बाढी प्रभावित ३ जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र सीमा हटाइयो

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका बीमितहरूका लागि स्वास्थ्य बीमा सेवामा लाग्ने सहभुक्तानी (बीमितले बुझाउनुपर्ने निश्चित रकम) र सेवाको माथिल्लो सीमा (क्यापिङ) हटाउने निर्णय गरेको छ । 

बोर्डको सोमबार (आज) को निर्णयअनुसार यो सुविधा लागू गरिएको हो ।

भाद्र १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलामा आएको अप्रत्याशित बाढीका कारण अति प्रभावित भएका यी तीन जिल्लालाई नेपाल सरकारले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । 

सोही सन्दर्भमा नागरिकहरूलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले तोकिएको समयावधिसम्मका लागि यो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

साथै बाढीका कारण स्वास्थ्य बीमा परिचयपत्र नभएका वा हराएका बीमितहरूले पनि चिन्ता लिनु नपर्ने भएको छ । 

सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई उपलब्ध गराइएको एकीकृत व्यवस्थापन सूचना प्रणालीका प्रयोगकर्ता (आइएमआईएस युजर) प्रणालीमार्फत बीमितको स्वास्थ्य बीमा नम्बर यकिन गरी बीमा सेवा निरन्तर उपलब्ध गराइने व्यवस्था मिलाइएको बोर्डका प्रवक्ता डा. पवन कुमार शाहले जानकारी दिए । 

null

Share News