विकासन्युज

जलवायु विपत्तिको मुद्दा उठाउन प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन् । प्रधानमन्त्री शाहले महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका तय भएको प्रधानमन्त्रीको सविचालयले जनाएको छ । महासभामा उनले नेपालले पछिल्लो समय भोग्दै आएको जलवायुजन्य विपत्ति र त्यसबाट परेको मानवीय तथा भौतिक क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । प्रधानमन्त्री शाह असोज ९ गते नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ । उनी केही दिनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् । यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई महासभामा पठाउने तयारी थियो ।  तर रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि प्रधानमन्त्री स्वयं महासभामा सहभागी भएर नेपालको पछिल्लो अवस्था अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नु उपयुक्त हुने भन्दै सरकारभित्र छलफल अघि बढाइएको थियो । प्रधानमन्त्री शाहको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा उनका सचिवालयका चार सदस्य, परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्रसचिव अमृतबहादुर राईसहितका अधिकारी सहभागी हुने बताइएको छ । महासभामा प्रधानमन्त्री शाहले नेपालजस्ता हिमाली तथा जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेका समस्या, प्राकृतिक विपत्तिबाट भइरहेको क्षति तथा जलवायु परिवर्तनका कारण बढ्दो जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताबारे धारणा राख्ने तयारी गरेका छन् ।

भोटेकोशी बाढीबाट रसुवाका ४ स्वास्थ्य संस्था पूर्ण क्षति

काठमाडौं । भोटेकोशी बाढीका कारण विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूमा गम्भीर क्षति पुगेको छ ।  रसुवा, नुवाकोट र धादिङका केही स्वास्थ्य संस्थाहरू पूर्णरूपमा क्षति भएका छन् ।   स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, आपत्कालीन तथा विपद् व्यवस्थापन केन्द्रको विवरण अनुसार बाढीका कारण कैयौँ स्वास्थ्य चौकी तथा अस्पताल प्रभावित भएका छन् । बाढीका कारण विशेषगरी रसुवास्थित स्याफ्रुबेँसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क (रसुवागढी) र मैलुङ सामुदायिक स्वास्थ्य इकाई पूर्ण रूपमा क्षति ग्रस्त भएका छन् ।  त्यस्तै, धादिङ्गका बैरेनी अस्पताल (गल्छी), चरौँदी प्राथमिक स्वास्थ्य केन्द्र (बेनिघाट) र बैरेनी आयुर्वेद औषधालय (गल्छी) मा आंशिक क्षति पुगेको छ ।  बाढी र पहिरोका कारण सडक तथा यातायात सेवा प्रभावित हुँदा धादिङ अस्पताल र त्रिशुली अस्पतालमा बिरामीहरूको पहुँच पूर्णरूपमा अवरुद्ध भएको छ । प्रभावित क्षेत्रहरूमा तत्काल स्वास्थ्य सेवा बहाल गर्न र राहत तथा उपचार कार्यलाई तीव्र बनाउन स्वास्थ्य मन्त्रालयले प्रतिकार्य टोली परिचालन गरिसकेको छ ।

ग्यासको चरम अभाव, कुपन र सिलिण्डरका लागि उपभोक्ताको सास्ती

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । भोटेकोशी बाढी र त्यसपछिको सडक अवरोधका कारण आपूर्ति व्यवस्था सहज हुन नसक्दा उपभोक्ताहरू घण्टौँसम्म लामबद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको हो । भोटेकोशी बाढीअघि पनि काठमाडौंमा ग्यासको अभाव थियो । सरकारले ग्यासको अभाव नरहेको दाबी गर्दै केही समयमै सहज हुने बताए पनि आम नागरिकहरू लामबद्ध भएर ग्यासका लागि बसिरहेका छन् । ग्यास वितरणलाई व्यवस्थित गर्न खुद्रा विक्रेताहरूले कुपन प्रणालीको सहारा लिएका छन् । कोटेश्वर क्षेत्रमा एलपी ग्यासको खुद्रा बिक्री गरिरहेका व्यवसायी शङ्करकुमार श्रेष्ठका अनुसार माग अत्यधिक भए पनि दैनिक करिब १ सय ५० वटा सिलिण्डर मात्र वितरण गर्न सकिएको छ । उनले भने, ‘हामीले दैनिक १५० वटा र अपाङ्गता भएका व्यक्तिहरूका लागि १० वटा गरी कुल १६० वटासम्म ग्यास सिलिण्डर वितरण गरिरहेका छौँ ।’ उनले भीड व्यवस्थापनका लागि सिलिण्डरमा नम्बरिङ गर्ने र नामसहितको कुपन बाँडेर भोलिपल्ट ग्यास दिने व्यवस्था मिलाइएको जानकारी दिए । ग्यासका लागि लाइनमा बसेका उपभोक्ताहरूले भने ठूलो सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। जडीबुटीका राकेश विष्टले दुई–तीन दिनअघि नै कुपन लिए पनि ग्यास नपाएको गुनासो गरे । सोमबार बिहान ८ बजेदेखि नै ग्यास पाउने आशामा लाइनमा बसेको उनले बताए । उनले भने, ‘काम छोडेर बिहान ८ बजेदेखि नै लाइनमा बसेको छु। चुल्हो बाल्नै पर्ने बाध्यताले गर्दा कामको क्षति सहेर पनि यहाँ आउनुपरेको छ ।’ उपभोक्ताहरूका अनुसार बजारमा ग्यासको अभाव व्यापक छ र स्थानीय डिपोहरूमा ग्यास पुग्न सकेको छैन । ‘सम्बद्ध निकायले ग्यास पठाइरहेको बताए पनि डिपोहरूमा ग्यास आइपुगेको छैन । डिपोमै ग्यास नभएपछि हामीले दुःख पाउनु स्वाभाविक हो,’ अर्का एक उपभोक्ताले आक्रोश व्यक्त गरे । रसुवामा आएको बाढीअघि नै सुरु भएको ग्यासको समस्या सडक अवरोध र यातायात सञ्चालनमा आएको कठिनाइका कारण थप जटिल बनेको हो । आपूर्ति सहज नहुँदा र मागअनुसारको सिलिण्डर उपलब्ध हुन नसक्दा सर्वसाधारणहरूले दैनिक काम छाडेर ग्यासको खोजीमा भौँतारिनुपरेको छ ।

राष्ट्र बैंकका कर्मचारीले बाढीपीडितका लागि दिए १ करोड ३८ लाख रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि १ करोड ३८ लाख ९९ हजार ४ सय २५ रुपैयाँ सहयोग गरेका छन् । राष्ट्र बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाएको छ । बैंकले सोमबार (आज) विज्ञप्ति जारी गर्दै बाढी प्रभावित व्यक्ति तथा परिवारको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले गभर्नर, डेपुटी गभर्नर तथा करार सेवाका कर्मचारीसमेतले स्वेच्छिक रूपमा रकम संकलन गरी कोषमा हस्तान्तरण गरेको जनाएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पु‍र्याएको थियो ।  बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काम भइरहेका छन् ।

१३ वर्षपछि कपिलवस्तुका ७ सय ३० परिवारले पाए लालपुर्जा

काठमाडौं । नापि कार्यालय कपिलवस्तुले  नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्धभूमि वडा नं ७  का ३३८ र ८ का ३९२ गरि जम्मा ७३० स्ववासि परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ७३० थान जग्गाधनी पुर्जा वितरण गरिएको हो । पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ७३० परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।  यसअघि सोहि नगरपालिकाको वडा नं ५,६ र १० मा २४१६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो । सरकारले देशका विभिन्न ठाउँमा लालपुर्जा वितरण अभियानलाई तीव्र रुपमा अगाडी बढाएको छ । 

भोटेकोशी बाढीका २१ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित २१ घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये एक भारतीयसहित २१ घाइतेको अहिले त्यहाँ उपचार भइरहेको जानकारी दिए । उक्त अस्पतालमा अशोक श्रेष्ठ, बलबहादुर घर्ती, मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, रामप्रसाद थारु, रिता डोल्चा, ऋतु डङ्गोल, सुरुची राना मगर, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, सङ्गीता तामाङ, सिजल थापा क्षेत्रीको उपचार भइरहेको छ । यस्तै, सितार तामाङ, मनिषा उचाई मगर, श्रीकेशकुमार यादव, चण्डिका श्रेष्ठ, कृष्ण श्रेष्ठ र सनम पाल्मोको समेत उपचार भइरहेको छ । यस्तै, भारतीय नागरिक नवलेश शर्माको पनि उक्त अस्पतालमा उपचार भइरहेको छ । उपचारमा रहने मध्ये पवित्र कार्की, पेमा तामाङ र चण्डिका श्रेष्ठलाई आईसीयुमा तथा मीनबहादुर श्रेष्ठ र राजेन्द्र भट्टको हाई केयर यूनिटमा  उपचार भइरहेको प्रवक्ता डा. सेढाईंले बताए । उक्त अस्पतालबाट हाल उपचार गरेर ५५ जना डिस्चार्ज भएका छन् । यस्तै चार जना अस्पतालमा आएर अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डा. सेढाईंले बताए । उक्त अस्पतालमा ल्याएका मध्ये २५ वर्षीय कुशल मगरको उपचारका क्रममा मृत्यु भएको छ ।

वृद्ध दम्पतीलाई मुखमा टेप लगाएर लुट्ने पाँच जना पक्राउ

काठमाडौं । वृद्ध दम्पतीलाई घरभित्रै बन्धक बनाई गरगहना तथा नगद लुटपाट गर्ने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही स्थानका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटाको बेलाहारा नगरपालिका–५ का ३८ वर्षीय दीपक भन्ने गुणराज विश्वकर्मा रहेका छन्। बिहीबार राती रामेछापको खाँडादेवीको नेवारटोलमा गत राति करिब १२ बजे ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छी माया तामाङ आफ्नै घरमा सुतिरहेका बेला नकाबधारी तीन जनाको समूह घरभित्र प्रवेश गरेको थियो। प्रहरीका अनुसार उनीहरूले वृद्ध दम्पतीको हात प्लास्टिकको टेपले बाँध्नुका साथै मुख थुनेर आँखामा पट्टी लगाएका थिए। ज्यान मार्ने धम्की दिई नियन्त्रणमा लिएपछि उनीहरूले दम्पतीले लगाएका गरगहना र घरमा राखिएको नगद लुटेर फरार भएका थिए। घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले डाँका चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो। उनीहरूलाई डाँका चोरीमा प्रयोग भएका सवारीसाधन तथा चोरीका सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुमन जर्घा मगरको साथबाट रु। २५ हजार नगद, रेडमी कम्पनीको मोबाइल र बा।७३ प ८७१२ नम्बरको २२० सीसीको मोटरसाइकल बरामद भएको छ। त्यस्तै, दीर्घराज मोक्तानको साथबाट रु। ५२ हजार २ सय नगद, नेपाली नागरिकता, राहदानी, एनएमबी बैंकको चेक, ग्लोबल आइएमई बैंकको राजस्व तिरेको बिल तथा घटनास्थलमा प्रयोग भएको ज्याकेट र हाफ कट्टु बरामद गरिएको प्रहरीले जनाएको छ। पशुपति श्रेष्ठको साथबाट बा. ७२ प ५५८ नम्बरको मोटरसाइकल, रु। ६ हजार ४ सय ६० नगद, मोबाइल, विभिन्न बैंक तथा सहकारीसम्बन्धी कागजात, नागरिकता, बुद्धचित्तका २२ वटा दाना, ढलौटको पानसरटुकी दुई थान, पुराना सिक्का पाँच थान तथा सुनजस्तो पहेँलो धातुको औँठी एक थान बरामद भएको छ। उनको लक्ष्मी सनराइज बैंक खातामा रु। १ लाख ३१ हजार १४ रुपैयाँ ८२ पैसा मौज्दात रहेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पिताम्बर गहतराजको साथबाट एक थान मोबाइल र दीपक भन्ने गुणराज विश्वकर्माको साथबाट सुनजस्तो पहेँलो धातुको दुई थान रिङ बरामद गरिएको छ। प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये पशुपति श्रेष्ठको समूह अन्य चोरीका घटनामा समेत संलग्न रहेको खुलेको जनाएको छ। श्रेष्ठको समूहले रामेछापको खाँडादेवी गाउँपालिका–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दान पेटिका फुटाई रकम चोरी गरेको अनुसन्धानबाट खुलेको छ। त्यस्तै, २०८३ असार १ गते राति खाँडादेवी गाउँपालिका–३ की सुन्दरी श्रेष्ठको करिब २८/ ३० किलोको खसी तथा भदौ ७ गते सोही वडाको भिरपानीका रामबहादुर श्रेष्ठको गोठबाट करिब १५ किलोको बोका चोरी गरेको घटनामा समेत पशुपति श्रेष्ठको समूहको संलग्नता रहेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ। प्रहरीको क्रिमिनल रेकर्ड  जाँच गर्दा पशुपति श्रेष्ठविरुद्ध प्रहरी वृत्त कालीमाटीबाट डाँका तथा चोरीसम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको छ। यस्तै, दीर्घराज मोक्तानविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापबाट अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको र दीपक भन्ने गुणराज विश्वकर्माविरुद्ध प्रहरी वृत्त बौद्ध, काठमाडौंमा जुवासम्बन्धी कसुरमा मुद्दा चलेको अभिलेखबाट देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डब्लुएचओको बैठकमा नेपालको सहभागिता, जलवायु न्यायसम्बन्धी आह्वान

काठमाडौं । विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठक आज देखि ४ दिन सम्म  टिमोर-लेस्टेको डिलीमा सुरु भएको छ ।  बैठकमा नेपाल सरकारको तर्फबाट माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता  मन्त्री निशा मेहताको नेतृत्वमा सहभागिता जनाउने योजना रहेपनि हाल देशमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा स्वास्थ्य क्षेत्रको प्रतिकार्य, समन्वय र जीवनरक्षा कार्यमा प्रत्यक्ष संलग्न रहनुपर्ने भएकाले मन्त्रालयका अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल बैठकमा सहभागी भएको छ ।  मन्त्री मेहताले  बैठकमा भिडियो सन्देश मार्फत नेपालले भोगिरहेको बाढीजन्य संकट र प्रभावित जनसमुदायबारे औँल्याउदै जलवायु परिवर्तनलाई क्षेत्रीय समितिको छलफलको केन्द्रमा राख्नुपर्नेमा जोड दिएकी छन् ।  नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे तापनि बाढी, पहिरो, हिमतालसम्बन्धी जोखिम, स्वास्थ्य पूर्वाधारमा क्षति जस्ता गम्भीर असरहरू भोग्नुपरेको उल्लेख गर्दै यसलाई जलवायु न्यायको विषयका रूपमा प्रस्तुत गर्दै स्वास्थ्यका लागि समर्पित जलवायु वित्त, बलियो बहुक्षेत्रीय सहकार्य तथा जलवायु उत्थानशील स्वास्थ्य प्रणाली निर्माणका लागि क्षेत्रीय तथा विश्वव्यापी प्रतिबद्धता सुदृढ गर्न समेत आह्वान गरेकी छन् ।