विकासन्युज

ग्यास अभावको समस्या टार्न विद्यार्थीलाई विद्युतीय चुलो बाँड्दै सरकार

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका ३०० विद्यार्थीलाई विद्युतीय चुलो उपलब्ध गराउने भएको छ ।  केन्द्रले काठमाडौं उपत्यकामा एलपी ग्यासको उपलब्धतामा देखिएको समस्यालाई केही हदसम्म सम्बोधन गर्न, स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको खपत बढाउन तथा विद्युतीय चुलोको प्रवर्द्धन गर्ने उद्देश्यले विद्यार्थीबाट माग संकलन गर्न लागेको जनाएको हो । केन्द्रका अनुसार काठमाडौं बाहिरबाट उपत्यकामा आएर घर भाडामा लिई स्नातक वा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुलो उपलब्ध गराइनेछ । यसका लागि इच्छुक विद्यार्थीले असोज ८ गते दिउँसो २ बजेसम्म अनलाइन फाराम भर्नुपर्नेछ । विद्यार्थीले अनलाइन फारामसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि तथा लोपोन्मुख आदिवासी जनजाति वा दलित वर्ग खुल्ने परिचयपत्रको प्रतिलिपि वा सम्बन्धित निकायको सिफारिस पेस गर्नुपर्नेछ । अनलाइन फाराम मात्र भरेर आवश्यक कागजात पेस नगरेका विद्यार्थीको आवेदन छनोटमा समावेश नगरिने केन्द्रले जनाएको छ । सम्बन्धित निकाय वा स्थानीय तहबाट विपन्नता खुल्ने सिफारिस पेस गरेका तथा सरकारी वा सामुदायिक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीलाई छनोटमा प्राथमिकता दिइनेछ । केन्द्रका अनुसार यसअघि नै केन्द्रबाट विद्युतीय चुलो प्राप्त गरिसकेका विद्यार्थीको माग स्वतः खारेज हुनेछ । इच्छुक विद्यार्थीले केन्द्रको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

​​​​​​​तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका अर्थमन्त्री वाग्ले भारतका प्रभावशाली मन्त्रीस्तरीय दुई भेटवार्तासहित कूटनीतिक, सामाजिक, आर्थिक-व्यावसायिक र प्राज्ञिक मञ्चमा सहभागी भएर स्वदेश फर्किएका हुन् । भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत सरकारले पु¥याएको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री वाग्लेले बताए । बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको तथा दुई देशबीचको राजनीतिक, आर्थिक र कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा भएका भेटवार्ता फलदायी रहेको उनले बताए । बिहीबार अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए । भेटमा नेपाल-भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे छलफल भएको थियो । शुक्रबार उनले पूर्वविदेशसचिव श्याम शरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता जनाए । सोही दिन उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरे। शुक्रबार साँझ भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गरेको बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री सहभागी भए । त्यसै दिन दिउँसो उनले प्रवासी नेपालीको प्रतिनिधिमण्डलसँग भेट गरे । शनिबार बिहान संविधान दिवसका अवसरमा नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा पनि अर्थमन्त्री वाग्ले सहभागी भए । सोही दिन उनले भारतीय उद्योग परिसङ्घले आयोजना गरेको प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाए । शनिबार नै अर्थमन्त्री वाग्ले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी भए ।  

३.७५ प्रतिशत लाभांश बाड्ने एनआईएमबिको घोषणा

काठमाडौं । एनआईएमबि स्टक मार्केट्स लिमिटेडले सेयरधनीलाई ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको असोज १ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफा तथा सञ्चित कोषबाट चुक्ता पुँजीको ३.७५ प्रतिशत, करसहित हुन आउने २ करोड २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २६ गते दिउँसो साढे ३ बजे काठमाडौंको कमलादीस्थित आईटी प्लाजामा रहेको कम्पनीको रजिस्टर्ड कार्यालयमा चौथो वार्षिक साधारणसभा बोलाएको छ । सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०८२/८३ को नाफा-नोक्सान हिसाब, सोही अवधिको नाफा-नोक्सान बाँडफाँट हिसाब, नगद प्रवाह विवरणलगायत सम्बन्धित वित्तीय विवरण पारित गर्नेछ । त्यस्तै, सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीको प्रचलित कानुन, नियमावली तथा सम्बन्धित नियामकीय व्यवस्था बमोजिम स्वतन्त्र सञ्चालकको नियुक्तिसमेत अनुमोदन गर्नेछ ।

पश्चिम नवलपरासीबाट ८० लाखभन्दा बढीको अवैध मोबाइल पार्टस् बरामद

काठमाडौं । सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध मोबाइल पार्टस् बरामद गरेको छ ।  सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीको टोलीले बर्दघाट नगरपालिका-४ स्थित झाडीमा लुकाएर राखिएको अवस्थामा उक्त सामान बरामद गरेको हो । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको कमाण्डमा खटिएको टोलीले गएराति करिब ११:५५ बजे खोजतलास गर्दा झाडीमा अवैध रूपमा राखिएका सामान फेला पारेको हो ।  बरामद गरिएका सामानहरूमा मोबाइलको ब्याट्री, टेम्पर्ड ग्लास, इयरबड्स, स्मार्ट वाच र स्पिकर लगायत रहेका छन्, जसको अनुमानित मूल्य ८० लाख ३० हजार रुपैयाँ रहेको छ । सशस्त्र प्रहरी बलका सह-प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बुरको बाग्मती गाउँपालिका-१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने २२ वर्षीय सन्देश बल रहेका छन् । काठमाडौंको नागार्जुन नगरपालिका-१ श्रीनगरबाट गत साउन १८ गते बा ८७ प ९२० नम्बरको मोटरसाइकल हराएको भन्दै गोरखाको भीमसेनथापा गाउँपालिका-५ का विनक श्रेष्ठले खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । प्रहरीले खोजतलासका क्रममा उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी बा ८० प १४३७ नम्बर राखेर गुहेश्वरीस्थित ड्रीम बाइक रिकन्डिसनमा लुकाएर राखेको अवस्थामा पुरकुटी र गुरुङलाई  नियन्त्रणमा लिएको हो ।  उनीहरूले उक्त मोटरसाइकल सन्देश बलसँग १७ हजार रुपैयाँमा किनेको बयान दिएपछि प्रहरीले बललाई पनि काठमाडौंको रानीबारीबाट पक्राउ गरेको हो ।  मोटरसाइकलसहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् । ट्राफिक प्रहरीले सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न तथा पाङ्ग्रा ताल्चा, चेन ताल्चा, ह्यान्डल ताल्चा, डिस्क ताल्चा र सुरक्षा साइरनजस्ता उपकरण प्रयोग गर्न आग्रह गरेको छ ।  मानिसको आवतजावत नहुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न पनि अनुरोध गरिएको छ । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको हटलाइन १०० मा तत्काल फोन गरी विवरण उपलब्ध गराउन तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।

लोककल्याणकारी विज्ञापनको रकम कटौतीबारे प्रचण्डलाई ध्यानाकर्षण

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लोककल्याणकारी विज्ञापनबापत छापा सञ्चारमाध्यमले प्राप्त गर्दै आएको रकममा कार्यविधि संशोधनका नाममा गरिएको कटौतीका विषयमा ध्यानाकर्षण गराइएको छ । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । टोलीमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल, उपाध्यक्ष हेमबहादुर राना, सचिव रमेश कुमार बोहोरा, शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य सुवेदीलगायत शाखाद्वारा गठित ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’का सदस्य टंक कार्की, विश्वराज किराँत, सीता पोखरेल तथा कल्पना खड्का तथा वरिष्ठ पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यदलका संयोजक दामोदरप्रसाद दवाडीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमार्फत लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय फिर्ता लिन तथा छापा सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पहल गर्न आग्रह गरिएको छ ।

कांग्रेसको ४३ जिल्लामा वडा अधिवेशन सम्पन्न, भोलि पनि जारी रहने

काठमाडौं । नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत पहिलो चरणको वडा अधिवेशन असोज ३ गतेदेखि उत्साहप्रद रूपमा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यसमितिको निर्णयानुसार आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म आयोजना हुने महाधिवेशनका लागि शनिबार देशका ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । शनिबार अधिवेशन सम्पन्न भएका जिल्लाहरूमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली रहेका छन् । सम्पन्न अधिवेशनबाट नयाँ वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूको चयन गरिएको छ । केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक बाँकी ३१ जिल्लामा भोलि असोज ४ गते पनि वडा अधिवेशन प्रक्रिया निरन्तर जारी रहने कांग्रेसले जनाएको छ ।

युनिग्लोब इन्टरनेशनल एमयूएन २०२६ शनिबारदेखि सुरु (फोटोफिचर )

काठमाडौं । युनिग्लोब इन्टरनेशनल मोडल युनाइटेड नेसन्स (एमयुए)  २०२६ को छैटौं संस्करण आजदेखि सुरु भएको छ । यो संस्करण सेप्टेम्बर २१ तारिख सोमबारसम्म चल्नेछ । संस्करणमा काठमाडौं उपत्यकाका विभिन्न विद्यालय तथा भारत र बंगलदेशका गरी ५ सय ५० भन्दा बढी प्रतिनिधिहरू सहभागी हुँदै कूटनीति, बहस, सहकार्य र विश्वव्यापी मुद्दामाथि छलफल गर्नेछन् । सम्मेलनमा  विभिन्न १५ वटा समुहमा फरक फरक शिर्षकमा छलफल गरिने आयोजकले जनाएको छ ।  संस्करणको उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि (राजदूत) तथा शिक्षाविद् प्राध्यापक जयराज आचार्यको उपस्थिती रहेको थियो ।  युवाहरूमा कूटनीति, नेतृत्व र अन्तर्राष्ट्रिय समझदारी विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनले बताए ।  यस सम्मेलनले युवा पुस्तालाई विश्वव्यापी मुद्दाहरूबारे गहिराइमा अनुसन्धान गर्ने महत्व बारे सिकाउँदै आगामी कूटनीतिज्ञहरूको निर्माणमा महत्वपुर्ण भूमिका खेल्नेछ भन्ने उदेश्यका साथ यस खालको कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ ।