संघीय मन्त्री सिता बादीले भेटिन् कर्णालीका मुख्यमन्त्री शाहीलाई, माग्यो विशेष बजेट

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीबीच शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ । भेटमा प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लको समेत उपस्थिति रहेको थियो ।

भेटवार्ताका क्रममा मन्त्री बादीले लैङ्गिक हिंसा, बालविवाह, बालमृत्युदर, कुपोषण, पुड्कोपना, अपाङ्गता भएका व्यक्तिका सवाल तथा महिला उद्यमशीलताको प्रवर्द्धनलगायत विषयलाई प्राथमिकतामा राखेर तीनै तहका सरकारले समन्वय र सहकार्यका साथ काम गर्नुपर्नेमा जोड दिइन् ।

महिला, बालबालिका तथा सीमान्तकृत समुदायका समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच साझा जिम्मेवारी र प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले लक्षित समुदायका आवश्यकता सम्बोधन हुने गरी नीति, कार्यक्रम तथा बजेट केन्द्रित गर्नुपर्ने बताइन् ।

भेटमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा विद्यमान बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाहजस्ता समस्या न्यूनीकरणका लागि सङ्घीय सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुका साथै थप बजेटको व्यवस्था गर्नुपर्ने बताए । किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्दै प्रदेशका सामाजिक तथा स्वास्थ्य सूचक सुधारका लागि सङ्घीय सरकारको विशेष पहल आवश्यक रहेको उनको भनाइ थियो ।

जवाफमा मन्त्री बादीले कर्णाली प्रदेशको समग्र विकास तथा सामाजिक सूचक सुधारका लागि सङ्घीय सरकार प्रदेश सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् । उनले प्रदेशमा बालसुधार गृह स्थापनाका लागि आवश्यक पहल भइरहेको जानकारीसमेत गराइन् ।

भेटमा प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउँदै सङ्घीय सरकारको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

भेटवार्तामा महिला सशक्तीकरण, बालअधिकार संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण, सामाजिक सुरक्षा तथा समावेशी विकासका क्षेत्रमा तीनै तहका सरकारबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

Share News