विकासन्युज

प्राइम बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला, ६.२५ प्रतिशत ब्याज पाइने

काठमाडौं । प्राइम कमर्सियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘प्राइम बैंक डिबेञ्चर २०९३’ बिक्री खुला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।  बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय असार ३० गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

खेर जाने केराबाट नयाँ क्रान्ति, चितवनमा बन्यो वाइन र ब्रान्डी

काठमाडौं । विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएका चितवनको रत्ननगर नगरपालिका-१२ जिरौनाका कृषक ठाकुर सापकोटाले केराको विविधिकरण गर्दै यसबाट मदिराजन्य पेय पदार्थ उत्पादन ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन गर्न सफल भएका छन् । उत्पादनमुखी कृषि प्रणालीलाई उद्योगसँग जोड्ने उद्देश्यले विगत एक वर्षदेखि उनले केराका बाइ-प्रोडक्ट उत्पादनका लागि अध्ययन तथा प्रयोगात्मक अनुसन्धान सुरु गरेका हुन् । एक एण्ड बी केरा फार्ममार्फत करिब १२ बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा केराखेती गर्दै आएका उनले हावाहुरी, बजार अभाव तथा अन्य प्राविधिक कारणले बोटमै कुहिने र खेर जाने केरालाई कच्चा पदार्थका रूपमा उपयोग गर्ने सोचका साथ मदिराजन्य पेय पदार्थ उत्पादनको परीक्षण थालेको बताए । कृषि विकास कार्यालय, भरतपुरको सहयोग, प्राविधिक उपकरण तथा प्रोत्साहनमा सञ्चालन गरिएको अनुसन्धानबाट केराको वाइन उत्पादन पूर्ण रूपमा सफल भएको छ भने ब्रान्डी उत्पादनसम्बन्धी अनुसन्धान सफल चरणमा पुगेको उनको भनाइ छ । उनका अनुसार एक पटकमा ५०० केजी पाकेको केरा प्रशोधन गर्दा करिब २०० लिटर वाइन उत्पादन गर्न सकिन्छ । त्यसैगरी, ३०० केजी केराबाट करिब १२० देखि १३० लिटर ब्रान्डी उत्पादन हुने गरेको छ । यो प्रविधि पूर्ण रूपमा पाकेको केरामा हुने प्राकृतिक चिनीको फर्मेन्टेसन प्रक्रियामा आधारित रहेको उनले बताए । सापकोटाले यस व्यवसायलाई ठूलो डिस्टिलरीका रूपमा नभई स्थानीयस्तरमै सञ्चालन हुने ‘माइक्रो-डिस्टिलरी’ (लघु मदिरा उद्योग) का रूपमा दर्ता गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए । उनले गण्डकी गाउँपालिका तथा खोटाङका स्थानीय तहहरूले कोदोको ब्रान्डिङ गरेजस्तै चितवनको केरालाई पनि स्थानीय कानुन तथा कार्यविधिमार्फत ब्रान्डिङ गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘हामी ठूलो डिस्टिलरी होइन, स्थानीय स्तरको माइक्रो-डिस्टिलरीका रूपमा दर्ता प्रक्रिया अगाडि बढाउँदैछौँ । गण्डकी गाउँपालिका वा खोटाङले कोदोको ब्रान्डिङ गरेजस्तै चितवनको केरालाई पनि ब्रान्डिङ गर्न सकियो भने यसले कृषि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ । चितवन आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो उत्कृष्ट चिनोसमेत बन्न सक्छ ।’ हाल परीक्षणका रूपमा करिब एक हजार जनालाई केराबाट उत्पादित पेय पदार्थ चखाइएकामा अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको र आगामी आर्थिक वर्षदेखि व्यावसायिक उत्पादन तथा बजार विस्तार गर्ने तयारी भइरहेको सापकोटाले बताए । उनका अनुसार हाल परीक्षण चरणमा परिवारका सदस्यसहित उद्योग र बजार व्यवस्थापनमा प्रत्यक्ष रूपमा ८ देखि ९ जना संलग्न छन् । यसका साथै, केराका बहुउपयोगी परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले रत्ननगरको टाँडी बजारस्थित बकुलहर चोकमा छुट्टै आउटलेट सञ्चालनमा ल्याइएको छ । उक्त आउटलेटमा केराको मःमः, चिप्स, पकौडा, छोइला, बनाना चिल्ली तथा अचारलगायतका विभिन्न परिकार उपलब्ध गराइएको छ, जसले स्थानीय उपभोक्ता तथा पर्यटकलाई आकर्षित गरिरहेको छ । सापकोटा भन्छन्, ‘धेरै वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आउँदा बजारीकरण र प्राकृतिक विपत्तिका कारण ठूलो समस्या भोग्नुपर्यो । बारीमै पाकेर खेर जाने केरालाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सोच्दै जाँदा यो अवधारणा विकसित भएको हो ।’ केरालाई विविधीकरण गरी चितवनको पहिचानका रूपमा स्थापित गर्ने तथा यसको व्यावसायिक विस्तारमार्फत स्थानीय कृषि अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य रहेको उनले बताए । 

सङ्खुवासभा पहिरोमा ७ परिवार विस्थापित, विद्यालय र सडकमा ठूलो क्षति

काठमाडौं । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१ म लगातारको वर्षापछि आएको बाढीपहिरोले ७ परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सिलिचोङ-१ तेन्छोङका सात परिवार विस्थापित भएका हुन् । शनिबार रातिदेखि आएको अविरल वर्षाका कारण बाढीपहिरो आउँदा सिलिचोङ-१ तल्लो तेन्छोङका ७ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । उनका अनुसार कुन्ती राईसहित परिवारका पाँच जना, धनपूर्ण राईको ७ जनाको परिवार, मङ्गलबहादुर राईको छ जनाको विस्थापित भएको हो । त्यस्तै, सुकप्रसाद राईको ४ जनाको, मिरा राईको ५ जनाको धनमान राईको ३ जनाको र अरुणसङ्गम राईको परिवार विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताए । पहिरोबाट विस्थापित ७ परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ । बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीयलाई सिसुवा प्रहरी चौकीको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । घटना लगत्तै सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा खटिएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए । उनका अनुसार थप क्षतिको विवरण सङ्कलन तथा अनुगमन भइरहेको छ । यसैबीच सिलिचोङ गाउँपालिकाले विज्ञप्ती जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ । बाढीपहिरोले विद्युत्, सञ्चार तथा यातायात सेवा अवरुद्ध भएका छन् । सिलिचोङ-१ सिसुवाखोलामा अविरल वर्षासँगै आएको बाढीका कारण २ वटा विद्यालयमा क्षति पुगेपछि पठनपाठन पूर्ण रूपमा ठप्प भएको गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिए । बाढीपहिरोका कारण गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुनुका साथै केन्द्रीय विद्युत्, माइक्रोहाइड्रो, इन्टरनेट तथा सञ्चार सेवा प्रभावित भएपछि सरकारी सेवा प्रवाहसमेत प्रभावित भएको उनले बताए । अध्यक्ष मेवाहाङका अनुसार पहिरोले गाउँपालिकाभित्रका सबै सडक तथा गोरेटो बाटो अवरुद्ध भएका छन् । बाढीले स्थानीय दुई वटा माइक्रोहाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध हुँदा जनजीवन थप प्रभावित बनेको छ । माथिबाट खसेको पहिरोले  सिलिचोङ-१ नेवाटारको कालिका माध्यमिक विद्यालयमा क्षति पुगेको छ । विद्यालयको १५ वटा कक्षा कोठा चिराचिरा परेका छन् भने शैक्षिक सामग्रीसमेत क्षति भएका छन् । त्यसैगरी सिलिचोङ-४ स्थित बागेश्वरी आधारभूत विद्यालयमा समेत क्षति पुगेको छ । पहिरोले विद्यालय भवन तथा शैक्षिक सामग्रीमा ठूलो क्षति पुर्याएपछि २ विद्यालयको पठनपाठन रोकिएको गाउँपालिकाका अध्यक्ष मेवाहाङले जानकारी दिए । पहिरोको उच्च जोखिममा परेकाले विद्यालयलाई पूर्ण रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । बाढीपहिरो प्रभावित बस्तीको अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनस्र्थापनाका लागि कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष मेवाहाङले बताए । उनका अनुसार सिलिचोङका तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेका दर्जनौँ गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको उच्च जोखिम भएपछि स्थानीयवासी घर छाडेर सुरक्षित स्थानमा सामूहिक रूपमा आश्रय लिएर बसेका छन् । स्थानीय जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका र सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको अनुगमन गरिरहेको जनाउँदै निरन्तर वर्षा हुँदा सडक अवरुद्ध भएकाले राहत तथा उद्धार व्यवस्थापनमा कठिनाइ भइरहेको गाउँपालिकाले जनाएको छ । 

अफ्रिकन स्वाइन फिभर फैलियो, २५० भन्दा बढी सुँगुरको मृत्यु

काठमाडौं । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर/बङ्गुर मरेका छन् । दुई महिनायता फैलिएको अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट हालसम्म २५० भन्दा बढी सुँगुर/बङ्गुर मरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका-६, मानवसेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका ८० वटा र सोही क्षेत्रकी जुना रेग्मीको फार्मका १० वटा बङ्गुर मरेका छन् । त्यस्तै मान्द्रेढुङ्गाका धनकुमार गुरुङको फार्मका ६० वटा बङ्गुर दुई साताको अवधिमा मरेका उनले बताए । बाँकी अन्य किसानका फार्मका सुँगुर/बङ्गुर पनि सङ्क्रमणका कारण मरेका हुन् । अहिलेसम्मको तथ्याङ्कअनुसार गोरखा नगरपालिका-६, ७ र ८ तथा सहिद लखन गाउँपालिका-७ का फार्ममा रहेका सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण फैलिएको कोइरालाले बताए । उनका अनुसार जिल्लामा यो रोगको सङ्क्रमण पहिचान भएको करिब दुई महिना मात्र भएको छ । कार्यालय प्रमुख कोइरालाले भने, ‘अहिलेसम्म यस रोगको न उपचार छ, न त खोप नै उपलब्ध छ । त्यसैले सङ्क्रमण भएपछि सुँगुर/बङ्गुर मर्नु निश्चितजस्तै हुन्छ । सङ्क्रमित स्थानमा पुगेका मानिसको लसपस, दाना तथा औषधिमार्फत पनि यो रोग सर्न सक्छ ।’  उनका अनुसार उपचार नभएकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउनु नै एक मात्र उपाय हो । ‘अफ्रिकन स्वाइन फिभरका कारण धमाधम सुँगुर/बङ्गुर मरेका जानकारी आएका छन् । केही फार्म दर्ता भएका छन् भने केही दर्ताविहीन भएकाले सबै विवरण प्राप्त नभएको हुन सक्छ,’ कोइरालाले भने ।  रोगबाट बच्न सङ्क्रमित खोर तथा त्यहाँको संसर्गबाट टाढा रहन सुझाव दिए । किसान धनकुमार गुरुङका अनुसार सङ्क्रमण भएपछि सुँगुर/बङ्गुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा धब्बा वा दाग देखिने तथा करिब एक साताभित्र मर्ने लक्षण देखिने गर्दछ ।

४ पटकको विश्वविजेता जर्मनीलाई पराजित गर्दै पाराग्वे अन्तिम १६ मा

काठमाडौं  । चार पटकको विश्व विजेता जर्मनी फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणबाटै बाहिरिएको छ ।  बोस्टन स्टेडियममा सोमबार राति भएको रोमाञ्चक प्रतिस्पर्धामा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । निर्धारित ९० मिनेट र अतिरिक्त समयपछि खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको ४२औँ मिनेटमा जुलियो एन्सिसोले उत्कृष्ट हेडरमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४औँ मिनेटमा काइ हाभेर्ट्जले हेडमार्फत बराबरी गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि निर्णायक गोल गर्न सकेनन् ।  अतिरिक्त समयमा जर्मनीले जोनाथन टाहमार्फत गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर) ले गोलकिपरमाथि फाउल भएको ठहर गर्दै गोल रद्द गरिदिएको थियो । उक्त निर्णय खेलको सबैभन्दा विवादास्पद क्षण बन्यो । पेनाल्टी सुटआउटमा र्मनीका काइ हाभेर्ट्ज, निक वोल्टेमाडे र जोनाथन टाह गोल गर्न असफल भए । पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले दुई महत्वपूर्ण पेनाल्टी बचाउँदै टोलीलाई ऐतिहासिक जित दिलाए । अन्तिम निर्णायक पेनाल्टी होसे कानालेले सफलतापूर्वक प्रहार गर्दै पाराग्वेको जित सुनिश्चित गरे । यो हारसँगै जर्मनी पहिलो पटक पुरुष विश्वकपको इतिहासमा पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अर्कोतर्फ, पाराग्वेले विश्व फुटबलकै एक ठूलो उलटफेर गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । अब पाराग्वेले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा फ्रान्स र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

काठमाडौं । यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा लमजुङको बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ ।  सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।  लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले भने, ‘बेँसीसहर-चामे सडकको बेँसीसहरबाट मनाङ जिल्लाको सीमानासम्मको खण्डमा प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म र पुष्पलाल मध्यपहाडी लोकमार्गको सुन्दरबजार-भोर्लेटार सडकखण्डको बिमिरे भञ्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।’ यस सडकखण्डमा अत्यावश्यक रहेका सवारीसाधन भने सञ्चालन गर्न दिने उनले बताए । जिल्ला प्रशासन कार्यालय लमजुङले सो बैठकको निर्णय सार्वजनिक गर्दै यसबाट असुविधा भएकामा क्षमासमेत मागेको छ ।   आजदेखि धेरै वर्षा हुने सम्भावना रहेको जानकारी भएकाले रात्रिकालीन समयमा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सवारी सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए । वर्षाको समयमा पहिरो जानसक्ने सम्भावना रहेकाले यसरी जिल्लामा दुर्घटना न्यूनीकरणको उपाय अवलम्बन गरिएको उनको भनाइ छ । बेँसीसहरबाट मनाङको सिमाना म्यार्दी खोलासम्म ३५ किलोमिटर पर्दछ भने बेँसीसहरबाट चामे मनाङसम्म ६५ किलोमिटर दूरी पर्दछ । यो जिल्लाको उत्तरी क्षेत्रका स्थानीय र मनाङको नागरिक यात्रा गर्ने सडक हो । लमजुङ र मनाङ जोड्ने एक मात्रै सडकका रूपमा रहेको यो खण्डमा बर्सेनि बर्खायाममा विभिन्न ठाउँमा पहिरो गई सडक अवरुद्ध हुँदा मनाङबासी बढी मर्कामा पर्दै आएको छन् । यो सडक लामो समय अवरुद्ध हुँदा हेलिक्टरमार्फत स्थानीय आवतजावत गर्न बाध्य हुँदै आएको छन् । त्यस्तै राइनास नगरपालिकाबाट मध्यनेपाल नगरपालिका तथा कास्की जिल्लाको सिमानासम्म लमजुङ खण्डमा ४८ किलोमिटर पर्दछ । यस सडकको विशेष गरी मध्यनेपाल नगरपालिका-१० बीमिरे भञ्ज्याङमा बढीपहिरो जाने र सडक अवरुद्ध हुने समस्या सहँदै आएको छ । विशेष गरी यो सडक मनाङ र लमजुङका स्थानीयले पोखरा जानआउनको लागि प्रयोग गर्दछन् । 

जापानलाई पराजित गर्दै विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौं । फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापानलाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापानलाई २-१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित हासिल गरेको हो । जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलिलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको  ५६आँ मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा गाब्रीएल माटीनेलीले निर्णायक गोल गरेपछि जापानलाई २-१ ले पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।

विश्वकै ठूलो २२ फिटको शालिग्राम शीलाले बढायो धार्मिक पर्यटकको आकर्षण

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिका-४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा कुँदिएको विश्वकै ठूलो २२ फिट उचाइको शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गत वैशाखअघि कालिगण्डकी नदीको छेउमा रहेको विशाल ढुङ्गालाई नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानका मूर्तिकारहरूले शालिग्राम शीलाको आकार दिएर मूर्ति निर्माण गरेपछि उक्त स्थान धार्मिक पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको हो । घरपझोङ गाउँपालिकाको आयोजना र एकीकृत सेवा कार्यालय मुस्ताङको सहलगानीमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानसँगको समन्वयमा गत वैशाख ७ देखि २१ गतेसम्म जोमसोममा १५ दिने मूर्तिकला कार्यशाला सञ्चालन गरिएको थियो । कार्यशालामा सहभागी ३६ भन्दा बढी मूर्तिकारले कालिगण्डकी नदीको तटमा रहेका विशाल ढुङ्गालाई विभिन्न स्वरूपका मूर्तिमा रूपान्तरण गरेका थिए । मूर्तिकारहरूले जिल्लाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक तथा जैविक विविधतालाई समेट्दै कालिगण्डकी नदीका डेढ दर्जन ढुङ्गालाई कलात्मक मूर्तिका रूपमा प्रस्तुत गरेका थिए ।  मूर्तिकारहरूले कार्यशालाका क्रममा कालिगण्डकी नदी किनारका ढुङ्गामा शालिग्राम शीला, भगवान् महादेव, पार्वती, विष्णु, बुद्ध, हिमचितुवा, हिमाली भेँडा, बौद्ध स्तूप, माने, छोर्तेनलगायत सम्पदाका कलात्मक मूर्ति सिर्जना गरेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । उनका अनुसार मूर्तिकारद्वारा कुँदिएका डेढ दर्जन मूर्तिमध्ये अहिले सबैको ध्यान विश्वकै ठूलो आकारको शालिग्राम शीलातर्फ तानिएको छ । घरपझोङ गाउँपालिकाले उक्त शालिग्राम शीलाको प्राणप्रतिष्ठा गरेसँगै धार्मिक पर्यटकको चहलपहल बढेको अध्यक्ष लालचनले बताए । उनका अनुसार कालिगण्डकी नदीछेउको विशाल ढुङ्गामा कुँदिएको उक्त मूर्तिको भारतको कर्नाटक राज्यस्थित शृङ्गेश्री शारदा पीठका पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी विधुशेखर भारती महाराजले विशेष पूजाअर्चनासहित प्राणप्रतिष्ठा गरेका हुन् । भारतीय स्वामी महाराजबाट कालिगण्डकी नदीमा निर्मित शालिग्राम शीलाको गत जेठको पहिलो साता विभिन्न धार्मिक स्वामीहरूको उपस्थितिमा प्राणप्रतिष्ठा गरिएको थियो । अहिले मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउने स्वदेशी तथा विदेशी धार्मिक पर्यटकका लागि यो मूर्ति आस्थाको केन्द्र बन्दै गएको उनले बताए । घरपझोङ गाउँपालिका(४, जोमसोमका कार्यपालिका सदस्य भीषण थकालीका अनुसार शालिग्राम शीलाको प्राणप्रतिष्ठापछि दैनिक एक सयभन्दा बढी दर्शनार्थीले उक्त शीलाको दर्शन तथा अवलोकन गर्ने गरेका छन् । विशेषगरी मुक्तिनाथ दर्शन गर्न आएका भारतीय दर्शनार्थीको यहाँ उल्लेख्य घुइँचो लाग्ने गरेको उनको भनाइ छ । उक्त शीलाको प्राणप्रतिष्ठापछि विश्वकै ठूलो आकारको शालिग्राम दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढेसँगै सदरमुकाम जोमसोममा पर्यटकको बसाइँसमेत लम्बिन थालेको कार्यपालिका सदस्य थकालीले बताए । उनका अनुसार गाउँपालिकाले उक्त स्थानलाई घेराबार गरी शालिग्राम पार्क निर्माण गर्ने योजना बनाएको छ । उक्त शालिग्राम पार्कमा दर्शनार्थीलाई सहज हुने गरी गोरेटो बाटो निर्माण गर्नुका साथै मूर्तिकारहरूले कुँदेका अन्य मूर्तिसमेत सोही स्थानमा स्थापना गरिने कार्यपालिका सदस्य थकालीले बताए ।  भारतको मुम्बईबाट मुक्तिनाथ दर्शन गरी फर्किएकी जेनिशा जेनले जीवनमा पहिलोपटक यति ठूलो आकारको शालिग्रामको दर्शन गर्न पाएकोमा खुसी व्यक्त गरे । भगवान् विष्णुको स्वरूपसहित अन्य मूर्तिको महत्व धार्मिक आस्था र विश्वाससँग जोडिएको उहाँले उल्लेख गरे । मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउने पर्यटकका लागि शालिग्राम शीला यहाँको आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बनेको अध्यक्ष लालचनले बताए । मुस्ताङ सदरमुकाम जोमसोम बजारसँग जोडिएको कालिगण्डकी नदीको तटमा अवस्थित शालिग्राम शीला, नीलगिरि हिमाल र धौलागिरि हिमालको मनमोहक दृश्यले शालिग्राम शीला पार्क पुगेका धार्मिक पर्यटकलाई मोहित बनाउने गरेको स्थानीयवासी बताउँछन् ।