१४ वर्ष कैद सजाय पाएका फरार कैदी कास्कीबाट पक्राउ

काठमाडौं । हाडनाता जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय पाएका र जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कास्कीको रुपा गाउँपालिका–७ धारापानीबाट ३४ वर्षीय हर्कबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार गुरुङ कास्कीको पोखरा महानगरपालिका–३० का बासिन्दा हुन् । उनी २०८१ साउन १४ गतेदेखि कारागार कार्यालय कास्कीमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

तर २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए । फरार हुँदा उनको ११ वर्ष ९ महिना २६ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

फरार भएपछि उनी कास्कीका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा सीआईबीको टोलीले उनलाई पक्राउ गरी पुनः कारागार कार्यालय कास्कीमा बुझाएको छ ।

Share News