काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.०७ अंकले बढेर २५६० बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार १९५ कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३५२ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै गरिमा विकास बैंकको १७ करोड, सोलु हाइड्रोको १६ करोड, एसवाई प्यानलको १३ करोड र सुपर म्यादीको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज पियोर इनर्जीको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
सेयर बजारका अधिकांश उपसूचक बढेका छन् । नेप्सेका अनुसार १३ वटा उपसूचकमध्ये ११ वटा बढेका छन् भने २ वटा घटेका छन् । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक १.२४ प्रतिशत बढेर १० हजार ६०९.८७ अंकमा पुगेको छ । यो समूहको सूचक १३०.७१ अंकले बढेको हो ।
त्यस्तै, निर्जीवन बीमा उपसूचक २.०५ प्रतिशत बढेर ९ हजार ४८१.५३ अंकमा पुगेको छ । बढ्ने उपसूचकमध्ये निर्जीवन बीमा समूह सबैभन्दा अगाडि रहेको छ । बैंकिङ उपसूचक १.१५ प्रतिशत बढेर १ हजार ४४७.१४ अंकमा पुगेको छ । जीवन बीमा ०.४५ प्रतिशत, लघुवित्त ०.६१ प्रतिशत, जलविद्युत् ०.५१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ०.३१ प्रतिशत बढेका छन् ।
यस्तै, विकास बैंक ०.१३ प्रतिशत, लगानी ०.०४ प्रतिशत, म्युचुअल फन्ड ०.७१ प्रतिशत र अन्य समूह ०.५० प्रतिशत बढेका छन् । कारोबारमा रहेका समूहमा वित्त उपसूचक भने ०.४३ प्रतिशत घटेको छ। यो उपसूचक ९.९० अंकले घटेर २ हजार २४५.११ अंकमा कायम भएको छ । त्यस्तै, व्यापार उपसूचक ०.०९ प्रतिशत घटेर ३ हजार २३८.६४ अंकमा झरेको छ ।