काठमाडौं । अर्थ मन्त्रालयले चार जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदार शर्माले सोमबार पदबाट राजीनामा दिएपछि मन्त्रालयले उच्च तहका अधिकारीहरूको जिम्मेवारीमा परिवर्तन गरेको हो ।
पछिल्लो समय सरकारले ३० वर्षे सेवा अवधि वा ५५ वर्ष उमेर हदका आधारमा अनिवार्य अवकाशको व्यवस्था ल्याउने चर्चाका बीच निजामती सेवाका उच्च अधिकारीहरूले धमाधम राजीनामा दिइरहेका छन्, जसकै निरन्तरतास्वरूप सहसचिव शर्माले पनि राजीनामा दिएका हुन् ।
जिम्मेवारी हेरफेरअनुसार भन्सार विभागका उपमहानिर्देशक प्रेम आचार्यलाई ठूला करदाता कार्यालय, पुल्चोकको प्रमुख कर प्रशासक बनाइएको छ । यसअघि बजेट महाशाखाको नेतृत्व सम्हालिरहेका सहसचिव सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ भने लुम्बिनी प्रदेशबाट अर्थ मन्त्रालयमा सरुवा भई आएका सहसचिव बन्धुप्रसाद बाँस्तोलालाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी सुम्पिएको छ ।
त्यसैगरी, कोसी प्रदेशबाट सरुवा भएर मन्त्रालय आएका सहसचिव नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ । यसअघि पनि अर्थ मन्त्रालयअन्तर्गतका विभिन्न पदमा हेरफेर भइसकेको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख धनीराम शर्मा एसियाली विकास बैंक (एडीबी) तर्फ गएपछि उक्त स्थानमा योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख अमृत लम्साललाई पठाइएको थियो ।
लम्सालको सरुवासँगै हाल योजना, अनुगमन तथा मूल्यांकन महाशाखा भने प्रमुखविहीन बनेको छ । यस्तै, मन्त्रालयमा रहेका सहसचिव गोकुल बास्तोलालाई यसअघि नै महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिसकिएको छ ।