काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बिहीबार भएको भेटवार्तामा जलवायु परिवर्तन, पर्वतीय मुद्दा तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
भेटवार्तामा जलवायु परिवर्तन, पर्वतीय मुद्दा, विपद् जोखिम न्यूनीकरण, प्रारम्भिक चेतावनी प्रणाली, हिमनदीको अनुगमन, कृषि तथा विपद्पछिको पुनर्निर्माणलगायत क्षेत्रमा दुई देशबीच सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको कृषि मन्त्रालयको सचिवालयले जनाएको छ ।
राजदूत खानले नेपालमा हालै भएका विपद्का घटनापछि पाकिस्तान सरकार नेपालसँग व्यावहारिक तथा ठोस सहकार्य विस्तार गर्न इच्छुक रहेको बताएका थिए । उनले जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका क्षेत्रमा दुवै देशले अनुभव, प्रविधि तथा सूचना आदानप्रदान गर्न सक्ने धारणा राखे ।
उनले पाकिस्तानले विपद्पछिको पुनःनिर्माण तथा जलवायु उत्थानशील प्रविधिको क्षेत्रमा गरेका प्रयास र हासिल गरेको अनुभव नेपालसँग आदानप्रदान गर्न तयार रहेको बताए ।
पाकिस्तानका प्रधानमन्त्रीले समेत नेपालमा हालै भएको विपद्प्रति चासो व्यक्त गरेको उल्लेख गर्दै राजदूत खानले पुनःनिर्माण तथा विपद्पछिको सहयोगमा पाकिस्तान सहकार्य गर्न तयार रहेको जानकारी दिए ।
भेटवार्तामा नेपाल र पाकिस्तानले साझा पर्वतीय तथा जलवायु एजेन्डालाई क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन सहकार्य गर्न सकिने विषयमा समेत छलफल भएको थियो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लगायतका क्षेत्रीय मञ्चमार्फत पर्वतीय मुलुकका साझा मुद्दालाई प्राथमिकताका साथ उठाउने विषयमा पनि जोड दिइएको थियो ।
मन्त्री चौधरीले नेपाल र पाकिस्तान दुवै पर्वतीय देश भएकाले जलवायु परिवर्तनका असर, हिमनदी तथा विपद्का जोखिमजस्ता साझा चुनौती सामना गर्न सूचना, तथ्यांक, प्रविधि र अनुभवको आदानप्रदान महत्वपूर्ण रहेको बताइन् । उनले कृषि लगायत सम्भावित अन्य क्षेत्रमा समेत द्विपक्षीय सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरिन् ।
भेटमा विपद् व्यवस्थापन तथा सम्बन्धित अन्य निकायबीच संस्थागत सहकार्य र समझदारी विकास गर्ने विषयमा पनि छलफल भएको थियो ।
साथै, पाकिस्तानका जलवायु परिवर्तनसम्बन्धी सम्बन्धित मन्त्रीसँग नेपालको कृषि, वन तथा पर्यावरण मन्त्रालयबीच थप छलफल र समन्वय गर्ने विषयमा समेत कुराकानी भएको थियो ।
भेटवार्ताका क्रममा नेपालबाट पाकिस्तानमा चिया निर्यातलगायत व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाबारे पनि छलफल भएको थियो ।