विकासन्युज

भरतपुर महानगरको साढे ५ अर्बको बजेट घोषणा, बैंक मौज्दात ७४.५० करोड रुपैयाँ

काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले सोमबार उक्त बजेट सार्वजनिक गरे ।  महानगरले आगामी आवको बजेटमा अन्तर सरकार वित्तीय हस्तान्तरणबाट (सङ्घ र प्रदेशतर्फ) २ अर्ब १७ करोड ७३ लाख ९८ हजार रुपैयाँ, सङ्घ राजश्व बाँडफाँटबाट ३३ करोड १२ लाख ६४ हजार रुपैयाँ, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १३ करोड ४० लाख ६१ हजार रुपैयाँ, नगर विकास कोषबाट ४ करोड रुपैयाँ, जनसहभागिताबाट ३ करोड रुपैयाँ, बैंक मौज्दात ७४ करोड ५० लाख रुपैयाँ, सडक बोर्ड नेपालबाट १ करोड ९३ लाख रुपैयाँ रहने अनुमान गरेको छ ।  महानगरले चालु आर्थिक वर्षको बजेट ५ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको थियो । नगर सभामा नीति तथा कार्यक्रम पेस गर्दै कार्यवाहक नगर प्रमुख अधिकारीले चालु आर्थिक वर्षमा पुँजीगत खर्च कम हुँदा विकास निर्माण सुस्ताएको र राजश्व सङ्कलनको लक्ष्यमा केही धक्का पुगेको बताए । चालु आवमा महानगरले आन्तरिक आयतर्फ १ अर्ब ८० करोड रुपैयाँको लक्ष्य राखेको छ । महानगरले सहरी पूर्वाधार, कृषि तथा पशु विकास, शिक्षा, स्वास्थ्य र खानेपानीमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । बजेटले ‘दिगो पूर्वाधार, समृद्धिको आधार’ भन्ने नारालाई आत्मसात गरेको नगरप्रमुख अधिकारीले बताए । सार्वजनिक निजी साझेदारीमा फोहर मैला प्रशोधन केन्द्र स्थापना, निकुञ्जसँग जोडिएको बस्तीमा जङ्गली जनावरलाई छेकबार लगाउन फाउन्डेसनसहित मेसजाली निर्माण, आयुर्वेद अस्पताल निर्माण र भरतपुरलाई साइकल लेन बनाउने कामलाई जारी राख्ने जस्ता विषय नीति तथा कार्यक्रममा समेटिएका छन् । यस्तै महानगरले रामपुरको निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माणका लागि १४ करोड रुपैयाँ छुट्याएको छ ।

फ्रान्सको सहज जितमा एम्बाप्पेको २ गोल

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह‘आई’ अन्तर्गतको खेलमा फ्रान्सले इराकलाई पराजित गर्दै अकआउट चरणमा स्थान बनाएको छ । खेलमा फ्रान्सले ३-० को जित निकालेको हो । आँधीका कारण खेल पहिलो हाफपछि २ घण्टा स्थगन गर्नुपरेको थियो । खेलमा फ्रान्सका लागि केलियन एम्बाप्पेले २ गोल गरे । यससँगै उनी विश्वकपमा सर्वाधिक गोलकर्ताको दोस्रो नम्बरमा पुगेका छन् । उनले १६ गोल गरिसकेका छन् । खेलको १४ औं मिनेटमा गोल गर्दै उनले फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५४ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । खेलको ६६ औं मिनेटमा ओसामाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३० को जित सुनिश्चत गरे । खेलमा इराकले दुई राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । फ्रान्स समूह ‘आई’मा दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ भने इराक अंकविहीन रहँदै पुछारमा रहेको छ।

तुलसीपुरको बजेट साढे २ अर्ब घोषणा, गर्भवतीलाई अण्डा बाँड्न ८५ लाख रुपैयाँ

काठमाडौं । दाङ तुलसीपुर उप-महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४४ करोड ९५ लाख ९१ हजार रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ । उप-महानगरपालिकाको १९औँ नगर सभाको अधिवेशनमा आज नगर उपप्रमुख श्यानी चौधरीले ‘हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर, खुसी जनता समृद्ध तुलसीपुर’ भन्ने मूल नाराका साथ उक्त बजेट प्रस्तुत गरेका हुन् ।  आगामी आवको बजेटको कूल विनियोजनमध्ये चालु खर्चतर्फ १ अर्ब ३९ करोड ६० लाख २१ हजार रुपैयाँ (५७ प्रतिशत) र पुँजीगततर्फ १ अर्ब १ करोड ३८ लाख २८ हजार रुपैयाँ (४१ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ४ करोड रुपैयाँ (१.६५ प्रतिशत) रहेको छ । आगामी आवका लागि खर्च व्यहोर्ने स्रोतमा आन्तरिक स्रोतबाट ५४ करोड रुपैयाँ, सङ्घीय सरकारको समानुकरण अनुदानबाट २८ करोड ७७ लाख रुपैयाँ, सङ्घीय सशर्त अनुदानबाट ६७ करोड २३ लाख रुपैयाँ र गत वर्षको बैंक मौज्दातबाट ३० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बजेटले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । नगरका १९ वटै वडाका लागि १ करोड रुपैयाँका दरले जम्मा १९ करोड रुपैयाँ वडास्तरीय योजनाका लागि विनियोजन गरिएको छ । शिक्षा क्षेत्रको पूर्वाधार निर्माणका लागि ३ करोड रुपैयाँ, स्वास्थ्य पूर्वाधारका लागि १ करोड रुपैयाँ र खानेपानी तथा सरसफाइका लागि १ करोड रुपैयाँ छुट्याइएको छ । बजेटमा ‘स्मार्ट छोरी’ कार्यक्रमका लागि ५० लाख रुपैयाँ, मुख्य बजारमा दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल निर्माणका लागि ५० लाख रुपैयाँ, कृषि एम्बुलेन्सका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री कक्षा सञ्चालन, गरिब तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति र स्वास्थ्य चौकीमा गर्भवती जाँच गराउन आउनेलाई  प्रतिपटक एक क्यारेट अण्डा वितरण गर्ने कार्यक्रमका लागि ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ कृषि क्षेत्रका लागि ३ करोड रुपैयाँ र पशु विकास सेवाका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । उपमहानगरपालिकाले बजार क्षेत्रको फोहर व्यवस्थापनका लागि आधुनिक कम्प्याक्टर र आगलागी नियन्त्रणका लागि दमकल खरिद गर्न १/१ करोड रुपैयाँ विनियोजन गरेको छ । 

पार्टी त्यागेपछि काँग्रेसले गुमायो गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष

काठमाडौं । पार्टी त्याग गरी अन्य दलमा प्रवेश गरेपछि नेपाली कांग्रेसका ३ स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ । नेपाली कांग्रेसबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरूले पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेको व्यहोरा सम्बन्धित दलको केन्द्रीय कार्यसम्पादन समितिले निर्वाचन आयोगलाई जानकारी गराएपछि पद रिक्त गरिएको हो ।  निर्वाचन आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम उनीहरूको पद स्वतः रिक्त भएको निर्णय गरिएको हो । पद रिक्त हुनेमा जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उप-महानगरपालिका–३ का वडा अध्यक्ष विष्णु ढकाल रहेका छन् ।

भारतीय पर्यटकले भरिभराउ पोखरा, होटलको अकुपेन्सी ९० प्रतिशत पुग्यो

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि पोखराका होटल भरिभराउ भएका छन् । यतिबेला लेक साइडका सडक र वाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ ।  गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगरी फेवातालको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । भारतमा बढ्दो गर्मीबाट राहत खोज्न तथा बिदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपाललाई आकर्षक र सहज गन्तव्यका रूपमा रोज्न थालेको बताउँदै पोखरामा सुवेदीले उनीहरुको स्वागत र सम्मान गर्नु पोखरेली पर्यटन व्यवसायीको दायित्व भएको बताए । पर्यटकको चहलपहल बढेसँगै डुङ्गा सयर, पदयात्रा तथा अन्य पर्यटन गतिविधिसमेत बढेको अध्यक्ष सुवेदीको भनाइ छ । फेवातालमा दिनहुँ चार–पाँच हजार भारतीय पर्यटककले डुङ्गा सयर गर्ने गरेको जानकारी फेवा डुङ्गा व्यवसायी सङ्गठनका सहसचिव धनबहादुर विकले बताए । डेढ महिनादेखि भारतीय पर्यटक उल्लेख्य उपस्थिति र फेवातालको मध्यभागमा अवस्थित बाराही मन्दिरमा दर्शन गर्न जान रुचि राख्ने गरेको उनको भनाइ छ ।  ‘दिनभरि ताल छेउमा डुङ्गा कुरी बेलुका रित्तो हात घर जानुपर्ने बमाध्यता भारतीय पर्यटक बढेसँगै हटेको छ,’ सहसचिव विकले भने, ‘अहिले बाराही घाटबाट मात्र दिनहुँ १ सय ४० डुङ्गाहरु चलायमान छन् ।’ टान गण्डकीका कोषाध्यक्ष दीपक सापकोटाले पछिल्लो डेढ महिनामा मात्र डेढ लाख भारतीय पर्यटक पोखरा आएको जानकारी दिँदै उनीहरू धर्मिकस्थल, छोटो दूरीको पदयात्रा, प्याराग्लाइडिङ, वन्जिजम, डुङ्गा सयर तथा ¥याफ्टिङ गर्ने गरेको बताए । भारतीय पर्यटक यतिबेला पाँच तारे होटलदेखि साना होटल र धर्मशालासम्म भरिभराउ रहेको बताए । भारतीय पर्यटकले कोठामा भन्दा पनि खानामा बार्गेनिङ गर्ने गरेको कुरा होटल व्यवसायी पार्वती पाण्डेले सुनाइन् । भारतमा होटलका रुम महंगा हुने भएकाले रुममा उनीहरू खासै बार्गेनिङ गर्दैनन् । पोखरामा होटल भारतीय पर्यटकले धानिएको बताउँदै नेपालका पर्यटकीय तथा धार्मिक क्षेत्रका बारेमा भारतमा प्रचारप्रसार गर्न सके नेपालमा भारतीय पर्यटक खचाखच हुने उनको भनाइ छ । पर्यटन व्यवसायीले यो मौसमलाई ‘अफसिजन’का रुपमा लिने गरेको भए पनि पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि पर्यटन व्यवसायीहरू थप उत्साहित बनेका छन् । नेपाली नयाँ वर्षयता सुरु भएको पर्यटक आगमनको लहर जेठ महिनाको अन्त्यसम्म पनि निरन्तर कायम रहेको पर्यटन व्यवसायी बताउँछन् । पर्यटकीय रुपमा चहलपहल भएको पोखरामा एक महिनाको समयावधिमा पोखरामा मात्रै डेढ लाख भारतीय पर्यटक भित्रिएका तथ्याङ्क पर्यटन व्यवसायीसँग छ । यहाँका होटलको ९० प्रतिशत अकुपेन्सी पुगेको होटल व्यवसायीहरू बताउँछन् ।  विशेषगरी उनीहरू तालबाराही मन्दिर, पुग्दीको शिवमन्दिर, केदारेश्वर, विन्ध्यवासिनी, मुक्तिनाथ, मनकामना मन्दिरमा जाने गर्छन् । नेपालमा आउने पाहुनाको माया गर्नु हामी सबैको कर्तव्य हो । नेपालीहरु पनि भारतको धार्मिक मठमन्दिरमा जाँदा होटलमा भन्दा पनि बाहिर नै पकाएर खाने गर्छन् । पोखरामा एकै दिन १० हजार पर्यटक अटाउन सक्ने क्षमता होटलमा छ ।

सोमबार हुन नसकेको रास्वपाको बन्दसत्र आज हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ । यसका लागि आज बिहानदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिँदै छ । सोमबार बिहान ८:३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको हो । पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ । उनले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्दसत्रपछि सरेको बताए ।  महाधिवेशन पार्टी सर्वोच्च निकाय भएकाले यस प्रक्रियामा विवाद नआओस् भन्नेमा पार्टी प्रतिबद्ध रहेको जनाउँदै उनले केही ढिलाइ भए पनि समस्या नआउने गरी काम गरिएको जानकारी दिए । उनले सोमबार साँझ ७ बजेदेखि नै कार्ड वितरण थालिएको जानकारी दिए । राति छपाइ भएका कार्ड प्रदेशमार्फत अहिले बिहानदेखि वितरण थालिने छ । ७ प्रदेश र समायोजन एवं प्रवासका कार्ड फरक-फरक ठाउँबाट सहज रुपमा वितरण गरिने पार्टीले जनाएको छ । कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसमा छलफल हुनेछ । सो पश्चात् कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ । कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ । सो पश्चात् पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ । विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने छ । पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने सम्भावित तालिका रहेको छ । सो पश्चात् निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने छ । आइतबार दिउँसो गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्रका कार्यक्रम उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा भइरहेको छ ।

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

काठमाडौं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब ८ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर दलित बस्तीका स्थानीय अझै खुला स्थानमा शौच गर्न बाध्य छन् । सरकारको खुला दिसामुक्त अभियान र सरसफाइ क्षेत्रमा गरिएको लगानीका बाबजुद धनुषाको सहिदनगर नगरपालिका-५ स्थित पचहर्वा मुसहर बस्तीका अधिकांश परिवार खुला स्थानमा शौच गर्न बाध्य छन् । सो बस्तीका उर्मिला सदाका लागि खुला स्थानमा शौच गर्नु दैनिक जीवनको बाध्यता बनेको छ । घरमा शौचालय नहुँदा उनी राति वा बिहान सबेरै अँध्यारोमा शौच गर्न खेततिर जान्छिन् । ‘खुला ठाउँमा शौच गर्दा लाज लाग्छ, कतिपय खेतधनीले गालीसमेत गर्छन्’, उनी भन्छिन्, ‘यो समस्या महिलाका लागि झन् जटिल बनेको छ ।’  एक सयभन्दा बढी घरधुरी रहेको उक्त बस्तीमा तीन घरमा मात्र शौचालय रहेको छ । बाँकी परिवारले वर्षौंदेखि खेतबारी, बाँसघारी र खोल्साका किनारामा दिसापिसाब गर्दै आएका छन् । उक्त वडा २०७५ सालमै खुला दिसामुक्त घोषणा गरिएको थियो । तर दलित समुदायको यो बस्ती भने सरसफाइ सुविधाको पहुँचबाट टाढै रहेको छ । स्थानीय शोभेन्द्र सदाका अनुसार बस्तीमा करिब ३७० जनाको बसोबास छ । वृद्धवृद्धा, महिला, पुरुष र बालबालिकासमेत खुला स्थानमै शौच गर्न बाध्य छन् । कतिपय परिवारसँग शौचालय निर्माणका लागि आवश्यक जग्गा छैन भने कतिपयले आर्थिक अभावका कारण निर्माण गर्न नसकेको स्थानीय परमदेवी सदाको भनाइ छ । केहीले भने सरकारी सहयोगको आशामा शौचालय निर्माण नगरेको उनी बताउँछिन् । परमदेवीका अनुसार महिला राति पुरुष सुतेपछि वा बिहान उज्यालो हुनुअघि खेततिर जान बाध्य छन् । ‘खुला ठाउँमा बस्दा सर्प तथा विषालु किराको डर हुन्छ, कसैले देख्ला कि भन्ने चिन्ता पनि उत्तिकै हुन्छ’, उनी भन्छिन्, ‘वर्षायाममा खेत डुबान हुँदा समस्या अझ गम्भीर बन्ने गर्छ ।’ उक्त बस्तीका अधिकांश परिवार सुकुमवासी छन् । उनीहरूसँग न पर्याप्त जग्गा छ, न शौचालय निर्माण गर्न आवश्यक आर्थिक स्रोत नै । बसोबास गरिरहेको सानो घरबाहेक अन्य जमिन नभएकाले ती बस्तीका स्थानीय अरुको खेतबारीमा निर्भर हुनुपरेको छ । यसले सरसफाइ मात्र होइन, मानव मर्यादा र सुरक्षासँग सम्बन्धित प्रश्न उठाएको स्थानीय रामदयाल सदाको भनाइ छ । रामदयालका अनुसार खुला दिसापिसाबका कारण बस्ती वरपरको वातावरण फोहर बन्दै गएको छ । ‘शौचालय अभावका कारण झाडापखाला, आउँ, टाइफाइडलगायत रोगको जोखिम बढेको छ’, उनी भन्छन्, ‘सरसफाइको कमीले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गरेका छन् ।’ हरवाचरवा अधिकार मञ्चका केन्द्रीय सचिव रामदयाल सदाका अनुसार सहिदनगर नगरपालिकामा मात्रै एक हजारभन्दा बढी परिवार शौचालयविहीन छन् । धनुषाको सबैला नगरपालिका, विदेह नगरपालिका, मिथिला विहारी नगरपालिका तथा क्षीरेश्वरनाथ नगरपालिकालगायत स्थानीय तहका विपन्न बस्तीमा अझै शौचालयको समस्या रहेको उनको भनाइ छ । नेपाललाई २०७५ सालमा खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको थियो । त्यसबेला दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेको दाबी गरिएको थियो । तर पचहर्वा मुसहर बस्तीको यथार्थले घोषणाको प्रभावकारितामाथि प्रश्न उठाएको छ । सरसफाइ अभियानका नाममा अर्बौं रुपैयाँ खर्च भए पनि विपन्न, दलित र सुकुमवासी समुदायसम्म आधारभूत सुविधा पुग्न नसक्नु चुनौतीका रूपमा देखिएको सहिदनगर नगरपालिकाका स्थानीय युवा कमलेश यादव बताउँछन् । विपन्न दलित समुदायको आधारभूत सरसफाइको अधिकार सुनिश्चित नभएसम्म खुला दिसामुक्त राष्ट्रको उपलब्धि पूर्ण रूपमा सार्थक हुन नसक्ने उनको भनाइ छ । रासस

आकाशे पानी कुर्नु परेन, सिक्टाको पानीले २२ हजार हेक्टरमा किसानलाई राहत

काठमाडौं । पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ । आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले आकासे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका छन् । राप्तीसोनारी गाउँपालिका-३ नवलपुरकी मेलिना चौधरीले नहरबाट आएको पानीको सदुपयोग गर्दै सोमबारदेखि धान रोपाइँ सुरु गरेका छन् । उनले ४ कट्ठा खेतमा धान रोपिसकेकी छिन् भने भने बाँकी ९ कट्ठा खेतमा मंगलबार  रोपाइँ सक्ने तयारी रहेको बताए ।  जलजला महिला समूहका १३ रुपार्नेको सहयोगमा खेत रोपेकी चौधरीले प्रतिव्यक्ति प्रतिघण्टा १२० रुपैयाँका दरले ज्याला दिएर रोपाइँ गरेकी हुन् । उनले भनिन्, ‘सिक्टाले नहरमा पानी छोडेपछि आकाशबाट पानी नपरे पनि ढुक्क भएर रोपाइँ गर्न पाएका छौँ । नहरको पानीले खेत रोप्न धेरै सजिलो भएको छ ।’ मेलिनाको खेतमा रोपाइँ गर्न आएकी सोही गाउँकी मनसरा डाँगीले पनि सिक्टाको पानीका कारण खेतिपाती गर्न सहज बनेको बताइन् । उनले आफ्नो १४ कट्ठा खेतमा धान रोप्ने तयारी रहेको जानकारी दिँदै भनिन्, ‘पहिले पानीको चिन्ताले रोपाइँ कहिले गर्ने भन्ने अन्योल हुन्थ्यो । अहिले नहरमा पानी आएपछि समयमा खेती गर्न सकिने भएको छ । आज आफ्नै खेतमा पनि रोपाइँ सुरु गर्छु ।’ सिक्टा सिँचाइ आयोजनाले आइतबारदेखि राप्तीसोनारी गाउँपालिका-३ नवलपुर क्षेत्रमा पानी प्रवाह गरेपछि स्थानीय किसान रोपाइँमा जुटेका छन् । नवलपुरमा यस वर्षको पहिलो रोपाइँ स्थानीय किसान चन्द्रबहादुर थापाले गरेका थिए । उनले असारको पहिलो सातामै ५ कट्ठा १४ धुर खेतमा धान रोपाइँ सम्पन्न गरिसकेको बताए । थापाले भने, ‘सिक्टाको पानी उपलब्ध भएपछि खेत बाँझो रहने चिन्ता हटेको छ । अघिल्ला वर्षभन्दा अगाडि नै रोपाइँ गर्न पाएका छौँ । समयमै खेती गर्न सकिने भएकाले यस वर्ष उत्पादन पनि राम्रो हुने अपेक्षा गरेका छौँ ।’ किसानका अनुसार सिक्टा सिँचाइ आयोजनाको पानीले वर्षामाथिको निर्भरता घटाउँदै खेतिपातीलाई सहज बनाएको छ । नहर प्रणालीबाट नियमित पानी उपलब्ध हुन थालेपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँले गति लिएको छ । सिक्टा सिँचाइ आयोजनाले हालसम्म बाँके जिल्लाका करिब २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराएको जनाएको छ । आयोजनाअन्तर्गत निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि सिँचाइ क्षेत्र विस्तार भई ३० हजारदेखि ३२ हजार हेक्टरसम्म पुग्ने अपेक्षा गरिएको छ । सिक्टा सिँचाइ आयोजनाका इन्जिनियर विकास विष्टले आयोजनाको मुख्य बाँध (हेडबर्क्स) बाट पूर्वी तथा पश्चिम मूल नहरमार्फत पानी सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार ३१७ मिटर लम्बाइको बाँधबाट पूर्वी र पश्चिम मूल नहरमा पानी वितरण गरिँदै आएको छ । पूर्वीतर्फ फत्तेपुरका विभिन्न शाखा तथा राजकुलोमा पानी प्रवाह भइरहेको छ भने पश्चिमतर्फ सिद्धनिया, अक्कलघरवा, गोहवा, पिडारी, पर्सेनिपुर र गुरुवागाउँ लगायत शाखामा सिँचाइका लागि पानी उपलब्ध गराइएको छ । इन्जिनियर विष्टले भने, ‘सिक्टा सिँचाइ आयोजनाले पानी उपलब्ध गराउनुपर्ने करिब ४३ हजार हेक्टर क्षेत्रमध्ये हाल २२ हजार हेक्टरमा किसानलाई सिँचाइका लागि पानी दिइरहेका छौँ । डुडुवा शाखाले सिँचाइ गर्नुपर्ने १६ हजार हेक्टर क्षेत्रका लागि नहर निर्माणको काम भइरहेको छ ।’ उनका अनुसार डुडुवा नहर प्रणालीको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण कार्यको पहिलो वर्ष पूरा भइसकेको र बाँकी दुई वर्षभित्र डुडुवा शाखा, खजुरा शाखा तथा मानपुर शाखासहितका संरचना निर्माण सम्पन्न गरिनेछ । इन्जिनियर विष्टले भने, ‘डुडुवा शाखा नहरको निर्माण सम्पन्न भएपछि १६ हजार हेक्टर क्षेत्रले सिँचाइ सुविधा पाउनेछ । यही गतिमा काम अघि बढे तीन वर्षभित्र बाँके जिल्लामा आयोजनाअन्तर्गत सिँचाइ गर्नुपर्ने ४३ हजार हेक्टर क्षेत्रफलमा पानी पु¥याउन सफल हुनेछौँ ।’ हाल आयोजनाले ४३ हजार ६७५ हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिँदै उनले डुडुवा शाखा सम्पन्न भएपछि कूल सिञ्चित क्षेत्र ३० देखि ३२ हजार हेक्टर पुग्ने बताए । इन्जिनियर विष्टका अनुसार प्रत्येक वर्ष असारको पहिलो वा दोस्रो सातादेखि किसानलाई ब्याड राख्न तथा रोपाइँका लागि आवश्यक पानी उपलब्ध गराइँदै आएको छ । असारको अन्तिमसम्म सिक्टा सिँचाइ आयोजनाले पानी उपलब्ध गराउन सक्ने अधिकांश क्षेत्रमा किसानको रोपाइँ कार्य सम्पन्न हुने उनले विश्वास गरे ।  यस वर्ष बाँकेमा पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ आयोजनाले शिक्षादहरबाट पानी सञ्चालन गरेपछि जिल्लाका विभिन्न क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । आयोजनाका अनुसार कोहलपुर नगरपालिका वडा नं ६, १० र १५, जानकी गाउँपालिका वडा नं ३, ४ र ५, वैजनाथ गाउँपालिका वडा नं ५ र ७, डुडुवा गाउँपालिका वडा नं २ र ५ तथा खजुरा गाउँपालिका वडा नं ४, ५, ६, ७ र ८ मा रोपाइँ सुरु भइसकेको छ । त्यसैगरी, राप्तीसोनारी गाउँपालिका वडा नं २, ३, ४, ५, ६ र ७ तथा नरैनापुर गाउँपालिका वडा नम्बर ६ मा किसानले सिक्टा नहरको पानी प्रयोग गरी धान रोप्न थालेका छन् । सिद्धनिया, अक्कलघरवा, गोहवा, पिडारी, पर्सेनिपुर र गुरुवागाउँ शाखा नहरमार्फत पानी पुगेपछि ती क्षेत्रका किसान रोपाइँमा व्यस्त भएका छन् ।