काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ (साविक रमदैया भवाडी गाविस-१, ५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीयले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन् । नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रको नापजाँच २०७४ सालमै सम्पन्न भएको थियो । नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म लालपुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले २४२ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
लालपुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ । जग्गा दर्ता भई लालपुर्जा प्राप्त भएपछि स्थानीयलाई जग्गाको कारोबार तथा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुने बताइएको छ । यसअघि धनुषाका ४ हजार ३५४ परिवारले लालपुर्जा प्राप्त गरिसकेका छन् ।