सुरु भयो प्रतिपक्षी दलको बैठक, विपक्षको भूमिकाबारे रणनीति तय गरिँदै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको आह्वानमा सबै विपक्षी दलको बैठक सुरु भएको छ । 

पछिल्लो राजनीतिक घटनाक्रमसँगै संसदमा विपक्षको भूमिका र आगामी रणनीतिबारे छलफल गर्न कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बैठक सुरु भएको आङ्देम्बेले जानकारी दिए । 

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै संसदमा विपक्षको रणनीति र सरकारका कामकारबाहीप्रति विपक्षी दलको दृष्टिकोणका विषयमा छलफल हुने आङ्देम्बेले बताए ।

पछिल्लो राजनीतिक परिस्थितिमा संसदमा प्रतिपक्षी शक्ति कसरी प्रस्तुत हुने भन्ने विषय बैठकको मुख्य एजेन्डामध्ये रहने नेताहरूले बताएका छन् । 

सरकारका निर्णय, राजनीतिक गतिविधि तथा संसदमा उठाउनुपर्ने समसामयिक विषयबारे दलहरूबीच धारणा आदानप्रदान गर्ने तयारी छ ।

संसदमा विपक्षको प्रस्तुति प्रभावकारी बनाउने, सरकारलाई जवाफदेही बनाउने तथा जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ । 

बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता आङ्देम्बेसहित अर्को विपक्षी दल नेकपा एमालेका उपनेता पद्यमा अर्याल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)संसदीय दलका सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टी दलका नेता ध्रुव राई सहभागी छन् ।

Share News