सञ्चारमन्त्री तिमिल्सिना कतार जाने

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईसीटी) को महासम्मेलनमा सहभागी हुन कतारको दोहा जाने भएका छन् । आगामी नोभेम्बर ७ देखि १३ सम्म हुने भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेललगायत मन्त्रालयका अधिकारीसमेत सहभागी हुने कार्यक्रम रहेको छ । 

संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विशिष्टीकृत संस्था अन्तर्राष्ट्रिय दूरसञ्चार संघले विश्वव्यापी दूरसञ्चार मापदण्ड निर्धारण, रेडियो फ्रिक्वेन्सी तथा भूउपग्रह कक्षाको अन्तर्राष्ट्रिय समन्वय र डिजिटल कनेक्टिभिटी विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

प्रत्येक चार वर्षमा आयोजना हुने यो महासम्मेलन संस्थाको सर्वोच्च नीति निर्माण गर्ने थलो हो, जसले संघको आगामी कार्यदिशा, रणनीतिक प्राथमिकता र नेतृत्व निर्धारण गर्दछ । 

महासम्मेलनका क्रममा हुने आईसीटीको उच्च व्यवस्थापन टोली, परिषद्का सदस्य राष्ट्र तथा रेडियो नियमावली बोर्डका सदस्यहरूको निर्वाचनमा नेपालले सहभागिता जनाउँदै मतदान गर्नेसमेत तय भएको छ । यस सहभागिताले अन्तर्राष्ट्रिय दूरसञ्चार नीति तथा निर्णय प्रक्रियामा नेपालको पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्ने विश्वास लिइएको छ ।

भ्रमणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले विभिन्न मुलुकका समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त भेटमा सम्बन्धित मुलुकहरूले दूरसञ्चार क्षेत्रको विकासमा हासिल गरेका सफल अभ्यास तथा अनुभव आदानप्रदान गर्नुका साथै प्राविधिक र संस्थागत सहकार्यका अवसरहरूबारे छलफल गरिनेछ ।

विशेषगरी दूरसञ्चार पूर्वाधार विकास, सेवाको गुणस्तर सुधार, डिजिटल पहुँच विस्तार तथा आधुनिक सञ्चार प्रविधिको उपयोगजस्ता विषयमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्दै नेपालको डिजिटल रूपान्तरण र दूरसञ्चार क्षेत्रको आधुनिकीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नु यस भ्रमणको प्रमुख उद्देश्य रहेको छ ।

Share News