विकासन्युज

‘उद्योगीहरूको पाता फर्काए ग्यास सहज हुन्छ’ भन्ने मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले उद्योगी–व्यवसायीप्रति दिएको अभिव्यक्ति आपत्तिजनक भएको जनाएको छ । प्रतिनिधि सभाको उद्योग समितिको बुधबारको बैठकमा एलपी ग्यासको आपूर्ति व्यवस्थाबारे छलफलका क्रममा मन्त्री यादवले उद्योगी–व्यवसायीप्रति दिएको अभिव्यक्तिप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । ग्यासको आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधान गरी उपभोक्तालाई सहज र नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने संवेदनशील समयमा सम्पूर्ण उद्योगी–व्यवसायीलाई दोषी देखाउने गरी अभिव्यक्ति आउनु गैरजिम्मेवार र दुःखद् भएको महासंघको भनाइ छ । महासंघले मन्त्रीको ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने आशयको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । विपद्को समयमा सरकारसँग सहकार्य गर्दै राहत, उद्धार तथा अत्यावश्यक वस्तुको आपूर्तिमा निजी क्षेत्र सक्रिय रहेका बेला उद्योगी–व्यवसायीलाई सार्वजनिक रूपमा लाञ्छित गर्दा उनीहरूको मनोबल कमजोर हुने महासंघले जनाएको छ । भोटेकोशीमा आएको बाढीपछि पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ग्यास बुलेटको ढुवानीमा समस्या आएको महासंघले स्मरण गराएको छ । यस्तो वास्तविकतालाई ध्यानमा राखेर आपूर्ति व्यवस्थाको समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको महासंघको भनाइ छ । प्राकृतिक विपद्, महामारी तथा अन्य संकटका समयमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्दै राहत, उद्धार, पुनःस्थापना तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति सहज बनाउन निरन्तर योगदान गर्दै आएको महासंघले जनाएको छ ।  ‘दुईवटा ग्यास उद्योग भए पुग्छ’ भन्ने धारणा यथार्थपरक छैन महासंघले नेपालमा ग्यास उद्योगको संख्या आवश्यकताभन्दा बढी रहेको र दुईवटाभन्दा बढी ग्यास उद्योग आवश्यक नरहेको भन्ने धारणा पनि यथार्थपरक नभएको जनाएको छ । सरकारले आफैं उद्योग सञ्चालन गर्नेभन्दा अभिभावकीय, नियामकीय, सहजकर्ता र समन्वयकर्ताको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने महासंघको धारणा छ । निजी क्षेत्रलाई प्रोत्साहन गर्दै प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने, लगानीको सुरक्षा सुनिश्चित गर्ने र व्यवसाय सञ्चालनमा रहेका अवरोध हटाउने काम सरकारको प्रमुख जिम्मेवारी भएको महासंघले जनाएको छ ।  कर्मचारीतन्त्र र निजी क्षेत्रबीचको सम्बन्धबारे पनि आपत्ति कानुन तथा विधेयक निर्माणका क्रममा कर्मचारीतन्त्र र निजी क्षेत्रबीच अनुचित मिलेमतो हुने गरेको भन्ने मन्त्रीको अभिव्यक्तिलाई पनि महासंघले गम्भीरतापूर्वक लिएको जनाएको छ । नीति, ऐन, नियम तथा कानुन निर्माण गर्दा त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुने सरोकारवालासँग पर्याप्त छलफल र परामर्श गर्नुपर्ने महासंघको भनाइ छ । निजी क्षेत्रले दिने सुझाव र सहभागितालाई अनुचित प्रभाव वा मिलेमतोका रूपमा चित्रण गर्नु उचित नहुने महासंघले जनाएको छ । मन्त्री यादवले नै नेपालमा उद्योग सञ्चालन गर्न गाह्रो रहेको बताएका विषयले उद्योग तथा व्यवसाय सञ्चालनमा रहेका चुनौतीलाई पुष्टि गर्ने महासंघको दाबी छ । उद्योग स्थापना र सञ्चालनमा समस्या भए त्यसका कारण पहिचान गरी नीतिगत, प्रशासनिक, वित्तीय तथा पूर्वाधारगत सुधार गर्न सरकार केन्द्रित हुनुपर्ने महासंघले जनाएको छ ।  कच्चा पदार्थ र तयारी वस्तुको भन्सारमा फरक हुनुपर्ने माग महासंघले कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार र तयारी वस्तु आयात गर्दा लाग्ने भन्सारबीच पर्याप्त अन्तर नहुँदा स्वदेशी उद्योगले आयातित तयारी वस्तुसँग प्रतिस्पर्धा गर्न कठिनाइ भइरहेको जनाएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि कच्चा पदार्थ र तयारी वस्तुमा कम्तीमा दुई तहको भन्सार दर फरक हुनुपर्ने महासंघको धारणा छ । स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन यस्तो नीतिगत सुधार आवश्यक रहेको महासंघले जनाएको छ ।  ‘निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन, साझेदार हो’ महासंघले सरकार बलियो हुनु मात्र पर्याप्त नभई सरकार र निजी क्षेत्रबीचको विश्वास पनि बलियो हुनुपर्नेमा जोड दिएको छ । सरकार र निजी क्षेत्र एकअर्काका प्रतिस्पर्धी नभई मुलुकको आर्थिक विकासका साझेदार भएकाले समस्या समाधानका लागि परस्पर सम्मान, विश्वास र निरन्तर संवाद आवश्यक रहेको महासंघले जनाएको छ । ‘निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन, आर्थिक विकासको साझेदार हो’ भन्दै महासंघले उद्योगी–व्यवसायीलाई दोषारोपण गरेर नभई विश्वासमा लिएर मात्र उद्योग, उत्पादन, रोजगारी र अर्थतन्त्रलाई अघि बढाउन सकिने जनाएको छ । नेपालको अर्थतन्त्रलाई वर्तमान संकटबाट बाहिर निकाल्नुपर्ने संवेदनशील अवस्थामा दोषारोपणभन्दा सहकार्य, अविश्वासभन्दा विश्वास र टकरावभन्दा संवाद आवश्यक रहेको महासंघको भनाइ छ । महासंघले सरकार, राजनीतिक दल, प्रशासन संयन्त्र तथा आम नागरिकले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आवश्यक रहेको जनाएको छ । निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन नभएसम्म देशको आर्थिक उन्नति, प्रगति र सामाजिक रूपान्तरण सम्भव नहुने महासंघले दाबी गरेको छ ।

प्रधानमन्त्री राहत कोषमा शिखर इन्स्योरेन्सले दियो १ करोड ११ लाख

काठमाडौं । शिखर इन्स्योरेन्सले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड ११ लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेको छ । कम्पनीले बुधबार (हिजो) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।  कम्पनीका अध्यक्ष गौरव अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपप्रकाश पाण्डेले चेक हस्तान्तरण गरे ।  भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट स्थानीय समुदाय र जीविकोपार्जनलाई असर गरेकोले यस कठिन समयमा एकसाथ उभिनु निकै महत्त्वपूर्ण रहेको कम्पनीले जनाएको छ ।  विपतको यस घडीमा सबै मिलेर अगाडि बढ्न पनि कम्पनीले आग्रह गरेको छ ।

कुथेली बुखरीको सञ्चालक र अध्यक्षमा सुजन चिलुवाल नियुक्त

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सञ्चालकमा सुजन चिलुवाल नियुक्त भएका छन् । उनलाई सञ्चालक समितिको अध्यक्षको जिम्मेवारीसमेत दिइएको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले तत्कालीन सञ्चालक नविन माकजुको राजीनामा स्वीकृत गर्दै रिक्त पदमा सेयरधनी सुजन चिलुवाललाई बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी, कम्पनीका सञ्चालक तथा अध्यक्ष सरोज काजी श्रेष्ठले निजी व्यस्तताको कारण देखाउँदै भदौ २३ गते दुवै पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । सोही बैठकले सञ्चालक चिलुवाललाई कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले सञ्चालक र अध्यक्ष नियुक्तिसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगायत सम्बन्धित निकायलाई गराएको छ ।

तार छुँदा घाइते भएकी रश्मी जैसीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।  प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले सुर्खेतको पञ्चपुरी नगरपालिका–२ श्रीचौर, कोटधारामा निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी ८ वर्षीया रश्मी जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।  कोटधारामा महेन्द्र राजमार्गमा निर्माणाधीन पक्की पुलको उचाईका कारण ११ केभी प्रसारण लाइनको तार नजिक सोही स्थानमा बसोबास गर्ने टीकाराम जैसीकी ८ वर्षीया छोरी रश्मी नुहाएर घर फर्कने क्रममा उक्त विद्युत्को तार छुन पुगी सख्त घाइते भएकी थिइन् ।  दुर्घटनामा परेर पूर्ण अंगभंग भएकी उनको विभिन्न अस्पतालमा उपचार गरिएको थियो । उपचार गराउँदा ८१ हजार ३७२ रुपैयाँ खर्च भएको थियो ।  प्राधिरकरणले उपचार गराउँदा तीन लाख रुपैयाँ पेश्की उपलब्ध गराएको थियो । नेपाल विद्युत् प्राधिकरणको विनियमावलीअनुसार बाँकी १० लाख ८१ हजार ३७२ भुक्तानी दिने निर्णय सञ्चालक समितिले गरेको हो ।  प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीकाअनुसार यसअघि उपचारका लागि लिइएको ३ लाख पेश्की कट्टा गरी रश्मी जैसीलाई क्षतिपूर्ति र राहत वापत बाँकी १० लाख ८१ हजार ३७२ भुक्तानी गरिनेछ । नेपाल विद्युत् प्राधिकरण दुर्घटना क्षतिपूर्ति नियमावली, २०६७ अनुसार बनेको समिति, इलाका प्रहरी कार्यालय बवियाचौरको सर्जिमिन मुचुल्का, पञ्चपुरी नगरपालिकाको सिफारिस र प्राधिकरणको मेडिकल बोर्ड (२०८३/०४/२१) को निर्णय अनुसार घाइतेको उपचार बिल, प्रेस्क्रिप्सन तथा पूर्ण अंगभंग भएको पुष्टि गर्दै उक्त क्षतिपूर्ति तथा राहत रकम सञ्चालक समितिले स्वीकृत गरेको हो ।

सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १०५ रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सानिमा जीआईसी इन्स्योरेन्सको सीईओमा उपाध्याय पुन: नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुद्युम्न प्रसाद उपाध्यायलाई थप चार वर्षका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २४ गते बसेको १९२औँ बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो । हालका सीईओ उपाध्यायको कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुँदैछ । त्यसपछि उनको दोस्रो कार्यकाल २०८३ कात्तिक ७ गतेदेखि २०८७ कात्तिक ६ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृतको पुनर्नियुक्तिसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई गराएको छ । 

घर फोडेर गरगहना चोरी, चोरीको सामान किन्नेहरू पक्राउ

काठमाडौं । काठमाडौंको नरेफाँटमा घरमा कोही नभएको मौका छोपी सुन तथा चाँदीका गरगहना चोरी गर्नेहरू चार जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने २९ वर्षीया सावन कुशवाहा, ३६ वर्षीया पवित्रा लिम्बु, २५ वर्षीय श्रीकृष्ण विश्वकर्मा र ४३ वर्षीया रमिला विक पक्राउ परेका हुन् । उनीहरू चोरीका गरगहना खरिद गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चोरी गर्ने एक जना र चोरीका गरगहना खरिद गर्ने तीन जना रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित एक घरबाट बिहीबार कोही नभएको मौका छोपी प्रवेश गरी दराजमा राखिएका सुन तथा चाँदीका गरगहना चोरी गरी फरार भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा प्रहरी टोलीले मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको जनाएको छ।  पक्राउ परेकाहरुलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर तथा जिल्ला प्रहरी परिसर भद्रकाली, पठाइएको छ ।

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई साढे १९ लाख क्षतिपूर्ति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका आफ्ना कर्मचारीलाई उपचार खर्चसहित करिब २० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । प्राधिकरण सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते भएका कर्मचारीलाई १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकममा उपचार खर्च र प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसारको क्षतिपूर्ति समावेश छ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका-१०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगर गत चैत ११ गते विद्युत् दुर्घटनामा परी घाइते भएका थिए । १५ केभी प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा मगरलाई करेन्ट लागेको थियो । दुर्घटनापछि उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उपचारका क्रममा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो । विद्युत् प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार घाइते कर्मचारीलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो । मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लिइसकेका छन् । अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ विनियमावलीअनुसार सम्बन्धित वितरण केन्द्रमार्फत उनलाई उपलब्ध गराउन सञ्चालक समितिले स्वीकृति दिएको सदस्य शाहीले जानकारी दिए । प्राधिकरणले कार्यक्षेत्रमा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारीको उपचार तथा क्षतिपूर्तिका लागि विनियमावलीअनुसार रकम उपलब्ध गराउँदै आएको छ ।