–९ मा रहेको जग्गा हालसाविक गरी प्लट मिलान गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागिएको थियो । अनुसन्धानका क्रममा तत्कालीन सर्भेक्षक श्रेष्ठ र नापी अधिकृत पार्धेले नियमअनुसार गर्नुपर्ने काममा अनावश्यक दुःख–हैरानी दिई घुस रकम माग गरेको पुष्टि भएको आयोगले जनाएको छ । उनीहरूले आफूले रकम नलिई कार्यालय सहयोगीलाई दिन लगाउने गरी घुस लिन मन्जुर गरेकोसमेत अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ । आयोगले दुवै जनाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर भएको ठहर गरेको छ । आयोगले ५० हजार रुपैयाँलाई बिगो कायम गरी दुवै प्रतिवादीलाई कैद तथा बिगोबमोजिम जरिवाना गर्न मागदाबी गरेको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूविरुद्ध २०८३ भदौ २२ गते विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
पिपुल्स हाइड्रोपावरका सेयरधनीले ३० प्रतिशत सेयर बेच्ने
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका एक आधारभूत सेयरधनीले आफ्नो ३० प्रतिशत सेयर बिक्री गर्न चाहेका छन् । कम्पनीका अनुसार आधारभूत सेयरधनी क्लिन इनर्जी कन्सल्टेन्ट्स प्रालिले आफूसँग रहेको सेयरमध्ये ३० प्रतिशत बिक्री गर्न लागेको हो । कम्पनीमा क्लिन इनर्जी कन्सल्टेन्ट्सको कुल ३ लाख ४५ हजार कित्ता सेयर रहेको छ । सोही सेयरको ३० प्रतिशत बिक्री गर्ने जानकारी कम्पनीलाई गराइएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त जानकारी सार्वजनिक गरेको जनाएको छ । ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहने आधारभूत सेयरधनीले बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।
प्रधानमन्त्री राहत कोषमा नेपाली कांग्रेसको १ करोड
काठमाडौं । नेपाली कांग्रेसले बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ । सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको तर्फबाट एक करोड रुपैयाँको चेक हस्तान्तरण गरे । पार्टीको तर्फबाट चेक हस्तान्तरण गर्न महामन्त्री पौडेल, कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरू अर्थ मन्त्रालय आएका थिए । केही दिनअघि रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी, त्रिशूलीलगायतका नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेको छ । बाढीका कारण कैयौं परिवार विस्थापित हुनुका साथै सडक, पुल, विद्युत्, आवासलगायतका भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले विपद्को समयमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित आवासको व्यवस्था गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारलाई आर्थिक सहयोग गरिएको बताए । उनले संकटको अवस्थामा नेपाली कांग्रेस बाढीपीडित नागरिकको साथमा रहेको उल्लेख गर्दै उद्धार, राहत र पुनस्र्थापनाका काममा सरकारलाई आवश्यक सहयोग गर्न पार्टी प्रतिबद्ध रहेको बताए । पौडेलले बाढीपहिरोका कारण सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका तथा अलपत्र परेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति समेत सरकारको ध्यानाकर्षणसमेत गराए । ‘सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु,’ उनले भने । उनले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित नागरिकको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउन मागसमेत गरे । राहत वितरणलाई पारदर्शी बनाउन तथा समग्र विपद् व्यवस्थापन प्रणालीलाई थप चुस्त र प्रभावकारी बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । सभापति गगन थापाको नेतृत्वमा सरकारलाई सुझाव तथा सल्लाह दिने, दबाब सिर्जना गर्ने र विपद् व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराउने काम भइरहेको कांग्रेसले जनाएको छ । सभापति थापा स्वयं पनि दुईपटक बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किसकेका छन् ।
पियोर इनर्जीको सेयर मूल्य १५ प्रतिशतले बढ्यो
काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.०७ अंकले बढेर २५६० बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १९५ कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३५२ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै गरिमा विकास बैंकको १७ करोड, सोलु हाइड्रोको १६ करोड, एसवाई प्यानलको १३ करोड र सुपर म्यादीको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज पियोर इनर्जीको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सेयर बजारका अधिकांश उपसूचक बढेका छन् । नेप्सेका अनुसार १३ वटा उपसूचकमध्ये ११ वटा बढेका छन् भने २ वटा घटेका छन् । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक १.२४ प्रतिशत बढेर १० हजार ६०९.८७ अंकमा पुगेको छ । यो समूहको सूचक १३०.७१ अंकले बढेको हो । त्यस्तै, निर्जीवन बीमा उपसूचक २.०५ प्रतिशत बढेर ९ हजार ४८१.५३ अंकमा पुगेको छ । बढ्ने उपसूचकमध्ये निर्जीवन बीमा समूह सबैभन्दा अगाडि रहेको छ । बैंकिङ उपसूचक १.१५ प्रतिशत बढेर १ हजार ४४७.१४ अंकमा पुगेको छ । जीवन बीमा ०.४५ प्रतिशत, लघुवित्त ०.६१ प्रतिशत, जलविद्युत् ०.५१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ०.३१ प्रतिशत बढेका छन् । यस्तै, विकास बैंक ०.१३ प्रतिशत, लगानी ०.०४ प्रतिशत, म्युचुअल फन्ड ०.७१ प्रतिशत र अन्य समूह ०.५० प्रतिशत बढेका छन् । कारोबारमा रहेका समूहमा वित्त उपसूचक भने ०.४३ प्रतिशत घटेको छ। यो उपसूचक ९.९० अंकले घटेर २ हजार २४५.११ अंकमा कायम भएको छ । त्यस्तै, व्यापार उपसूचक ०.०९ प्रतिशत घटेर ३ हजार २३८.६४ अंकमा झरेको छ ।
आज साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार (आज) दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। राष्ट्रपति पौडेलले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएपछि राष्ट्रका नाममा सम्बोधन गर्न लागेको राष्ट्रपति कार्यालयका सूचना अधिकृत अर्चना खड्काले जानकारी दिइन् । उनको सम्बोधन नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।