रास्वपाका सांसद भन्छन्– चिलिमे जलविद्युत केन्द्रको सुरुङभित्रबाट चिसो हावा र आवाज आएको छ

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारका क्रममा आशा जगाउने संकेत देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली सेनाको उद्धार टोलीबाट भर्खरै प्राप्त जानकारी भन्दै सुरुङभित्रबाट चिसो हावा बाहिरतर्फ आएको बताएका छन् ।

उनका अनुसार सुरुङभित्र करिब १०५ मिटरभित्रबाट बाहिरतर्फ चिसो हावा आएको र हावाको दोहोरो बहाव देखिएको छ ।

त्यस्तै, उद्धार टोलीले सुरुङभित्र आवाज पठाउँदा इको आएको जानकारी प्राप्त भएको न्यौपानेले उल्लेख गरेका छन् ।

नेपाली सेनाको टोलीले सुरुङभित्रको अवस्थाबारे थप खोज तथा उद्धार कार्य अघि बढाइरहेको छ ।

न्यौपानेले नेपाली सेनाको उद्धार टोलीबाट प्राप्त पछिल्लो अवस्थाबारे जानकारी दिँदै फेसबुकमार्फत यस्तो विवरण सार्वजनिक गरेका हुन् ।

Share News