काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा लगानी गर्न आह्वान गर्ने भएका छन् ।
अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसंघले आयोजना गरेको उद्योगीहरूसँगको गोलमेच छलफललाई उनले शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित परिसंघको मुख्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ ।
परिसंघकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने कार्यक्रममा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
छलफलका क्रममा उनले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न तथा नेपालमा लगानी गरिसकेका उद्योगीलाई थप लगानी विस्तार गर्न आह्वान गर्नेछन् ।
यस्तै, नेपालमा लगानीका लागि कानुनी स्थिरता, लगानी सुरक्षा तथा प्रतिफलको सुनिश्चितताका विषयमा सरकारको धारणा पनि उनले भारतीय उद्योगपतिसमक्ष प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्री वाग्लेसँगको छलफलमा भारतीय उद्योग परिसंघका पूर्वअध्यक्ष तथा आइटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन उद्योगपति सहभागी हुने परिसंघले जनाएको छ ।