विकासन्युज

सरकार राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोज्दैछ: पूर्वअर्थमन्त्री डा. खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा. युवराज खतिवडाले वर्तमान सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्तता कमजोर बनाउने गरी कानुनी तथा संस्थागत व्यवस्था परिवर्तन गर्न खोजेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै  खतिवडाले गभर्नरको कार्यकाल घटाउने वा कार्यकारी नेतृत्वलाई अनिश्चित बनाउने गरी कानुन बनाउन खोजिएको दाबी गरे । यस्तो व्यवस्थाले दीर्घकालीन मौद्रिक तथा वित्तीय नीति कार्यान्वयनमा अस्थिरता निम्त्याउने उनको भनाइ छ । नियामक निकायलाई कमजोर बनाउन नहुनेमा जोड दिँदै उनले गभर्नरको पाँच वर्षे कार्यकाल विश्वव्यापी अभ्यास र केन्द्रीय बैंकको संस्थागत स्वायत्ततासँग जोडिएको बताए । राष्ट्र बैंकलाई कानुनले दिएको कार्यात्मक स्वायत्तता व्यवहारमै कायम राख्नुपर्ने उनको भनाइ छ । खतिवडाले राष्ट्र बैंकमाथि सरकार मात्रै नभई अन्य नियामक निकायबाट समेत हस्तक्षेपको प्रयास हुने गरेको बताए । आफू गभर्नर हुँदा पनि अन्य नियामक निकायले राष्ट्र बैंकको क्षेत्राधिकारमा हस्तक्षेप गर्न खोजेको उल्लेख गर्दै उनले बैंकिङ प्रणालीसँग सम्बन्धित संवेदनशील सूचना अन्य निकायलाई उपलब्ध गराउने विषयमा राष्ट्र बैंक कठोर हुनुपर्ने बताए । ‘अहिले राष्ट्र बैंकलाई स्वायत्त निकायबाट सरकारको सहयोगी बनाउन खोजिएको छ, गभर्नरको कार्यकालै घटाउन थाल्नुभयो । पाँच वर्षको गभर्नरको कार्यकाल यसै राखिएको होइन । यो विश्वव्यापी अनुभव र प्रचलन हो,’ उनले भने । राष्ट्र बैंक, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, अर्थ मन्त्रालय तथा अन्य नियामक निकायबीच क्षेत्राधिकारका विषयमा समस्या देखिने गरेको भन्दै खतिवडाले संवादबाट त्यसको समाधान खोज्नुपर्ने बताए । नियामक निकायबाट हुने अनावश्यक सक्रियताले संस्थागत स्वायत्तता कमजोर पार्न सक्ने उनको भनाइ छ । बैंकिङ प्रणाली बलियो र सुदृढ रहे पनि कर्जा विस्तार हुन नसकेको खतिवडाले बताए । बैंकिङ क्षेत्रमा करिब १४-१५ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको भनिए पनि तत्काल परिचालन गर्न सकिने रकम ५-७ खर्ब रुपैयाँ मात्रै रहेको उनको भनाइ छ । विगतमा बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्दा वित्तीय प्रणालीमा ठूलो मात्रामा पुँजी थुप्रिएको र नाफाको खोजीमा बैंक तथा व्यवसायिक क्षेत्रमा अत्यधिक ऋण विस्तार भएको उनले बताए । घरजग्गाको मूल्यमा थप वृद्धि हुन नसक्दा धितोमा आधारित कर्जा विस्तारमा समेत सीमा आएको उनको भनाइ थियो । अब परियोजनामा आधारित कर्जा प्रवाहका लागि कानुनी व्यवस्था आवश्यक रहेको खतिवडाले बताए । धितोबिनाको परियोजनामा कर्जा दिँदा नियामक तथा अनुसन्धान निकायबाट प्रश्न उठ्न सक्ने जोखिमका कारण बैंकहरू परियोजनामा आधारित कर्जा विस्तार गर्न हिचकिचाइरहेको उनले बताए । ‘अहिले बैंकिङ क्षेत्रमा १४-१५ खर्ब जति भने पनि लगानीयोग्य पैसा ५-६ खर्ब होला । कसैलाई पुँजीले, कसैलाई जोखिमले, कसैलाई धितो लिन नसक्ने अवस्थाले र कतिलाई कार्यशील पुँजीसम्बन्धी व्यवस्थाले रोकेको होला,’ उनले भने । राष्ट्र बैंकले मात्रै बैंक तथा वित्तीय प्रणालीमा देखिएको समस्याको समाधान गर्न नसक्ने खतिवडाले बताए । राष्ट्र बैंकले तत्कालीन व्यवस्थापनका लागि केही काम गरे पनि त्यसले दीर्घकालीन समाधान नदिने उनको भनाइ थियो । अर्थतन्त्रमा देखिएको मूल समस्या समाधान नगरेसम्म बैंकिङ तथा वित्तीय प्रणालीको समस्या समाधान नहुने भन्दै उनले निजी क्षेत्रले वर्तमान सरकारलाई विश्वास गर्न नसकेको बताए । सरकारले लगानीको वातावरण नबनाएसम्म कर्जाको माग नबढ्ने र व्यवसायीहरू त्रसित रहने उनको भनाइ थियो । खतिवडाले अर्थतन्त्र चलायमान बनाउन सरकारले बजेट खर्च गर्ने क्षमता सुधार गर्नुपर्ने बताए । सरकारले बजेटको पूर्ण उपयोग गर्न नसकेको र पछिल्लो समय राजस्व संकलनमा समेत संकुचन आएको उनले बताए । राजस्व वृद्धि गर्न सरकारले व्यवसायिक वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो । गत वर्षको जेन–जी आन्दोलनले निजी क्षेत्रको व्यवसायिक वातावरण र लगानीकर्ताको विश्वासमा समेत असर पारेको खतिवडाले बताए । ठूला परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न ब्याजदर मात्रै पर्याप्त नहुने उनको भनाइ थियो । पुँजी बजारले मात्रै अर्थतन्त्रलाई चलायमान बनाउन नसक्ने भन्दै उनले कर्पोरेट क्षेत्रको वित्तीय तथा व्यावसायिक अवस्था सुधार नभएसम्म वास्तविक अर्थतन्त्रको विस्तार हुन नसक्ने बताए ।

काठमाडौंमा एक महिनामै हराए ३०१ मानिसहरू

काठमाडौं । काठमाडौंमा एक महिनामा ३ सय १ जना मानिस हराएका छन । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार भदौँमा ३ सय १ मानिस हराएका हुन् । ८६ महिला, ७७ पुरुष,  ५८ बालक र ८० बालिका हराएका हुन् । त्यसैगरी, प्रहरीका अनुसार २ सय ४६ जना मानिस फेला परेका छन् ।  ७१ महिला, ५७ पुरुष, ५० बालक र ६८ बालिका फेला परेको प्रहरी परिसरले जनाएको छ । यस्तै विभिन्न खालका अपराधमा संलग्न भएको आशंका प्रहरीले भदौँमा मात्र २ हजार ६७२ जनालाई पक्राउ गरेको हो । जसमध्ये २ हजार २६९ पुरुष पक्राउ परेका छन् । विभिन्न समयमा अपराध गरेको वा फरार रहेका आरोपीसहित ४ सय ३ महिलालाई पक्राउ गरेको हो ।

रसुवा बाढीः १४११ को शव फेला, ३२ सय ७७ को डिएनए परीक्षण

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण  हालसम्म १ हजार ४ सय ११ जनाको शव फेला परेको छ । रसुवामा १ सय ९९ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ९ जनाको शव फेला परेको हो ।  त्यसैगरी, २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ९२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९१ गरी कुल ३ हजार २ सय ७७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय ६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।  बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ९० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ४ सय ८६ जना व्यक्तिहरूलाई राखिएको छ ।

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिवद्ध छः प्रधानमन्त्री साह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले संविधानको अक्षर र भावनाप्रति वर्तमान सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शनिबार टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले संविधानले विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य तथा विकास, समृद्धि र सामाजिक न्यायका आधारमा समतामूलक समाज निर्माणको वाचा गरेको बताए । उनले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्यलाई राष्ट्रिय जीवनको आधारका रूपमा संविधानले स्थापित गरेको बताए । संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र निरन्तर क्रियाशील नभए संविधान कागजमा मात्र सीमित हुने उनको भनाइ छ। प्रधानमन्त्री साहले भने, ‘यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ । विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य यी हाम्रा लागि सर्तहरू होइनन्, यी हाम्रा राष्ट्रिय जीवनका आधार हुन् । यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ ।’ उनले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने हातहरू अब अझ बलिया र धेरै रहेको बताए । विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको भन्दै उनले सरकारले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनयन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्तिको प्रक्रिया अवलम्बन गरेको बताए । ‘सुशासन नारा होइन, काम हो र हामी काम गरिरहेका छौँ,’ प्रधानमन्त्री साहले भने । संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । सरकारले पुरानै बाटो नअपनाउने पनि उनको भनाइ छ । प्रधानमन्त्री साहले कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगसँगै अघि बढाउँदै नवप्रवर्तन र नयाँ व्यवसायलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण भइरहेको बताए । डिजिटल सुशासनको प्रारूपअनुसार राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण त्यसको आधार रहेको उनले बताए । युवाले सडकमा मागेको सुशासन प्रविधिमार्फत पनि सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै उनले विपद् व्यवस्थापनलाई पनि सरकारको प्राथमिकतामा राखिएको बताए । रसुवा र भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री साहले उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघ–संस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी तथा नागरिकप्रति आभार व्यक्त गरे । नेपाल उच्च विपद् जोखिममा रहेका मुलुकमध्ये रहेको भन्दै उनले विपद् आइसकेपछि मात्र नभई आउनुअघि नै जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा विशेष जोड दिने बताए । विपद्को पूर्वसूचना प्रणालीलाई सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने उनको भनाइ थियो । प्रधानमन्त्री साहले संविधान जारी भएको दिन हरेक वर्ष आउने भए पनि संविधान पूर्णरूपमा कार्यान्वयन हुने दिन आफैंले ल्याउनुपर्ने बताए । इमानदार निर्णय, पारदर्शी नियुक्ति र प्रभावकारी सेवामार्फत नागरिकको घरदैलोमा पुग्न सकिने उनको विश्वास छ । ‘जनताले सुशासन मागेका छन्, विकास मागेका छन्, समृद्धि र सामाजिक न्याय मागेका छन् । यो सरकारको हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित छ र रहनेछ,’ उनले भने। उनले संविधानप्रतिको निष्ठा र यसको पालनामा सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै भने, ‘शहीदहरूको रगतले लेखेको संविधान हामी कामले पूरा गर्नेछौँ ।’

जेनजी आन्दोलनमा गोली नचलाउनु र दमन नगर्नु भनेको हुँ: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आफूले दमन नगर्न र गोली नचलाउन निर्देशन दिए पनि गोली चलाइएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै ओलीले भदौ २३ गते नवयुवासहितका युवाको हत्या योजनाबद्ध र षड्यन्त्रपूर्ण ढंगले गराइएको दाबी गरे । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रूपमा लुटपाट, हिंसा, आतंक र अराजकता फैलाइएको उनको भनाइ छ । ओलीले आन्दोलनका क्रममा गोली चलाउने विषयमा आफूले दमन नगर्न निर्देशन दिएको भन्दै गोली कसरी चल्यो भन्ने विषय षड्यन्त्रपूर्ण रहेको बताए । उनले घटनाबारे विभिन्न अन्तर्राष्ट्रिय खोज, अध्ययन तथा अनुसन्धानका प्रतिवेदन, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्रीले समेत विभिन्न पक्ष उजागर गरेको दाबी गरे । उनले भने, ‘गत वर्ष एउटा नरहत्याको योजना रचना गरियो । त्यस योजना अन्तर्गत २३ गते अनावश्यक ढंगले नवयुवाहरू र अरू युवाको हत्याको काण्ड घटाउने काम भयो योजनाबद्ध ढंगले, षड्यन्त्रपूर्ण ढंगले । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रूपमा लुटपाट, हिंसा, आतंक, अराजकता फैलाउनु थियो, त्यो फैलाइयो ।’ ओलीले भदौको हिंसा तथा तोडफोडलाई आधार बनाएर आफूहरूमाथि दोष थोपर्ने प्रयास भएको बताए । उनले आफूले गोली नचलाउन र दमन नगर्न भनेको भए पनि आन्दोलनका क्रममा गोली कसरी चल्यो भन्ने विषयमा छानबिन हुनुपर्ने बताए । त्यस्तै, उनले नेपाललाई अराजकतातर्फ धकेलेर असंवैधानिक सरकार स्थापना गर्ने र आफ्ना स्वार्थ पूरा गर्ने षड्यन्त्र भएको दाबी गरे । संविधान र लोकतान्त्रिक प्रक्रियाबाट अघि बढिरहेको मुलुकलाई सडकबाट केही हजार मानिस अगाडि सारेर ध्वस्त पार्ने प्रयास भएको उनको आरोप थियो । ओलीले देशलाई पुनः अन्धकार युग र अराजकतातर्फ फर्काउने प्रयास भइरहेको पनि बताए । उनका अनुसार मुलुकमा विधि, पद्धति र प्रक्रियाभन्दा बलजफ्तीका माध्यमबाट काम गर्ने प्रवृत्ति बढेको छ । उनले भने, ‘कतिपय पछाडि, ब्ल्याक होलतिर, अन्धकार युगतिर फर्काउने, अराजकतातिर फर्काउने प्रयासमा जुटिरहेका छन् । स्थिति होइन, विधि होइन, पद्धति होइन, प्रक्रिया होइन, बलजफ्तिका यस्ता तरिका अवलम्बन भइरहेका छन् ।’ ओलीले अराजक तरिकाले मुलुक र संवैधानिक निकाय तथा संस्थाहरू सञ्चालन गर्ने प्रयास भइरहेको आरोप लगाए । अराजकताले हिंसा, अकर्मण्यता, गैरजिम्मेवारी र दिशाहीनता निम्त्याउने भन्दै उनले लोकतान्त्रिक विधि, प्रक्रिया र प्रणालीबाट मुलुक सञ्चालन हुनुपर्ने बताए । गत भदौ २३ र २४ गतेको आन्दोलन संविधान र लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने उद्देश्यले आयोजना गरिएको ओलीको दाबी थियो । उनले उक्त घटनामा कसको संलग्नता थियो भन्ने विषय बिस्तारै खुल्दै गएको बताए । ओलीले विभिन्न शक्तिहरू नेपाललाई ‘कुबातो’तर्फ धकेल्न सक्रिय रहेको दाबी गर्दै गत निर्वाचनको मौन अवधिमा बीबीसीले नेपालमा गलत सूचना सम्प्रेषण गरेर मतदातालाई दिग्भ्रमित पार्न खोजेको आरोपसमेत लगाए । उनले स्थापित भनिएका कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसमेत नेपालमा असत्य सूचना फैलाएर जनतालाई दिग्भ्रमित पार्न उद्यत भएको जिकिर गरे ।

शेष घलेको बाढी प्रभावित बालबालिकालाई पढाउन करिब ५८ करोड सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र पत्नी जमुना गुरुङले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि आर्थिक सहयोग गर्ने भएका छन्। उनीहरू दम्पत्ती मिलेर १८ वर्षमुनिका बालबालिकालाई १२ कक्षा सम्मको अध्ययनका लागि सहयोग गर्ने भएका हुन्। राष्ट्रिय बाल अधिकार परिषद् (एनसीआरसी) सँग भएको समझदारीपत्र (एमओयू) अनुसार एमआईटी ग्रुप फाउन्डेसनले फाउन्डेसनले बाढी प्रभावित बालबालिकालाई ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गरेको हो। फाउन्डेसनका अनुसार सहयोगअन्तर्गत बालबालिकाको अवस्था र आवश्यकताका आधारमा शिक्षा, खाना, आवास, कपडा, स्वास्थ्य उपचारलगायत अन्य अत्यावश्यक आवश्यकता पूरा गर्न सहयोग गरिनेछ। शेष घलेले सामाजिक सञ्जालमा लेख्दै बाढीको पानी घटेपछि पनि प्रभावित बालबालिकाको जीवनमा त्यसको असर लामो समयसम्म रहने बताएका छन् । फाउन्डेसनले उनीहरूको भविष्यमा सहयोग पुर्‍याउने उद्देश्यले दीर्घकालीन परियोजना अघि बढाएको उनले उल्लेख गरेका छन् । 'बाढीको पानी घटे पनि यसको असर लामो समयसम्म रहन्छ । जुन कुनै पनि बालबालिकाले भोग्न नपरोस्। यी बालबालिका र उनीहरूका परिवारले भोग्नुपरेको पीडाले मेरी श्रीमती र मलाई निकै भावुक बनाएको छ,’ उनले लेखेका छन्,' यस्तो कठिन समयमा मात्र नभई आगामी वर्षहरूमा पनि उनीहरूलाई सहयोग गर्ने छौ । सहयोग गर्न पाएकामा हामी आफूलाई भाग्यमानी ठान्छौँ। आफ्नो शिक्षालाई निरन्तरता दिन सकून्, आवश्यक आधारभूत आवश्यकता पूरा गरुन र भविष्यमा राम्रो भएर अघि बढुन भन्ने हाम्रो चाहना हो।' फाउन्डेसनले बालबालिकाले आफ्नो शिक्षा निरन्तरता दिन सकून्, आधारभूत आवश्यकता पूरा गर्न सकून् र भविष्यप्रति आशावादी भएर अघि बढ्न सकून् भन्ने उद्देश्यले सहयोग गर्न लागिएको जनाएको छ। यो सहयोग केवल आर्थिक सहायता नभई बालबालिका हुर्कँदै जाँदा निरन्तर साथ दिने दीर्घकालीन प्रतिबद्धता भएको उल्लेख गरिएको छ। बाढीका कारण बालबालिकाले भोगेको कठिनाइले उनीहरूको भविष्यका अवसरलाई प्रभावित गर्न नदिने उद्देश्यले सहयोगलाई कक्षा १२ सम्म निरन्तरता दिन लागिएको फाउन्डेसनले जनाएको छ।

छाया देवी कम्प्लेक्सको आम्दानी ८९.२० करोड, बैंकमा ऋण १.८५ अर्ब रुपैयाँ

काठमाडौं । छाया देवी कम्प्लेक्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ८९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.४८ प्रतिशत अर्थात् ३ करोड रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ८६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको मुख्य आम्दानीको स्रोत होटल सञ्चालन हो । यसबाहेक क्यासिनो तथा भाडालगायतका स्रोतबाट पनि आम्दानी गर्दै आएको छ । गत आर्थिक वर्षमा होटल सञ्चालनबाट भएको आम्दानी अघिल्लो वर्षको तुलनामा करिब ७ प्रतिशतले बढेर ८० करोड १० लाख रुपैयाँ पुगेको छ । औसत कोठा दरमा भएको वृद्धि तथा करिब ७२ प्रतिशतको कोठा उपयोग दर कायम गर्न सफल भएकाले होटल आम्दानी बढेको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ८५ करोड ७० लाख रुपैयाँ, आव २०७९/८० मा ८३ करोड ७० लाख रुपैयाँ, आव २०७८/७९ मा ८४ करोड ६० लाख रुपैयाँ र आव २०७७/७८ मा १ अर्ब ८७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । १६७ कोठा क्षमताको पाँचतारे होटलसहित व्यावसायिक खुद्रा मल सञ्चालन गर्दै आएको छाया देवी कम्प्लेक्स सन् २००८ को जनवरीमा स्थापना भएको हो । कम्पनीले आफ्नो कुल क्षेत्रफलमध्ये ५१ प्रतिशत होटल सञ्चालनका लागि र बाँकी क्षेत्र व्यावसायिक कम्प्लेक्सका लागि छुट्याएको छ । व्यावसायिक कम्प्लेक्सले सन् २०१८ अक्टोबरदेखि व्यावसायिक सञ्चालन सुरु गरेको थियो । त्यसको करिब ९ महिनापछि सन् २०१९ जुलाईदेखि होटल सञ्चालनमा आएको हो । छाया देवी कम्प्लेक्सको सञ्चालक समितिको अध्यक्षता पृथ्वीबहादुर पाण्डेले गर्दै आएका छन् । बैंकिङ क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव भएका पाण्डे हाल नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षका रूपमा कार्यरत छन् । कम्पनीका प्रबन्ध निर्देशक महेश्वरप्रकाश श्रेष्ठ हिमालयन इन्फ्रास्ट्रक्चर फन्डका सञ्चालकसमेत हुन् । उनीसँग वित्त तथा बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ । छाया देवी कम्प्लेक्सले स्टारवुड एसिया प्यासिफिक होटल्स एन्ड रिसोट्र्स प्राइभेट लिमिटेडसँग इजाजतपत्र सम्झौता गरेको छ । उक्त कम्पनी म्यारियट इन्टरनेसनलको स्वामित्वमा रहेको छ । सम्झौताअनुसार छाया देवी कम्प्लेक्सले आफ्नो होटल ‘एलफ्ट’ ब्रान्डअन्तर्गत सञ्चालन गर्ने अधिकार पाएको छ । साथै, कम्पनीले स्टारवुडको विश्वव्यापी होटल आरक्षण प्रणालीमा पहुँच तथा मताधिकार प्राप्त होटललाई उपलब्ध गराइने विभिन्न सेवाको सुविधा प्राप्त गर्नेछ । विश्वव्यापी रूपमा स्थापित होटल ब्रान्डसँगको आबद्धताले कम्पनीलाई स्थापित सेवा प्रणाली, ठूलो ग्राहक आधार, बजारीकरण सहयोग तथा परिचित ब्रान्डको लाभ प्राप्त हुने अपेक्षा गरिएको छ । यसले होटलमा पाहुना बुकिङ बढाउन तथा आम्दानी विस्तारमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ । कम्पनीअन्तर्गतको होटल काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा अवस्थित छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६.२ किलोमिटर दूरीमा रहेको होटल काठमाडौंका प्रमुख पर्यटकीय तथा सांस्कृतिक स्थलको समेत पहुँचमा छ । काठमाडौं अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपालको प्रमुख प्रवेशद्वार हुनुका साथै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले होटलले पर्यटकको निरन्तर आवागमनबाट लाभ लिन सक्ने देखिन्छ । काठमाडौंका सात विश्व सम्पदा क्षेत्र, तीन दरबार क्षेत्र तथा अन्य पर्यटकीय स्थलको निकटताले पनि होटलको व्यवसायमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, हिमाली दृश्यावलोकनका लागि प्रसिद्ध नगरकोट होटलबाट करिब २८ किलोमिटरको दूरीमा रहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १ अर्ब ८५ करोड रुपैयाँ ऋण लिएको छ । यसमध्ये १ अर्ब ८० करोड ७० लाख रुपैयाँ दीर्घकालीन र ४ करोड ३० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । कम्पनीको ऋणको ब्याजदर चलायमान ब्याजदर प्रणालीमा आधारित रहेकाले बैंक तथा वित्तीय संस्थाको आधारदरमा हुने परिवर्तनसँगै ब्याज खर्चमा समेत उतारचढाव आउन सक्छ । ब्याजदर बढेमा कम्पनीको नाफामा दबाब पर्न सक्ने जोखिम रहेको छ । छाया देवी कम्प्लेक्स लिमिटेड सन् २०२१ जुन २५ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि १४ लाख ३७ हजार ५०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । प्रस्तावित आईपीओबाट कम्पनीले सर्वसाधारणबाट ५७ करोड ५० लाख रुपैयाँ संकलन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटलले पाएको छ । 

नापजाँच सकिएको ९ वर्षपछि २४२ परिवारले पाए लालपुर्जा

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ (साविक रमदैया भवाडी गाविस-१, ५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीयले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन् । नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । उक्त क्षेत्रको नापजाँच २०७४ सालमै सम्पन्न भएको थियो । नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म लालपुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले २४२ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो । लालपुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ । जग्गा दर्ता भई लालपुर्जा प्राप्त भएपछि स्थानीयलाई जग्गाको कारोबार तथा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने अपेक्षा गरिएको छ । त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुने बताइएको छ । यसअघि धनुषाका ४ हजार ३५४ परिवारले लालपुर्जा प्राप्त गरिसकेका छन् ।