विश्वकै ठूलो २२ फिटको शालिग्राम शीलाले बढायो धार्मिक पर्यटकको आकर्षण
काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिका-४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा कुँदिएको विश्वकै ठूलो २२ फिट उचाइको शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गत वैशाखअघि कालिगण्डकी नदीको छेउमा रहेको विशाल ढुङ्गालाई नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानका मूर्तिकारहरूले शालिग्राम शीलाको आकार दिएर मूर्ति निर्माण गरेपछि उक्त स्थान धार्मिक पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको हो । घरपझोङ गाउँपालिकाको आयोजना र एकीकृत सेवा कार्यालय मुस्ताङको सहलगानीमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानसँगको समन्वयमा गत वैशाख ७ देखि २१ गतेसम्म जोमसोममा १५ दिने मूर्तिकला कार्यशाला सञ्चालन गरिएको थियो । कार्यशालामा सहभागी ३६ भन्दा बढी मूर्तिकारले कालिगण्डकी नदीको तटमा रहेका विशाल ढुङ्गालाई विभिन्न स्वरूपका मूर्तिमा रूपान्तरण गरेका थिए । मूर्तिकारहरूले जिल्लाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक तथा जैविक विविधतालाई समेट्दै कालिगण्डकी नदीका डेढ दर्जन ढुङ्गालाई कलात्मक मूर्तिका रूपमा प्रस्तुत गरेका थिए । मूर्तिकारहरूले कार्यशालाका क्रममा कालिगण्डकी नदी किनारका ढुङ्गामा शालिग्राम शीला, भगवान् महादेव, पार्वती, विष्णु, बुद्ध, हिमचितुवा, हिमाली भेँडा, बौद्ध स्तूप, माने, छोर्तेनलगायत सम्पदाका कलात्मक मूर्ति सिर्जना गरेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । उनका अनुसार मूर्तिकारद्वारा कुँदिएका डेढ दर्जन मूर्तिमध्ये अहिले सबैको ध्यान विश्वकै ठूलो आकारको शालिग्राम शीलातर्फ तानिएको छ । घरपझोङ गाउँपालिकाले उक्त शालिग्राम शीलाको प्राणप्रतिष्ठा गरेसँगै धार्मिक पर्यटकको चहलपहल बढेको अध्यक्ष लालचनले बताए । उनका अनुसार कालिगण्डकी नदीछेउको विशाल ढुङ्गामा कुँदिएको उक्त मूर्तिको भारतको कर्नाटक राज्यस्थित शृङ्गेश्री शारदा पीठका पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी विधुशेखर भारती महाराजले विशेष पूजाअर्चनासहित प्राणप्रतिष्ठा गरेका हुन् । भारतीय स्वामी महाराजबाट कालिगण्डकी नदीमा निर्मित शालिग्राम शीलाको गत जेठको पहिलो साता विभिन्न धार्मिक स्वामीहरूको उपस्थितिमा प्राणप्रतिष्ठा गरिएको थियो । अहिले मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउने स्वदेशी तथा विदेशी धार्मिक पर्यटकका लागि यो मूर्ति आस्थाको केन्द्र बन्दै गएको उनले बताए । घरपझोङ गाउँपालिका(४, जोमसोमका कार्यपालिका सदस्य भीषण थकालीका अनुसार शालिग्राम शीलाको प्राणप्रतिष्ठापछि दैनिक एक सयभन्दा बढी दर्शनार्थीले उक्त शीलाको दर्शन तथा अवलोकन गर्ने गरेका छन् । विशेषगरी मुक्तिनाथ दर्शन गर्न आएका भारतीय दर्शनार्थीको यहाँ उल्लेख्य घुइँचो लाग्ने गरेको उनको भनाइ छ । उक्त शीलाको प्राणप्रतिष्ठापछि विश्वकै ठूलो आकारको शालिग्राम दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढेसँगै सदरमुकाम जोमसोममा पर्यटकको बसाइँसमेत लम्बिन थालेको कार्यपालिका सदस्य थकालीले बताए । उनका अनुसार गाउँपालिकाले उक्त स्थानलाई घेराबार गरी शालिग्राम पार्क निर्माण गर्ने योजना बनाएको छ । उक्त शालिग्राम पार्कमा दर्शनार्थीलाई सहज हुने गरी गोरेटो बाटो निर्माण गर्नुका साथै मूर्तिकारहरूले कुँदेका अन्य मूर्तिसमेत सोही स्थानमा स्थापना गरिने कार्यपालिका सदस्य थकालीले बताए । भारतको मुम्बईबाट मुक्तिनाथ दर्शन गरी फर्किएकी जेनिशा जेनले जीवनमा पहिलोपटक यति ठूलो आकारको शालिग्रामको दर्शन गर्न पाएकोमा खुसी व्यक्त गरे । भगवान् विष्णुको स्वरूपसहित अन्य मूर्तिको महत्व धार्मिक आस्था र विश्वाससँग जोडिएको उहाँले उल्लेख गरे । मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउने पर्यटकका लागि शालिग्राम शीला यहाँको आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बनेको अध्यक्ष लालचनले बताए । मुस्ताङ सदरमुकाम जोमसोम बजारसँग जोडिएको कालिगण्डकी नदीको तटमा अवस्थित शालिग्राम शीला, नीलगिरि हिमाल र धौलागिरि हिमालको मनमोहक दृश्यले शालिग्राम शीला पार्क पुगेका धार्मिक पर्यटकलाई मोहित बनाउने गरेको स्थानीयवासी बताउँछन् ।
काठमाडौं महानगरपालिकामा ‘नमस्ते सेवा अभियान’ सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर प्रहरी बलको सप्ताहव्यापी ‘नमस्ते सेवा अभियान’ सुरु गरेको छ । सोमबार (आज) देखि वसन्तपुरबाट सुरु गरिएको महानगर प्रहरी बलको सप्ताहव्यापी नागरिक सचेतजना कार्यक्रम ‘नमस्ते सेवा अभियान’ को शुभारम्भ गर्दै कामपाको प्रमुख सुनिता डङ्गोलले महानगर प्रहरी बललाई नागरिकसँगको सम्बन्धमा सरल र नम्र हुन तथा कानुन कार्यान्वयनमा कडा बन्न निर्देशनसमेत दिइन् । ‘रुखो बोलेर कानुन कार्यान्वयन हुने होइन । जिम्मेवारीप्रतिको इमान्दारिताले सहरी व्यवस्थापनका लागि तोकिएका व्यवस्था कार्यान्वयन हुन्छन्’, कार्यवाहक प्रमुख डङ्गोलले भनिन् , ‘नागरिकले मेरो प्रहरी भन्ने महसुस गर्ने गरी पहिचान स्थापित गर्नोस् । दायित्वलाई सेवामूलक, जनउत्तरदायी, सवल, सक्षम र गुणस्तरीय रूपमा सञ्चालन गर्नु महानगर प्रहरी बलको योग्यता हो । आफ्नो योग्यतालाई नागरिक सेवामा समर्पण गर्नोस् ।’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले महानगर प्रहरी बलले थालनी गरेको अभियानबाट प्रहरीलाई नागरिकले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरेको धारणा राखिन् । कामपा प्रहरी बलले ट्राफिक व्यवस्थापन, फोहर अनुगमन, अनधिकृत व्यापार नियन्त्रण, विपद् व्यवस्थापन, सम्पदा व्यवस्थापनलगायत क्षेत्रमा काम गरिरहेको छ । कार्यक्रममा महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले भने, ‘यस अभियानबाट नागरिक र प्रहरीको सम्बन्धलाई नजिक र बलियो बनाउन चाहेका छौं । अभियानका क्रममा नागरिकलाई उहाँहरूको दायित्वका विषयमा बुझाउनेछौं ।’ ‘परिवर्तित सन्दर्भमा नागरिक र प्रहरीबीचको सम्बन्धका विषयमा नयाँ कार्यक्रम थालनी जरुरी थियो । कामपा प्रहरी बलले यसको प्रारम्भ गरेको छ । यो सकारात्मक कुरा हो,’ कार्यक्रममा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले भने । कामपाको चलअचल सम्पत्तिको सुरक्षा गर्ने, सभा समारोह, चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापनका काम गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेख गर्ने, सरसफाइ र सुन्दरता जगेर्ना गर्ने, विपद् व्यवस्थापन, वातावरणीय सुधारलगायत क्षेत्रमा महानगर प्रहरी बलले काम गरिरहेको छ ।
स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको गुणस्तर अनुगमन तीव्र
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर सुधारको अवस्थाबारे अनुगमनलाई तीव्र बनाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आज वीर अस्पताल, ट्रमा सेन्टर तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अस्पताल सुधार कार्यक्रमअन्तर्गत भएका प्रगतिको स्थलगत अनुगमन गरिएको हो । अनुगमनका क्रममा अस्पतालहरूले प्रदान गर्ने स्वास्थ्य सेवा, सेवाग्राही सहजीकरण, भीड व्यवस्थापन, सरसफाइ तथा समग्र व्यवस्थापकीय पक्षको मूल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ । अनुगमनका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सुलभ फार्मेसी प्रभावकारी रूपमा सञ्चालन भइरहेको पाइएको छ । मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत सेवाग्राहीले गुणस्तरीय औषधि सस्तो तथा सहज मूल्यमा प्राप्त गर्न सक्नेछन् । मन्त्री मेहताको निर्देशनअनुसार ट्रमा सेन्टरले सोमबारदेखि सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ भने वीर अस्पतालमा समेत यही हप्ताभित्र सञ्चालनमा ल्याइने भएको छ । यसैगरी, अस्पतालहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत निःशुल्क सेवा, भीड व्यवस्थापन, सरसफाइ तथा सेवाको प्रभावकारिताबारे समेत निरीक्षण गरी आवश्यक सुधार तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ । यसैक्रममा, वीर अस्पतालले केडी जोशी बर्न युनिटलाई थप स्तरीय बनाउन आवश्यक सुधारका कार्य अघि बढाएको छ । साथै, बर्न उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई आवश्यक तालिमसमेत प्रदान गरिरहेको पाइएको छ । यसैगरी, भीड व्यवस्थापनलाई थप प्रभावकारी बनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा काउन्टरको संख्या ३ बाट ५ पुर्याइएको पाइएको छ । साथै, अस्पतालमा क्युआर प्रणालीमार्फत औषधिको उपलब्धताबारे सेवाग्राहीले सहज रूपमा जानकारी लिन सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । वीर अस्पताल र टेकुमा भने क्युआर प्रणालीमार्फत नै बिरामीले आफ्नो रिपोर्टसमेत निकाल्न सक्नेछन् । यसैगरी, सबै अस्पतालहरूले कर्मचारीको सेवा व्यवहार सुधारका लागि सबै अस्पतालहरूले सफ्ट स्किल तालिम सञ्चालन गरिरहेका छन् । मन्त्रालयले सरकारी अस्पतालहरूको सेवा गुणस्तर सुधार, सेवाग्राहीमैत्री वातावरण निर्माण तथा स्वास्थ्य सेवामा आम नागरिकको पहुँच थप प्रभावकारी बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
काठमाडौं । सोमबार (आज) असार १५ गते, लोकल उत्पादनको रूपमा प्रख्यात भक्तपुरको ताइचिन चिउरा एकै दिन ४० टन बिक्री भएको छ । काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका विभिन्न सहर र काभ्रेपलाञ्चोक जिल्लामा असार १५ का लागि यहाँका चिउरा व्यवसायीले ४० टन ताइचिन चिउरा बिक्री गरेको चिउरा व्यवसायी एवं भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले जानकारी दिए । उनले आजको दिन ताइचिन चिउराको माग अत्यधिक बढेको बताए । दहीसँग ताइचिन चिउरा निकै स्वादिलो हुने मान्यता अनुरूप वर्षौंदेखि चिउराका पारखीले ताइचिन चिउरानै रोज्ने गर्छन् । भक्तपुरमा करिब २५ वटा चिउरा मिलबाट दैनिक २५ टन ताइचिन चिउरा उत्पादन हुने गरेको उहाँले जानकारी दिए । भक्तपुर नगरपालिका-६ भालाछेँमा लक्ष्मी चिउरा उद्योगको नामले प्रख्यात जतिको उक्त चिउरा उद्योगमा मात्रै दैनिक ८०० किलो ताइचिन चिउरा बिक्री हुने गरेको उनी बताउँछन् । दही चिउरा खाने दिन काठमाडौं उपत्यकाका व्यापारी तथा रेष्टुरेष्टहरूमा ताइचिन चिउराको माग अत्यधिक बढेको उनले बताए । आज मात्रै आफ्नो चिउरा मिलबाट एक हजार किलो चिउरा माग भएकोमा ८०० किलो मात्रै दिन सकेको सङ्घका निवर्तमान अध्यक्ष जति बताउँछन् । भक्तपुरबाट प्रतिकिलो २५० रुपैयाँमा ताइचिन चिउरा बिक्री हुँदै आएको छ । खानलाई स्वादिलो र स्वस्थ्यवद्र्धक हुने भएकाले दहीसँग ताइचिन चिउरा खाने प्रचलन रहेको उनी बताउँछन् । भक्तपुरबाट वार्षिक ३०० टन ताइचिन चिउरा काठमाडौं उपत्यकामा बिक्री हुने गरेको उनी बताउँछन् । चिउराका लागि चैतेधानको साथै चितवन, नुवाकोट, पनौती, नाला, भक्तपुरबाट सिजनअनुसार धान आयात गरेर चिउरा उत्पादन गर्ने गरेको सङ्घका पूर्वअध्यक्ष जति बताउँछन् ।
भन्सार विभागका महानिर्देशक मन्त्रालय तानिए, पाण्डेलाई निमित्तको जिम्मेवारी
काठमाडौं । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा फिर्ता बोलाइएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै भण्डारीलाई विभागबाट मन्त्रालयमा फिर्ता बोलाउने निर्णय गरेका हुन् । महानिर्देशक भण्डारी बाहिरिएसँगै अहिले भन्सार विभागको रिक्त नेतृत्वमा उपमहानिर्देशक भरतमणि पाण्डेलाई निमित्त महानिर्देशकको जिम्मेवारी तोकिएको छ ।
भाइद्वारा दाजुको हत्या
काठमाडौं । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार बेलुका २६ वर्षीय दाजु मनोज चौधरीलाई हत्या गरी नहरमा फालेर फरार भएका २० वर्षीय विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले जनाएको छ । प्रहरीले निजलाई कोहलपुर नगरपालिका-१५ स्थित चन्हवाबाट पक्राउ गरेको थियो । कुटपिटबाट हत्या भएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज ल्याइएको छ । पक्राउ परेका विनोदको म्याद थपका लागि जिल्ला अदालत, बाँकेमा ल्याइएको प्रहरीले जनाएको छ ।
कम्पनी रजिस्ट्रार र उद्योग विभागको विवरण अब एकीकृत ड्यासबोर्डमा, आगामी वर्ष प्रदेशको डाटा पनि जोडिने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्पूर्ण विवरणका बारेमा जानकारी दिने उद्देश्यका साथ ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याइएको छ । उद्योगमन्त्री गौरी कुमारीको सक्रियतामा आजदेखि मन्त्रालयमा सर्वसाधारणले सहजै मन्त्रालयले गर्ने कामबारे जानकारी प्राप्त गर्ने उद्देश्यले ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याइएको हो । उक्त ‘ड्यासबोर्ड’ बाट अब दैनिक रूपमा हुने कम्पनी दर्ता, उद्योग दर्ता तथा फर्म दर्तासम्बन्धी विवरण वास्तविक समय (रियल टाइम) मै अद्यावधिक हुने छ । नेपालमा हालसम्म कति उद्योग तथा कम्पनी दर्ता भएर सञ्चालनमा छन् भन्ने जानकारी सर्वसाधारणले प्राप्त गर्न यसअघि निकै कठिन थियो । ‘ड्यासबोर्ड’ सञ्चालनपछि सहजै उक्त जानकारी प्राप्त गर्न सकिने उद्योग मन्त्रीको सचिवालयले जनाएको छ । यसबाट आगामी आर्थिक वर्षमा प्रदेशस्तरमा हुने दर्तासम्बन्धी विवरणसमेत समावेश गर्ने मन्त्रालयको योजना रहेको जनाइएको छ । सचिवालयका अुनसार ‘ड्यासबोर्ड’ मा हाल उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणाली हेर्न सकिनेछ । अन्य सूचना प्रविधि प्रणाली नभएका निकायको विवरण पनि ‘डाइनामिक फर्म’को माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । उक्त प्रणालीलाई एपीआईमार्फत एकीकृत गरी रियल टाइम डाटा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
एक वर्षमै ओशो वर्ल्ड ट्राभलले बेच्यो १० अर्बको हवाई टिकट
काठमाडौं । अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री तथा बुकिङ सेवा प्रदान गर्दै आएको ओशो वर्ल्ड ट्राभल नेपाल प्रालिले गत आर्थिक वर्ष २०८१/८२ मा झण्डै १० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीले उक्त अवधिमा ९ अर्ब ९३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा २.८० प्रतिशत अर्थात् २३ करोड १० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब ६६ करोड ७० लाख रुपैयाँ रहेको थियो । पछिल्ला वर्षहरूमा कम्पनीको कारोबार निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ८७ करोड रुपैयाँ, आव २०७८/७९ मा ५ अर्ब ११ करोड ४० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ, आव २०७६/७७ मा २ अर्ब ९३ करोड २० लाख रुपैयाँ, आव २०७५/७६ मा ४ अर्ब २४ करोड ५० लाख रुपैयाँ र आव २०७४/७५ मा ३ अर्ब ६४ करोड २० लाख रुपैयाँ बराबरको हवाई टिकेट बिक्री गरेको थियो । सन् १९९१ नोभेम्बरमा स्थापना भएको ओशो वर्ल्ड ट्राभल नेपालका पुराना अन्तर्राष्ट्रिय हवाई टिकटिङ कम्पनी एक हो । अन्तर्राष्ट्रिय हवाई यातायात संघबाट मान्यता प्राप्त कम्पनीले नेपाल एयरलाइन्स, थाई एयरवेज, गल्फ एयर, एतिहाद एयरवेज, कतार एयरवेज, ओमान एयर, एयर अरेबिया, एयर इन्डियालगायत विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको टिकट बिक्री तथा बुकिङ सेवा प्रदान गर्दै आएको छ । काठमाडौंस्थित केन्द्रीय कार्यालय रहेको कम्पनीमा प्रबन्ध निर्देशक श्यामराज थपलियाको ९० प्रतिशत तथा उनकी श्रीमती राखी थपलियाको १० प्रतिशत सेयर स्वामित्व रहेको छ । तीन दशकभन्दा लामो अनुभव र स्थापित एजेन्सी सञ्जालका कारण कम्पनीले नेपाली बजारमा राम्रो पहिचान बनाएको दाबी गरेको छ । यद्यपि कारोबार बढ्दै गए पनि कम्पनीको नाफा मार्जिन भने निकै न्यून छ । गत आर्थिक वर्ष सञ्चालन नाफा मार्जिन करिब ०.५ प्रतिशत मात्र रहेको कम्पनीले जनाएको छ । हवाई टिकटिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धा र कम कमिसनका कारण नाफा सीमित भएको कम्पनीको भनाइ छ । कार्यशील पुँजी व्यवस्थापन पनि कम्पनीका लागि चुनौतीपूर्ण बनेको छ । ग्राहकबाट भुक्तानी उठाउन औसत ३० दिन लाग्ने गरेको छ भने एयरलाइन्स तथा अन्य आपूर्तिकर्तालाई औसत १५ दिनभित्रै भुक्तानी गर्नुपर्ने भएकाले नगद प्रवाहमा दबाब परेको कम्पनीले जनाएको छ । यही कारण कम्पनी कार्यशील पुँजीका लागि बैंक ऋणमा निर्भर छ । हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २० करोड २५ लाख रुपैयाँ ऋण लिएको छ। यसमध्ये १३ करोड २५ लाख रुपैयाँ दीर्घकालीन तथा १ अर्ब ७ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । गत आर्थिक वर्ष कम्पनीको कुल ऋण तथा खुद सम्पत्ति अनुपात २.७ गुणा र कुल बाह्य दायित्व तथा खुद सम्पत्ति अनुपात ५.७ गुणा पुगेको छ । सञ्चालन नाफाको तुलनामा ऋणको भार उच्च रहेकाले ऋण भुक्तानी क्षमता पनि सीमित छ । यद्यपि यो अनुपात अघिल्लो वर्षको ०.९ गुणाबाट बढेर गत वर्ष १.१ गुणा पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हवाई टिकटिङ व्यवसायमा नाफाको मार्जिन स्वाभाविक रूपमा कम हुने भएकाले कार्यशील पुँजीको प्रभावकारी व्यवस्थापन र प्राप्य रकम (रिसिभेबल) नियन्त्रण वित्तीय सुधारका लागि महत्वपूर्ण रहनेछ । कम्पनीले आफ्नो व्यवसाय पर्यटन तथा हवाई यात्रा क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित भएकाले विभिन्न बाह्य जोखिमप्रति संवेदनशील रहेको जनाएको छ । मौसमी माग, आर्थिक मन्दी, यात्रु आवागमनमा आउने उतारचढाव तथा पर्यटन गतिविधिमा आउने सुस्तताले कम्पनीको कारोबार र आम्दानीमा प्रत्यक्ष असर पार्न सक्ने उल्लेख गरेको छ । त्यस्तै, कोभिड-१९ जस्ता विश्वव्यापी महामारी, भूराजनीतिक तनाव, सरकारी नीतिगत तथा नियामकीय परिवर्तनलगायतका बाह्य घटनाक्रमले पनि ट्राभल तथा हवाई टिकटिङ व्यवसायलाई प्रभावित पार्न सक्ने कम्पनीको भनाइ छ । यद्यपि, दीर्घकालीन रूपमा व्यवसायको सम्भावना भने सकारात्मक रहेको कम्पनीको विश्वास छ । नेपालमा पर्यटन क्षेत्रको उच्च सम्भावना, अध्ययन, रोजगारी तथा भ्रमणका लागि विदेश जाने नेपालीको बढ्दो संख्या र पर्यटन प्रवद्र्धनमा सरकारको प्राथमिकताले अन्तर्राष्ट्रिय हवाई टिकटिङ तथा ट्राभल सेवाको माग अझ विस्तार हुने अपेक्षा गरिएको छ । साथै, नेपाल सरकारले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि अघि सारेका विभिन्न नीति तथा कार्यक्रमले समग्र ट्राभल तथा पर्यटन व्यवसायलाई थप टेवा पुग्ने कम्पनीको विश्वास छ । पर्यटन गतिविधि विस्तारसँगै यस क्षेत्रमा आबद्ध कम्पनीहरूको व्यवसाय वृद्धि हुने सम्भावना पनि सकारात्मक रहेको कम्पनीले जनाएको छ ।