प्रधानमन्त्री राहत कोषमा दुगड ग्रुपको १ करोड ११ लाख सहयोग
काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि एमभी दुगड ग्रुप परिवारले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । सहयोग रकममा ग्रुपको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूले स्वेच्छिक रूपमा गरेको आर्थिक सहयोगसमेत समावेश गरिएको छ । सहयोग रकमको चेक आज अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण कार्यक्रममा ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडको उपस्थिति थियो । ग्रुपले बाढी तथा पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न संघसंस्थाले गरिरहेको प्रयासको ग्रुपले प्रशंसा गरेको छ । जलवायु परिवर्तन तथा विश्वव्यापी तापक्रम वृद्धिका कारण प्राकृतिक विपद्का घटना बढ्दै गएको सन्दर्भमा दुगड ग्रुपले वातावरण संरक्षणलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ । ग्रुपले विसं २०७८ देखि देशव्यापी रूपमा वृक्षारोपण अभियान सञ्चालन गर्दै आएको छ । अभियानअन्तर्गत हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी विरुवा रोपिएको ग्रुपले जनाएको छ । यस्तै, करिब ६ किलोमिटर लामो राजमार्ग खण्ड तथा विभिन्न विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका विरुवा रोपेर संरक्षण गरिएको जनाएको छ । ग्रुपले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका राहत, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्यक्रमलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
कानुनमन्त्रीसमक्ष कानुन आयोगको वार्षिक प्रगति प्रतिवेदन पेश
काठमाडौं । नेपाल कानुन आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसमक्ष पेश गरेको छ । नेपाल कानून आयोग ऐन, २०६३ को दफा २२ बमोजिम आयोगले प्रतिवेदन तयार गरेको हो । अब प्रतिवेदन कानुनमन्त्री गौतममार्फत नेपाल सरकारसमक्ष पेश गरिने छ । आयोगले पेश गरेको वार्षिक प्रतिवेदनमा आयोगको परिचय, कानुन सुधारमा आयोगको भूमिका, वार्षिक कार्यक्रम तथा कार्यप्रगति, अवसर तथा चुनौती, सुझाव र सुझावको कार्यान्वयन लगायतका विषय समेटिएका छन् । नेपाल कानून आयोग सन् २०१० मा स्थापना भएको निकाय हो । आयोगको संस्थागत भूमिकालाई थप स्पष्ट बनाउन नेपाल कानुन आयोग ऐन, २०६३ जारी भएको हो । नेपाल कानून आयोगले विभिन्न विषयमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै कानुन दिग्दर्शनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७३/०७४ देखि २०८२/०८३ सम्म आयोगबाट तयार भएका कानुनमध्ये ३३ वटा मात्रै कार्यान्वयनमा रहेको अवस्था देखिएकाले आगामी दिनमा कार्यान्वयनयोग्य र व्यवहारिक कानून निर्माणमा विशेष ध्यान दिनुपर्ने देखिएको छ । आयोगले गत आर्थिक वर्षमा जेनजी आन्दोलनबाट भएको विभिन्न चुनौतीका बाबजुद आफ्नो कार्यसम्पादनलाई निरन्तरता दिएको जनाएको छ । पछिल्लो समय उत्पन्न परिस्थितिका कारण आयोगको भौतिक तथा प्रशासनिक पूर्वाधारमा समेत समस्या आएको र पुस महिनासम्म पर्याप्त कार्यकक्षको व्यवस्था हुन नसक्दा सीमित स्थानबाट काम गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । हाल एउटै कोठामा ८ देखि १० जनासम्म कर्मचारीले काम गर्नुपर्ने अवस्था रहेको आयोगले जनाएको छ । आयोगका लागि आर्थिक वर्ष २०८२/०८३ मा ४ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा कूल बजेटको करिब ७३ प्रतिशत मात्र खर्च भएको प्रतिवेदनमा उल्लेख छ । उपलब्ध स्रोत र साधनको सीमितताबीच आयोगले कानून सुधार तथा कानून निर्माणसँग सम्बन्धित कामलाई निरन्तरता दिएको जनाएको छ । प्रतिवेदन ग्रहण गर्दै कानुनमन्त्री गौतमले कानुन निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । नागरिकको आवश्यकता र वर्तमान परिस्थितिअनुकूल हुने तथा व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने कानून निर्माण गर्न सरकार र सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको उन को भनाइ थियो । आयोगको वार्षिक प्रतिवेदन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत एक एक प्रति पठाइनेछ ।
पुँजी बजार विकास र सुधारका उपाय पेस गर्न अर्थमन्त्री वाग्लेले दिए निर्देशन
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन् । सोमबार (आज) अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए ।
भतिजीलाई उपहार दिन शेखले किने ६ करोडको दुर्लभ बाज
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा एउटा दुर्लभ बाजका लागि ६ करोड १० लाख बढीको बोली लागेको छ । अबुधाबीका एक शेखले आफ्नी भतिजीको इच्छा पूरा गर्न उक्त बाज १५ लाख दिराम अर्थात ६ करोड १७ लाख रुपैयाँमा खरिद गरेका हुन् । भतिजीलाई बाज निकै मन पर्ने भएकाले उनका अंकलले उपहारस्वरूप अबुधाबीमा आयोजित एक लिलामीमा दुर्लभ सेतो बाज खरिद गरेका हुन् । यो घटनाले खाडी मुलुकका धनाढ्यहरूमा दुर्लभ चराचुरुङ्गी पाल्ने र बाज पालनप्रतिको गहिरो रुचिलाई समेत देखाएको छ । ‘द सियासत डेली’का अनुसार युवा शैखा अल मन्सुरी आफ्ना अंकलसँग अबुधाबी इन्टरनेसनल हन्टिङ एन्ड इक्वेस्ट्रियन एक्जिबिसन २०२६ मा सहभागी भएकी थिइन् । बाज पालनमा रुचि राख्ने व्यक्ति तथा ब्रिडरहरूको ठूलो जमघट हुने यस प्रदर्शनीमा महँगा र दुर्लभ बाजहरूको लिलामीसमेत हुन्छ । यही क्रममा शैखाका अंकलले ‘अल्ट्रा ह्वाइट प्योर गायर गार्मौशा’ बाज १५ लाख दिराममा खरिद गरे । यो रकमले उक्त बाजलाई यस वर्षको प्रदर्शनीमा बिक्री भएको सबैभन्दा महँगो बाज बनाएको छ । अमेरिकाको ‘मार्क मोग्लिच फाल्कन फार्म’मा हुर्काइएको यो बाज आफ्नो आकर्षक शुद्ध सेतो प्वाँख र विशेष शारीरिक बनावटका कारण प्रदर्शनीमा आकर्षणको केन्द्र बनेको थियो । यस बाजको तौल करिब १ किलोग्राम छ भने यसको लम्बाइ र चौडाइ दुवै १६.५ इन्च रहेको बताइएको छ । यही दुर्लभ बनावट र विशेषताका कारण यो बाज बाजप्रेमी तथा कलेक्टरहरूका लागि निकै मूल्यवान मानिएको हो । १५ लाख दिरामको कीर्तिमानी बोलीसँगै यो बाज अहिलेसम्म बिक्री भएको सबैभन्दा महँगो बाज बनेको छ । यस वर्षको प्रदर्शनीमा बाज पालन तथा हेरचाह गर्ने ५५ वटा प्रमुख स्थानीय तथा अन्तर्राष्ट्रिय फार्म सहभागी छन् । साउदी अरब लगायत खाडी क्षेत्रका मुलुकमा फाल्कनरी अर्थात् बाज पालन र बाजमार्फत सिकार गर्ने परम्पराको गहिरो सांस्कृतिक इतिहास छ । यही कारण अरब मुलुकका धनाढ्यहरू दुर्लभ र उत्कृष्ट नस्लका बाजका लागि ठूलो रकम खर्च गर्नसमेत पछि पर्दैनन् । पछिल्ला वर्षहरूमा बाजसम्बन्धी नीलामी तथा प्रदर्शनीहरू अन्तर्राष्ट्रिय बजारका रूपमा विकसित भएका छन् । यस्ता कार्यक्रममा विशेष नस्लका बाज उत्पादन गर्ने ब्रिडर, कलेक्टर तथा व्यावसायिक फाल्कनरहरू एकै ठाउँमा भेला हुन्छन् । दुर्लभ नस्ल, आकर्षक बनावट, उत्कृष्ट सिकार क्षमता र वंशावलीजस्ता विशेषताले बाजको मूल्य निर्धारण गर्ने भएकाले उत्कृष्ट बाजहरूका लागि लाखौं दिरामसम्मको बोली लाग्ने गरेको छ ।
बौद्ध समाज स्वयम्भुद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग, ऊर्जा मन्त्रीले बुझे चेक
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर प्रभावित भएका नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाको लागि सप्तरंगी इन्द्रेणी बौद्ध समाज स्वयम्भुले आर्थिक सहयोग गरेको छ । समाजका पदाधिकारीले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री राहत कोषमा दुई लाख १ हजार १०१ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । सप्तरंगी इन्द्रेणी बौद्ध समाजका अध्यक्ष मनिक लामाले ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए । मन्त्री श्रेष्ठले देश संकटमा परेका बेला सहयोगका लागि हातेमालो गरेकामा धन्यवाद दिएका थिए । सरकार र सरोकारवाला सबै नागरिकको प्रयासले देश चाँडै संकटबाट निस्किने विश्वास उनले दिलाए ।
१४ वर्ष कैद सजाय पाएका फरार कैदी कास्कीबाट पक्राउ
काठमाडौं । हाडनाता जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय पाएका र जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कास्कीको रुपा गाउँपालिका–७ धारापानीबाट ३४ वर्षीय हर्कबहादुर गुरुङलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार गुरुङ कास्कीको पोखरा महानगरपालिका–३० का बासिन्दा हुन् । उनी २०८१ साउन १४ गतेदेखि कारागार कार्यालय कास्कीमा कैद सजाय भुक्तान गरिरहेका थिए । तर २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए । फरार हुँदा उनको ११ वर्ष ९ महिना २६ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । फरार भएपछि उनी कास्कीका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा सीआईबीको टोलीले उनलाई पक्राउ गरी पुनः कारागार कार्यालय कास्कीमा बुझाएको छ ।
बाढीपीडितको राहतका लागि सिद्धार्थ क्यापिटलको ११ लाख सहयोग
काठमाडौं । बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनामा सहयोग पु‍र्याउने उद्देश्यले सिद्धार्थ क्यापिटल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ । विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउन कम्पनीले उक्त सहयोग गरेको हो । सिद्धार्थ क्यापिटलका अनुसार विपद्बाट प्रभावित समुदायलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन तथा उनीहरूको पुनःस्थापनामा सहयोग पु‍र्याउने उद्देश्यले रकम प्रदान गरिएको हो । कम्पनीले विपद्को समयमा निजी क्षेत्रको भूमिका आर्थिक गतिविधिमा मात्र सीमित नरही समाज र समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्नेतर्फ पनि केन्द्रित हुनुपर्नेमा जोड दिएको छ । सोही प्रतिबद्धताअनुरूप प्रभावित नागरिकको कठिन परिस्थितिमा साथ र सहयोग प्रदान गरिएको सिद्धार्थ क्यापिटलले जनाएको छ । सिद्धार्थ क्यापिटलले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अग्रसर सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, संघ–संस्था, निजी क्षेत्र र सरोकारवालाप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’, मनोनयन सूची सार्वजनिक
काठमाडौं । नेपालमै पहिलो पटक कन्टेन्ट क्रिएटरहरूका लागि लक्षित गर्दै आयोजना हुन लागेको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को मनोनयन सूची सार्वजनिक भएको छ । स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले आगामी असोज १२ गते सोमवार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गर्न लागेको यो अवार्डका लागि विभिन्न दश विधामा मनोनयन सूची सार्वजनिक गरिएको हो । आयोजक संस्थाका निर्देशक सुरज गराचका अनुसार नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना गर्न लागिएको हो । नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरहरूलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो अवार्ड कार्यक्रम आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सको प्रस्तुतिमा आयोजना हुन लागेको हो । क्रिएट, इन्स्फायर, इम्प्याक्ट भन्ने नारासहित आयोजना हुन लागेको यो अवार्डका लागि करिब तीन महिनाको अवधि राखेर आवेदन आह्वान गरिएको थियो । अवार्ड समारोहका क्रिएटिभ हेड विक्रमादित्य शाहका अनुसार देशभरीबाट करिव २२ सय भन्दा बढी कन्टेन्ट क्रिएटरहरूले यो प्रतियोगितामा सहभागिता जनाउन आफ्ना कन्टेन्टहरु उपलब्ध गराएका थिए । ती मध्ये आयोजक संस्थाले १ सय २२ वटा उत्कृष्ट कन्टेन्टहरु निर्णायकसमक्ष प्रस्तुत गरेको थियो । निर्णायकहरुको मूल्यांकनपछि मनोनयन सूचि तयार पारिएको हो । अवार्ड समारोहमा १० विधामा अवार्ड वितरण गरिने आयोजक संस्थाका पब्लिक रिलेशन अफिसर राजु जंग बस्नेतले जानकारी दिएका छन् । प्रतियोगिताको मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका अनुभवी चार जना निर्णायक रहेका छन् । निर्णायकहरूमा कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आइएमई ग्रुपका बद्री कटवाल, मिस यूनिभर्स नेपाल २०२२ सोफिया भुजेल तथा पत्रकार टेक नारायण भट्टराई रहेका छन् । आयोजक संस्थाले जनाए अनुसार यो कार्यक्रमले नेपालमा डिजिटल कन्टेन्ट क्रिएटरहरूको सिर्जनात्मक क्षमता, प्रभाव र योगदानलाई राष्ट्रिय स्तरमा सम्मानित गर्दै नयाँ प्रतिभाहरूलाई अघि बढ्ने अवसर प्रदान गर्ने विश्वास लिएको छ । सामाजिक सञ्जालको प्रभाव तीव्र रूपमा बढिरहेका बेला कन्टेन्ट क्रिएटरहरूको मेहनतलाई औपचारिक रूपमा सम्मान गर्ने उद्देश्यले ल्याइएको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ नेपालकै पहिलो प्रकारको अवार्ड कार्यक्रमका रूपमा रहेको आयोजकको दावी छ । आयोजक संस्थाका निर्देशक सुरज गराजका अनुसार मनोनयनमा पर्न सफल दश वटै इन्फ्ल्न्सरहरुले अब आफ्नो विधा अनुसार भिडियो बनाउनु पर्नेछ । त्यसपछि ती भिडियोको निर्णायकहरुद्वारा गरिने मूल्यांकन तथा पब्लिक भोटका आधारमा हरेक विधाबाट एक जना विजयी बन्ने छन् । यसैबीच, देशमा आएको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित परिवारहरूप्रति ऐक्यवद्धता जनाउँदै ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को आयोजक संस्था स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । ‘रकम ठूलो नहोला, तर विपद्को समयमा गरिएको हरेक सानो सहयोगले पनि ठूलो अर्थ राख्छ भन्ने हाम्रो विश्वास छ, संस्थाका निर्देशक सुरज गराचले भनेका छन् । खल्ती इन्फ्ल्यून्सर अवार्डको अवसर पारेर सुरज गराच यसराज, विक्रमादित्य शाह तथा राजु जंग बस्नेतले संयुक्त रूपमा उक्त सहयोग गरेका हुन् ।