विकासन्युज

अशान्त विश्वमा अन्तर्राष्ट्रिय सहयोग र बडापत्रको पालना अपरिहार्य : महासचिव गुटेर्रेस

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले वर्तमानको अशान्त विश्वमा अन्तर्राष्ट्रिय सहयोग र ऐक्यवद्धता नै एकमात्र यथार्थपरक मार्ग भएको बताएका छन् । संयुक्त राष्ट्र संघको बडापत्र दिवस (यूएन चार्टर डे) का अवसरमा आयोजित महासभाको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेर्रेसले विश्वव्यापी चुनौतीहरूको सामना गर्न सहकार्यको महत्त्वमा जोड दिएका हुन् ।  महासचिव गुटेर्रेसले साझा खतराहरूले घेरिएको वर्तमान विश्वमा सहकार्य गर्नु निर्दोषिता नभई स्पष्ट वास्तविकता भएको उल्लेख गरे । कतिपयले वर्तमानको उथलपुथलबाट बच्न सीमाहरूभित्र खुम्चने वा एक्लै सङ्कटको सामना गर्न सकिन्छ भन्ने भ्रम पालेको उल्लेख गर्दै महासचिवले त्यस्तो सोच गलत रहेको स्पष्ट पारे । महासचिव गुटेर्रेसले राष्ट्र संघको बडापत्रका सिद्धान्तहरू ऐच्छिक वा सम्झौतायोग्य नहुने स्पष्ट पारे । उनले बडापत्रलाई आ ला कार्ट मेनु (इच्छाअनुसार छान्न मिल्ने सूची) सँग तुलना गर्दै यसका आधारभूत सिद्धान्तहरूको पालना सबैले अनिवार्य रूपमा गर्नुपर्ने बताए । जब यी आधारहरू कमजोर हुन्छन्, तब प्रत्येक राष्ट्रको सुरक्षा जोखिममा पर्ने उनको तर्क थियो । उनले अन्तर्राष्ट्रिय मानवीय कानुन लगायत बडापत्रका उद्देश्य र सिद्धान्तहरूको सम्मान गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे ।  सम्बोधनका क्रममा उनले वर्तमान वास्तविकतालाई प्रतिबिम्बित गर्न संयुक्त राष्ट्र संघमा सुधारको आवश्यकता रहेको औंल्याए । तर त्यस्तो सुधारले संस्थालाई कमजोर बनाउने नभई थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए । कूटनीति र क्षेत्रीय ऐक्यवद्धतालाई बलियो बनाउँदै दिगो विकासका कार्यहरूलाई तिब्रता दिनुपर्ने आवश्यकतामा महासचिवको जोड थियो । उनले शान्ति, मानवीय मर्यादा र अवसरहरू एकअर्काका पूरक भएको बताए ।  अन्तमा, महासचिव गुटेर्रेसले बहुपक्षीयतामार्फत नै जनताका लागि ठोस नतिजा निकाल्न सकिने र आपसी विश्वास पुनस्र्थापना गर्न सकिने विश्वास व्यक्त गरे । विपद्को समयमा जन्मिएको राष्ट्र संघको बडापत्रलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै न्यायपूर्ण र शान्तिपूर्ण विश्व निर्माणका लागि हामी जनता भएर लाग्नुपर्ने उनले आह्वान गरे ।   

८ विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया सुरु, आजदेखि अन्तर्वार्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि प्रारम्भ भएको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत पूर्वनिर्धारित कार्यतालिका अनुरूप तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो । उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्वको चयन गर्ने उद्देश्यले सञ्चालित यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ । यस प्रक्रियाको विस्तृत कार्यतालिका मन्त्रालयका आधिकारिक माध्यममार्फत सार्वजनिक गरिसकिएको छ । छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता, वस्तुनिष्ठता तथा संस्थागत विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषयक्षेत्रका प्रबुद्ध विज्ञहरू तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ । साथै, मूल्याङ्कन प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन प्रत्येक विश्वविद्यालयका लागि पृथक विज्ञहरूको प्यानलको व्यवस्था गरिएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार बाँकी पाँच विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम क्रमशः भोलि र पर्सि सञ्चालन हुनेछ। यससँगै ८ वटै विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियाले निर्धारित समयसीमाभित्र पूर्णता पाउनेछ, जसले नेपालको उच्च शिक्षा क्षेत्रमा सक्षम नेतृत्व चयन, संस्थागत सुशासन तथा शैक्षिक उत्कृष्टतालाई नयाँ उचाइतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम पहिलो पटक एकीकृत प्रक्रियामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।   सरकारले गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालयसहित ८ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो । छनोट तथा सिफारिस समितिको जेठ १३ गते बसेको बैठकले प्राप्त आवेदनहरूको प्रारम्भिक परीक्षण गरी योग्य आवेदकहरूको दरखास्त स्वीकृत गरेको थियो । आवेदन परेकाहरू अध्ययन अनुसन्धान गरेर सर्टलिस्टमा परेका उम्मेदावरको प्रस्तुतीकरण र अन्तर्वार्ता लिन सुरु गरिएको हो । विज्ञले दिएको अंकको आधारमा सिफारिस समितिले उपकुलपतिको नाम छनोट गरेर कुलपतिलाई सिफारिस गर्ने छ ।  प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपतिको नाम सिफारिस गर्न शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरेका थिए । उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर विज्ञले दिएको नम्बरको आधारमा सर्टलिस्ट तयार गरिएको मन्त्रालयले जनाएको छ ।

घरायसी विवादमा कुटपिट हुँदा छोराले गरे आमाको हत्या

काठमाडौं । भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका- ९ भातेढिकुर चोकस्थित छोराको कुटपिटबाट आमाको मृत्यु भएको । शुक्रबार साँझ करिब ७: ४५ बजे उदयपुरको कटारी नगरपालिका- ५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए । गम्भीर घाइते भएकी चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुदै पाटन अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले उनलाई राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । भक्तपुर प्रहरीका अनुसार घरायसी विवाद भई छोराद्वारा आमाको कुटपिट भएको थियो । छोराले मापसे सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  'चौधरीको परिवार सामान्य रुपमा बाहिर-बाहिर काम गरेर गुजारा गरिरहेको थियो,’ भक्तपुर प्रहरी परिसरका एक प्रहरी अधिकृतले विकासन्युजसँग भने ।  

साउदीको जागिर छाडेर गाईपालन, मासिक २ लाखभन्दा बढी कमाइ

पर्वत । रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका एक युवाले मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । पर्वतको जलजला गाउँपालिका-८ फर्सेका ४५ वर्षीय नारायण जिसीले स्वदेशमै बसेर मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका हुन् ।      विगत १३ वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका जिसीको गोठमा १२ वटा गाई र एउटा भैँसी  छ । उनले दैनिक रूपमा ७५ देखि ८० लिटर दूध उत्पादन गरी बजारमा बिक्री गर्दै आएको जानकारी दिए । 'गाईपालन सुरु गरेपछि आठ वर्ष साउदी अरब गएर काम गरेँ, तर आफ्नै घरमा जस्तो कमाई नभएपछि पुनः फर्केर व्यवसाय विस्तार गरेको हुँ', उनले भने ।      पछिल्लो पटक १५ लाख रुपैयाँ लगानी गरेर गाईपालनमार्फ दूध उत्पादन थालेका जिसीले यो व्यवसायबाट आफू सन्तुष्ट रहेको बताए । उनले दूध बिक्रीबाट वार्षिक २४ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको बताए ।  उनले दानापानी, घाँस, परालका लागि मासिक ६० हजार रुपैयाँ खर्च हुने गरेको बताउँदै खर्च कटाएर वार्षिक १७ लाखदेखि १८ लाख रुपैयाँसम्म बचत गर्ने गरेको जानकारी दिए । उनका अनुसार उत्पादित दूध बस्ती नजिकै रहेको सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको सङ्कलन केन्द्रमा बिक्री हुँदै आएको छ ।  सहकारीले प्रतिलिटर गुणस्तरका आधारमा न्यूनतम ९६ देखि ११० रुपैयाँसम्म रकम किसानलाई भुक्तानी दिने गरेको जिसीले उल्लेख गरे । घरबाटै बिक्री गरी पर्याप्त मूल्यसमेत पाउने भएकाले व्यवसायमा सोचेभन्दा बढी सफलता पाएको उनको भनाइ छ । 'नजिकैको सहकारीमा बिक्री हुने भएकाले बजारीकरणको समस्या पनि छैन, गुणस्तरका आधारमा मूल्य निर्धारण हुने भएकाले ढुक्क छु', उनले भने । जिसीले एकीकृत विकास कार्यालय र गाउँपालिकाको कार्यालय दुवै स्थानमा फार्म दर्ता गरेर सञ्चालन गर्दै आएको जानकारी दिए । गाईवस्तुका लागि दानापानी आफैँ तयार गर्ने, घाँसपराल आफ्नै खेतबारीमा उत्पादन गर्ने भएकाले नियमित खर्चसमेत कम हुने उनको अनुभव छ ।      जिसीले आफ्नो फार्ममा परिवारका सदस्यले मात्र काम गर्दै आएका बताए । आफू, श्रीमती, छोराछोरीले नियमित रेखदेख गर्ने गरेको बताउँदै उनले हालसम्म बाहिरी कामदार राख्नु नपरेको उल्लेख गरे ।       भनेजस्तो कमाई भएपछि जिसी हौसिएका छन् । उनले यो व्यवसायलाई विस्तार गर्ने योजनासमेत बनाएका छन् । अब गोठ तथा अन्य संरचना विस्तार गरी गाईभैँसीको सङ्ख्या २० पुर्याउने योजना रहेको उनले बताए । जिसीले पालिका र जिल्लामा रहेको भेटेरीनरी अस्पतालले प्राविधिक सहयोग गर्दै आएको जानकारी दिए । यसबाहेक दूध ढुवानीमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान पाउने भएपछि किसानलाई थप सहज भएको छ । आफूहरूलाई राज्यलेसमेत प्रोत्साहन गरेकाले यसतर्फ आकर्षण बढेको सञ्चालक जिसीले बताए । उनले आफूजस्तै विदेशमा गएर भौतारिने युवायुवतीलाई स्वदेशमै कृषि तथा पशुपालन गर्न सुझाव दिए ।      पर्याप्त मात्रामा उत्पादन गर्ने हो भने बजारको अभाव नहुने बताउँदै जिसीले खाडी मुलुकमा पसिना बगाउनुभन्दा आधा कम कमाई भए पनि स्वदेशमै रमाउन आनन्द हुने अनुभव सुनाए । फर्से गाउँमा जिसी मात्र नभई अन्य ३५ जना युवाले व्यवसायी गाईभैँसी पालन फार्म सञ्चालन गर्दै आएका छन् ।      यहाँको एउटै गाउँबाट दैनिक ८०० लिटर दूध उत्पादन हुने गरेको जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख सुरेशकुमार श्रेष्ठले किसानलाई प्रोत्साहनका लागि प्रतिलिटर दूध ढुवानीमा पाँच रुपैयाँका दरले अनुदान दिँदै आएको बताए । यसबाहेक भकारो सुधार, गाईभैँसीलाई बस्ने म्याट खरिद, दूध सङ्कलनका लागि क्यानलगायत सामग्रीसमेत कार्यालयले सहयोग गर्दै आएको उनले बताए । रासस 

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नी किमलाई भ्रष्टाचारको अभियोगमा ७ वर्षको जेल सजाय

काठमाडौं । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केन हीलाई भ्रष्टाचार र पदको दुरुपयोग गरेको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको छ । सोल केन्द्रिय जिल्ला अदालतले शुक्रबार उक्त फैसला सुनाउँदै किमले सर्वसाधारणका लागि अप्राप्य विलासी वस्तुहरू पदीय प्रभावको आधारमा निःसंकोच ग्रहण गरेको उल्लेख गरेको छ ।  पूर्वराष्ट्रपतिको परिवार संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि गठित स्वतन्त्र काउन्सिल मिन जुङ–कीको टोलीले सरकारी पदहरूको किनबेच गरी महँगा गहना र विलासी सामग्री लिएको भन्दै किमका लागि साढे सात वर्षको जेल सजाय माग गरेको थियो । अदालतको फैसलाअनुसार किमले सन् २०२२ को मार्चदेखि मे महिनाको बीचमा एक व्यवसायीका ज्वाइँलाई सरकारी पदमा नियुक्ति दिलाएबापत घाँटीको हार, ब्रोच र टप (कानमा लगाउने गहना) उपहार स्वरूप लिएकी थिइन् ।  यसैगरी, सन् २०२२ को अप्रिलमा राष्ट्रिय शिक्षा आयोगका पूर्वप्रमुखबाट नियुक्ति प्रक्रियामा सहयोग गर्ने सर्तमा सुनको कछुवा र सोही वर्षको सेप्टेम्बरमा एक रोबोट डग व्यवसायीबाट व्यावसायिक लाभ दिलाएबापत घडी लिएको अभियोग उनीमाथि पुष्टि भएको छ । अन्य अभियोगहरूमा सन् २०२२ को जुन र सेप्टेम्बरको बीचमा एक पादरीबाट डिजाइनर ब्याग र सन् २०२३ को फेब्रुअरीमा एक पूर्वसरकारी वकिलबाट राजनीतिक मनोनयनका लागि चित्रकला (पेन्टिङ) लिएको विषयहरू समावेश छन् ।  सन् २०२५ को अगस्टमा हिरासतमा लिइएकी किम दक्षिण कोरियाको इतिहासमा हिरासतमा राखेर मुद्दा चलाइएकी पहिलो पूर्वप्रथम महिला हुन् । यसअघि गत अप्रिलमा सोल उच्च अदालतले तल्लो अदालतको २० महिनाको जेल सजायलाई उल्ट्याउँदै सेयर मूल्य हेरफेर र भ्रष्टाचारको मुद्दामा उनको सजाय चार वर्ष पु¥याएको थियो ।  यसबाहेक, सन् २०२३ को पार्टी महाधिवेशनका क्रममा एक विशिष्ट उम्मेदवारलाई जिताउन युनिफिकेसन चर्चका सदस्यहरूलाई सत्तारुढ पिपुल्स पावर पार्टीमा आवद्ध गराउन दबाब दिएको अभियोगमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ । किमको प्रतिरक्षा टोलीले जिल्ला अदालतको पछिल्लो फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ ।   

अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना

काठमाडौं । चोरले संयुक्त राज्य अमेरिका पुर्याएको १३औँ शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति स्थानीय न्हुच्छेवहालमा विधिपूर्वक पुनःस्थापना गरिएको छ । काठमाडौं महानगरपालिका, पुरातत्व विभाग तथा सम्पदा अभियन्तालगायतको समन्वयमा हालै त्यहाँ उक्त मूर्ति पुनःस्थापना गरिएको हो । पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार चोरी भएको उक्त मूर्ति अमेरिकामा फेला परेपछि पुरातत्व विभागले अमेरिकास्थित तिब्बत हाउस कलेक्सनसँग समन्वय गरी नेपाल फिर्ता ल्याएको हो । अमेरिकाको एक सङ्ग्रहालयमा रहेको मूर्ति सरकार, विभिन्न संस्था, विद्वान् तथा स्वदेशी–विदेशी सम्पदा अभियन्ताको सहकार्यमा नेपाल ल्याइएको थियो । शान्त र सौम्य भाव झल्किने उक्त मूर्ति १३औँ शताब्दीमा निर्माण भएको मानिन्छ । पुरातात्त्विक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यस सम्पदाले तत्कालीन कला, संस्कृति र मूर्तिकलाको उत्कृष्ट नमूना मानिन्छ । अन्तरराष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सांस्कृतिक सम्पदा अन्य देशमा पुगेको अवस्थामा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मुलुकमै फिर्ता गर्नुपर्ने व्यवस्था रहेकाले सोही प्रक्रियाअनुसार उक्त सम्पदा नेपाल ल्याइएको अधिकृत सुवेदीले बताए । नेपालबाट चोरी भएका मूर्ति, कलावस्तु तथा अन्य सांस्कृतिक सम्पदा कुनै पनि मुलुकमा रहेको सूचना प्राप्त भएपछि पुरातत्व विभागले कूटनीतिक माध्यमबाट तिनलाई फिर्ता ल्याउने प्रक्रिया अघि बढाउने गरेको छ । विभिन्न देशका सङ्ग्रहालय, लिलामी घर वा निजी सङ्ग्रहमा रहेका नेपाली सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ । सम्बन्धित देशमा नेपाली समुदाय तथा सम्पदा संरक्षणमा क्रियाशील सङ्घसंस्थाले पनि यसमा निरन्तर सहयोग गर्दै आएका जानकारी उनले दिए । काठमाडौं उपत्यकामा मध्यकालीन समयमा निर्माण भएका काष्ठकला, मूर्तिकला, प्रस्तरकला तथा वास्तुकलाका उत्कृष्ट नमूना विभिन्न मठमन्दिरमा सुरक्षित छन् । यस्ता सम्पदाले तत्कालीन समाजको कला, संस्कृति तथा निर्माण शैलीको अध्ययनमा महत्वपूर्ण आधार प्रदान गर्दै आएका छन् । रासस

तुलसी सहकारीका १५८ जनाले पाए बचत फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

गिद्ध संरक्षणको नमुना बन्दै अर्घाखाँची, दुर्लभ प्रजातिको सफल प्रजनन

काठमाडौं । अर्घाखाँची जिल्ला दुर्लभ तथा संकटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् । हालसम्म ३३ वटा बचेरा गुँडबाट उड्न सफल भएका गिद्धविज्ञ कृष्ण भुसालले जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुँडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका हुन् । छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अतिसंकटापन्न डंगर गिद्धले सल्लाका रुखमा २३ वटा गुँड बनाएको थियो । तीमध्ये १५ वटा गुँडबाट सफलतापूर्वक बचेरा उडेकाे उनले जानकारी दिए । मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले २२ वटा र हाडफोर गिद्धले तीन वटा गुँड बनाएका थिए । तीमध्ये हिमाली गिद्धका १६ वटा र हाडफोर गिद्धका दुई वटा गुँडबाट बचेरा सफलतापूर्वक उड्न सफल भएका छन् । भुसालका अनुसार यी गिद्धहरूले वर्षमा एकपटक मात्र एउटा अण्डा पार्ने गर्छन् । सामान्यतया असोज–कात्तिकदेखि सुरु हुने प्रजनन चक्र वैशाख-जेठसम्म चल्ने भएकाले एउटा बचेरा हुर्काउन लामो समय लाग्ने गर्दछ । यता विश्वमै दुर्लभ तथा संकटापन्न सेतो गिद्धले पनि सन्धिखर्क, भूमिकास्थान, मालारानी र शीतगंगा नगरपालिकाका विभिन्न छ स्थानमा गुँड बनाएर यतिबेला बचेरा हुर्काइरहेको छ । अन्य गिद्धहरूको तुलनामा यस प्रजातिको प्रजनन केही ढिलो सुरु हुने भएकाले अहिले पनि बचेरा हुर्काइरहेका भुसालले बताए । अर्घाखाँचीमा पछिल्ला वर्षमा लगातार सफल प्रजनन हुनु, उपयुक्त बासस्थानको संरक्षण, पर्याप्त खाद्य उपलब्धता तथा स्थानीय समुदायको संरक्षणप्रतिको सचेतनाले गिद्धहरूको संख्या र प्रजनन सफलता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताए । विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्धहरूको संरक्षणका लागि अर्घाखाँची अहिले महत्त्वपूर्ण जिल्लाका रूपमा चिनिन थालेको छ । यस वर्ष चार प्रजातिका गिद्धको सफल प्रजनन र ३३ वटा बचेरा उड्न सफल हुनु जिल्लाको जैविक विविधता संरक्षणका दृष्टिले उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको सूचना अधिकारी खड्काले बताए ।  रासस