विकासन्युज

नेपालमा ‘बोश’को प्रवेश, जावलाखेलमा पहिलो ब्रान्ड स्टोर सञ्चालन

काठमाडौं ।  प्रिमियम होम अप्लायन्स ब्रान्ड ‘बोश’ ले नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै ललितपुरको जावलाखेलमा पहिलो ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ । बीएसएच होम एप्लायन्सेज प्रा.लि.ले लक्ष्मी ग्रुपसँगको सहकार्यमा उक्त स्टोर सञ्चालनमा ल्याएको हो । नयाँ स्टोरमार्फत उपभोक्ताले रेफ्रिजेरेसन, लन्ड्री, डिशवाशिङ, फुड प्रिपरेसन तथा बिल्ट-इन किचन समाधानसम्बन्धी बोशका प्रिमियम उत्पादन प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । कम्पनीका अनुसार नेपालमा शहरीकरण, बढ्दो आयस्तर र प्रविधिमैत्री जीवनशैलीप्रतिको आकर्षणसँगै प्रिमियम होम अप्लायन्सको माग बढ्दो छ । यस्तो परिवेशमा बोशले उच्च गुणस्तर, टिकाउपन र नवप्रवर्तनयुक्त उत्पादनमार्फत उपभोक्ताको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको जनाएको छ । बोशले विशेषगरी फ्रन्ट-लोड वाशिङ मेसिन, डिशवाशर तथा बिल्ट-इन किचन समाधानमा नेपालमा ठूलो सम्भावना देखेको छ । कम्पनीका अनुसार नेपालको लन्ड्री बजारमा फ्रन्ट-लोड वाशिङ मेसिनको हिस्सा ७०–८० प्रतिशतभन्दा बढी रहेको छ । त्यस्तै, डिशवाशर प्रयोगप्रति पनि उपभोक्ताको रुचि क्रमशः बढ्दै गएको कम्पनीको भनाइ छ । बदलिँदो जीवनशैली, स्वच्छताप्रतिको सचेतना र समय बचत गर्ने आवश्यकताले यस्तो उपकरणको माग बढाउँदै लगेको उल्लेख गरिएको छ । लक्ष्मी ग्रुपले बोशसँगको सहकार्यले नेपाली उपभोक्तालाई विश्वस्तरीय प्रविधि र गुणस्तरयुक्त उत्पादनमा पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरेको छ । नयाँ ब्रान्ड स्टोरले उपभोक्तालाई उत्पादनको प्रत्यक्ष प्रदर्शन, विशेषज्ञ परामर्श तथा उन्नत ‘रिटेल एक्सपिरियन्स’ प्रदान गर्ने कम्पनीको अपेक्षा छ । साथै, देशभर रहेका डिलर सञ्जाल र बिक्रीपछिको सेवासँग मिलेर बोशले आफ्नो बजार विस्तारलाई थप मजबुत बनाउने जनाएको छ । कम्पनीले आगामी दिनमा उपभोक्ता शिक्षा, उच्चस्तरीय सेवा र उत्पादन विस्तारमार्फत नेपाललाई प्रिमियम होम अप्लायन्स बजारको महत्वपूर्ण केन्द्र बनाउने लक्ष्य लिएको जनाएको छ ।

एमएडब्लु अर्थमुभर्स र ग्लोबल आइएमईबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशत कर्जा सुविधा

काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँच सहज बनाउने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एमएडब्लु अर्थमुभर्सका एफ एण्ड आर प्रमुख सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका हुन् । यस सहकार्यअन्तर्गत जेसीबी निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले ग्लोबल आइएमई बैंकका शाखामार्फत विशेष ‘हायर पर्चेज’ कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार ‘लोन टु भ्यालू’ अनुपातका आधारमा अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउने जनाएको छ । ग्राहकलाई छिटो सेवा प्रदान गर्ने लक्ष्यअनुसार आवश्यक कागजात पूरा भएको एक साताभित्रै डेलिभरी अर्डर जारी गरिनेछ । यस योजनाअन्तर्गत जेसीबी उपकरणका लागि अधिकतम पाँच वर्षसम्मको कर्जा अवधि तय गरिएको छ । यो सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई उपकरण खरिदमा सहज वित्तीय पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ । साथै प्रतिस्पर्धी कर्जा सुविधा र सरल प्रक्रियाले साना तथा मझौला व्यवसायीलाई समेत आधुनिक उपकरणमा लगानी गरी व्यवसाय विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । एमएडब्लु अर्थमुभर्सको देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल, जेसीबीका विश्वसनीय उपकरण तथा ग्लोबल आइएमई बैंकको वित्तीय सेवाको संयोजनले ग्राहकलाई उपकरण खरिददेखि सञ्चालन र मर्मतसम्भारसम्म भरपर्दो समाधान प्रदान गर्ने अपेक्षा गरिएको छ । दुवै संस्थाले आगामी दिनमा ग्राहक सुविधा, व्यावसायिक वृद्धि तथा नेपालको निर्माण एवं पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै थप ग्राहकमैत्री सेवाहरू विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।   

जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा

जुम्ला । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले चालु आर्थिक वर्षभित्रमा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी करिब ९४ योजना कार्यान्वयनको अन्तिम चरणमा पुर्याएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबाट स्वीकृति भई आएका ९४ वटा योजनामध्ये ८५ वटा योजना उपभोक्ता समितिसँग सम्झौता भई अहिलेसम्म ५० बाट योजना निर्माण सम्पन्न भएका छन् । नौ योजना ठेक्का भई हालसम्म सात वटा योजना निर्माण सम्पन्न भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अकलबहादुर महतले जानकारी दिए । उक्त योजनामध्ये यहाकाँ आठवटै स्थानीय तहका लागि मन्त्रालयबाट क्रमागत सिँचाइका ७३ वटा योजना रहेका छन् । १७ वटा योजना तटबन्धन र खानेपानीका २५ वटा योजना यो आर्थिक वर्षभित्र सम्पन्न हुने कार्यालय प्रमुख महतको भनाइ छ । खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी योजनालाई विशेष प्राथमिकतामा राखेर योजनालाई कार्यान्वयन गरिने भएको छ । कार्यालयले सञ्चालन गरेका सिँचाइ आयोजनाबाट यहाँका जमिनमा सिँचाइ सुविधा विस्तार भई खेतीयोग्य जमिनमा स्तरोन्नति भएको छ । चालु आवको जेठसम्म कूल बजेटको पुँजीगत खर्च करिब ५० प्रतिशत खर्च भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले जनाएको छ । रासस 

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संरचना हटाएको छ । बसपार्कभित्रको बास्तोला कम्प्लेक्ससहित उत्तरतर्फको पेट्रोलपम्प लाइनका सटर तथा कबलहरु समेत हटाइएका छन् । विसं २०३० मा बसपार्कको जग्गा अधिग्रहण गरेको आधा शताब्दीपछि बसपार्क निर्माणका लागि ‘साइट क्लियर’ गर्ने काम सुरु गरिएको हो । संरचना हटाएको क्षेत्रमा सरसफाइ गरेर सम्याइएको छ । महानगरले लालपूर्जाभित्रका व्यापारिक संरचना हटाए पनि मुख्य चासो रहेको सुकुमवासी बस्ती खाली गर्न भने अझै बाँकी छ । बसपार्कभित्र तीन वटा सुकुमवासी बस्तीमा ५७२ घर परिवारले जग्ग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका छन् । महानगरले सुकुमवासीलाई अन्यत्र व्यवस्थापनपछि मात्र अतिक्रमति घर टहरनामा डोजर चलाउने जनाएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले सुकुमवासी बस्तीको व्यवस्थापन नगरिकन उनीहरुलाई त्यहाँबाट नहटाइने बताए । उनले भने, 'सुकुमवासी बस्तीका साथीहरूको डकुमेन्ट भेरिफिकेसनसहित विवरण छानबिन भइरहेको छ । केही व्यक्तिहरुले तीनपुस्ते सही विवरण नदिएको तथा झुट्टा विवरण दिएको पाइएको छ । यस्तो झुटो विवरण प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाही हुन्छ । विवरण प्रमाणित गर्ने काम पूरा भएलगत्तै सुकुम्वासी बस्ती स्थानान्तरण प्रक्रिया गछौँ ।' प्रमुख आचार्यले सुकुमवासी बस्तीको व्यवस्थापन नगरी हटाइने छैन भन्ने प्रतिबद्धता महानगरबाट पटक–पटक दोहोर्याइए पनि केही गैरसुकुमवासी व्यक्तिहरू तथा असम्बन्धित व्यक्तिहरू बस्तीभित्र प्रवेश गरी गलत सूचना दिने र भड्काउने कार्य भएको पाइएकाले यसप्रति कसैले पनि भ्रममा नपर्न अनुरोध गरेका छन्। महानगरपालिकाले हाल डोजर लगाएर खाली गरेको बास्तोला कम्प्लेक्सको जग्गासहित पेट्रोलपम्प लाइनको जग्गा व्यक्तिको स्वामित्वमा छ । विसं २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको भएपनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टाभर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो । महागरले पछिल्लो समय जग्गा सट्टाभर्नाको निर्णय लगायतको विषयमा छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गरेको छ । सो समितिको प्रतिवेदन अझै पेस हुन सकेको छैन । बसपार्कभित्रका सुकुमवासीहरु आफूहरुको अन्यत्र व्यवस्थापन हुनेबित्तिकै बस्ती खाली गर्न तयार रहेको बताएका छन् । सुकुमवासी सरोकार समितिका अध्यक्ष प्रेम गुरुङले विकल्प पाउनसाथ बसोबास गरिरहेको स्थानबाट हट्न तयार रहेको बताए । उनले भने, 'बसपार्क लामो समयअघिको योजना हो तर हामीलाई देखाएर बन्न सकेको छैन । हामी विकासविरोधी होइनौँ, बाधक बन्दैनौँ, महानगरले हामीलाई कहाँ गएर बस्ने भन्ने ठाउँ देखाइदियोस् हामी जान तयार छौँ ।'

सेनेगलविरुद्ध नर्वेको जित, हालान्डको २ गोल

काठमाडौं । फिफा विश्वकपमा नर्वेले सेनेगललाई ३-२ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाएको छ । नर्वेका लागि अर्लिङ हालान्डले दुई गोल गरे । हालान्डको यो दोस्रो विश्वकप खेल हो । उनले हालसम्म चार गोल गरिसकेका छन् । नर्वेका कुनै पनि खेलाडीले विश्वकप इतिहासमा ४ गोल गरेका छैनन् । खेलको पहिलो हाफको अन्त्यतिर वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फुलब्याक मार्कस पेडर्सेनले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४८औँ मिनेटमा मार्टिन ओडेगार्डको उत्कृष्ट थ्रु पासमा दौडिँदै हालान्डले गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए । सेनेगलका इस्मालिया सारले खेलको ५३ औं मिनेटमा गोल गर्दै खेललाई २-१ को अवस्थामा पुर्याए । पहिलो गोल गरेको १० मिनेटमै पुनः गोल गर्दै हालान्डले नर्वेलाई ३-१ ले अगाडि बढाए । सारले इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गरे । खेलको अन्तिम क्षणमा उनले बराबरी गोल गर्ने उत्कृष्ट अवसर पनि पाए सदुपयोग भने गर्न सकेनन् ।  दोस्रो जितसँगै नर्वे समूह ‘आई’ बाट फ्रान्ससँगै नकआउट चरणमा पुगेको छ । उता सेनेगलले भने अन्तिम समूह खेलमा इराकलाई हराउनै पर्ने अवस्था छ । 

भरतपुर महानगरको साढे ५ अर्बको बजेट घोषणा, बैंक मौज्दात ७४.५० करोड रुपैयाँ

काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले सोमबार उक्त बजेट सार्वजनिक गरे ।  महानगरले आगामी आवको बजेटमा अन्तर सरकार वित्तीय हस्तान्तरणबाट (सङ्घ र प्रदेशतर्फ) २ अर्ब १७ करोड ७३ लाख ९८ हजार रुपैयाँ, सङ्घ राजश्व बाँडफाँटबाट ३३ करोड १२ लाख ६४ हजार रुपैयाँ, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १३ करोड ४० लाख ६१ हजार रुपैयाँ, नगर विकास कोषबाट ४ करोड रुपैयाँ, जनसहभागिताबाट ३ करोड रुपैयाँ, बैंक मौज्दात ७४ करोड ५० लाख रुपैयाँ, सडक बोर्ड नेपालबाट १ करोड ९३ लाख रुपैयाँ रहने अनुमान गरेको छ ।  महानगरले चालु आर्थिक वर्षको बजेट ५ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको थियो । नगर सभामा नीति तथा कार्यक्रम पेस गर्दै कार्यवाहक नगर प्रमुख अधिकारीले चालु आर्थिक वर्षमा पुँजीगत खर्च कम हुँदा विकास निर्माण सुस्ताएको र राजश्व सङ्कलनको लक्ष्यमा केही धक्का पुगेको बताए । चालु आवमा महानगरले आन्तरिक आयतर्फ १ अर्ब ८० करोड रुपैयाँको लक्ष्य राखेको छ । महानगरले सहरी पूर्वाधार, कृषि तथा पशु विकास, शिक्षा, स्वास्थ्य र खानेपानीमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । बजेटले ‘दिगो पूर्वाधार, समृद्धिको आधार’ भन्ने नारालाई आत्मसात गरेको नगरप्रमुख अधिकारीले बताए । सार्वजनिक निजी साझेदारीमा फोहर मैला प्रशोधन केन्द्र स्थापना, निकुञ्जसँग जोडिएको बस्तीमा जङ्गली जनावरलाई छेकबार लगाउन फाउन्डेसनसहित मेसजाली निर्माण, आयुर्वेद अस्पताल निर्माण र भरतपुरलाई साइकल लेन बनाउने कामलाई जारी राख्ने जस्ता विषय नीति तथा कार्यक्रममा समेटिएका छन् । यस्तै महानगरले रामपुरको निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माणका लागि १४ करोड रुपैयाँ छुट्याएको छ ।

फ्रान्सको सहज जितमा एम्बाप्पेको २ गोल

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह‘आई’ अन्तर्गतको खेलमा फ्रान्सले इराकलाई पराजित गर्दै अकआउट चरणमा स्थान बनाएको छ । खेलमा फ्रान्सले ३-० को जित निकालेको हो । आँधीका कारण खेल पहिलो हाफपछि २ घण्टा स्थगन गर्नुपरेको थियो । खेलमा फ्रान्सका लागि केलियन एम्बाप्पेले २ गोल गरे । यससँगै उनी विश्वकपमा सर्वाधिक गोलकर्ताको दोस्रो नम्बरमा पुगेका छन् । उनले १६ गोल गरिसकेका छन् । खेलको १४ औं मिनेटमा गोल गर्दै उनले फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५४ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । खेलको ६६ औं मिनेटमा ओसामाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३० को जित सुनिश्चत गरे । खेलमा इराकले दुई राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । फ्रान्स समूह ‘आई’मा दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ भने इराक अंकविहीन रहँदै पुछारमा रहेको छ।

तुलसीपुरको बजेट साढे २ अर्ब घोषणा, गर्भवतीलाई अण्डा बाँड्न ८५ लाख रुपैयाँ

काठमाडौं । दाङ तुलसीपुर उप-महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४४ करोड ९५ लाख ९१ हजार रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ । उप-महानगरपालिकाको १९औँ नगर सभाको अधिवेशनमा आज नगर उपप्रमुख श्यानी चौधरीले ‘हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर, खुसी जनता समृद्ध तुलसीपुर’ भन्ने मूल नाराका साथ उक्त बजेट प्रस्तुत गरेका हुन् ।  आगामी आवको बजेटको कूल विनियोजनमध्ये चालु खर्चतर्फ १ अर्ब ३९ करोड ६० लाख २१ हजार रुपैयाँ (५७ प्रतिशत) र पुँजीगततर्फ १ अर्ब १ करोड ३८ लाख २८ हजार रुपैयाँ (४१ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ४ करोड रुपैयाँ (१.६५ प्रतिशत) रहेको छ । आगामी आवका लागि खर्च व्यहोर्ने स्रोतमा आन्तरिक स्रोतबाट ५४ करोड रुपैयाँ, सङ्घीय सरकारको समानुकरण अनुदानबाट २८ करोड ७७ लाख रुपैयाँ, सङ्घीय सशर्त अनुदानबाट ६७ करोड २३ लाख रुपैयाँ र गत वर्षको बैंक मौज्दातबाट ३० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बजेटले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । नगरका १९ वटै वडाका लागि १ करोड रुपैयाँका दरले जम्मा १९ करोड रुपैयाँ वडास्तरीय योजनाका लागि विनियोजन गरिएको छ । शिक्षा क्षेत्रको पूर्वाधार निर्माणका लागि ३ करोड रुपैयाँ, स्वास्थ्य पूर्वाधारका लागि १ करोड रुपैयाँ र खानेपानी तथा सरसफाइका लागि १ करोड रुपैयाँ छुट्याइएको छ । बजेटमा ‘स्मार्ट छोरी’ कार्यक्रमका लागि ५० लाख रुपैयाँ, मुख्य बजारमा दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल निर्माणका लागि ५० लाख रुपैयाँ, कृषि एम्बुलेन्सका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री कक्षा सञ्चालन, गरिब तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति र स्वास्थ्य चौकीमा गर्भवती जाँच गराउन आउनेलाई  प्रतिपटक एक क्यारेट अण्डा वितरण गर्ने कार्यक्रमका लागि ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ कृषि क्षेत्रका लागि ३ करोड रुपैयाँ र पशु विकास सेवाका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । उपमहानगरपालिकाले बजार क्षेत्रको फोहर व्यवस्थापनका लागि आधुनिक कम्प्याक्टर र आगलागी नियन्त्रणका लागि दमकल खरिद गर्न १/१ करोड रुपैयाँ विनियोजन गरेको छ ।