स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको गुणस्तर अनुगमन तीव्र
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर सुधारको अवस्थाबारे अनुगमनलाई तीव्र बनाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आज वीर अस्पताल, ट्रमा सेन्टर तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अस्पताल सुधार कार्यक्रमअन्तर्गत भएका प्रगतिको स्थलगत अनुगमन गरिएको हो । अनुगमनका क्रममा अस्पतालहरूले प्रदान गर्ने स्वास्थ्य सेवा, सेवाग्राही सहजीकरण, भीड व्यवस्थापन, सरसफाइ तथा समग्र व्यवस्थापकीय पक्षको मूल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ । अनुगमनका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सुलभ फार्मेसी प्रभावकारी रूपमा सञ्चालन भइरहेको पाइएको छ । मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत सेवाग्राहीले गुणस्तरीय औषधि सस्तो तथा सहज मूल्यमा प्राप्त गर्न सक्नेछन् । मन्त्री मेहताको निर्देशनअनुसार ट्रमा सेन्टरले सोमबारदेखि सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ भने वीर अस्पतालमा समेत यही हप्ताभित्र सञ्चालनमा ल्याइने भएको छ । यसैगरी, अस्पतालहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत निःशुल्क सेवा, भीड व्यवस्थापन, सरसफाइ तथा सेवाको प्रभावकारिताबारे समेत निरीक्षण गरी आवश्यक सुधार तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ । यसैक्रममा, वीर अस्पतालले केडी जोशी बर्न युनिटलाई थप स्तरीय बनाउन आवश्यक सुधारका कार्य अघि बढाएको छ । साथै, बर्न उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई आवश्यक तालिमसमेत प्रदान गरिरहेको पाइएको छ । यसैगरी, भीड व्यवस्थापनलाई थप प्रभावकारी बनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा काउन्टरको संख्या ३ बाट ५ पुर्याइएको पाइएको छ । साथै, अस्पतालमा क्युआर प्रणालीमार्फत औषधिको उपलब्धताबारे सेवाग्राहीले सहज रूपमा जानकारी लिन सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । वीर अस्पताल र टेकुमा भने क्युआर प्रणालीमार्फत नै बिरामीले आफ्नो रिपोर्टसमेत निकाल्न सक्नेछन् । यसैगरी, सबै अस्पतालहरूले कर्मचारीको सेवा व्यवहार सुधारका लागि सबै अस्पतालहरूले सफ्ट स्किल तालिम सञ्चालन गरिरहेका छन् । मन्त्रालयले सरकारी अस्पतालहरूको सेवा गुणस्तर सुधार, सेवाग्राहीमैत्री वातावरण निर्माण तथा स्वास्थ्य सेवामा आम नागरिकको पहुँच थप प्रभावकारी बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
काठमाडौं । सोमबार (आज) असार १५ गते, लोकल उत्पादनको रूपमा प्रख्यात भक्तपुरको ताइचिन चिउरा एकै दिन ४० टन बिक्री भएको छ । काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका विभिन्न सहर र काभ्रेपलाञ्चोक जिल्लामा असार १५ का लागि यहाँका चिउरा व्यवसायीले ४० टन ताइचिन चिउरा बिक्री गरेको चिउरा व्यवसायी एवं भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले जानकारी दिए । उनले आजको दिन ताइचिन चिउराको माग अत्यधिक बढेको बताए । दहीसँग ताइचिन चिउरा निकै स्वादिलो हुने मान्यता अनुरूप वर्षौंदेखि चिउराका पारखीले ताइचिन चिउरानै रोज्ने गर्छन् । भक्तपुरमा करिब २५ वटा चिउरा मिलबाट दैनिक २५ टन ताइचिन चिउरा उत्पादन हुने गरेको उहाँले जानकारी दिए । भक्तपुर नगरपालिका-६ भालाछेँमा लक्ष्मी चिउरा उद्योगको नामले प्रख्यात जतिको उक्त चिउरा उद्योगमा मात्रै दैनिक ८०० किलो ताइचिन चिउरा बिक्री हुने गरेको उनी बताउँछन् । दही चिउरा खाने दिन काठमाडौं उपत्यकाका व्यापारी तथा रेष्टुरेष्टहरूमा ताइचिन चिउराको माग अत्यधिक बढेको उनले बताए । आज मात्रै आफ्नो चिउरा मिलबाट एक हजार किलो चिउरा माग भएकोमा ८०० किलो मात्रै दिन सकेको सङ्घका निवर्तमान अध्यक्ष जति बताउँछन् । भक्तपुरबाट प्रतिकिलो २५० रुपैयाँमा ताइचिन चिउरा बिक्री हुँदै आएको छ । खानलाई स्वादिलो र स्वस्थ्यवद्र्धक हुने भएकाले दहीसँग ताइचिन चिउरा खाने प्रचलन रहेको उनी बताउँछन् । भक्तपुरबाट वार्षिक ३०० टन ताइचिन चिउरा काठमाडौं उपत्यकामा बिक्री हुने गरेको उनी बताउँछन् । चिउराका लागि चैतेधानको साथै चितवन, नुवाकोट, पनौती, नाला, भक्तपुरबाट सिजनअनुसार धान आयात गरेर चिउरा उत्पादन गर्ने गरेको सङ्घका पूर्वअध्यक्ष जति बताउँछन् ।
भन्सार विभागका महानिर्देशक मन्त्रालय तानिए, पाण्डेलाई निमित्तको जिम्मेवारी
काठमाडौं । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा फिर्ता बोलाइएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै भण्डारीलाई विभागबाट मन्त्रालयमा फिर्ता बोलाउने निर्णय गरेका हुन् । महानिर्देशक भण्डारी बाहिरिएसँगै अहिले भन्सार विभागको रिक्त नेतृत्वमा उपमहानिर्देशक भरतमणि पाण्डेलाई निमित्त महानिर्देशकको जिम्मेवारी तोकिएको छ ।
भाइद्वारा दाजुको हत्या
काठमाडौं । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार बेलुका २६ वर्षीय दाजु मनोज चौधरीलाई हत्या गरी नहरमा फालेर फरार भएका २० वर्षीय विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले जनाएको छ । प्रहरीले निजलाई कोहलपुर नगरपालिका-१५ स्थित चन्हवाबाट पक्राउ गरेको थियो । कुटपिटबाट हत्या भएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज ल्याइएको छ । पक्राउ परेका विनोदको म्याद थपका लागि जिल्ला अदालत, बाँकेमा ल्याइएको प्रहरीले जनाएको छ ।
कम्पनी रजिस्ट्रार र उद्योग विभागको विवरण अब एकीकृत ड्यासबोर्डमा, आगामी वर्ष प्रदेशको डाटा पनि जोडिने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्पूर्ण विवरणका बारेमा जानकारी दिने उद्देश्यका साथ ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याइएको छ । उद्योगमन्त्री गौरी कुमारीको सक्रियतामा आजदेखि मन्त्रालयमा सर्वसाधारणले सहजै मन्त्रालयले गर्ने कामबारे जानकारी प्राप्त गर्ने उद्देश्यले ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याइएको हो । उक्त ‘ड्यासबोर्ड’ बाट अब दैनिक रूपमा हुने कम्पनी दर्ता, उद्योग दर्ता तथा फर्म दर्तासम्बन्धी विवरण वास्तविक समय (रियल टाइम) मै अद्यावधिक हुने छ । नेपालमा हालसम्म कति उद्योग तथा कम्पनी दर्ता भएर सञ्चालनमा छन् भन्ने जानकारी सर्वसाधारणले प्राप्त गर्न यसअघि निकै कठिन थियो । ‘ड्यासबोर्ड’ सञ्चालनपछि सहजै उक्त जानकारी प्राप्त गर्न सकिने उद्योग मन्त्रीको सचिवालयले जनाएको छ । यसबाट आगामी आर्थिक वर्षमा प्रदेशस्तरमा हुने दर्तासम्बन्धी विवरणसमेत समावेश गर्ने मन्त्रालयको योजना रहेको जनाइएको छ । सचिवालयका अुनसार ‘ड्यासबोर्ड’ मा हाल उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणाली हेर्न सकिनेछ । अन्य सूचना प्रविधि प्रणाली नभएका निकायको विवरण पनि ‘डाइनामिक फर्म’को माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । उक्त प्रणालीलाई एपीआईमार्फत एकीकृत गरी रियल टाइम डाटा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
एक वर्षमै ओशो वर्ल्ड ट्राभलले बेच्यो १० अर्बको हवाई टिकट
काठमाडौं । अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री तथा बुकिङ सेवा प्रदान गर्दै आएको ओशो वर्ल्ड ट्राभल नेपाल प्रालिले गत आर्थिक वर्ष २०८१/८२ मा झण्डै १० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीले उक्त अवधिमा ९ अर्ब ९३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा २.८० प्रतिशत अर्थात् २३ करोड १० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब ६६ करोड ७० लाख रुपैयाँ रहेको थियो । पछिल्ला वर्षहरूमा कम्पनीको कारोबार निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ८७ करोड रुपैयाँ, आव २०७८/७९ मा ५ अर्ब ११ करोड ४० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ, आव २०७६/७७ मा २ अर्ब ९३ करोड २० लाख रुपैयाँ, आव २०७५/७६ मा ४ अर्ब २४ करोड ५० लाख रुपैयाँ र आव २०७४/७५ मा ३ अर्ब ६४ करोड २० लाख रुपैयाँ बराबरको हवाई टिकेट बिक्री गरेको थियो । सन् १९९१ नोभेम्बरमा स्थापना भएको ओशो वर्ल्ड ट्राभल नेपालका पुराना अन्तर्राष्ट्रिय हवाई टिकटिङ कम्पनी एक हो । अन्तर्राष्ट्रिय हवाई यातायात संघबाट मान्यता प्राप्त कम्पनीले नेपाल एयरलाइन्स, थाई एयरवेज, गल्फ एयर, एतिहाद एयरवेज, कतार एयरवेज, ओमान एयर, एयर अरेबिया, एयर इन्डियालगायत विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको टिकट बिक्री तथा बुकिङ सेवा प्रदान गर्दै आएको छ । काठमाडौंस्थित केन्द्रीय कार्यालय रहेको कम्पनीमा प्रबन्ध निर्देशक श्यामराज थपलियाको ९० प्रतिशत तथा उनकी श्रीमती राखी थपलियाको १० प्रतिशत सेयर स्वामित्व रहेको छ । तीन दशकभन्दा लामो अनुभव र स्थापित एजेन्सी सञ्जालका कारण कम्पनीले नेपाली बजारमा राम्रो पहिचान बनाएको दाबी गरेको छ । यद्यपि कारोबार बढ्दै गए पनि कम्पनीको नाफा मार्जिन भने निकै न्यून छ । गत आर्थिक वर्ष सञ्चालन नाफा मार्जिन करिब ०.५ प्रतिशत मात्र रहेको कम्पनीले जनाएको छ । हवाई टिकटिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धा र कम कमिसनका कारण नाफा सीमित भएको कम्पनीको भनाइ छ । कार्यशील पुँजी व्यवस्थापन पनि कम्पनीका लागि चुनौतीपूर्ण बनेको छ । ग्राहकबाट भुक्तानी उठाउन औसत ३० दिन लाग्ने गरेको छ भने एयरलाइन्स तथा अन्य आपूर्तिकर्तालाई औसत १५ दिनभित्रै भुक्तानी गर्नुपर्ने भएकाले नगद प्रवाहमा दबाब परेको कम्पनीले जनाएको छ । यही कारण कम्पनी कार्यशील पुँजीका लागि बैंक ऋणमा निर्भर छ । हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २० करोड २५ लाख रुपैयाँ ऋण लिएको छ। यसमध्ये १३ करोड २५ लाख रुपैयाँ दीर्घकालीन तथा १ अर्ब ७ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । गत आर्थिक वर्ष कम्पनीको कुल ऋण तथा खुद सम्पत्ति अनुपात २.७ गुणा र कुल बाह्य दायित्व तथा खुद सम्पत्ति अनुपात ५.७ गुणा पुगेको छ । सञ्चालन नाफाको तुलनामा ऋणको भार उच्च रहेकाले ऋण भुक्तानी क्षमता पनि सीमित छ । यद्यपि यो अनुपात अघिल्लो वर्षको ०.९ गुणाबाट बढेर गत वर्ष १.१ गुणा पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हवाई टिकटिङ व्यवसायमा नाफाको मार्जिन स्वाभाविक रूपमा कम हुने भएकाले कार्यशील पुँजीको प्रभावकारी व्यवस्थापन र प्राप्य रकम (रिसिभेबल) नियन्त्रण वित्तीय सुधारका लागि महत्वपूर्ण रहनेछ । कम्पनीले आफ्नो व्यवसाय पर्यटन तथा हवाई यात्रा क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित भएकाले विभिन्न बाह्य जोखिमप्रति संवेदनशील रहेको जनाएको छ । मौसमी माग, आर्थिक मन्दी, यात्रु आवागमनमा आउने उतारचढाव तथा पर्यटन गतिविधिमा आउने सुस्तताले कम्पनीको कारोबार र आम्दानीमा प्रत्यक्ष असर पार्न सक्ने उल्लेख गरेको छ । त्यस्तै, कोभिड-१९ जस्ता विश्वव्यापी महामारी, भूराजनीतिक तनाव, सरकारी नीतिगत तथा नियामकीय परिवर्तनलगायतका बाह्य घटनाक्रमले पनि ट्राभल तथा हवाई टिकटिङ व्यवसायलाई प्रभावित पार्न सक्ने कम्पनीको भनाइ छ । यद्यपि, दीर्घकालीन रूपमा व्यवसायको सम्भावना भने सकारात्मक रहेको कम्पनीको विश्वास छ । नेपालमा पर्यटन क्षेत्रको उच्च सम्भावना, अध्ययन, रोजगारी तथा भ्रमणका लागि विदेश जाने नेपालीको बढ्दो संख्या र पर्यटन प्रवद्र्धनमा सरकारको प्राथमिकताले अन्तर्राष्ट्रिय हवाई टिकटिङ तथा ट्राभल सेवाको माग अझ विस्तार हुने अपेक्षा गरिएको छ । साथै, नेपाल सरकारले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि अघि सारेका विभिन्न नीति तथा कार्यक्रमले समग्र ट्राभल तथा पर्यटन व्यवसायलाई थप टेवा पुग्ने कम्पनीको विश्वास छ । पर्यटन गतिविधि विस्तारसँगै यस क्षेत्रमा आबद्ध कम्पनीहरूको व्यवसाय वृद्धि हुने सम्भावना पनि सकारात्मक रहेको कम्पनीले जनाएको छ ।
गृहमन्त्री र गृहसचिवको गाडीको कालो सिसा हटाइयो
काठमाडौं । सवारीसाधनमा जडान गरिएको कालो सिसाविरुद्ध ट्राफिक प्रहरीले थालेको अभियानमा गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठ स्वयं सहभागी भएका छन् । अभियानलाई प्रभावकारी बनाउने सन्देश दिँदै उनीहरूले आफ्नै सरकारी सवारीको कालो सिसा हटाएका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार पुगेर गृहमन्त्री गुरुङले आफ्नो सवारीबाट कालो सिसा हटाउन निर्देशन दिएका थिए । त्यसपछि ट्राफिक प्रहरीले गृहमन्त्री र गृहसचिव दुवैको सवारीमा जडान गरिएको कालो सिसा हटाएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले कालो सिसा हटाउने अभियानलाई निरन्तर सञ्चालन गरिने जानकारी दिएका छन् । उनका अनुसार कालो सिसाको प्रयोगले सवारीभित्र हुने गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले विभिन्न आपराधिक गतिविधिमा यसको दुरुपयोग हुने गरेको छ । प्रहरीको भनाइअनुसार कालो सिसा भएका सवारीसाधनमार्फत लागुऔषधको ओसारपसार तथा सेवन, साना हतियारको अवैध ढुवानीदेखि सुन तस्करी र अपराधीलाई भगाउनसमेत सहयोग पुगेका घटनाहरू अनुसन्धानका क्रममा फेला परेका छन् । यही कारण ट्राफिक प्रहरीले निजी तथा सार्वजनिक दुवै प्रकारका सवारीसाधनमा जडान गरिएका अनधिकृत कालो सिसा हटाउने अभियानलाई कडाइका साथ अघि बढाएको जनाएको छ ।
एआई विस्तारसँगै दक्षिण कोरियाले बढायो सेमीकन्डक्टरमा लगानी
काठमाडौं । कृत्रिम बौद्धिकता (एआइ) चलाउन आवश्यक साधनहरूको ठूलो मागले दक्षिण कोरियालाई चीनजस्ता प्रतिस्पर्धीहरूविरुद्ध आफ्नो ‘चिप’ उद्योगलाई बलियो बनाउने अवसर दिएको विश्लेषकहरूले बताएका छन् । सियोलले सोमबार नयाँ सेमीकन्डक्टर कारखाना र एआई डाटा सेन्टरहरू समेटिने गरी ठूलो लगानीको घोषणा गरेको छ र यसको नेतृत्व दक्षिण कोरियाली चिप उत्पादक कम्पनीहरूले गरेका छन् । व्यापक नाफा एआई प्रणाली चलाउन मद्दत गर्ने उन्नत मेमोरी चिप उत्पादन गर्ने विश्व बजारमा अमेरिकी कम्पनी माइक्रोन र दक्षिण कोरियाका सामसुङ इलेक्ट्रोनिक्स तथा एसके हाइनिक्सगरी प्रमुख तीन कम्पनीको वर्चस्व छ । सरकार तथा प्रविधि कम्पनीहरूले एआई उपकरण प्रशिक्षण र सञ्चालनमा सयौँ अर्ब डलर खर्च गरिरहँदा यी कम्पनीहरूको नाफा र शेयर मूल्य अत्यधिक बढेको छ । 'एआईले ठूलो माग मात्र होइन, अभाव पनि सिर्जना गरेको छ जसले मूल्य वृद्धि गराएको छ,' सेमीकन्डक्टर विशेषज्ञ जिम ह्यान्डीले एएफपीले प्राप्त ‘अब्जेक्टिभ एनलाइसिस’ मा एएफपीलाई बताए । मेमोरी र स्टोरेज चिपको बढ्दो मूल्य उपभोक्तासम्म पुगेको छ । एप्पलले म्याकबुक र आइप्याडको मूल्य यसै महिना बढाएको छ । यो विकासले ल्याएको आर्थिक वृद्धिले कामदारहरूको तलब मागलाई पनि बढावा दिएको छ । सामसुङले मे महिनामा ठूलो हडताल टार्न आफ्नो सबैभन्दा ठूलो ट्रेड युनियनसँग बोनस सम्झौता गरेको थियो । चिनियाँ प्रतिस्पर्धा दक्षिण कोरियाले यस वर्ष एआईमा खर्च तीन गुणा बढाउने प्रतिबद्धता जनाएको छ । यसले अमेरिका र चीनसँगै विश्वका शीर्ष एआई शक्तिमध्ये एक बन्न लक्ष्य राखेको छ । विशेष गरी चीनले आफ्नो प्रविधि उद्योग विकासमा दौडिरहेको बेला सियोलले यो विकासको अवधिलाई ‘एक पटकको अवसर’ को रूपमा हेरेको प्रविधि कम्पनी ‘ओमडिया’का प्रमुख विश्लेषक लियन ज्ये सुले बताए । 'यो दक्षिण कोरियाका लागि आफ्नो रणनीतिक लाभ प्रयोग गरेर लगानी गर्न उपयुक्त समय हो किनकि एआईको प्रगति सुस्त हुनसक्छ र माग घट्न सक्छ,' उनले एएफपीसँगको कुराकानीमा भने । फाइनान्सियल टाइम्सले शनिबार आफ्नामे समाचारमा लेखेको छ, 'एप्पलले चिनियाँ उत्पादक ‘सीएक्सएमटी’बाट मेमोरी चिप किन्न खोजिरहेको छ र यो कम्पनी अभावबाट फाइदा लिने स्थितिमा छ ।' एएफपीले यस सम्बन्धमा एप्पल र सीएक्सएमटीसँग प्रतिक्रिया मागेको छ । 'चिनियाँ कम्पनीहरूलाई सस्तो श्रम र ठूलो घरेलु मागको फाइदा छ, तर उनीहरूको प्रविधि वृद्धिमा सीमा हुनसक्ने देखिन्छ,' सुले भने । 'मानिसहरू चिनियाँ ‘सिलिकन’मा अत्यधिक निर्भर हुन कम इच्छुक छन् र यसै कारण सामसुङजस्ता कोरियाली कम्पनीहरूले उत्पादनमा ‘दोब्बर’ जोड दिन चाहेका छन् । नवप्रवर्तन अनिवार्य 'स्थापित एसियाली चिप उत्पादकहरूले एआइको तीब्रतर विकासको फाइदा लिन सक्छन् किनकि उनीहरू अझै नवप्रवर्तनशील छन्,' ह्यान्डीले भने । 'यसले उनीहरूलाई नाफा दिन्छ, उनीहरू र उस्तै स्तरको खर्च र अनुसन्धान लगानी गर्न नसक्ने ती साना कम्पनीहरूबीचको खाडललाई यसले बढाउँछ,' उनले अगाडि भने । 'सोमबारको घोषणासँगै दक्षिण कोरियाली चिप उत्पादकहरूले आफूसँग भएको प्रशस्त नगदको उपयोग गरेर आफ्नो उत्पादन विविधीकरण गर्न चाहेका छन्,' सुले थपे । यसले उनीहरूलाई हालको आकर्षण क्षेत्र बनेको मेमोरी चिप निर्माणमा अत्यधिक निर्भर हुनबाट जोगाउँछ । अर्थशास्त्रीहरूले यसलाई ‘डच डिजिज’ भन्छन्, जसले एक वस्तुको अस्थायी मूल्य वृद्धिको नकारात्मक प्रभावलाई जनाउँछ । तीब्रतर आर्थिक वृद्धि कि अवनति एआई क्षेत्रको चकित पार्ने विकास गतिले सामसुङको शेयर मूल्य गत वर्ष ४३० प्रतिशतभन्दा बढी बढेको छ भने एसके हाइनिक्सको ७७० प्रतिशत बढेको छ । यसले एआईको तीब्रतर विकास कति समय टिक्छ भन्ने चिन्ता बढाएको छ । सुजस्ता केही विश्लेषकहरू एआई उपकरणहरू व्यवसायिक सञ्चालनमा गहिरिएर एकीकरण हुँदै गएकाले माग बलियो रहनेमा आशावादी छन् । 'मेमोरी चिपका लागि अन्तिम बजारमा प्रभाव नपरेसम्म मूल्य बढ्न रोकिने कुराको कम सम्भावना छ,' ह्यान्डीले भने, 'यदि मूल्य अत्यधिक बढ्यो भने बजारले अर्को प्रविधितर्फ लाग्छ वा पूरै हराउँछ,तर हामी अझै त्यहाँ पुगेका छैनौँ ।' रासस