विकासन्युज

छाया देवी कम्प्लेक्सको आम्दानी ८९.२० करोड, बैंकमा ऋण १.८५ अर्ब रुपैयाँ

काठमाडौं । छाया देवी कम्प्लेक्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ८९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.४८ प्रतिशत अर्थात् ३ करोड रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ८६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको मुख्य आम्दानीको स्रोत होटल सञ्चालन हो । यसबाहेक क्यासिनो तथा भाडालगायतका स्रोतबाट पनि आम्दानी गर्दै आएको छ । गत आर्थिक वर्षमा होटल सञ्चालनबाट भएको आम्दानी अघिल्लो वर्षको तुलनामा करिब ७ प्रतिशतले बढेर ८० करोड १० लाख रुपैयाँ पुगेको छ । औसत कोठा दरमा भएको वृद्धि तथा करिब ७२ प्रतिशतको कोठा उपयोग दर कायम गर्न सफल भएकाले होटल आम्दानी बढेको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ८५ करोड ७० लाख रुपैयाँ, आव २०७९/८० मा ८३ करोड ७० लाख रुपैयाँ, आव २०७८/७९ मा ८४ करोड ६० लाख रुपैयाँ र आव २०७७/७८ मा १ अर्ब ८७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । १६७ कोठा क्षमताको पाँचतारे होटलसहित व्यावसायिक खुद्रा मल सञ्चालन गर्दै आएको छाया देवी कम्प्लेक्स सन् २००८ को जनवरीमा स्थापना भएको हो । कम्पनीले आफ्नो कुल क्षेत्रफलमध्ये ५१ प्रतिशत होटल सञ्चालनका लागि र बाँकी क्षेत्र व्यावसायिक कम्प्लेक्सका लागि छुट्याएको छ । व्यावसायिक कम्प्लेक्सले सन् २०१८ अक्टोबरदेखि व्यावसायिक सञ्चालन सुरु गरेको थियो । त्यसको करिब ९ महिनापछि सन् २०१९ जुलाईदेखि होटल सञ्चालनमा आएको हो । छाया देवी कम्प्लेक्सको सञ्चालक समितिको अध्यक्षता पृथ्वीबहादुर पाण्डेले गर्दै आएका छन् । बैंकिङ क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव भएका पाण्डे हाल नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षका रूपमा कार्यरत छन् । कम्पनीका प्रबन्ध निर्देशक महेश्वरप्रकाश श्रेष्ठ हिमालयन इन्फ्रास्ट्रक्चर फन्डका सञ्चालकसमेत हुन् । उनीसँग वित्त तथा बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ । छाया देवी कम्प्लेक्सले स्टारवुड एसिया प्यासिफिक होटल्स एन्ड रिसोट्र्स प्राइभेट लिमिटेडसँग इजाजतपत्र सम्झौता गरेको छ । उक्त कम्पनी म्यारियट इन्टरनेसनलको स्वामित्वमा रहेको छ । सम्झौताअनुसार छाया देवी कम्प्लेक्सले आफ्नो होटल ‘एलफ्ट’ ब्रान्डअन्तर्गत सञ्चालन गर्ने अधिकार पाएको छ । साथै, कम्पनीले स्टारवुडको विश्वव्यापी होटल आरक्षण प्रणालीमा पहुँच तथा मताधिकार प्राप्त होटललाई उपलब्ध गराइने विभिन्न सेवाको सुविधा प्राप्त गर्नेछ । विश्वव्यापी रूपमा स्थापित होटल ब्रान्डसँगको आबद्धताले कम्पनीलाई स्थापित सेवा प्रणाली, ठूलो ग्राहक आधार, बजारीकरण सहयोग तथा परिचित ब्रान्डको लाभ प्राप्त हुने अपेक्षा गरिएको छ । यसले होटलमा पाहुना बुकिङ बढाउन तथा आम्दानी विस्तारमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ । कम्पनीअन्तर्गतको होटल काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा अवस्थित छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६.२ किलोमिटर दूरीमा रहेको होटल काठमाडौंका प्रमुख पर्यटकीय तथा सांस्कृतिक स्थलको समेत पहुँचमा छ । काठमाडौं अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपालको प्रमुख प्रवेशद्वार हुनुका साथै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले होटलले पर्यटकको निरन्तर आवागमनबाट लाभ लिन सक्ने देखिन्छ । काठमाडौंका सात विश्व सम्पदा क्षेत्र, तीन दरबार क्षेत्र तथा अन्य पर्यटकीय स्थलको निकटताले पनि होटलको व्यवसायमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, हिमाली दृश्यावलोकनका लागि प्रसिद्ध नगरकोट होटलबाट करिब २८ किलोमिटरको दूरीमा रहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १ अर्ब ८५ करोड रुपैयाँ ऋण लिएको छ । यसमध्ये १ अर्ब ८० करोड ७० लाख रुपैयाँ दीर्घकालीन र ४ करोड ३० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । कम्पनीको ऋणको ब्याजदर चलायमान ब्याजदर प्रणालीमा आधारित रहेकाले बैंक तथा वित्तीय संस्थाको आधारदरमा हुने परिवर्तनसँगै ब्याज खर्चमा समेत उतारचढाव आउन सक्छ । ब्याजदर बढेमा कम्पनीको नाफामा दबाब पर्न सक्ने जोखिम रहेको छ । छाया देवी कम्प्लेक्स लिमिटेड सन् २०२१ जुन २५ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि १४ लाख ३७ हजार ५०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । प्रस्तावित आईपीओबाट कम्पनीले सर्वसाधारणबाट ५७ करोड ५० लाख रुपैयाँ संकलन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटलले पाएको छ । 

नापजाँच सकिएको ९ वर्षपछि २४२ परिवारले पाए लालपुर्जा

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ (साविक रमदैया भवाडी गाविस-१, ५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीयले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन् । नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । उक्त क्षेत्रको नापजाँच २०७४ सालमै सम्पन्न भएको थियो । नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म लालपुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले २४२ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो । लालपुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ । जग्गा दर्ता भई लालपुर्जा प्राप्त भएपछि स्थानीयलाई जग्गाको कारोबार तथा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने अपेक्षा गरिएको छ । त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुने बताइएको छ । यसअघि धनुषाका ४ हजार ३५४ परिवारले लालपुर्जा प्राप्त गरिसकेका छन् ।  

भदौमा ५ अर्ब बढीको विद्युत् निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा ५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । प्राधिकरणको प्रणाली सञ्चालन विभागअन्तर्गत भार प्रेषण केन्द्र, स्युचाटारले सार्वजनिक गरेको विवरणअनुसार भदौमा भारतको हरियाणा तथा बिहार राज्य र बंगलादेशमा द्विपक्षीय सम्झौतामार्फत तथा विद्युत् बजारमार्फत विद्युत् निर्यात गरिएको हो । उक्त अवधिमा दुवै माध्यमबाट गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात भएको छ । यसको कुल कारोबार रकम ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २८२ रुपैयाँ रहेको छ । द्विपक्षीय सम्झौताअन्तर्गत ४२ करोड १६ लाख २१ हजार २८८ युनिट विद्युत् निर्यात गर्दा ३ अर्ब ६४ करोड २५ लाख २८ हजार रुपैयाँ आम्दानी भएको छ । यस्तै, विद्युत् बजारमार्फत १४ करोड ३९ लाख ८५ हजार १५५ युनिट विद्युत् निर्यात गरी १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । भदौमा भएको कुल विद्युत् निर्यातमा द्विपक्षीय सम्झौतामार्फत भएको निर्यातको हिस्सा बढी रहेको छ । विद्युत् बजारमार्फत पनि उल्लेख्य मात्रामा विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ । भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि बंगलादेशतर्फको विद्युत् निर्यात भने बन्द रहेको छ । अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोधसमेत गरिसकिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ ।

काठमाडौंका मुख्य क्षेत्रमा दुई दिन बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा दुई दिन विद्युत आपूर्ति बन्द गर्ने भएको छ । रत्नपार्क वितरण केन्द्र तथा काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले नियमित मर्मतसम्भार, भूमिगत तार व्यवस्थापन तथा अन्य प्राविधिक कार्य गर्न विद्युत आपूर्ति बन्द गर्न लागेको हो । प्राधिकरणका अनुसार आज (असोज ३ गते शनिबार) अनामनगर र पुतलीसडक फिडरअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । अनामनगर फिडरअन्तर्गत के–३ सडकको पर्खाल हुँदै अनामनगर पानी ट्यांकी, अनामनगर मोड, पूर्वी गेट, हनुमानस्थान, सिंहदरबार दक्षिण गेट हुँदै अन्नपूर्ण न्युरो अस्पतालसम्म, अनामनगर भाटभटेनी, धोबीखोला करिडोर हुँदै मैतीदेवी सेतो पुलसम्म तथा आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुनेछ । त्यस्तै, पुतलीसडक फिडरअन्तर्गत माइतीघर मण्डला, बबरमहल, काठमाडौं जिल्ला अदालत हुँदै बिजुलीबजार पुल, थापाथली एपीआई टेलिभिजन तथा आसपासका क्षेत्रमा सोही समय विद्युत आपूर्ति बन्द हुनेछ । यस्तै, असोज ४ गते आइतबार भोटेबहाल फिडरअन्तर्गत भोटेबहाल पिपलबोट, एङ्गल चोक, लगन चोक, भगवती मन्दिर, दक्षिणकाली मन्दिर तथा आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले कार्य सम्पन्न भएमा निर्धारित समयभन्दा अगावै विद्युत सेवा सुचारु हुन सक्ने जनाएको छ । विद्युत आपूर्ति बन्द हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

भारतीय उद्योगपतिसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले, नेपालमा लगानीको आह्वान गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा लगानी गर्न आह्वान गर्ने भएका छन् । अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसंघले आयोजना गरेको उद्योगीहरूसँगको गोलमेच छलफललाई उनले शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित परिसंघको मुख्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । परिसंघकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने कार्यक्रममा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।  छलफलका क्रममा उनले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न तथा नेपालमा लगानी गरिसकेका उद्योगीलाई थप लगानी विस्तार गर्न आह्वान गर्नेछन् ।  यस्तै, नेपालमा लगानीका लागि कानुनी स्थिरता, लगानी सुरक्षा तथा प्रतिफलको सुनिश्चितताका विषयमा सरकारको धारणा पनि उनले भारतीय उद्योगपतिसमक्ष प्रस्तुत गर्नेछन् ।  अर्थमन्त्री वाग्लेसँगको छलफलमा भारतीय उद्योग परिसंघका पूर्वअध्यक्ष तथा आइटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन उद्योगपति सहभागी हुने परिसंघले जनाएको छ ।

समस्याग्रस्त सहकारीको घरजग्गा ४० लाखमा बिक्रीमा, प्रतिआना ११ लाख रुपैयाँ

काठमाडौं । समस्याग्रस्त लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र लुनिभा बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेको घरजग्गा लिलाम बिक्रीमा राखिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संस्थाको नाममा दर्ता रहेका घरजग्गा बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको हो । समितिले लालीगुराँस बहुउद्देश्यीय सहकारीको नाममा रहेको भक्तपुरको ताथली-४ स्थित कित्ता नम्बर ६४७ को ०-८-३-३ क्षेत्रफलको जग्गा बिक्रीमा राखेको छ । उक्त जग्गाको न्यूनतम मूल्य प्रतिआना ११ लाख रुपैयाँका दरले कुल ९८ लाख ३१ हजार २५० रुपैयाँ तोकिएको छ । जग्गाको अगाडि २० फिटे ढलान बाटो रहेको समितिले जनाएको छ । यस्तै, लालीगुराँस बहुउद्देश्यीय सहकारीकै नाममा रहेको ललितपुर महानगरपालिका-२२ स्थित कित्ता नम्बर ११३९ को ०-०-३-० क्षेत्रफलको जग्गा तथा त्यसमा रहेको घर पनि बिक्रीमा राखिएको छ । उक्त घरजग्गाको न्यूनतम मूल्य प्रतिआना ३० लाख रुपैयाँ तोकिएको छ । त्यसैगरी, लुनिभा बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेको काठमाडौं महानगरपालिका-१५ स्थित कित्ता नम्बर ७९ को ३१.७९ वर्गमिटर क्षेत्रफलको जग्गा तथा त्यसमा रहेको घर बिक्रीमा राखिएको छ । उक्त घरजग्गाको न्यूनतम मूल्य प्रतिआना ४० लाख रुपैयाँ तोकिएको समितिले जनाएको छ । सहकारी संस्थाका ऋणी सदस्य, जमानीकर्ता तथा सञ्चालकले बुझाउनुपर्ने साँवा, ब्याज र हर्जानासहितको ऋण दायित्व फरफारक नगरेपछि संस्थाको नाममा दर्ता रहेका घरजग्गा लिलाम बिक्रीमा राखिएको समितिले जनाएको छ । सहकारी ऐन, २०७४ तथा सहकारी नियमावली, २०७५ बमोजिम तोकिएको न्यूनतम मूल्यभन्दा कम नहुने गरी घरजग्गा खरिद गर्न इच्छुक व्यक्ति, संस्था वा बचतकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । समितिले लिलाम बिक्रीमा राखिएका सम्पत्तिको न्यूनतम मूल्य चलनचल्तीको मूल्यका आधारमा कायम गरिएको जनाएको छ ।

३ वर्षको साधारण सभा एकैपटक, सेयरधनीलाई हकप्रद सेयर

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक बोलाएको छ । कम्पनीको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले नवौँ, दशौँ र एघारौँ वार्षिक साधारण सभा असोज २७ गते बिहान १० बजे काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बोलाउने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ का लागि सञ्चालक समिति र लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । यस्तै, कम्पनीको ठेगाना परिवर्तन गर्ने, पुँजी संरचना परिवर्तन गर्ने, हकप्रद सेयर खरिदसम्बन्धी हक हस्तान्तरण गर्ने तथा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव सभामा पेस हुनेछ । कम्पनीले एक सेयर बराबर एक सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत सभामा पेस गर्नेछ । प्रस्तावित संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल, सुझाव वा निर्देशन प्राप्त भएमा त्यसको कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । सभाले एक महिलासहित तीन जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी हुन सक्नेछन् ।

लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले असोज २८ गते डाक्यो साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज २ गते बसेको बैठकले असोज २८ गते बिहान ११ बजे कास्कीको पोखरास्थित होटल पोखरा ग्रान्डमा २८औँ वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १२ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँको ३ प्रतिशतका दरले ३६ करोड २५ लाख ८६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ३ प्रतिशतका दरले ३६ करोड २५ लाख ८६ हजार रुपैयाँ नगद गरी कुल ६ प्रतिशत अर्थात् ७२ करोड ५१ लाख ७२ हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनीहरू माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ । सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको नियुक्तिका शर्त र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । अग्राधिकार सेयरधनीलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर पुँजी ३ अर्ब रुपैयाँको ८.२५ प्रतिशतका दरले सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असारसम्म समानुपातिक रूपमा हुन आउने ७ करोड ४५ लाख ८९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले स्वतन्त्र सञ्चालक पदमा चार वर्षका लागि अर्जुनकुमार गौतमलाई नियुक्त गरिएको निर्णय अनुमोदन गर्नेछ । यस्तै, संस्थापक समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको बाँकी कार्यकालका लागि निर्वाचन गर्नेछ । बोनस सेयर वितरणपछि कायम हुने बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्रका सम्बन्धित दफा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । साथै, सञ्चालक समितिको बैठकसम्बन्धी बैंकको नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सञ्चालकहरूको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी नियममा रहेका विद्यमान व्यवस्था हटाउने प्रस्तावसमेत सभामा पेस गरिनेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले उक्त दिनभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।