विकासन्युज

साउनमा जीवन बीमकको व्यापारमा ३३.३४ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले २६ अर्ब रुपैयाँ बढीको व्यापार भित्र्याएका छन् ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमकले एक महिनामा ३ लाख ८५ हजार ९२१ वटा बीमालेख जारी गर्दा २६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो आव २०८२/८३ को साउनमा कम्पनीहरूले १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ भित्र्याएका थिए । अघिल्लो आवको तुलनामा कम्पनीहरूको व्यापार ३३.४४ प्रतिशतले बढेको छ । साउनमा सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । ग्रोथको हिसाबले भने राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ । एक महिनामा नेपाल लाइफले ६ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार १२.९३ प्रतिशतले बढेको छ । दोस्रो धेरै व्यापार भित्र्याउनेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले एक महिनामा ३ अर्ब ९९ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४३ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ८२०.१६ प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले साउनमा २ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको व्यापार २०.६५ प्रतिशतले बढेको छ । चालु आवको एक महिनामा हिमालयन लाइफले २ अर्ब २९ करोड ४१ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले २ अर्ब १४ करोड १४ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ, एसियन लाइफले १ अर्ब ११ करोड ११ लाख रुपैयाँ, सिटिजन लाइफले ९६ करोड १ लाख रुपैयाँ, आइएमई लाइफले ९० करोड ९४ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ८५ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा हिमालयन लाइफको व्यापार १३.११ प्रतिशत, एलआईसी नेपालको ४.९८ प्रतिशत, सूर्यज्योति लाइफको २१.९० प्रतिशत, एसियन लाइफको १७.१४ प्रतिशत, सिटिजन लाइफको १२.११ प्रतिशत, आइएमई लाइफको ३६.६३ प्रतिशत र सानिमा रिलायन्स लाइफको १८.७३ प्रतिशतले व्यापार वृद्धि भएको छ । एक महिनामा प्रभु महालक्ष्मी लाइफले ७६ करोड ११ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ७० करोड ६६ लाख रुपैयाँ, मेटलाइफले ६० करोड २८ लाख रुपैयाँ र सन नेपाल लाइफले ४६ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफको २३.३९ प्रतिशत, रिलायबल नेपाल लाइफको २१.४६ प्रतिशत, मेट लाइफको ११.६४ प्रतिशत र सन नेपाल लाइफको २७.८५ प्रतिशतले व्यापार बढेको छ ।

बाढीपीडितका लागि इनड्राइभले दियो ७ करोड ५० लाख

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले भोटेकोशी बाढी प्रभावितको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । करिब ५ लाख अमेरिकी डलर बराबरको उक्त रकम इनड्राइभ नेपालका प्रतिनिधिको उपस्थितिमा सेप्टेम्बर ९, २०२६ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो । अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्र नजिकै आएको हिम तथा चट्टानी पहिरोपछि आएको भोटेकोशी बाढीले रसुवासहित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो । बाढीका कारण घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य सार्वजनिक पूर्वाधारमा समेत क्षति पुगेको छ । प्रभावित क्षेत्रमा अहिले पनि खोज, उद्धार तथा राहतका काम भइरहेका छन् भने बेपत्ता व्यक्तिहरूको खोजी जारी छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्नुका साथै इनड्राइभले प्रभावित समुदायमा प्रत्यक्ष राहतसमेत वितरण गरेको जनाएको छ । नुवाकोटको विदुर नगरपालिका–९ का बाढी प्रभावित परिवारलाई खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट र स्यानिटरी प्याडलगायतका अत्यावश्यक सामग्री वितरण गरिएको छ । इनड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टोम्स्कीले बाढीबाट प्रभावित परिवार र समुदायप्रति दुःख व्यक्त गर्दै कठिन समयमा नेपाली जनताको साथमा उभिन चाहेको बताए । उनले इनड्राइभको सहयोगले तत्काल सहायता आवश्यक रहेका परिवारलाई राहत पुर्‍याउनुका साथै प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । इनड्राइभले बाढीमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । अझै बेपत्ता आफन्तको प्रतीक्षामा रहेका परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति ऐक्यबद्धता जनाउँदै कठिन समयमा आफूहरू साथमा रहेको जनाएको छ । कम्पनीले आफ्नो सहयोग तत्काल राहतमा मात्र सीमित नराखी प्रभावित समुदायलाई सामान्य जनजीवनमा फर्काउन आवश्यक पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत योगदान पुर्‍याउने जनाएको छ ।

रास्वपाका सांसद भन्छन्– चिलिमे जलविद्युत केन्द्रको सुरुङभित्रबाट चिसो हावा र आवाज आएको छ

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारका क्रममा आशा जगाउने संकेत देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली सेनाको उद्धार टोलीबाट भर्खरै प्राप्त जानकारी भन्दै सुरुङभित्रबाट चिसो हावा बाहिरतर्फ आएको बताएका छन् । उनका अनुसार सुरुङभित्र करिब १०५ मिटरभित्रबाट बाहिरतर्फ चिसो हावा आएको र हावाको दोहोरो बहाव देखिएको छ । त्यस्तै, उद्धार टोलीले सुरुङभित्र आवाज पठाउँदा इको आएको जानकारी प्राप्त भएको न्यौपानेले उल्लेख गरेका छन् । नेपाली सेनाको टोलीले सुरुङभित्रको अवस्थाबारे थप खोज तथा उद्धार कार्य अघि बढाइरहेको छ । न्यौपानेले नेपाली सेनाको उद्धार टोलीबाट प्राप्त पछिल्लो अवस्थाबारे जानकारी दिँदै फेसबुकमार्फत यस्तो विवरण सार्वजनिक गरेका हुन् ।

चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा निर्वाचित

काठमाडौं । युवा उद्यमी चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा निर्वाचित भएका छन् । बैंकको २०औँ वार्षिक साधारणसभाबाट गोयल सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका हुन् । गोयलको सञ्चालक समितिमा प्रवेशले बैंकको संस्थागत सुशासन र दीर्घकालीन मूल्य सिर्जनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै, निजी क्षेत्र, वित्तीय संस्था, युवा नेतृत्व र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उनको अनुभव बैंकका लागि उपयोगी हुने अपेक्षा गरिएको छ । झापाको बुद्धशान्ति स्थायी घर भएका गोयल विभिन्न व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय छन् । गोयल समूहसँग आबद्ध उनले उत्पादन, व्यापार, बैंकिङ तथा वित्त, बीमा, रियल इस्टेट, खानी, नवीकरणीय ऊर्जा, कृषि, आतिथ्य तथा निर्माणलगायतका क्षेत्रमा काम गर्दै आएका छन् । व्यवसायसँगै गोयल सामाजिक तथा मानवीय क्षेत्रमा पनि सक्रिय छन् । सन् २०१५ को भूकम्पपछि ‘हेल्पिङ ह्यान्ड्स नेपाल’मार्फत सुरु भएको उनको सामाजिक अभियान ‘रोबिन हुड आर्मी नेपाल’ लगायत विभिन्न संस्थासँगको सहकार्यमा निरन्तर अघि बढेको छ । उनले खाद्य सहयोग, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, बाढी राहत तथा कोभिड–१९ प्रतिकार्यलगायतका अभियानमा सक्रिय भूमिका निर्वाह गरेका छन् । ‘प्रोजेक्ट कुहिरो’ लगायतका पहलमार्फत स्वयंसेवक, संस्था, व्यवसायी तथा समुदायलाई जोड्दै स्रोत परिचालन र प्रत्यक्ष सहयोगमा पनि उनले काम गरेका छन् । युवा नेतृत्व र उद्यमशीलताको क्षेत्रमा समेत परिचित गोयलले नेपालिज यङ इन्टरप्रेन्योर्स फोरम (एनवाईईएफ) काठमाडौंको अध्यक्षका रूपमा सन् २०२१ देखि २०२३ सम्म नेतृत्व गरेका थिए । उनी नेपाल सेन्टर फर पोलिटिकल लिडरसिप (एनसीपीएल) का सह–संस्थापकसमेत हुन् ।

पत्रकारलाई धम्क्याउने शब्द फिर्ता लिन गृहमन्त्री गुरुङसँग माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारप्रति दिएको धम्कीपूर्ण अभिव्यक्ति फिर्ता लिँदै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग मानव अधिकारकर्मी तथा कानुन व्यवसायीहरूले गरेका छन् । गृहमन्त्री गुरुङले मंगलबार (भदौ २३) गते दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै उनीहरूले पत्रकारविरुद्ध प्रयोग गरिएको धम्कीपूर्ण शब्दप्रति गम्भीर आपत्ति जनाएका हुन् । गृहमन्त्री गुरुङले नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित जेनजी सहिद दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै तीन–चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका थिए । यद्यपि, उनले ती तीन–चार जना पत्रकारको नाम भने लिएका थिएनन् । पूर्व राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुशिल प्याकुरेलसहित मानव अधिकारकर्मी तथा वरिष्ठ अधिवक्ताहरूले जारी गरेको वक्तव्यमा गृहमन्त्री गुरुङको अराजक शैली र अभिव्यक्तिले शासन प्रणालीकै गरिमा घटाउने अवस्था सिर्जना गरेको उल्लेख छ । गृहमन्त्रीको चयन तथा उनीमाथि लागेका आरोपका विषयमा गरिएको ‘अनुसन्धान’प्रति आफूहरूको शंका कायमै रहेको उल्लेख गर्दै आमपत्रकारमाथि गरिएको आक्रामक टिप्पणीले गृहमन्त्रीले आफ्नो पदको मर्यादा, संयम र गाम्भीर्य नबुझेको  वक्तव्यमा जनाइएको छ । पत्रकारको प्राथमिक दायित्व राज्य संयन्त्रमा जिम्मेवारी वहन गर्ने व्यक्तिमाथि प्रश्न गर्नु र उनीहरूलाई जवाफदेही बनाउनु रहेको वक्तव्यमा उल्लेख छ । पञ्चायतकालदेखि नै कठिनाइ, चुनौती, धाक र धम्कीका बीच नेपाली सञ्चारजगतले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको उनीहरूको भनाइ छ । नेपालको लोकतन्त्र, सुशासनको आधार निर्माण तथा भ्रष्टाचार उजागर गर्न सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै वक्तव्यमा संकट, अन्योल र हिंसाका समयमा समेत सञ्चारकर्मीको तर्कपूर्ण र साहसिक प्रस्तुतिले समाजलाई स्थिर राख्न सहयोग गरेको जनाइएको छ । पञ्चायतविरोधी आन्दोलन, द्वन्द्वकाल, नारायणहिटी दरबार हत्याकाण्डपछिको अन्योल, ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको विरोधदेखि संविधान लेखनका राजनीतिक चुनौतीसम्म नेपाली सञ्चारजगतले महत्त्वपूर्ण जिम्मेवार भूमिका निर्वाह गरेको पनि वक्तव्यमा जनाइएको छ । गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिबाट पत्रकारहरू हतोत्साहित नहुने विश्वास व्यक्त गर्दै वक्तव्यमा सबै सञ्चारकर्मीलाई समाचार सम्प्रेषणको जिम्मेवारी थप जिम्मेवार ढंगले निर्वाह गर्नसमेत आह्वान गरिएको छ । वक्तव्यमा पूर्व राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुशील प्याकुरेल, मानव अधिकारकर्मी शोभाकर बुढाथोकी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, महिला अधिकारकर्मी श्यामकुमारी साह, मानव अधिकारकर्मी सोम निरौला, सुबोध प्याकुरेल र युवा अभियन्ता अभिषेक अधिकारीले हस्ताक्षर गरेका छन् ।

अमेरिकासँग युद्ध चर्किएपछि इरानको चेतावनी– तेस्रो विश्वयुद्ध नजिक छ

काठमाडौं । अमेरिकासँग बढ्दो तनावबीच इरानका एक सांसदले तेस्रो विश्वयुद्धको चेतावनी दिएका छन् । तेहरानका सांसद कामरान गजानफरीले अमेरिकासँग तनाव चर्किंदै जाँदा यो क्षेत्र वास्तवमै तेस्रो विश्वयुद्धको संघारमा पुगेको बताएका हुन् । इरान इन्टरनेशनलको रिपोर्टअनुसार गजानफरीले इरानियन लेबर न्युज एजेन्सीलाई दिएको एक अन्तर्वार्तामा यस्तो बताएका हुन् ।  उनले रूस-युक्रेन युद्ध विस्तार हुँदै जानु र विश्वका ठूला शक्तिबीच तनाव बढ्नु ठूलो संघर्षको सुरुआत हुन सक्ने बताएका छन् । इरानी सांसदको यो चेतावनी त्यस्तो समयमा आएको छ, जब अमेरिकी सेनाले ओमानको खाडी र खार्ग टापुनजिक आक्रमण गरी इरानका पाँच तेल ट्यांकर ध्वस्त पारेको दाबी गरिएको छ ।  अमेरिकी सेन्ट्रल कमान्डले उक्त सैन्य कारबाहीलाई अमेरिकी नौसेनाका युद्धपोतहरूमाथि इरानबाट पटकपटक भएका मिसाइल आक्रमणको जवाफका रूपमा जनाएको छ । बढ्दो तनावका बीच गजानफरीको यो चेतावनीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । यसले इरानका कट्टरपन्थी राजनीतिज्ञ तथा इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का उच्च अधिकारीहरूले यस युद्धलाई केवल क्षेत्रीय संघर्षका रूपमा नभई विश्वव्यापी संघर्षका रूपमा हेरिरहेको देखिने विज्ञहरू बताउँछन् । गजानफरीले रूस-युक्रेन युद्धका विषयमा पनि चेतावनी दिएका छन् । उनले रूसविरुद्धको युद्धमा युक्रेनलाई नेटोको समर्थन तथा बेलायत र जर्मनीसँग मस्कोको बढ्दो तनावले यो संघर्ष अन्य युरोपेली देशसम्म फैलिने सम्भावना बढाएको बताएका छन् । गजानफरी अमेरिका र इजरायलविरुद्धको आक्रामक अडानका लागि परिचित छन् । उनले यसअघि पनि अमेरिकासँग कुनै पनि प्रकारको सम्झौता गर्ने विषयको आलोचना गरेका छन् । उनले यही वर्ष जुनमा अमेरिका र इरानबीच भएको समझदारीपत्रको पनि आलोचना गरेका थिए । अमेरिकासँग हुने कुनै पनि सम्झौतामा वैधताको अभाव हुने उनको भनाइ थियो । उनले वार्तामा संलग्न इरानी टोलीलाई सर्वोच्च नेताले तय गरेका ‘रेड लाइन’ ननाघ्न चेतावनीसमेत दिएका थिए । गजानफरीले अमेरिकाले इरान र वार्ता टोलीलाई पटकपटक धम्की दिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा हुने कुनै पनि सम्झौता अन्तर्राष्ट्रिय कानुनअनुसार वैध नहुने बताएका थिए । उनले यसअघि पनि अमेरिका र इजरायलका ठूला सैन्य अभियानसम्बन्धी योजनाबारे चेतावनी दिँदै आएका छन् । उनले अमेरिका इरानका टापुहरू कब्जा गर्न सक्ने दाबीसमेत गरेका छन् ।

ग्यास अभावको दोष उद्योगीलाई मात्र नदिन ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले ग्यास उद्योगीप्रति दिएको अभिव्यक्ति आपत्तिजनक भएको जनाएको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्को समयमा ग्यासको आपूर्ति सहज बनाउन उद्योगीहरू आफ्नो सम्पूर्ण स्रोतसाधन परिचालन गरेर काम गरिरहेको अवस्थामा मन्त्रीबाट गैरजिम्मेवार र अमर्यादित अभिव्यक्ति आउनु दुःखद् भएको जनाएको हो । संघका अनुसार नेपालमा एलपी ग्यासको कारोबार गर्ने उद्योगहरूले ५ दशकभन्दा बढी समयदेखि उपभोक्तालाई सेवा दिँदै आएका छन् । विभिन्न विपद् तथा संकटका समयमा समेत उद्योगीहरूले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन निरन्तर काम गर्दै आएको संघको दाबी छ । हालको ग्यास अभावलाई उद्योगीलाई मात्र दोष दिएर समाधान गर्न नसकिने संघले जनाएको छ । ग्यास आपूर्तिमा देखिएको समस्याको वस्तुगत समीक्षा गर्नुपर्ने संघको भनाइ छ ।  आधा सिलिन्डरको व्यवस्था लामो समयसम्म कायम गरिएको गुनासो संघले सरकारले १५ दिनका लागि भन्दै ७.१ किलोको आधा सिलिन्डर ग्यास वितरण गर्ने व्यवस्था गरे पनि त्यसलाई करिब चार महिनासम्म निरन्तरता दिइएको जनाएको छ । संघले गत २०८२ चैत १६ गते नेपाल आयल निगमलाई पत्र पठाएर पुनः पूरा सिलिन्डरमा फर्कन आग्रह गरेको भए पनि त्यसतर्फ पर्याप्त ध्यान नदिइएको दाबी गरेको छ । ग्यासको आयातमा समयमै आवश्यक निर्णय नहुनु, पूरा सिलिन्डर लागू भएपछि सिलिन्डरको माग अचानक बढ्नु तथा पृथ्वी राजमार्गमा भएको अवरोधका कारण ग्यास बुलेटको ढुवानी प्रभावित हुनुजस्ता कारणले पनि अहिलेको अभाव सिर्जना भएको संघको भनाइ छ । यी विषयलाई समेत समेटेर ग्यास आपूर्तिको अवस्थाको समीक्षा गर्नुपर्ने संघले जनाएको छ ।  ‘बदनियत प्रमाणित भए कारबाही गर्न सहयोग गर्छौं’ कुनै ग्यास उद्योगले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा सम्बन्धित उद्योगमाथि कानुनअनुसार कारबाही गर्न आफूहरू तयार रहेको संघले जनाएको छ । तर, प्रमाणबिना ग्यास उद्योगीलाई दोषी देखाउने र भौतिक कारबाहीको संकेत गर्ने अभिव्यक्ति आपत्तिजनक भएको संघको भनाइ छ । संघले कठिन परिस्थितिमा उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउनु नै आफ्नो मुख्य उद्देश्य रहेको जनाएको छ। त्यसका लागि सम्बन्धित सरकारी निकायसँग सहकार्य गर्न र नेपाल सरकारका व्यवहारिक निर्देशन पालना गर्न आफूहरू प्रतिबद्ध रहेको संघले स्पष्ट पारेको छ । ग्यास आपूर्ति सहज बनाउन सहयोग गर्ने सम्बन्धित निकाय, उपभोक्ता तथा अन्य सरोकारवालाप्रति संघले आभारसमेत व्यक्त गरेको छ ।

सुरु भयो प्रतिपक्षी दलको बैठक, विपक्षको भूमिकाबारे रणनीति तय गरिँदै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको आह्वानमा सबै विपक्षी दलको बैठक सुरु भएको छ ।  पछिल्लो राजनीतिक घटनाक्रमसँगै संसदमा विपक्षको भूमिका र आगामी रणनीतिबारे छलफल गर्न कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बैठक बोलाएका हुन् । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बैठक सुरु भएको आङ्देम्बेले जानकारी दिए ।  बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै संसदमा विपक्षको रणनीति र सरकारका कामकारबाहीप्रति विपक्षी दलको दृष्टिकोणका विषयमा छलफल हुने आङ्देम्बेले बताए । पछिल्लो राजनीतिक परिस्थितिमा संसदमा प्रतिपक्षी शक्ति कसरी प्रस्तुत हुने भन्ने विषय बैठकको मुख्य एजेन्डामध्ये रहने नेताहरूले बताएका छन् ।  सरकारका निर्णय, राजनीतिक गतिविधि तथा संसदमा उठाउनुपर्ने समसामयिक विषयबारे दलहरूबीच धारणा आदानप्रदान गर्ने तयारी छ । संसदमा विपक्षको प्रस्तुति प्रभावकारी बनाउने, सरकारलाई जवाफदेही बनाउने तथा जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।  बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता आङ्देम्बेसहित अर्को विपक्षी दल नेकपा एमालेका उपनेता पद्यमा अर्याल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)संसदीय दलका सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टी दलका नेता ध्रुव राई सहभागी छन् ।