हराएका ५० दुईपाङ्ग्रे सवारी साधन फेला पारी धनीलाई हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न मिति र समयमा चोरी भएका ५० ओटा दुईपाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले २५ ओटा स्कुटर र २५ ओटा मोटरसाइकल सम्बन्धित धनीहरूलाई हस्तान्तरण गरेका हुन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार चालू आर्थिक वर्षमा खोजतलासका क्रममा ३०३ ओटा सवारी साधनहरू फेला पारी धनीलाई बुझाई सकिएको छ । 

यस्तै मोटरसाइकल चोरीमा संलग्न रहेको आशङ्कामा ३४ जनालाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरहरूमा पठाइएको छ भने ३ ओटा चारपाङ्ग्रे र २ ओटा मोटरसाइकल कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ ।

सडक सञ्जालको विकाससँगै मानिसको जीवनमा दुईपाङ्ग्रे सवारी साधन नै सबैभन्दा लोकप्रिय र प्रभावकारी बनेको बताउँदै प्रवक्ता सुवेदीले यससँग मानिसको सपना, सङ्घर्ष र भावनात्मक सम्बन्ध जोडिने उल्लेख गरे । 

अर्काको सम्पत्ति र खुसी खोसेर आपराधिक कार्य गर्नेहरूमाथि निर्मम कानुनी कारबाही गरिने र त्यसका लागि प्रहरीले मानवीय जनशक्तिसहित प्रविधिको उच्चतम प्रयोग गरी निगरानी बढाएको उनको भनाइ थियो । 

उनले व्यक्तिगत सतर्कता, प्रविधिको प्रयोग र भौतिक सुरक्षाको संयोजनबाट नै सवारी साधन चोरी नियन्त्रण गर्न सकिने स्पष्ट पारे ।

ट्राफिक प्रहरीले सवारी साधन चोरी तथा हराउनबाट जोगाउन सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, ह्यान्डिल लक, डिस्क लक, जिपिएस र सुरक्षा साइरनहरू जडान गर्न तथा एकान्त स्थानमा पार्किङ नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । 

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन १०० वा नजिकैको प्रहरी कार्यालयमा तत्काल जानकारी गराउन सकिने प्रहरीले जनाएको छ ।

Share News