अमेरिकी चुनावमा डेमोक्र्याटको जितले ट्रम्प–रुस सम्बन्धमा कस्तो असर पार्ला ?

काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदन सिनेट र प्रतिनिधिसभामा जित हासिल गरेको छ । 

यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी अवधिमा अमेरिकी संसद् (कंग्रेस) मा डेमोक्रेटिक पार्टीको नियन्त्रण रहने भएको छ ।

यस चुनावी परिणामले अमेरिका र रुसबीचको सम्बन्धमा कस्तो असर पार्छ भन्ने प्रश्न पनि उठेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार बीबीसीका संवाददाता स्टिभ रोजेनबर्गसँग कुरा गर्दै डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको अन्त्यसम्म राष्ट्रपति रहने र आफ्नो विदेश नीतिअनुसार काम गरिरहने बताएका थिए ।

उनको भनाइको अर्थ चुनावको परिणाम जस्तो आए पनि रुसले अमेरिकी नीतिमा ठूलो परिवर्तन नहुने अपेक्षा गरेको देखिन्छ ।

राष्ट्रपति ट्रम्पले रुसका सबै माग पूरा गरेका भने छैनन् । उदाहरणका लागि, युक्रेन युद्ध अन्त्य गर्न रुसले राखेका सर्तअनुसार शान्ति सम्झौता हुन सकेको छैन । तर ट्रम्पको विदेश नीतिबाट रुसले केही फाइदा भने उठाएको छ ।

हालै अमेरिकी राष्ट्रपति ट्रम्पले रुसमाथि लगाइएका केही प्रतिबन्ध कार्यान्वयनमा रोक लगाएका थिए । साथै रुसबाट डिजेल खरिद गर्न पनि सहमति जनाएका थिए ।

त्यस्तै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गर्दा ट्रम्प रुसी राष्ट्रपति पुटिनभन्दा पनि बढी आक्रामक देखिएका छन् ।

यद्यपि, रुसको अखबार ‘नेजाभिसिमाया गजेटा’ले यसै साताको सुरुवातमा रिपब्लिकन पार्टीले संसदमा आफ्नो नियन्त्रण गुमाए ट्रम्पलाई समस्या हुन सक्ने अनुमान गरेको थियो ।

अखबारका अनुसार यस्तो अवस्थामा ट्रम्प डेमोक्रेटिक पार्टीले सुरु गर्ने विभिन्न अनुसन्धानमा अल्झिनुपर्ने हुन सक्छ । त्यसले गर्दा उनले आफूले चाहेका नीतिहरू कार्यान्वयन गर्न कठिनाइ हुन सक्छ । रुससँग सम्बन्धित नीतिहरू पनि यसबाट प्रभावित हुन सक्ने अखबारको विश्लेषण थियो ।

रिपब्लिकन नेताले स्वीकारे चुनावी हार

अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले नियन्त्रण कायम गरेपछि रिपब्लिकन पार्टीका नेताहरूले पनि चुनावी परिणाम आफ्नो पार्टीका लागि निराशाजनक रहेको स्वीकार गरेका छन् ।

प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले चुनावी परिणामप्रति निराशा व्यक्त गरे पनि यसले आफ्नो हौसला कमजोर नबनाउने बताएका छन् ।

उनले भने, ‘प्रतिनिधिसभामा आफ्नो बहुमत जोगाउन हामीले एक सय वर्षभन्दा पुरानो मध्यावधि निर्वाचनको इतिहास नै बदल्नुपर्नेछ भन्ने हामीलाई थाहा थियो ।’

रिपब्लिकन सिनेटर रोन जोन्सनले बीबीसी रेडियो ४ सँग कुरा गर्दै इरानमा भइरहेको युद्ध र इन्धनको बढ्दो मूल्यले अमेरिकी नागरिकलाई चिन्तित बनाएको बताएका छन् ।

सन् २०११ देखि विस्कन्सिन राज्यको प्रतिनिधित्व गर्दै आएका रोनले यसपटक भने चुनाव लडेका थिएनन् ।

त्यस्तै, टेक्ससमा सिनेटको महत्त्वपूर्ण सिटमा पराजित भएका रिपब्लिकन नेता केन प्याक्सटनले पनि देशभरि आफ्नो पार्टीका लागि चुनावी रात कठिन रहेको स्वीकार गरेका छन् । तर उनले पार्टीको राजनीतिक यात्रा अझै समाप्त नभएको बताएका छन् ।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी हारबारे अपेक्षाभन्दा निकै कम प्रतिक्रिया दिएका थिए । उनले हारको दोष आफ्ना पार्टीका उम्मेदवारहरूलाई दिएका थिए । बीबीसीका अनुसार तीमध्ये केही उम्मेदवार ट्रम्प आफैले छनोट गरेका थिए ।

यसअघि रिपब्लिकन पार्टीका एक कर्मचारीले बीबीसीसँग कुरा गर्दै चुनावी परिणाम आफूले सोचेभन्दा पनि खराब आएको बताएका थिए ।

उनले भनेका थिए, ‘यो मैले कल्पना गरेभन्दा पनि खराब भयो । यो त पूर्ण रूपमा ठूलो विपत्ति हो ।’

अमेरिकी मध्यावधि चुनावः प्रारम्भिक परिणाममा ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का

Share News