काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा एउटा दुर्लभ बाजका लागि ६ करोड १० लाख बढीको बोली लागेको छ ।
अबुधाबीका एक शेखले आफ्नी भतिजीको इच्छा पूरा गर्न उक्त बाज १५ लाख दिराम अर्थात ६ करोड १७ लाख रुपैयाँमा खरिद गरेका हुन् ।
भतिजीलाई बाज निकै मन पर्ने भएकाले उनका अंकलले उपहारस्वरूप अबुधाबीमा आयोजित एक लिलामीमा दुर्लभ सेतो बाज खरिद गरेका हुन् ।
यो घटनाले खाडी मुलुकका धनाढ्यहरूमा दुर्लभ चराचुरुङ्गी पाल्ने र बाज पालनप्रतिको गहिरो रुचिलाई समेत देखाएको छ ।
‘द सियासत डेली’का अनुसार युवा शैखा अल मन्सुरी आफ्ना अंकलसँग अबुधाबी इन्टरनेसनल हन्टिङ एन्ड इक्वेस्ट्रियन एक्जिबिसन २०२६ मा सहभागी भएकी थिइन् ।
बाज पालनमा रुचि राख्ने व्यक्ति तथा ब्रिडरहरूको ठूलो जमघट हुने यस प्रदर्शनीमा महँगा र दुर्लभ बाजहरूको लिलामीसमेत हुन्छ ।
यही क्रममा शैखाका अंकलले ‘अल्ट्रा ह्वाइट प्योर गायर गार्मौशा’ बाज १५ लाख दिराममा खरिद गरे । यो रकमले उक्त बाजलाई यस वर्षको प्रदर्शनीमा बिक्री भएको सबैभन्दा महँगो बाज बनाएको छ ।
अमेरिकाको ‘मार्क मोग्लिच फाल्कन फार्म’मा हुर्काइएको यो बाज आफ्नो आकर्षक शुद्ध सेतो प्वाँख र विशेष शारीरिक बनावटका कारण प्रदर्शनीमा आकर्षणको केन्द्र बनेको थियो ।
यस बाजको तौल करिब १ किलोग्राम छ भने यसको लम्बाइ र चौडाइ दुवै १६.५ इन्च रहेको बताइएको छ । यही दुर्लभ बनावट र विशेषताका कारण यो बाज बाजप्रेमी तथा कलेक्टरहरूका लागि निकै मूल्यवान मानिएको हो ।
१५ लाख दिरामको कीर्तिमानी बोलीसँगै यो बाज अहिलेसम्म बिक्री भएको सबैभन्दा महँगो बाज बनेको छ । यस वर्षको प्रदर्शनीमा बाज पालन तथा हेरचाह गर्ने ५५ वटा प्रमुख स्थानीय तथा अन्तर्राष्ट्रिय फार्म सहभागी छन् ।
साउदी अरब लगायत खाडी क्षेत्रका मुलुकमा फाल्कनरी अर्थात् बाज पालन र बाजमार्फत सिकार गर्ने परम्पराको गहिरो सांस्कृतिक इतिहास छ । यही कारण अरब मुलुकका धनाढ्यहरू दुर्लभ र उत्कृष्ट नस्लका बाजका लागि ठूलो रकम खर्च गर्नसमेत पछि पर्दैनन् ।
पछिल्ला वर्षहरूमा बाजसम्बन्धी नीलामी तथा प्रदर्शनीहरू अन्तर्राष्ट्रिय बजारका रूपमा विकसित भएका छन् । यस्ता कार्यक्रममा विशेष नस्लका बाज उत्पादन गर्ने ब्रिडर, कलेक्टर तथा व्यावसायिक फाल्कनरहरू एकै ठाउँमा भेला हुन्छन् ।
दुर्लभ नस्ल, आकर्षक बनावट, उत्कृष्ट सिकार क्षमता र वंशावलीजस्ता विशेषताले बाजको मूल्य निर्धारण गर्ने भएकाले उत्कृष्ट बाजहरूका लागि लाखौं दिरामसम्मको बोली लाग्ने गरेको छ ।