इरानमा इन्धन ट्यांकरमा आगलागी, ११ जनाको मृत्यु

काठमाडौं । इरानको सनन्दज–हमदान राजमार्गमा इन्धन ट्यांकरमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

घटनापछि कुर्दिस्तान प्रान्तका गभर्नरले पूरै प्रान्तमा दुई दिन सार्वजनिक शोकको घोषणा गरेका छन् ।

समाचार एजेन्सी आईआरएनएले कुर्दिस्तान न्याय विभागको जनसम्पर्क कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार घटना शनिबार साँझ करिब ५ः३० बजे सनन्दज सहरको प्रवेशद्वारनजिक भएको हो ।

२० हजार लिटर पेट्रोल बोकेको इन्धन ट्यांकरले पछाडिबाट एउटा मिनीबसलाई ठक्कर दिएपछि विस्फोट भएको थियो । दुर्घटनामा दुवै सवारीसाधनका चालकको मृत्यु भएको जनाइएको छ ।

कुर्दिस्तानका मुख्य न्यायाधीश मोहम्मद जब्बारीले घटनाको कारणबारे अनुसन्धान गर्न मुद्दा दर्ता गरिएको बताएका छन् ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानमा इन्धन ट्यांकरको ब्रेकमा आएको प्राविधिक खराबीका कारण दुर्घटना भएको देखिएको छ ।

Share News