विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बने दीर्घायुकुमार श्रेष्ठ, को हुन् उनी ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा दीर्घायुकुमार श्रेष्ठ चयन भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विगत चार महिनादेखि कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

सन् १९९७ को नोभेम्बरमा भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) बाट इन्जिनियर (सिस्टम अपरेटर) का रूपमा सेवा प्रवेश गरेका श्रेष्ठले करिब २९ वर्षको निरन्तर सेवापछि संस्थाको सर्वोच्च व्यवस्थापकीय नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् ।

आफ्नो लामो प्राविधिक तथा प्रशासनिक करिअरका क्रममा श्रेष्ठले प्राधिकरणका विभिन्न तल्ला तहदेखि उच्च जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । 

उनले सन् २००५ देखि २००९ सम्म पूर्वी काठमाडौं लगायतका विभिन्न वितरण केन्द्रमा सहायक प्रबन्धकका रूपमा काम गरेका थिए । 

त्यसपछि उनले हेटौंडा ग्रिड डिभिजन र कालीगण्डकी जलविद्युत् केन्द्रको प्रमुख (प्रबन्धक) का रूपमा नेतृत्वदायी भूमिका खेले । 

साथै सन् २०१४ देखि २०१८ सम्म अत्तरिया, हेटौंडा र काठमाडौं क्षेत्रीय कार्यालयहरूको प्रमुख (निर्देशक) भई जिम्मेवारी सम्हालेका उनले २०१८ देखि २०२० सम्म ग्रिड सञ्चालन विभागको नेतृत्व गर्दै विद्युत् प्रणाली र ग्रिड व्यवस्थापनमा महत्त्वपूर्ण योगदान दिएका थिए । 

पछिल्ला वर्षहरूमा संस्थाको उच्च व्यवस्थापनमा रहेर काम गरेका श्रेष्ठ सन् २०२० को डिसेम्बरदेखि २०२५ को अप्रिलसम्म प्रसारण निर्देशनालयको उपकार्यकारी निर्देशक र त्यसपछि २०२६ को मेसम्म वितरण तथा ग्राहक सेवा निर्देशनालयको उपकार्यकारी निर्देशक रहेका थिए । 

गत १३ मे २०२६ देखि कायममुकायम कार्यकारी निर्देशकका रूपमा कार्यरत श्रेष्ठलाई सरकारले पूर्ण जिम्मेवारी सुम्पिएसँगै, तल्लो तहको प्राविधिक इन्जिनियरबाट सुरु भएको उनको करिअरले प्राधिकरणको सर्वोच्च पद हासिल गर्दै एक सफल र अनुभवी नेतृत्वको उदाहरण दिएको छ । 

Share News