काठमाडौं । कान्ति राजमार्गमा खसेको पहिरो पन्छाएर अवरुद्ध सडक पुनः सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
पहिरोका कारण ठप्प बनेको सवारी आवागमन सुचारु गराउन अहिले कार्यस्थलमा तीव्र रूपमा काम भइरहेको छ ।
राजमार्गमा थुप्रिएको पहिरो हटाउनका लागि भारी उपकरण तथा एक्स्काभेटरहरूको प्रयोग गरिएको छ । पहिरो पन्छाउने क्रममा सडक छेउमा रहेका विद्युतीय पोलहरूलाई सुरक्षित राख्दै विशेष सावधानीका साथ कार्य अघि बढाइएको छ ।
विद्युतीय पूर्वाधारमा क्षति नपुगोस् भन्ने उद्देश्यले प्राविधिक टोलीले सतर्कता अपनाउँदै पहिरो हटाउने कामलाई प्राथमिकता दिएको हो ।
संवद्ध अधिकारीहरूका अनुसार हाल सडकको ट्र्याक खोल्ने कार्य लगभग सम्पन्न भइसकेको छ । यदि प्राकृतिक रूपमा थप पहिरो नखसेको खण्डमा केही समयभित्रै सवारी आवागमन पूर्ण रूपमा सुचारु हुने बताइएको छ ।
सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधन र यात्रुहरू सडक खुल्ने प्रतीक्षामा रहेका छन् । –न्युज एजेन्सी नेपाल