काठमाडौं । नेपाली कांग्रेसले गत भाद्र १० गते भोटेकोशी-त्रिशुली क्षेत्रमा गएको बाढी पहिरोबाट प्रभावित भएका नागरिकको पुनस्र्थापना, पुनर्निर्माण र सार्वजनिक सेवा प्रवाहलाई गति दिन सरकारलाई खबरदारी गर्दै अभियान सञ्चालन गर्ने भएको छ ।
कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा बीपी नगर ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी, संसदीय दलका नेता तथा रसुवा, धादिङ र नुवाकोटका केन्द्रीय सदस्य, सांसद र जनप्रतिनिधिहरूको बैठकले उक्त निर्णय गरेको हो ।
सहमहामन्त्री प्रकाश रसाईली स्नेहीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पार्टीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका लागि छठ पर्व लगत्तै तीनवटै जिल्लाका प्रभावित गाउँ तथा बस्तीहरूमै पुगेर प्रत्यक्ष अवलोकन र अन्तरक्रिया गर्ने भएको छ ।
उक्त निरीक्षणपछि पार्टीले पुनस्र्थापना र पुनर्निर्माणका लागि चाल्नुपर्ने थप कदमहरूको तय गर्ने बताइएको छ ।यसैगरी बाढी प्रभावित परिवारका लागि नेपाली कांग्रेसले ‘न्यानो कपडा अभियान’ र ‘मानसिक स्वास्थ्य परामर्श अभियान’ समेत सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रभावित नागरिकको जीवनलाई सहज बनाउन, पुनःस्थापना सुनिश्चित गर्न र आवश्यक पुनर्निर्माणका लागि सरकारलाई निरन्तर झकझक्याउनुका साथै पार्टीका तर्फबाट सहकार्य, सहयोग र सहजीकरणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन नेपाली कांग्रेस संवेदनशील र प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।