बाढीले कार्यालय बगाएपछि त्रिशुलीमा नयाँ घर खोज्दै कृषि विकास बैंक

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नुवाकोटको त्रिशुली शाखाका लागि नयाँ कार्यालय भवन भाडामा लिने भएको छ । 

बैंकको त्रिशुली शाखा नुवाकोटको विदुर नगरपालिका–१, ढुंगे बजारमा सञ्चालन हुँदै आएको थियो । तर, भदौ १० गते आएको बाढीले कार्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि कार्यालय सञ्चालन गर्न नसक्ने अवस्था आएको बैंकले जनाएको छ ।

बैंकले व्यवसायिक तथा व्यापारिक क्षेत्रमा रहेको पक्की भवन वा फ्ल्याट कम्तीमा १० वर्ष वा सोभन्दा बढी अवधिका लागि भाडामा लिन लागेको हो । प्रस्तावित भवन नुवाकोटको विदुर नगरपालिका क्षेत्रअन्तर्गत विदुर वा बट्टार बजारको मुख्य बजार क्षेत्रमा हुनुपर्नेछ ।

बैंकका अनुसार भाडामा लिइने भवनको क्षेत्रफल २ हजार ५०० देखि ३ हजार वर्गफिटसम्म हुनुपर्नेछ । मूल सडकमा रहेको, एउटै तल्लामा भएको, पर्याप्त पार्किङ सुविधा तथा एटीएम राख्ने स्थान भएको भवनलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

त्यस्तै, भवन भूकम्प प्रतिरोधी आरसीसी फ्रेम स्ट्रक्चरमा निर्माण भएको तथा सम्बन्धित निकायबाट नक्सा पास गरी निर्माण सम्पन्न भएको हुनुपर्नेछ । भवनमा पानी, विद्युत्, टेलिफोन तथा इन्टरनेटको सुविधा उपलब्ध हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकले आवश्यकताअनुसार भवनको भित्री संरचनामा परिवर्तन गर्नुपर्ने भएमा घरधनीले त्यसका लागि मञ्जुरी दिनुपर्ने जनाएको छ । साथै, घरधनीले बैंकको मापदण्डअनुसार भल्ट रुम, एटीएम राख्ने स्थान, भुइँमा टायल वा मार्बल, शौचालयलगायत स्थिर संरचना निर्माण गरी दिनुपर्नेछ ।

बैंकले घर वा फ्ल्याट भाडामा दिन इच्छुक घरधनीबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको छ । घरधनीले आफूले लिन चाहेको मासिक घरभाडा रकम अंक र अक्षर दुवैमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । घरभाडा रकममा नियमानुसार कर कट्टी गरी बाँकी रकम प्रत्येक महिनाको अन्त्यमा घरधनीलाई भुक्तानी गरिने बैंकले जनाएको छ ।
 

Share News