विकासन्युज

बाढीले कार्यालय बगाएपछि त्रिशुलीमा नयाँ घर खोज्दै कृषि विकास बैंक

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नुवाकोटको त्रिशुली शाखाका लागि नयाँ कार्यालय भवन भाडामा लिने भएको छ ।  बैंकको त्रिशुली शाखा नुवाकोटको विदुर नगरपालिका–१, ढुंगे बजारमा सञ्चालन हुँदै आएको थियो । तर, भदौ १० गते आएको बाढीले कार्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि कार्यालय सञ्चालन गर्न नसक्ने अवस्था आएको बैंकले जनाएको छ । बैंकले व्यवसायिक तथा व्यापारिक क्षेत्रमा रहेको पक्की भवन वा फ्ल्याट कम्तीमा १० वर्ष वा सोभन्दा बढी अवधिका लागि भाडामा लिन लागेको हो । प्रस्तावित भवन नुवाकोटको विदुर नगरपालिका क्षेत्रअन्तर्गत विदुर वा बट्टार बजारको मुख्य बजार क्षेत्रमा हुनुपर्नेछ । बैंकका अनुसार भाडामा लिइने भवनको क्षेत्रफल २ हजार ५०० देखि ३ हजार वर्गफिटसम्म हुनुपर्नेछ । मूल सडकमा रहेको, एउटै तल्लामा भएको, पर्याप्त पार्किङ सुविधा तथा एटीएम राख्ने स्थान भएको भवनलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । त्यस्तै, भवन भूकम्प प्रतिरोधी आरसीसी फ्रेम स्ट्रक्चरमा निर्माण भएको तथा सम्बन्धित निकायबाट नक्सा पास गरी निर्माण सम्पन्न भएको हुनुपर्नेछ । भवनमा पानी, विद्युत्, टेलिफोन तथा इन्टरनेटको सुविधा उपलब्ध हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आवश्यकताअनुसार भवनको भित्री संरचनामा परिवर्तन गर्नुपर्ने भएमा घरधनीले त्यसका लागि मञ्जुरी दिनुपर्ने जनाएको छ । साथै, घरधनीले बैंकको मापदण्डअनुसार भल्ट रुम, एटीएम राख्ने स्थान, भुइँमा टायल वा मार्बल, शौचालयलगायत स्थिर संरचना निर्माण गरी दिनुपर्नेछ । बैंकले घर वा फ्ल्याट भाडामा दिन इच्छुक घरधनीबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको छ । घरधनीले आफूले लिन चाहेको मासिक घरभाडा रकम अंक र अक्षर दुवैमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । घरभाडा रकममा नियमानुसार कर कट्टी गरी बाँकी रकम प्रत्येक महिनाको अन्त्यमा घरधनीलाई भुक्तानी गरिने बैंकले जनाएको छ ।  

प्रभु बैंकले कालिमाटी र लिङ्करोड शाखा बन्द गर्दै

काठमाडौं । प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा रहेका दुई शाखा कार्यालय एक–आपसमा समायोजन गर्ने भएको छ । बैंकले कालिमाटी र लिङ्करोड वीरगन्ज शाखा समायोजन गर्न लागेको जनाएको हो ।  बैंकका अनुसार काठमाडौंको कालिमाटी शाखा टेकु शाखामा समायोजन हुनेछ । कालिमाटी शाखा र टेकु शाखाबीचको दूरी करिब ३०० मिटर रहेको बैंकले जनाएको छ । समायोजनपछि कालिमाटी शाखाका ग्राहकले टेकु शाखाबाट सम्पूर्ण बैंकिङ सेवा लिन सक्नेछन् । त्यस्तै, पर्साको लिङ्करोड वीरगन्ज शाखा वीरगन्ज शाखामा समायोजन हुने भएको छ । यी दुई शाखाबीचको दूरी करिब १.५ किलोमिटर रहेको बैंकले जनाएको छ । समायोजनपछि लिङ्करोड वीरगन्ज शाखाका ग्राहकले वीरगन्ज शाखाबाट बैंकिङ सेवा लिन सक्नेछन् ।  बैंकले दुवै शाखा मंसिर २४ गतेदेखि समायोजन गरी कारोबार सञ्चालन गर्ने जनाएको छ । यसैबीच, समायोजन हुने शाखा कार्यालयमा रहेका फर्निचर, फिक्चर, उपकरण तथा लिजहोल्ड इम्प्रुभमेन्टलगायतका सम्पत्ति हाल जुन अवस्थामा छन्, सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ। बैंकका अनुसार उक्त स्थानमा शाखा कार्यालय सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदनसहित सम्पर्क गर्न सक्नेछन् । 

विकास बैंकको औसत एनपीएल ५.३७ प्रतिशत, मितेरीको ०.२६ प्रतिशत मात्रै

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १६ विकास बैंकमध्ये अधिकांशको खराब कर्जा उच्च देखिएको छ । उपलब्ध तथ्यांकअनुसार विकास बैंकहरूको औसत खराब कर्जा (एनपीएल ) ५.३७ प्रतिशत रहेको छ ।  राष्ट्रियस्तरका विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकको खराब कर्जा ४.७७ प्रतिशत, ज्योति विकास बैंकको ६.५५ प्रतिशत, गरिमा विकास बैंकको ४.७६ प्रतिशत, महालक्ष्मी विकास बैंकको ६.३२ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४.९३ प्रतिशत, लुम्बिनी विकास बैंकको ६.९४ प्रतिशत, शांग्रिला डेभलपमेन्ट बैंकको ६.८७ प्रतिशत र कामना सेवा विकास बैंकको ३.७७ प्रतिशत रहेको छ । त्यस्तै, क्षेत्रीयस्तरका विकास बैंकमध्ये सप्तकोशी विकास बैंकको खराब कर्जा ७.६८ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ४.५७ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ०.२६ प्रतिशत, सिन्धु विकास बैंकको ७.६६ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ३.२२ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.२४ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ४८.५१ प्रतिशत र साल्पा विकास बैंकको ०.७९ प्रतिशत रहेको छ । उपलब्ध तथ्यांकअनुसार सबैभन्दा बढी खराब कर्जा नारायणी डेभलपमेन्ट बैंकको ४८.५१ प्रतिशत रहेको छ । त्यस्तै, सबैभन्दा कम खराब कर्जा मितेरी डेभलपमेन्ट बैंकको ०.२६ प्रतिशत देखिएको छ । समग्रमा विकास बैंकहरूको औसत खराब कर्जा ५.३७ प्रतिशत रहेकाले अधिकांश बैंकमा कर्जा असुली तथा खराब कर्जा व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ ।

सङ्घीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपरान्ह १ बजे र राष्ट्रिय सभाको बैठक अपरान्ह १:१५ बजे बस्ने कार्यतालिका छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, अर्थमन्त्री वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, सभामुखले राष्ट्रिय सभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । त्यस्तै, प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । उक्त प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

नियुक्तिपत्र नबुझ्ने र कार्यालयमा हाजिर नहुने नार्कका कर्मचारीलाई १५ दिनको ताकेता

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले नियुक्तिपत्र बुझ्न नआएका तथा नियुक्तिपत्र बुझे पनि पदस्थापित कार्यालयमा हाजिर नभएका कर्मचारीलाई १५ दिनभित्र प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । परिषद्को कर्मचारी प्रशासन महाशाखाले सूचना जारी गर्दै गत साउन २० गते प्रकाशित नियुक्तिपत्र बुझ्न आउनेसम्बन्धी सूचनाबमोजिम हालसम्म नियुक्तिपत्र नबुझ्ने कर्मचारीलाई तोकिएको समयभित्र नियुक्तिपत्र बुझिलिन आग्रह गरेको हो । त्यस्तै, नियुक्तिपत्र बुझिसकेका तर पदस्थापित कार्यालयमा हाजिर नभएका कर्मचारीलाई सम्बन्धित कार्यालयमा नियमानुसार हाजिर हुन परिषद्ले निर्देशन दिएको छ । परिषद्का अनुसार वरिष्ठ प्राविधिक सहायक (टी-५), प्राविधिक सहायक (टी-४), वरिष्ठ प्रशासन सहायक (ए-५), लेखापाल (ए-५), प्रशासन सहायक (ए-४), कम्प्युटर सहायक (टी-५), ओभरसियर (टी-५), इलेक्ट्रिसियन (टी-५) र मेकानिक्स (टी-५) पदका कर्मचारीलाई यस्तो ताकेता गरिएको हो । नियुक्तिपत्र बुझिसकेका कर्मचारीले परिषद्को कर्मचारी प्रशासन विनियमावली, २०५२ को विनियम २७ बमोजिम पदस्थापित कार्यालयमा नियमानुसार हाजिर हुनुपर्ने सूचनामा उल्लेख छ । परिषद्ले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नियुक्तिपत्र नबुझ्ने तथा नियुक्तिपत्र बुझेर पनि पदस्थापित कार्यालयमा हाजिर नहुने कर्मचारीमाथि प्रचलित नियमावलीअनुसार आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ ।

पेन एजुकेशन एण्ड भिसा कन्सल्टेन्सीका सुशिल डोटेललाई १५ दिने अल्टिमेटम

काठमाडौं । काभ्रेका सुशिल डोटेललाई काठमाडौं महानगरपालिका-२८, पुतलीसडकस्थित घरबहालको रकम बुझाएर कोठा खाली गर्न १५ दिनको अल्टिमेटम दिइएको छ । घरधनी मधुसुधन प्रधानले सार्वजनिक सूचना जारी गर्दै डोटेललाई उक्त अवधिभित्र सम्पर्कमा आउन ताकेता गरेका हुन् । पुतलीसडकस्थित घरबहालमा लिएर ‘पेन एजुकेशन एण्ड भिसा कन्सल्टेन्सी’ सञ्चालन गर्दै आएका डोटेलले लामो समयदेखि घरबहाल रकम नबुझाएको र बहालमा लिएको कोठा बन्द गरी सम्पर्कविहीन भएको घरधनी प्रधानको दाबी छ । काठमाडौं महानगरपालिका-२८ स्थित कित्ता नं. ३००० को घरमा व्यवसाय सञ्चालन गर्दै आएका डोटेललाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घरधनीसँग सम्पर्कमा आई तिर्नुपर्ने सम्पूर्ण घरबहाल रकम बुझाउन भनिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए वा बाँकी घरबहाल रकम नबुझाए प्रचलित कानूनबमोजिम कोठाभित्र रहेका सामान घरधनीको जिम्मामा लगाई कोठा खाली गरिने सूचनामा उल्लेख छ । घरधनी प्रधानले डोटेललाई समयसीमाभित्र सम्पर्कमा आई बाँकी घरबहाल रकम बुझाउन तथा कोठा खाली गर्न आग्रह गरेका छन् ।

कालिञ्चोक दर्शनको ८.९४ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २३ गते बसेको बैठकले ८.९४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८२÷८३ को नाफाबाट हाल कायम चुक्ता पुँजी ६३ करोड रुपैयाँको ८.५ प्रतिशतका दरले ५ करोड ३५ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ०.४४ प्रतिशत नगद गरी कुल ८.९४ प्रतिशत अर्थात् ५ करोड ६३ लाख ६८ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्नेछन् ।  

मन्त्री गिता चौधरीलाई कालीमाटी व्यवसायीद्वारा साढे ८ लाख हस्तान्तरण

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कालीमाटी तरकारी फलफूल थोक बजार संयुक्त व्यवासायीले सो रकम सहयोग गरेका छन् ।  मन्त्री चौधरीलाई साढे ८ लाख ५४ हजार ३ सय सहयोग रकम उपलब्ध गराएका हुन् । रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले व्यवसायीले उक्त रकम उपलब्ध गराएका हुन् ।  रकम बुझ्दै मन्त्री चौधरीले विपद्को कठिन समयमा राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने कृषि व्यवसायीप्रति धन्यवाद व्यक्त गरिन् ।  उनले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको साथमा सरकार रहेको उल्लेख गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । यसअघि पनि उनीहरुले भोटेकोसी बाढीबाट प्रभावित परिवारहरूको राहतका लागि ९० बोरा आलु, ३० झोला इस्कुस, १० झोला काँक्रो र ८० झोला फर्सी सहयोग उपलब्ध गराएका छन् ।