गुल्मेली रोटीको स्वाद अब काठमाडौंमै

काठमाडाै‌। गाउँको आँगन, चुल्होको तातो र चाडपर्वको सम्झना दिलाउने गुल्मीका मौलिक रोटी अब काठमाडौंमै खान पाइने भएको छ । गुल्मीमा पुस्तौँदेखि बनाइँदै आएका फिनी, अनरसा, अर्सा, झिनिया र सेल रोटी अब चन्द्रागिरिको धौलागिरी आवास क्षेत्रमा दिदीबहिनी रोटी उद्योग मार्फत उपलब्ध हुन थालेको उध्योगका सन्चालक इन्दीरा भण्डारीले जानकारी दिइन् ।

गुल्मीको परम्परागत स्वादलाई काठमाडौंसम्म पुर्याउनेउद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक भण्डारी बताउँछिन् । उनका अनुसार बजारमा रोटीका अनेक स्वाद पाइए पनि गुल्मीको मौलिक स्वाद र स्थानीय कच्चा पदार्थ प्रयोग गरेर तयार हुने रोटीको छुट्टै पहिचान छ ।

रोटीको स्वादमा गुल्मीको मौलिकता कायम राख्न उद्योगले छल्दीको हँसराज चामल र थोर्गाको खुदो प्रयोग गर्ने भएको छ । परम्परागत स्वादलाई प्राथमिकता दिँदै रोटी शुद्ध घिउमा तयार गरिने भण्डारीले बताइन् । गुल्मीमा बनाइने रोटीको स्वाद काठमाडौंमा पनि उस्तै महसुस गराउन चाहेका छौँ, उनले भनिन् ।

विशेषगरी गुल्मीका गाउँघरमा चाडपर्व, विवाह, पूजाआजा तथा पारिवारिक जमघटका अवसरमा बनाइने यी रोटी पछिल्लो समय शहरमा समेत लोकप्रिय हुँदै गएका छन् । रोजगारी, अध्ययन तथा व्यवसायका कारण काठमाडौंमा बस्दै आएका गुल्मेलीका लागि भने यी रोटी गाउँको स्वाद र सम्झनासँग जोडिने परिकार पनि हुन् ।
दिदीबहिनी रोटी उद्योगले परम्परागत परिकारलाई व्यावसायिक उत्पादनसँग जोड्दै स्थानीय कृषि उत्पादनको बजार विस्तार गर्ने लक्ष्यसमेत राखेको छ । स्थानीय चामल, खुदो र अन्य कच्चा पदार्थको प्रयोग बढाउँदा त्यसको लाभ किसानसम्म पुग्ने र परम्परागत खानाको संरक्षणमा समेत योगदान पुग्ने उद्योगको विश्वास छ ।

भण्डारीका अनुसार उपभोक्ताको माग र रुचिलाई ध्यानमा राख्दै आगामी दिनमा गुल्मीमा प्रचलित अन्य मौलिक परिकारसमेत उत्पादन गर्ने योजना छ । उनका लागि यो केवल रोटी बेच्ने व्यवसाय होइन, गुल्मीको स्वाद, संस्कृति र परम्परालाई काठमाडौंको बजारसम्म पुयाउने प्रयास पनि हो ।

गुल्मीका गाउँघरमा चाडपर्व र विशेष अवसरमा पाक्ने रोटी अब काठमाडौंमा समेत सहजै उपलब्ध हुने भएपछि उपभोक्ता पनि उत्साहीत देखिएका छन् ।  स्थानीय उपभोक्ता घना भुसाल गाउँको स्वाद खोजिरहेका गुल्मेलीलाई मात्र होइन, मौलिक नेपाली परिकारको स्वाद लिन चाहने काठमाडौंवासीका लागि पनि दिदीबहिनी रोटी उद्योग गुल्मीको स्वाद चाख्ने नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको बताइन् ।

Share News