धरौटीमा छुटे पासपाेर्ट प्रकरणका पाँच आरोपित
काठमाडौं । राहदानी भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच जना आरोपितलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले आरोपितहरूको भूमिकाअनुसार ३ लाखदेखि ५ लाख रुपैयाँसम्म धरौटी लिएर छाड्न आदेश दिएको हो । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख रुपैयाँ धरौटी माग गरेको छ । यस्तै विभागका कर्मचारी सोमेश थापा र विपिन प्रसाईंसँग जनही ३ लाख रुपैयाँ तथा ठेकेदार कम्पनीका नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग ५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हाे । यसैबीच, सोही मुद्दाका अन्य दुई आरोपित तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई भने साधारण तारेखमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ ।
प्राइम कमर्सियलले अरुण खोला जलविद्युत् आयोजनामा ३० करोड ऋण लगानी गर्ने
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले हिमालयन इञ्जिनियरिङ्ग एण्ड इनर्जीद्वारा प्रवर्द्धित २ मेगावाट क्षमताको अरुण खोला–२ जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता गरेको छ । सोमबार आयोजित कार्यक्रममा बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर नारायणप्रसाद श्रेष्ठ र प्रवर्द्धक कम्पनीका अध्यक्ष ओमप्रसाद भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । आयोजनाको अनुमानित लागत ४८ करोड ६४ लाख रुपैयाँ रहेको छ । कुल लागतमध्ये प्राइम कमर्सियल बैंकले ३० करोड रुपैयाँ ऋण लगानी गर्नेछ भने बाँकी ३८.३४ प्रतिशत रकम प्रवर्द्धक कम्पनीले स्वपुँजीबाट जुटाउनेछ । प्रवर्द्धकका अनुसार आयोजनाबाट सुख्खायाममा ४.८६४ गिगावाट घण्टा र वर्षायाममा ८.३१९ गिगावाट घण्टा गरी वार्षिक १३.१८ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । आयोजना १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
बैंकिङ कसुरमा फरार शेर्पा पक्राउ
काठमाडौं । बैंकिङ कसुरमा कैद र जरिवाना भइ फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । ५१ वर्षीय निमा लामा शेर्पालाई काठमाडौं उपत्यका अपराधा अनुसन्धान कार्यालयको टोलीले चावहिलबाट पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतले २०७९ माघ ६ गतेको फैसलाले लाख १० दश हजार रुपैयाँ र पाँच दिनको कैद ठहर गरेको थियो । हाल सम्म फरार रहेका शेर्पालाई खोजतलास चावहिलबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । सोमबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराईएको कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
भाइरल बस-बाइक दुर्घटनाको वास्तविकता के हो ?
काठमाडौं । भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ । भिडियो सार्वजनिक भएपछि घटनालाई लिएर विभिन्न अड्कलबाजी र टिप्पणीहरू भइरहेका छन् । ट्वीटर प्रयोगकर्ता निर्मल पर्साईले भिडियो पोस्ट गर्दै लेखेका छन्, 'अगाडि क्लियर बाइक देखिन्छ, देख्दादेख्दै बाइकमाथि बस चढाउँछ। यो दुर्घटना होइन, जानाजान हत्या प्रयास हो ।' यस्तै, अर्का एक ट्वीटर प्रयोगकर्ताले पनि यातायात समितिको संरक्षणका कारण यस्ता घटना हुने गरेको आरोप लगाउँदै लेखेका छन्, 'ज्यान मार्ने अभिप्राय नै देखिन्छ । यसलाई हत्या प्रयासको मुद्दामै दर्ता गर्नुपर्छ ।' भाइरल भिडियोमा भक्तपुरको च्यामसिंह क्षेत्रमा गुडिरहेको बा ४ ख ५७५४ नम्बरको बस अगाडि मोटरसाइकल देखिन्छ । केही क्षणमै बस अगाडि बढ्दै जाँदा बा ०२-०१९ प ४५१९ नम्बरको मोटरसाइकल बसको अगाडि पर्छ र चालक ३८ वर्षीय रञ्जीत थापामगर मोटरसाइकलसहित लडेको देखिन्छ । भिडियोमा घटनास्थलमा रहेका मानिसहरू चिच्याइरहेको आवाज पनि सुनिन्छ। त्यसपछि स्थानीयहरू बस वरिपरि जम्मा भएर बसमुनि हेरेको दृश्य भिडियोमा देखिन्छ । यही भिडियोको वास्तविकता बुझ्न विकासन्युजले जिल्ला प्रहरी परिसर भक्तपुरसँग सम्पर्क गरेको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार घटना आइतबार दिउँसो करिब ३:३० बजे भएको हो । उक्त बस ग्यारेजबाट निकालेर सडकमा ल्याइँदै थियो । उनका अनुसार बस सडकमा निस्किएर अगाडि बढ्ने क्रममा अचानक मोटरसाइकल बसको अगाडि आइपुगेको थियो । प्रारम्भिक अनुसन्धानमा बसको हाइड्रोलिक ब्रेकमा समस्या देखिएको र सोही कारण दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ । प्रवक्ता जबेगुले बस चालक ४८ वर्षीय शम्भु गिरी र मोटरसाइकल चालकबीच आपसी समझदारी भएको जानकारी दिए । बस चालकको तर्फबाट मोटरसाइकलमा भएको क्षतिको मर्मत गरिदिने सहमति भएको छ । प्रहरीका अनुसार घटनामा मानवीय क्षति भएको छैन । यद्यपि बसमा प्राविधिक समस्या कसरी आयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्वतन्त्र चालक फाउन्डेसनका सदस्यले आइजीआई प्रुडेन्सियलबाट बीमा सुविधा पाउने
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र स्वतन्त्र चालक फाउन्डेसन नेपालबीच बीमा सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार स्वतन्त्र चालक फाउन्डेसनसँग आबद्ध सदस्यहरूले आइजीआई प्रुडेन्सियलमार्फत दुर्घटना तथा स्वास्थ्य बीमासम्बन्धी सेवा, क्यासलेस उपचार सुविधा तथा दाबी प्रक्रियामा सहज र छिटो सेवा प्राप्त गर्नेछन् । सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका बागमती प्रदेश प्रमुख श्रीराम भण्डारी र स्वतन्त्र चालक फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष मुक्तिनाथ फुयाँलले हस्ताक्षर गरेका छन् । दुवै संस्थाले दुर्घटनापछि आवश्यक समन्वय, क्यासलेस उपचार सेवा उपलब्ध गराउने, बीमा दाबी प्रक्रियालाई सरल बनाउने तथा छिटो भुक्तानी सुनिश्चित गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । सम्झौतापछि आइजीआई प्रुडेन्सियलका बागमती प्रदेश प्रमुख भण्डारीले फाउन्डेसनका सदस्यलाई कम्पनीका विभिन्न बीमा सेवाबाट लाभ लिन आग्रह गरे । उनले गुणस्तरीय सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताए । यस्तै, स्वतन्त्र चालक फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष मुक्तिनाथ फुयाँलले आइजीआई प्रुडेन्सियलबाट छिटो र प्रभावकारी बीमा सेवा प्राप्त हुने विश्वास व्यक्त गर्दै फाउन्डेसनका सदस्यलाई क्रमशः कम्पनीका बीमा योजनामा आबद्ध गराउँदै लैजाने बताए ।
क्याम्पसभित्रका दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै आंगिक क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ । त्रिवि शिक्षाध्यक्ष कार्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै आंगिक क्याम्पस प्रमुखलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । निर्देशनालयका उपप्रशिक्षक सन्देश कुमार रेग्मीद्वारा जारी पत्रमा शिक्षा मन्त्रालयले शिक्षा क्षेत्रमा दलीय हस्तक्षेपका कारण विद्यार्थीको वास्तविक आवाज कमजोर बनेको तथा शैक्षिक गुणस्तरमा समेत असर परेको निष्कर्ष निकाल्दै ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने र ९० दिनभित्र ’स्टुडेन्ट काउन्सिल’ वा ’भ्वाइस अफ स्टुडेन्ट’ प्रणाली विकास गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको उल्लेख छ । सोही निर्देशन कार्यान्वयनका लागि त्रिविले आफ्ना सबै आंगिक क्याम्पसलाई आवश्यक प्रक्रिया अघि बढाई यथाशीघ्र जानकारी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा पठाउन अनुरोध गरेको छ । शिक्षा मन्त्रालयले सार्वजनिक शिक्षामा राजनीतिक हस्तक्षेप न्यूनीकरण गर्दै विद्यार्थीको स्वतन्त्र प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ यस्तो व्यवस्था अघि बढाएको हो । त्रिविको पछिल्लो निर्देशनसँगै अब आंगिक क्याम्पसहरूमा दलीय विद्यार्थी संगठनका कार्यालय तथा संरचना हटाउने प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ ।
मन्दिरमै भ्रष्टाचार, १० जनाविरुद्ध मुद्धा
काठमाडौं । बझाङको छविसपाथिभेरा गाउँपालिकामा बाँठपाली मन्दिर निर्माणको लागि निकासा भएको रकम भ्रष्टाचार गरेको आरोपमा दुई गाउँपालिकाका १० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुर्गास्थली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकाका निमित्त प्रमुख, प्रशासकीय अधिकृतदेखि कोषाध्यक्षसम्म गरी १० जनाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले बाँठपाली देवताको मन्दिर निर्माणमा २२ लाख एक हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरेको छ । अख्तियारका अनुसार मन्दिर निर्माणको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४५ लाख रुपैयाँ र उपभोक्ता सहभागिता समेत गरी कुल लागत ५६ लाख ७ लाख रुपैयाँ थियो । मन्दिर निर्माण २०७६ असार २५ सम्ममा सम्पन्न गर्ने गरी २०७५ चैत्र २६ गते सम्झौता भएको थियो । अनुसन्धानका क्रममा भने वास्तविक भएको काम भन्दा अस्वाभाविक बढी काम देखाएको, अस्वाभाविक दररेट राखेको र जनसहभागिता रकम कम कट्टा गरी झट्टा बिल भरपाईको आधारमा जम्मा २२ लाख ११ हजार ६६६ रुपैयाँ भुक्तान लिएको देखिएको छ । अख्तियारले अनियमिता गरी भ्रष्टाचार गरेको आरोपमा छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला, वडा नम्बर ६ की अध्यक्ष मोहनलाल विक, मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यस्तै, अख्तियारले दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथिभेरा गाँउपालिकाका इन्जिनियर हिक्मत रावल र सबइन्जिनियर बमबहादुर बोहरामाथि मुद्दा दायर गरेको हो ।
विष्णु पौडेल थप ३ दिन न्यायिक हिरासतमा रहने
काठमाडौं । विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सोमबार अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पौडेललाई थप ३ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो । विशेष अदालतको अदालतले उनलाई न्यायिक हिरासतमा राख्न पठाइएको छ । यसअघि अदालतले पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेललाई एक साताअघि सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो ।