मस्कले चुनावमा ४५ करोड डलर खर्च गरे पनि उनका उम्मेदवार पराजित

काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा अर्बपति व्यवसायी एलन मस्कको भूमिकाबारे पनि चर्चा भइरहेको छ ।

अमेरिकी चुनावमा हुने आर्थिक सहयोगसम्बन्धी अभिलेखहरूको विश्लेषण गर्ने संस्था ओपनसिक्रेट्सका अनुसार मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार र रूढिवादी विचारधाराका संगठनहरूलाई समर्थन गर्न कम्तीमा ४५ करोड ५० लाख अमेरिकी डलर (करिब ६ अर्ब ८६ करोड ४३ लाख) खर्च गरेका छन् । 

यो कुनै एक व्यक्तिले चुनावमा गरेको अहिलेसम्मकै ठूलो खर्च हो ।

टेक्सासमा भएको सिनेट निर्वाचनका क्रममा मस्कले रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको पक्षमा मात्रै २० करोड डलरभन्दा बढी खर्च गरेका थिए । 
तर, यति ठूलो रकम खर्च गर्दा पनि प्याक्सटन डेमोक्रेटिक पार्टीका उम्मेदवार जेम्स तालारिकोसँग पराजित भए ।

केही वर्षअघि मस्कले आफ्नो बसोबास र केही व्यावसायिक गतिविधि टेक्सासमा सारेका थिए ।

निर्वाचनमा जित हासिल गरेपछि आयोजित विजय सभामा तालारिकोले समर्थकहरूलाई सम्बोधन गर्दै भने, ‘हामीले यस राज्य र देशका प्रत्येक अर्बपति तथा खर्बपति दातालाई एउटा सन्देश दिएका छौं । साथै खराब राजनीतिक व्यवस्थाको रक्षा गर्ने भ्रष्ट व्यक्तिहरूलाई पनि हाम्रो सन्देश छ– सत्ता जनताको हातमा छ ।’

यसअघि सामाजिक सञ्जाल एक्समा केही घण्टासम्म मौन बसेका मस्कले एउटा व्यङ्ग्यात्मक पोस्ट गरेका थिए ।

उनले लेखेका थिए, ‘यसपटक चुनावमा हस्तक्षेप गर्न प्रयोग गरेका मेरा स्पेस लेजरहरूले काम गरेजस्तो लागेन ।’

रिपब्लिकनलाई ठूलो धक्का, ट्रम्पमाथि हारको दोष

Share News