मीठा खानेकुरा खुवाएर आज काग तिहार मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको दूतका रूपमा मानिने कागलाई मनपर्ने खानेकुरा दिएर आज काग तिहार मनाउने परम्परा छ ।

बिहान सूर्योदय हुँदा त्रयोदशी तिथि परेको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज कागको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ । 

बेलुकी त्रयोदशी तिथि परेको दिन यमदीप दान गर्ने र सूर्योदयका बेला त्रयोदशी तिथि परेको दिन काग तिहार मनाउनुपर्ने छ । यसअनुसार यमदीप दान शुक्रबार बेलुका नै गरिएको थियो ।

धनवन्तरी जयन्ती भने आज अर्थात् कात्तिक २१ गते शनिबार परेको छ । तिथि घटबढका कारण कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

त्यसैगरी गाईपूजा कात्तिक २३ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्मपूजा (म्हपूजा) भने कात्तिक २४ गते मंगलबार मनाइने समितिले जनाएको छ ।

यमपञ्चकको मुख्य पर्व भाइटीका कात्तिक २५ गते बुधबार परेको छ । समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटलाई तोकेको छ ।

यसैबीच, काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा कागको विशेष पूजाआराधना गरिन्छ ।

कागले यमराजसमक्ष शुभ समाचार पु¥याओस् भन्ने कामनासहित आज कागलाई पूजा गरेर मनपर्ने खानेकुरा दिने चलन छ । कागलाई दहीभात खुवाएमा उसले यमराजसमक्ष राम्रो सन्देश पुर्याउने धार्मिक विश्वाससमेत रहिआएको छ ।

लगातार सार्वजनिक बिदा परेकाले तिहारको रौनकसमेत बढेको छ ।

Share News