भोटेकोशी बाढीबाट रसुवाका ४ स्वास्थ्य संस्था पूर्ण क्षति

काठमाडौं । भोटेकोशी बाढीका कारण विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूमा गम्भीर क्षति पुगेको छ । 

रसुवा, नुवाकोट र धादिङका केही स्वास्थ्य संस्थाहरू पूर्णरूपमा क्षति भएका छन् ।  

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, आपत्कालीन तथा विपद् व्यवस्थापन केन्द्रको विवरण अनुसार बाढीका कारण कैयौँ स्वास्थ्य चौकी तथा अस्पताल प्रभावित भएका छन् ।

बाढीका कारण विशेषगरी रसुवास्थित स्याफ्रुबेँसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क (रसुवागढी) र मैलुङ सामुदायिक स्वास्थ्य इकाई पूर्ण रूपमा क्षति ग्रस्त भएका छन् । 

त्यस्तै, धादिङ्गका बैरेनी अस्पताल (गल्छी), चरौँदी प्राथमिक स्वास्थ्य केन्द्र (बेनिघाट) र बैरेनी आयुर्वेद औषधालय (गल्छी) मा आंशिक क्षति पुगेको छ । 

बाढी र पहिरोका कारण सडक तथा यातायात सेवा प्रभावित हुँदा धादिङ अस्पताल र त्रिशुली अस्पतालमा बिरामीहरूको पहुँच पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रभावित क्षेत्रहरूमा तत्काल स्वास्थ्य सेवा बहाल गर्न र राहत तथा उपचार कार्यलाई तीव्र बनाउन स्वास्थ्य मन्त्रालयले प्रतिकार्य टोली परिचालन गरिसकेको छ ।

Share News