विकासन्युज

बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालकको उपचारका क्रममा मृत्यु भएको हो । मृतक चालकको पहिचान भने खुल्न सकेको छैन । यसअघि ती व्यक्ति बागमती गाउँपालिकाका दावा लामा रहेको भनिएको थियो । सोही नामको चालक अनुमतिपत्रसमेत प्रहरीले फेला पारेको थियो । तर दावा लामा नाम गरेका व्यक्ति सम्पर्कमा आएपछि आगलागीमा घाइते भएका चालक अर्कै व्यक्ति रहेको खुलेको हो । चालकका आफन्तसमेत हालसम्म सम्पर्कमा नआएकाले उनको सनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ । 

डाटा हबको समस्या समाधान, आजदेखि सेयर कारोबार खुल्ने

काठमाडौं । र्यान्समवेयर आक्रमणका कारण सोमबार रोकिएको सेयर कारोबार आज मंगलबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएको छ । ७२ वटा ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणालीको ब्याकअप राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएसँगै सेयर कारोबार नियमित हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार बिहान सूचना जारी गर्दै डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएकाले आजदेखि नेप्सेमा पूर्ववत् रूपमा कारोबार सञ्चालन हुने जनाएको हो । डाटा हब प्रालि नेपाल स्टक एक्सचेन्जका ७२ वटा कारोबार सदस्यका डाटा सेन्टरका रूपमा रहेको छ । सोही डाटा सेन्टरमा समस्या देखिएपछि सोमबार सेयर कारोबार स्थगित गरिएको थियो । नेप्सेका अनुसार समस्या समाधान भएसँगै ७२ वटै ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणालीमार्फत सेयर कारोबार नियमित रूपमा सञ्चालन हुनेछ ।

११ वर्षका लागि १० अर्ब रुपैयाँ ऋण लिँदै सरकार

काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ११ वर्षे विकास ऋणपत्रमार्फत उक्त रकम आन्तरिक ऋण उठाउने प्रक्रिया अघि बढाएको हो । कार्यालयका अनुसार ‘११ वर्षे विकास ऋणपत्र-२०९४’ भदौ ७ गते बोलकबोलमार्फत बिक्री गरिनेछ । उक्त ऋणपत्र भदौ ८ गते निष्कासन हुनेछ । ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीले सहभागिता जनाउन सक्नेछन् । इच्छुक खरिदकर्ताले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण व्यवस्थापन प्रणालीमार्फत बोलकबोल पेस गर्न सक्ने कार्यालयले जनाएको छ ।

विमानस्थलको २४ बिघा जग्गा भाडामा दिँदै, न्यूनतम साढे १२ लाख रुपैयाँ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिमरा विमानस्थलभित्र रहेको खाली जग्गा कृषि प्रयोजनका लागि भाडामा दिने भएको छ । प्राधिकरणअन्तर्गत सिमरा नागरिक उड्डयन कार्यालयले विमानस्थल क्षेत्रभित्र रहेका २४ बिघा जग्गालाई तीन वटा प्लटमा विभाजन गरी कृषि प्रयोजनका लागि ठेक्का बन्दोबस्त गर्न लागेको हो । कार्यालयका अनुसार प्लट नम्बर १ धावनमार्गको पश्चिमपट्टि रहेको ३ बिघा १७ कठ्ठा क्षेत्रफलको जग्गा हो । उक्त जग्गाका लागि पाँच वर्षको न्यूनतम ठेक्का रकम मूल्य अभिवृद्धि करबाहेक १२ लाख ५२ हजार ५ सय २१ रुपैयाँ तोकिएको छ । त्यस्तै, प्लट नम्बर २ अन्तर्गत भीओआर तथा डीएमई रहेको क्षेत्रमा १० बिघा जग्गा रहेको छ । उक्त जग्गाका लागि पाँच वर्षको न्यूनतम ठेक्का रकम २३ लाख २७ हजार ९२ रुपैयाँ तोकिएको छ । प्लट नम्बर ३ डुम्मरवाना जाने बाटोको उत्तरपट्टि रहेको ११ बिघा क्षेत्रफलको जग्गा हो । उक्त प्लटका लागि पाँच वर्षको न्यूनतम ठेक्का रकम २५ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको कार्यालयले जनाएको छ । तीनै प्लटका लागि बोलपत्र फाराम दस्तुर मूल्य अभिवृद्धि करसहित ३ हजार ३ सय ९० रुपैयाँ तोकिएको छ । इच्छुक संस्था, फर्म वा कम्पनीले कबोल रकमको पाँच प्रतिशत बराबरको बोलपत्र जमानत पेस गर्नुपर्नेछ ।

घटाइएको पुँजीगत लाभ कर आजदेखि लागू हुने, राजपत्रमा प्रकाशित

काठमाडौं । सरकारले सेयर बजारका लगानीकर्ताका लागि पुँजीगत लाभ कर घटाउने निर्णय औपचारिक रूपमा नेपाल राजपत्रमा प्रकाशित गरेको छ । नयाँ व्यवस्थाअनुसार, नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हित निःसर्गबाट प्राप्त लाभमा बासिन्दा प्राकृतिक व्यक्तिले तिर्नुपर्ने करको दर स्वामित्व अवधिका आधारमा निर्धारण गरिएको छ । ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभमा पुँजीगत लाभ कर तीन दशमलव सात पाँच प्रतिशत कायम गरिएको छ । ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभमा करको दर पाँच प्रतिशत कायम गरिएको छ । यसअघि अल्पकालीन र दीर्घकालीन लगानीका लागि पुँजीगत लाभ करका दरहरू फरक थिए र हालको व्यवस्थाभन्दा बढी दर लागू हुँदै आएको थियो । अर्थ मन्त्रालयका अनुसार यो व्यवस्था आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को निर्णयअनुसार गरिएको हो । नयाँ कर दर आज मंगलबारदेखि लागू हुनेछ ।

अर्थ मन्त्रालयमा ४ सहसचिवको जिम्मेवारी हेरफेर, ठूला करदातामा आचार्य र बजेटमा बाँस्तोला

काठमाडौं । अर्थ मन्त्रालयले चार जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदार शर्माले सोमबार पदबाट राजीनामा दिएपछि मन्त्रालयले उच्च तहका अधिकारीहरूको जिम्मेवारीमा परिवर्तन गरेको हो । पछिल्लो समय सरकारले ३० वर्षे सेवा अवधि वा ५५ वर्ष उमेर हदका आधारमा अनिवार्य अवकाशको व्यवस्था ल्याउने चर्चाका बीच निजामती सेवाका उच्च अधिकारीहरूले धमाधम राजीनामा दिइरहेका छन्, जसकै निरन्तरतास्वरूप सहसचिव शर्माले पनि राजीनामा दिएका हुन् ।  जिम्मेवारी हेरफेरअनुसार भन्सार विभागका उपमहानिर्देशक प्रेम आचार्यलाई ठूला करदाता कार्यालय, पुल्चोकको प्रमुख कर प्रशासक बनाइएको छ । यसअघि बजेट महाशाखाको नेतृत्व सम्हालिरहेका सहसचिव सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ भने लुम्बिनी प्रदेशबाट अर्थ मन्त्रालयमा सरुवा भई आएका सहसचिव बन्धुप्रसाद बाँस्तोलालाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी सुम्पिएको छ ।  त्यसैगरी, कोसी प्रदेशबाट सरुवा भएर मन्त्रालय आएका सहसचिव नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ । यसअघि पनि अर्थ मन्त्रालयअन्तर्गतका विभिन्न पदमा हेरफेर भइसकेको छ ।  अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख धनीराम शर्मा एसियाली विकास बैंक (एडीबी) तर्फ गएपछि उक्त स्थानमा योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख अमृत लम्साललाई पठाइएको थियो ।  लम्सालको सरुवासँगै हाल योजना, अनुगमन तथा मूल्यांकन महाशाखा भने प्रमुखविहीन बनेको छ । यस्तै, मन्त्रालयमा रहेका सहसचिव गोकुल बास्तोलालाई यसअघि नै महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिसकिएको छ ।

जति धेरै राइड, त्यति धेरै सहयोग, उबरले थाल्यो ‘राइड फर नेपाल’ अभियान

काठमाडौं । भोटेकाशी बाढी प्रभावितहरुलाई राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ । सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुने अभियानमार्फत् उबरले नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।  उबरले अन्तराष्ट्रिय सीएसआर फण्डमार्फत् यो सहयोग गर्दैछ । उबरका अनुसार उक्त रकम आपतकालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनस्र्थापनाका काममा उपयोग गरिनेछ ।  अभियान अवधिमा उबरमार्फत सम्पन्न हुने प्रत्येक बाइक यात्राबापत १० रुपैयाँ र प्रत्येक क्याब यात्राबापत २० रुपैयाँका दरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उबरले आफ्नै तर्फबाट थप रकम योगदान गर्नेछ ।  यो रकम उबर यात्रु वा चालकबाट कट्टा गरिने छैन । यात्रुले नियमित भाडा नै तिर्नेछन् भने चालकले पनि साविककै रकम प्राप्त गर्नेछन् । नेपालका लागि उबरका रणनीतिक साझेदार ट्याक्सीमाण्डुका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले विपद्को समयमा यात्रु र चालकको सहभागिताले राहत अभियानलाई थप प्रभावकारी बनाउने बताए ।  उबरको अन्तर्राष्ट्रिय बजार प्रमुख, (भारत तथा दक्षिण एसिया) आकांक्षा सिंहले पनि समुदायप्रतिको जिम्मेवारी मोबिलिटी सेवामा मात्र सीमित नरहेको बताइन् ।  उबरले यात्रुलाई नियमित रूपमा राइड बुक गर्न तथा चालकलाई अनलाइन भएर राइड स्वीकार गरी यात्रा पूरा गर्न आग्रह गरेको छ ।  ‘जति धेरै राइड, त्यति धेरै सहयोग’ भन्ने अभियानको मूल उद्देश्य दैनिक यात्रालाई बाढी प्रभावितको पुनर्निर्माणसँग जोड्नु रहेको उबरले जनाएको छ ।

विद्युतको भ्याट छुटबारे सहमति भएको छैन : अर्थमन्त्रीको सचिवालय

काठमाडौं । विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट फिर्ता गर्न सैद्धान्तिक सहमति भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर गरिएको प्रचारप्रति अर्थमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ । अर्थमन्त्रीको सचिवालयले प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्री वाग्लेले विद्युतको भ्याटसम्बन्धी विषयमा छलफल गर्न गत साता कुनै भेटघाट तथा छलफल नगरेको स्पष्ट पारेको हो । अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाले विद्युतको भ्याटका विषयमा अर्थमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राखेको धारणाअनुसार नै विषयको थप सहजीकरण र उपभोक्तालाई राहत दिने सम्बन्धमा मातहतका निकायबाट छलफल तथा अध्ययन भइरहेको जानकारी दिए । उनले विद्युत महसुलमा भ्याट छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्रीसँग भेटघाट र छलफल भएको तथा सैद्धान्तिक सहमति भएको भन्ने प्रचारमा सत्यता नरहेको स्पष्ट पारेका छन् । सचिवालयले विद्युतको भ्याटसम्बन्धी विषयमा भइरहेको छलफल र अध्ययनलाई अर्थमन्त्रीको यसअघिको सार्वजनिक धारणाअनुसार बुझ्न आग्रहसमेत गरेको छ ।